विचार

विश्वविद्यालयभित्र गुण्डागर्दीको गर्भाधान

१३ भदौको नागरिक दैनिकमा संवाददाताले त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी र शिक्षक संगठनको बढ्दो गुण्डागर्दीको सन्दर्भमा प्रश्न उठाएका छन्– त्रिविमा गुण्डागर्दी कहिलेसम्म? निकै पुरानो यो प्रश्न अद्यापि अनुत्तरित नै छ। दूरभविष्यसम्म पनि यसले कुनै उत्तर पाइहाल्ने अवस्था पनि देखिँदैन। खासमा त्रिवि देशको निको नहुने घाउ बन्दै गएको छ। देशको सबभन्दा पुरानो तथा भौतिक संरचना र जनशक्तिको हिसाबमा सबभन्दा ठूलो त्रिविले नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रका लागि धेरै संख्यामा योग्य जनशक्ति बनाउन खेलेको भूमिकामा कसैले विमति राख्न सक्दैन। तथापि ६ दशकअघि स्थापना भएको विश्वविद्यालयले समयक्रममा गर्नुपर्ने स्वाभाविक परिवर्तन गर्न नसकेको मात्र होइन, बरु प्राज्ञिक तथा शैक्षिक विकासमा त्रिवि उल्टो दिशाको यात्रा गरिरहेको देखिँदैछ।  

१२ भदौमा बसेको त्रिविको कार्यकारी परिषद्को बैठकमा जबर्जस्ती घुसेर सत्तारुढ नेपाली काङ्ग्रेसको भातृसंगठन नेविसङ्घका कार्यकर्ताहरूले माइन्युट लुटेको समाचार त्रिविको सन्दर्भमा निकै ठूलो घटना भने होइन। किनभने त्रिविमा यस्ता र योभन्दा निकृष्टखालका घटना भइरहन्छन्। आफूले चाहेजस्तो अंक नपाएको भन्दै विभागमा आगो लगाउनेदेखि त्रिविका पदाधिकारीलाई कोठामा बन्द गर्नेजस्ता घटना भोगिसकेको त्रिविबाट आगामी दिनमा कुन हदको खराब समाचार आउने हो, अनुमान पनि गर्न गाह्रो छ।  

त्रिविमा किन यस्ता घटना बारम्बार दोहोरिइरहन्छन्? यसका निम्ति को जिम्मेवार छन्? अनि समाधान के? सम्भवतः यस्ता प्रश्नबारे धेरै पटक यसअघि पनि बहस र छलफल भइसके। तथापि, त्रिविको अवस्थामा सुधार कम, समस्या थपिँदै गएको छ। तर फेरि पनि बहस र अन्तरक्रियाको सिलसिला भने रोकिनुहुन्न। किनभने दसकौँ दशकदेखि थुप्रिएको विकृतिको कारण ‘अगिनसको तबेला’ बनिसकेको त्रिवि सफा गर्न कहीँबाट कोही ‘हर्कुलस’ आउनेछैन। बरु लगातारको संवाद, दबाब र अग्रसरताले नै त्रिविलाई खास विश्वविद्यालय बनाउन सक्नेछ।

त्रिविमा हुने धेरै यस्ता घटनामा सतहमा विद्यार्थी वा शिक्षक संगठन देखिए पनि भित्र मलजल गर्नेहरू भने अरू नै कोही हुन्छन्। त्रिविका मठाधीशहरूले आफ्नो जुँगाको लडाइँमा विद्यार्थी र शिक्षक संगठनलाई प्रयोग गर्ने गरेका छन्। तिनका काँधमा बन्दूक राखेर उनीहरू विश्वविद्यालयभित्रको अर्को विरोधी खेमामाथि हमला गर्छन्। मठाधीशहरूले त्रिविका प्राध्यापक, कर्मचारी हुँदै पूर्वप्राध्यापक र पूर्वविद्यार्थीसम्मका रूप धारण गरेका छन्। ती मठाधीशहरूले लामो समयदेखि त्रिविलाई ‘राजनीतिक मल्लयुद्ध मैदान’ बनाएका छन्। त्रिविको स्थायी जागिर खाएर उनीहरू निजी कलेज र अनुसन्धान केन्द्र पोस्छन्। तर फुसर्दको समयमा त्रिविमा आएर एकअर्काविरुद्ध राजनीति गर्छन्। सत्ताको निकै माथिल्लो तहसम्म सम्बन्ध भएका यी मानिसले शासक राजनीतिक दलको संरक्षणमा यी सबै गतिविधि गरिरहेका छन्। त्रिविभित्रको मल्लयुद्धले उनीहरूको बौद्धिक संवदेनशीलताको धारमा खिया परिसकेकाले उनीहरूलाई त्यहाँ हुने कुनै पनि खराब घटनाले चिन्तित पनि बनाउन छाडिसकेको छ। तिनीहरू अधिकांशका सन्तान विदेशमा छन्। धेरै सम्भव छ कि उनीहरू धेरै जना सेवा निवृत्त जीवन बिताउन विदेशतिरै जानेछन् अथवा राजनीतिमा लाग्नेछन्। त्यसकारण आफ्ना गतिविधिले विश्वविद्यालयमा पारिरहेको खराब असरप्रति उनीहरू संवेदनशील छैनन्।

