विचार

राष्ट्रमाथिको अति शासनमा डोजर

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हालै सुरुवात गरेका अवैधानिकरूपमा बनाइएका, नक्सा भन्दा बाहिर मिचेर बनाइएका संरचना हटाउने क्रममा आफ्नै सक्रियता र उपस्थितिमा नागरिकको स्तरबाट जुन सराहनीय काम गरेका छन् त्यसको चौतर्फी प्रशंसा भए पनि उनलाई विरोध गर्न पछि पर्नेहरूको कमी भने छैन। किनभने दशकौँदेखि राजनीतिक शक्तिको आडमा राज्यको सम्पत्ति हडपेर सीमित व्यक्ति सम्पन्न हुने र लाभ लिने गरेको संस्कारलाई स्वतन्त्र बालेनले गरेका क्रियाकलापप्रति विरोध जनाउनु पनि सामान्य नै ठानेका होलान् राजनीतिक स्तरबाट। तर, नागरिक स्तरबाट र राज्यको सम्पत्ति र जनाधिकारको हिसाबले हेर्ने हो भने दशकौँदेखि राजनीतिक शक्तिको आडमा गरिँदै आएको अति शासनमा डोजर लगाउनैपर्ने भएको नागरिक समुदायको अनुभूति छ।  

विगतका भ्रष्टाचारका अभ्यास हेर्ने हो भने पनि कहालीलाग्दो अवस्था र अन्यायको पराकाष्टा नेपाल भूमि र नागरिकले बेहोर्दै आएका छन्। अब केही आशाको किरण बल्न लाग्दा अझै शक्ति परिचालन गरेर स्वतन्त्रहरूलाई हीनताबोध गराउने र काममा बाधा पु¥याउने प्रयास हुन थालेको महसुस गर्न सकिन्छ। तर, सबैभन्दा ठूलो शक्ति नागरिक शक्ति हो र अब अन्यायविरुद्ध लड्ने साहस नागरिक स्तरमा आएको पनि अनुभूति गर्न सकिन्छ। जबसम्म नागरिकको सहयोग रहन्छ र नागरिकहरू सडकमा उत्रन सक्छन् तब अन्याय गर्नेहरू पाखा लाग्नेछन्। राजनीतिक बेथिति र वितृष्णा अब सहन नसक्ने गरी देखा परेकाले आफ्नै न्यायका लागि नागरिकले स्वतन्त्रहरूलाई साथ दिन थालेका हुन्।  

नेपालमा राजनीतिक शक्तिकै आडमा विगतदेखि देख्दै र सहँदै आउनुपरेको संसद्, कार्यपालिका र न्यायपालिकासमेतमा देखिएको भ्रष्टाचार र अनैतिकताले गर्दा न्याय कहाँ पाइन्छ प्रश्न गर्नुपर्ने अवस्था छ। ललिता निवास जग्गा प्रकरणदेखि लिएर कोभिड महामारीले जनता त्रसित भएका बेला स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्न सफल ओम्नी काण्डको उदाहरण। ऐतिहासिक नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा मन्त्री, कर्मचारी र व्यापारीको मिलेमतोमा अपारदर्शीरूपमा सम्झौता हुनु।  भारतले बनाइदिएको पशुपति धर्मशाला पनि कमिसन खेलमै निजी होटल सञ्चालनका लागि दिइनु। विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रको जग्गा पनि गुपचूप निश्चित व्यापारीलाई सुम्पन सरकारले प्रक्रिया अघि बढाउनु। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, नेपाल एयरलाइन्सको वाइडबडी जहाज खरिद, आयल निगमको जग्गा प्रकरण, एन्फामा भएको घोटाला, हायात जग्गा प्रकरण, नेपाल ट्रस्टका जग्गा निजी कम्पनीलाई कौडीको भाउमा भाडामा लिजमा दिने विषयमा भएका अनियमिततामा राजनीतिक नेतृत्व नै मुछिएको भनेर सार्वजनिक आलोचना भएको थियो। तर यो विषयमा गम्भीर अनुसन्धानसमेत भएका छैनन्। सामान्य नागरिकले बुझ्नै र कल्पना नै गर्न नसक्ने गरी हुने यस्ता अनियमितता र तिनमा संलग्न राजनीतिक नेतृत्व अनि तिनका कार्यकर्ता सानो व्यक्तिगत स्वार्थ पूर्तिका लागि राज्यको संरचना नै बिगार्ने स्तरमा पुग्नु कत्तिको लाजमर्दो विषय होला त?

