जनता र राजनीतिक दलहरूको नेतृत्व दुवै अब्बल भए त सुनमा सुगन्ध भैहाल्यो। अन्यथा, अब्राहम लिंकनले भनेका रहेछन्, ‘देशमा करोडौं जनता बेबकुफ भए पनि खासै फरक नपर्न सक्छ। तर, मुख्य राजनीतिक नेतृत्व गलत भयो भने देश भडखारोमा पर्छ।’ राजनीतिलाई सबै नीतिको मूल नीतिका रूपमा अथ्र्याइन्छ। वास्तबमा, अन्य नीति गलत हुँदा पनि राजनीतिले सच्याउँछ/सच्याउन सक्नुपर्छ भन्ने मान्यता हो। अर्थात्, अन्यत्रबाट सुल्झिन नसकेका जटिलतालाई राजनीतिक तहबाट औचित्यपूर्ण निकास दिनुपर्ने हो। तर, हाम्रा दलहरू इमानदार, निष्ठावान् र जिम्मेवार नहुँदा दलआबद्ध पात्रहरूबाट तमाम दुष्कर्म हुनु र उनीहरूको संलग्नताबाट कुनै पनि प्रसङ्ग गिजोलिएर विकृत या जटिल बनेमा त्यसमा राजनीति घुस्यो भन्नेजस्ता आमचलन स्थापित हुनु दुर्भाग्यपूर्ण छ। विडम्बना, देश र जनताको दुहाई दिएर लोकतन्त्रको देखावटी माला त जप्ने। तर, व्यवहारमा भने सम्पूर्ण राज्यसंयन्त्र आफ्नो इसारामा नाचोस् भन्ने मनसुवा पाल्ने र मूलतः राज्यबाट निसृत हुने सुविधा, सहुलियत या आकर्षक पदजति दलहरूको पेवा ठान्ने प्रवृत्तिका कारण दलहरूप्रति घोर वितृष्णा र आक्रोश पैदा भएको छ।
हामीकहाँ दशकौंदेखिको राजनीतिको चक्र कस्तो रह्यो भने कथम् कांग्रेस र एमाले मिलेदेखि त टन्टै साफ भैहाल्यो। अन्यथा, कांग्रेसले एमालेसँग र एमालेले कांग्रेससँग प्रतिस्पर्धा गरे पुगिहाल्यो। उता, यिनीहरू लगभग समान चरित्र र समान हैसियतमा भइदिँदा माओवादी जता लहसियो, त्यतैको पलडा भारी हुने भएपछि ऊचाहिँ किङ मेकर। फेरि, च्याखे थाप्ने मनसायबाट स्थापित साना दलका पात्रहरूको उद्देश्य पनि एकाध थान मन्त्री या राज्यमन्त्रीमा सीमित भएपछि असल काम गरेर आमजनताको मन जित्नेतर्फ ध्यान दिनपर्ने आवश्यकता नै ठानिएन। दुर्भाग्य, गतिलोसँग प्रतिस्पर्धा गर्नै नपरेबाट पनि यिनले कार्यशैली सुधार्नुपर्ने बाध्यता ठानेनन्। बरु यहाँ त एकले अर्कोलाई कसरी टप्ने भन्नेमा चाहिं सदैव प्रतिस्पर्धा चल्दै आएबाट यी दलहरूले जनविश्वास गुमाउँदै गएका हुन्।
कुनै समय थियो, दलहरूले उठाइदिएको भन्नासाथ उम्मेदवारको गुणअवगुणलगायतका नालीबेली केलाएबिनै कम्तीमा एकतिहाइ मतभार पक्षमा थपिने आँकलन गरिन्थ्यो। तर, ‘अति सर्वत्र वर्जयेत’ त्यसै भनिएको होइन रहेछ। दलहरूका कहिल्यै नसुध्रिने रवैयाका कारण नागरिकहरू आजित भइसकेछन्। त्यसैले पनि अब उनीहरू दलहरूले जता नचाउन खोज्यो, उतै नाची नहाल्ने दृढ निश्चयमा पुगिसकेका रहेछन्। त्यसको पुष्टि हालै सम्पन्न स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह, हर्क साम्पाङजस्ताले पाएको सम्मानजनक मत परिणामले गरिसकेको छ। फलतः दलहरूप्रतिको चरम वितृष्णाले गर्दा अब बन्ने दलका उम्मेदवारको कतै एकतिहाइजति नै मतभार स्खलित हुने त होइन भन्ने त्रासका कारण उम्मेदवारहरू अब दलीय आवद्धताबिनाको स्वतन्त्र उम्मेदवारी दिन लालायित देखिन्छन्। त्यसैले, आगामी निर्वाचनमा स्वतन्त्रहरूको व्यापक लहर चल्ने परिदृश्य तयार भएबाट दलहरूको मनमा ढ्याङ्ग्रो भने ठोकेको हुनुपर्छ।