विश्वव्यापीकरणको विस्तारसँगै ठूलो संख्यामा नेपाली विद्यार्थी पनि आज संसारका विभिन्न देशका एकसेएक विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरिरहेका छन्। नेपालका बौद्धिकहरूले विश्वविद्यालय खास कस्तो हुन्छ, विश्वविद्यालयमा कसरी के/कस्ता काम हुन्छन् भन्ने कुराको प्रत्यक्ष अनुभव गरिरहेका छन्। जानकारीको यो व्यापकतासँगै कुनैबेला आफू पढेको आफ्नो देशको विश्वविद्यालयको अवस्थासँग तुलना गर्दा त्रिविको कद अझ होचो देखिरहेका छन्।  

संविधानले हरेक नागरिकको राजनीतिक स्वतन्त्रता सुनिश्चित गरेको छ। बौद्धिक वृत्तले यो संवैधानिक अधिकारको अधिकतम अभ्यास गर्नु स्वाभाविक हो। तर यो अधिकार प्रयोग केका लागि? विश्वविद्यालयभित्र यसको अभ्यास प्राज्ञिक विकासको निम्ति हुनुपर्ने हो। तर त्रिविमा राजनीतिक अधिकारको प्रयोगका नाममा आआफ्नो सत्ता र प्रभुत्व बलियो बनाउने होडबाजी बढी देखिन्छ। प्राज्ञिक गतिविधि औपचारिकता र सुत्रात्मक ढाँचामा मात्र सीमित बन्दै गएको छ। त्रिविको खस्कँदो साखले त्यहाँ बसेर केही गर्नुछ भनी कम्मर कसेर लागेका शिक्षकहरूसमेत हतोत्साहित हुने अथवा ‘रोममा रोमन जस्तै’ बन्ने बाध्यता भोगिरहेका छन्। तीमध्ये कोही त्रिविमा अब केही बदल्न सकिन्न भनी विदेश भासिएका छन् भने कोही देशभित्रै नयाँ विकल्पको खोजीमा लागेका छन्।  

विश्वविद्यालयभित्र झाँगिएका यस्ता विकृतिका विषवृक्षको जरा भने शासक राजनीतिक दलसँग जोडिएको छ। त्रिविभित्रका मठाधीशहरूले विश्वविद्यालयलाई आजको अवस्थासम्म पुर्‍याउन गरेका सबै गतिविधि तिनै राजनीतिक दलको संरक्षणमा भइरहेका छन्। राजनीतिक दलको संरक्षण र प्रोत्साहनकै कारण उनीहरू विश्वविद्यालयलाई दिनानुदिन उधोगतितिर धकेल्ने काम गर्न उत्साहित हुन्। राजनीतिक दलहरूले विश्वविद्यालयलाई विकृत राजनीतिबाट टाढा राख्न देखाउनुपर्ने व्यापक चिन्तन देखाउन सकेनन्। बरु विश्वविद्यालयलाई ऐनकेनप्रकारेन आफ्नो तखतमा राख्ने संकुचित सोचाइका कारण मठाधीशहरूलाई मलजल भइरहेको छ।  

निःसन्देह राजनीतिमुक्त विश्वविद्यालयको कल्पना गर्न सकिन्न। खासमा सबै विश्वविद्यालय राजनीतिकै उत्पादन हुन्। राजनीतिलाई मार्गनिर्देश र परिमार्जन गर्ने भूमिका विश्वविद्यालयहरूले खेलेका हुन्छन्। तर राजनीतिक दलहरू विश्वविद्यालयमा आफ्ना कार्यकर्ता भर्ती गर्ने तहसम्म गिर्दा विश्वविद्यालयहरू आज यो भूमिका खेल्न सकिरहेका छैनन्। विश्वविद्यालयमा हुने प्राज्ञिक अनुसन्धानलाई राजनीति र नीति निर्माणसँग जोड्न नसक्नुको कारण विश्वविद्यालयका प्राज्ञिक र बौद्धिक व्यक्तित्वहरू दलका नेताहरूसँग उत्तरदायित्वको सम्बन्धमा बस्नुले पनि हो। वस्तुगत अनुसन्धान र अन्वेषणबाट आएका निष्कर्षले सत्तालाई बाटो देखाउने र गलत बाटोमा जान नदिने भूमिकामा हुनुपर्ने विश्वविद्यालयका बौद्धिक व्यक्तिहरू सत्ताको निर्देशनलाई सर्वोपरि मानेर हिँड्ने अवस्थाले त्रिविलाई अझ बढी संकटको दलदलमा फसाएको छ। नसा नसासम्म दलगत राजनीतिको भेल पसेपछि आज त्रिवि विभाजित बनेको छ। विभाजनले त्रिविलाई आफ्नो खास जिम्मेवारीबाट पथभ्रष्ट बनाउँदैछ। एक हातले दलको सदस्यता अनि अर्को हातले विश्वविद्यालयका पदाधिकारीका नियुक्तिपत्र दिने परिपाटी अन्त्य गर्न अब ढिला गर्ने हो भने पदाधिकारीहरू अर्को खेमाबाट हुने हमला र बदख्वाईसँगै निरीहताको गीत गाएर बस्नुको विकल्प देखिँदैन।  