जसमा भ्रष्ट आचरण छ, अनुशासन र संस्कार पाएको छैन, लोभ र स्वार्थको गरिबी मनस्थितिबाट हट्न नसकेको गरिबबाट नै यस्ता भ्रष्ट आचरणका कार्य हुने भएकाले यस्तो विशाल शक्तिलाई इमान्दारिताको सानो शक्तिले पनि पाखा लगाउन सक्छ भन्ने उदाहरण नै अहिलेको डोजर अभियानको संदेश हो। र, यो डोजर सबैले आफ्नो भ्रष्ट मनस्थितिमा लगाएर सरल, प्रेमल, निस्वार्थी नागरिक हुने प्रयास गर्ने हो भने नेपाल आमा पक्कै खुसी हुनेछिन्। अनियमितताका कार्यमा सहयोग गर्न खटिएका प्रहरी सुरक्षा र प्रशासनका व्यक्तिसमेत उत्साहका साथ अघि बढेकामा सरकारका तर्फबाट अर्थात् राजनीतिक शक्तिले अघि बढ्न नदिएको अपुष्ट समाचारले फेरि झस्काउँछ– के राजनीतिक शक्ति र सरकार नेपाल आमालाई नै सखाप पार्ने तत्व हुन्? सत्यता, इमान्दारिता, अनुशासनविना सुशासन कायम हुन्छ? आफ्ना सन्ततिलाई कस्तो राज्य सुम्पन चाहन्छन् राजनीतिक नेतृत्व? के श्रीलंका नै बनाउने हो नेपाल पनि? धेरै वितृष्णाका प्रश्नहरूले नागरिकको मथिंगल हल्लिएको छ र अब नागरिक जाग्न थालेको अनुभूति गर्न सकिन्छ। हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप कहिलेसम्म सहने नागरिक समुदायले? विधिको शासन कसलाई लागु हुन्छ? अजम्मरी को छ यहाँ? आखिर पुग्ने कहाँ हो र? त्यही आर्यघाट नै त होला! अनि जाने खाली हात नै त होला। किन अधर्म लिएर जाने इच्छा हुन्छ? किन खुल्दैन चेत? किन बेहोशी हुन्छ राजनीतिक शक्ति? किन इमान्दारिता रहंँदैन? कस्तो संस्कारको विकास हुँदै गइरहेको छ? प्रश्नै प्रश्न र वितृष्णाको परिणाम के होला?

भौतिक पूर्वाधारका काममा, ठेक्का पट्टा, टेन्डरमा राजनीतिक शक्तिका मान्छे, सरकारी नियुक्ति र बढुवामा राजनीतिक शक्तिको आड, यता भ्रष्टाचार गरेर उता पोस्नुपर्ने यो कस्तो संस्कार र प्रणाली विकास भएको छ? प्रहरी, प्रशासन सबैतिर राजनीतिक हस्तक्षेप, कसैले निस्वार्थ र विधिविधानपूर्वक, कानुनसम्मत स्वस्फूर्त काम गर्ने वातावरण नहुनु के विकास हो यो? व्यापार, व्यवसाय, कर छली सबैमा अनियमितता र अराजकता कसको कारण बढेको छ? न्याय क्षेत्रदेखि लिएर स्वास्थ्य क्षेत्र कतै आशा, भरोसा र विश्वास गर्ने स्थिति छैन। कसले किन यो स्थितिमा पु¥याएको छ? कारण र यसमा संलग्न व्यक्ति र समूह धेरै छन् तर समग्रतामा एकै कारण हो– अध्यात्मको अभाव, प्रेमको अभाव।  