तर स्मरण रहोस्, बालेनले सहजै चुनाव जिते भन्दैमा जोसुकैले आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने मनसुवा पाल्नु प्रत्युत्पादक हुनसक्छ। स्मरणीय छ, काठमाडांैको मेयरको प्रतिस्पर्धामा बग्रेल्ती स्वतन्त्र प्रतिस्पर्धीको जमानत जफत भएको छ। फेरि, बालेनले आफ्नै बलबुताबाट मात्र चुनाव जितेका पनि होइनन्। उनको पक्षमा आफूले भोट हाल्न नपाएका देशवासी मात्र होइन, विदेशमा रहेका नागरिकहरूले समेत घरघरमा फोन गरेर यसपटक दलहरूलाई सबक सिकाउन पनि उनलाई भोट दिनैपर्छ भनेर स्वतःस्फूर्त प्रचार अभियान चलाउनेलगायत विविध सहयोग गरेका थिए। त्यसैले, स्वतन्त्र उम्मेदवारी दिनुपूर्व प्रत्येकले उम्मेदवारहरूबाट आफ्नो हकमा त्यस्तो पहल कति होला÷नहोला समीक्षा गर्न जरुरी छ। अन्यथा, लहडको भरमा हौसिएर अनुचित संख्यामा स्वतन्त्र उम्मेदवारी दिएमा स्वाभाविकरूपमा भोट बाँडिँदा पुनः उनै दलको खाँडो जाग्नेतर्फ पनि हेक्का राख्न जरुरी छ।
यता आएर स्वतन्त्रप्रतिको भरोसा शिखरमा पुगेका बेला सागर ढकाल डडेलधुराबाटै देउबासँग टक्कर लिन तम्सिएका छन्। उता, रवि लामिछानेले अवसरको मौका छोपेर आफ्नै नेतृत्वमा स्वतन्त्र दल नै खोलेका छन्। दलहरूलाई सुध्रिन बाध्य पार्न पनि कसै न कसैले यसका लागि पहलकदमी लिनैपर्ने थियो। उनले लिएकोमा उनी अवश्य धन्यवादका पात्र हुन्। यहाँ उनको ल्याकत र हैसियतको अवमूल्यन गर्न खोजिएको अर्थ कदापि नलागोस्। तर, अहिले बनेको स्वतन्त्रको वातावरणलाई अपेक्षित उचाइमा पुर्याउन जनमानसले कताकता शीर्ष नेतृत्वको गहन अभिभाराका लागि उनीभन्दा पनि थप उचाइका हस्तीको अपेक्षा गरेको प्रतीत हुन्छ। साथै, संगठनमा इमानदार, निष्ठावान् र योग्य व्यक्तिहरू व्यापकरूपमा समेटिन आवश्यक छ। कारण, १०–२० सिट जित्दैमा यहाँ तात्विकक फरक पर्नेवाला छैन। त्यसैले, उनलाई नेतृत्वमध्येको एक प्रबल दाबेदार ठानिए पनि उनीभन्दा पनि उँचो कदका उपयुक्त पात्रलाई उनले शीर्ष नेतृत्व पद सुम्पिएर नेतृत्वलाई हृदयदेखि नै सहयोग गर्न तयार हुनु श्रेयस्कर हुनेछ। बरु, थप एक कदम अगाडि बढेर देशका त्यस्ता योग्य पात्र आफैले पहिचान गरेरै नेतृत्व लिइदिनका लागि सौहार्दपूर्वक अनुरोध गर्दा उनको लोकप्रियताले थप उचाइ पाउनका साथै अपेक्षित परिणाम प्राप्तिमा पनि सहयोग पुग्ने छ।
भनिएकै छ, ‘देश बर्बाद हुँदो रहेछ, जब समझदारहरू मौन रहनमै आफ्नो कल्याण ठान्छन् अनि भुइफुट्टाहरू जथाभावी चर्चा कमाएर फाइदा लुटिरहेका हुन्छन्।’ हुन पनि, नेपालको दुर्दशा कस्तो बन्यो भने असल मान्छे राजनीतिमा आउन रुचि नगर्ने। अनि, कथम् आइहाले पनि सफल नहुने या टिक्न नसक्ने। त्यसो त, बहुदलीय पद्धति अँगालेको मुलुकमा राजनीतिमा लागेकाले नै सुध्रिएर राजनीतिलाई सही ट्रयाकमा ल्याउनु पक्कै पनि उत्तम विकल्प हो। त्यसैले, दलका नेतृत्वले आआफ्नो वस्तुवादी समीक्षा गर्दै जनताले भरोसा गर्नलायक उपयुक्त उत्तराधिकारीलाई अवसर दिएर राजनीतिलाई सही ट्रयाकमा ल्याउँछन् भने बेग्लै कुरा। अन्यथा, अनेक तिकडमको भरमा नेतृत्व हडपेकाले नै सो पद दलकै योग्य उत्तराधिकारीलाई पनि भरसक नछाडी कब्जा गरिरहेको परिप्रेक्ष्यमा उनीहरूमाथि नै थप भर परिरहनु भनेको यथास्थितिमा सम्झौता गर्दै दुर्दशालाई स्वीकार्नुुबाहेक केही हुने छैन।
समष्टिमा, लोकतन्त्र प्राप्तिपश्चात् पनि मुलुकबासीले प्रगतिको अनभूति गर्न नसक्नु शासकहरूको असफलता हो भन्नेमा स्वयम् राजनीतिक दललगायत कसैको विमति छैन। तर, त्यसको जिम्मेवारी लिन दलहरू तयार देखिँदैनन्। सपार्न नसके पनि उनीहरूले कम्तीमा बिगारी मात्र नदिएको भए पनि यस्तो हविगत हुने थिएन। वास्तवमा, आम जनसरोकार भनेको देशको राजनीति तिकडम, जालझेल या भ्रमको खेती गरेको भरमा हैकम चलाउँदै आएकाबाट सही पात्रको जिम्मामा जानुपर्यो भन्ने नै हो। चाहे त्यो दलको प्रतिनिधि होस् वा स्वतन्त्र पात्र। तर, दलहरूसँग तीस लाखभन्दा बढीे आबद्ध छन् र दशकौंको इतिहास रहेको सुविधा छ। हाल स्वतन्त्रहरूले तैपनि केही गरिहाल्छन् कि भनेर आस जगाएको परिपे्रक्षमा देशलाई भड्खालोमा जानबाट जोगाउन सबैले आआफ्नो प्रमुख जिम्मेवारी ठानी होस्टेमा हैसे गरे परिवर्तन असम्भव छैन। अन्यथा, स्वतन्त्रहरूको पाइन हेर्ने दृष्टिकोणले आमजनमानस र नागरिक समाज फगत रमिते बनेर बस्ने हो भने उनीहरूकोे मात्र बलबुताले मझदारमा रहेको देशको डँुगा सहजै पारलाग्ला भन्ने नचिताए हुन्छ।
त्यसैले दलहरूलाई पटकपटक मौका प्रदान गरिसकिएको परिप्रेक्षमा बल्लबल्ल बनेको स्वतन्त्रको महŒवलाई उपलब्धिमूलक बनाउन स्वतन्त्र उम्मेदवार बन्न आवश्यक सर्त तोक्न आवश्यक देखिन्छ। जस्तै ६५ वर्ष उमेर नकटेको, कम्तिमा स्नातक उत्तीर्ण, निष्ठा र इमानदारितामा अब्बल, कहिल्यै कुनै बातकसुर नलागेको, जनताले भरोसा गर्न सक्ने विषय विज्ञता, कार्यक्षमता, सामथ्र्य भएको आदि मापदण्ड निर्धारण गरौं। ताकि, जो पायो त्यसैले रहर गरेर बल्लबल्ल बनेको स्वतन्त्रको अब्बल छविमा धक्का नलागोस्। अनि, दलका लम्पट कार्यकर्ताबाहेक हरेक जिम्मेवार नागरिकले आआफ्नो कर्तव्य ठानी स्वतन्त्र नेतृत्व र सम्बद्ध टिमलाई आफ्नो ल्याकतले भ्याएसम्म स्वस्फूर्त सहयोग गरौं। यसो भएमा, दलहरू नसुध्रिएमा उनीहरूलाई पराजयको सन्त्रास हुने छ। यसबाट, उनीहरूलाई कम्तीमा आफ्नो गुटका चाकडीबाज होइन कि स्वतन्त्रलाई पराजित गर्ने हैसियतका पात्रको उम्मेदवारी दिलाउन स्वाभाविक दबाब पर्ने छ। फलतः योग्य पात्रले राजनीतिमा प्रवेश पाएमा तुलनात्मक सुधारको अपेक्षा गर्ने आधार निर्माण हुने छ। अन्यथा, बल्लबल्ल बनेको स्वतन्त्रप्रतिको क्रेज कथम् बिनाउपलब्धि स्खलित हुनपुगेमा मुलुकले ‘पुनर्मुसिको भव’को नियति व्यहोर्नुको विकल्प हुने छैन।
प्रकाशित: १० श्रावण २०७९ ००:३३ मंगलबार