त्रिवि सुधार्न माथि र तल दुवैतिरबाट पहल गर्न जरुरी छ। देशको सुदूरभविष्यसँग जोडिएको विश्वविद्यालयजस्तो प्राज्ञिक थलोलाई चुनावमा आउने परिणामसँग जोडेर हेर्ने अल्पदृष्टि त्याग्न शासक दलहरू तयार हुनुपर्छ। राजनीतिक दलका नेतृत्वले नेता होइन, राजनेता बन्ने व्यापक सोचाइ राख्न जरुरी छ। आफ्नो आदेश पालना गर्ने मान्छेलाई भर्ती गर्ने संकुचनबाट मुक्त हुनुपर्छ। त्रिविभित्र रहेर दानापानी खाइरहेका सबैले आफूसम्बद्ध संस्थालाई गौरवशाली बनाउन पहल गर्नुपर्छ। कतिपय कर्मचारी त्रिविभित्रको अवस्थाबाट यति हैरान भइसकेका छन्, उनीहरूमा त्यहाँ परिवर्तन हुन सक्ने कुनै आशा नै बाँकी छैन। उनीहरूको ध्यान विश्वविद्यालयलाई उन्नयनको दिशातिर लानेभन्दा ‘सरकारको काम कहिले जाला घाम’ मा सीमित बनेको छ। उनीहरूसँग भएको सिर्जनात्मक उत्साहलाई त्यहाँका विकृतिले राख गरिसकेको छ।  

यस्तै माटोमा हुर्केका विद्यार्थी जस्तै उदण्डताको निम्ति तयार हुनु अस्वाभाविक होइन। विभाजित र वैमनश्यताको बिउबाट हुर्केको दलगत संकीर्णता बोकेका विद्यार्थी विश्वविद्यालयका आफ्नो खेमामा मठाधीशका प्रभुत्व (हेजिमोनी) स्वीकार्दै अर्को खेमामाथि धावा बोल्छन्। मठाधीशहरू विद्यार्थी संगठनको बुइ चढेर जुँगाको लडाइँमा भाग लिन्छन्। तर यसले विश्वविद्यालयको साख झार्नेबाहेक केही उपलब्धि हुँदैन। विद्यार्थी संगठनहरू रचनात्मक र बौद्धिक गतिविधिमा कम, सामान्य मर्यादाको समेत ख्याल नगरी प्राध्यापकहरूमाथि जाइ लाग्न हिम्मतिला हुनुको कारण उनीहरूलाई प्राप्त राजनीतिक संरक्षण र विश्वविद्यालयका पदाधिकारीको शासक दलसँगको आज्ञाकारिताको सम्बन्ध पनि हो। यसरी मठाधीशका बुइ चढेर गतिविधि गर्दा नेपालमा विद्यार्थी संगठनहरू बदनाम मात्र भएको छैन, विद्यार्थी आन्दोलन नै धार नभएको औजार जस्तै बन्दै गएको छ। विद्यार्थी राजनीति रचनात्मक र बौद्धिक नहुँदा अब्बल विद्यार्थीको ठाउँ अरू विद्यार्थीले लिँदा विद्यार्थी राजनीतिक अझ बढी निष्प्रभावी बन्दै गएको छ। अनि यसरी विश्वविद्यालयभित्र गुण्डागर्दीले गर्भाधान गर्छ। फलतः आज त्रिवि बौद्धिकहरू जन्माउने प्राज्ञिक संस्था बन्नतिर भन्दा सत्ताको आडमा गुण्डागर्दी गर्ने नयाँ पुस्ता जन्माउने थलो बन्दैछ।

प्रकाशित: १९ भाद्र २०७९ ००:४५ आइतबार

त्रिभुवन विश्वविद्यालय