यी सबै अनियमितता र विध्वंशात्मक कार्य समाप्त गर्न एक मात्र क्रान्ति आवश्यक छ। त्यो हो– आध्यात्मिक क्रान्ति। आध्यात्मिक चेतनाविना अनुशासन सम्भव छैन। अनुशासनविना प्रेम सम्भव छैन। प्रेमविना अराजकता र अहंकार नाश हुँदैन। सबैको आकर्षण स्वार्थ, अनियमितता र भ्रष्टाचारमा छ त इमान्दारिता र सत्यता कसरी भेटिन्छ? जीवनको उद्देश्य भौतिक सम्पदा आफ्नो लागि मात्र संग्रह गर्नु होइन। यो धर्तीलाई आफ्नो तर्फबाट केही योगदान दिनु पनि हो किनकि जबसम्म व्यक्तिले आफूभित्रका समस्याहरूबाट मुक्ति पाउँदैन तबसम्म आर्थिक सम्पन्नताले भित्रको समृद्धि प्राप्त हुँदैन। आर्थिक सम्पन्नता एउटा पाटो हो जीवन सुखी राख्ने भने अर्को पाटो, आफ्नो संस्कार, प्रेम ,आत्मीयता र भित्रको खोज हो। मानिसको सृष्टि त प्रेमको अभिव्यक्ति हो। भित्रको वैभव, ऐश्वर्य, उदारता, संवेदना, अहिंसा, मस्तमा जिउनु मानव स्वभाव हुन्। यो पो असली पुरुषार्थ हो त। यो पो प्रकृतिको आयोजना हो त मनुष्यमाथि। यो पो मानिस हुनुको गुण हो त। यो गुण भुल्यो भने जति नै चतुर र आर्थिक समृद्धि भए पनि मानिसभित्रबाट खोक्रो, खाली हुन्छ र उसले स्वयं हुनुको अर्थ नबुझी जीवनको अन्तिम समयमा पश्चातापमै जीवन समाप्त गर्न बाध्य हुन्छ। जीवनभर आफूले पाएको सम्पदा, पद र शक्ति त बहुजन हिताय, बहुजन सुखायमा लगाउन सके पो सार्थक हुन्छ जीवन। अरूलाई नै ठगेर, चुसेर, लुटेर के लैजानु छ र के छोड्नु छ जीवनबाट।  

मृत्युपछि के सुन्न मन लाग्छ आफ्नोबारेमा? त्यो भावना र शब्द आज आफ्नो कर्मबाट नदेखाइ सुखै छैन। कर्मको विज्ञानअनुसार पनि कुनै पनि कार्य गर्दा आफ्नो भावअनुसारको प्रतिफल हामी प्राप्त गर्छौँ। यदि कार्य आन्तरिक कमी या अभावको जगबाट सिर्जित भएको छ भने कर्मको प्रतिफल सफलतामुखी या सकारात्मक नभएर ठीक विपरीत हुन्छ। हामी आफ्नो कार्य गर्दाको भावअनुरूप समस्त बह्माण्डबाट ऊर्जा प्राप्त गर्दछौँ, जुनले कर्मलाई सदाका लागि प्रभाव पार्दछ। शान्ति, सम्पन्नता, खुशियाली र आनन्दको सोचबाट कर्म गर्दा त्यो कर्मका वरिपरि एउटा सकारात्मक वातावरण निर्माण हुन्छ र कर्मको उद्देश्य पूरा हुन जान्छ। हामी साधारणतया आफ्नो केही कमी पूरा गर्न कर्म गर्छौँ। यस्तो अवस्थामा हामीभित्र रहेको अभावको वातावरणले कर्मलाई ग्रसित पार्छ र परिणाम सुखद हुन पाउँदैन। यो जीवनको लक्ष्य र परमार्थको बाटो आफैँ निर्माण गर्ने हो। ध्यान र प्रज्ञाको बोध नहुनु नै अराजकताको मार्गमा अगसर हुनुको परिणाम हो ।  

प्रकाशित: २१ भाद्र २०७९ ००:२७ मंगलबार

काठमाडौं महानगरपालिका