विचार

इज्जतको इतिवृत्तान्त

समाजमा हरेक व्यक्ति इज्जतको कुरा गरिरहेका हुन्छन्। कसैका लागि अरूका अगाडि स्वावलम्बी भई आफ्नै कमाइमा बाँच्नु इज्जत हो भने कसैका लागि गलत काम नगर्नु इज्जत हो। कसैका लागि जसरी पनि धन जम्मा गर्नु इज्जत हो भने कसैका लागि गलत काम नगरी इमान्दारीपूर्वक कमाउनु इज्जत हो अनि कसैका लागि आफूसँग भएको कुरा बाँड्नु इज्जत हो। कसैका लागि अरूको अगाडि राम्रो देखिनु इज्जत हो भने कसैका लागि असल चरित्रको हुनु इज्जत हो। यसरी समाजमा भिन्नभिन्न व्यक्तिका लागि इज्जतको अर्थ पनि भिन्नभिन्न हुने गर्छ।

नेपाली बृहत् शब्दकोशका अनुसार इज्जतको पहिलो अर्थ समाज वा सम्बन्धित क्षेत्रबाट दिइने आदर, मान, प्रतिष्ठा हुन्छ भने दोस्रो अर्थ हुर्मत, आबरु हुन्छ। त्यसैगरी नेपाली बृहत् शब्दकोशका अनुसार इज्जतदार शब्दको अर्थ इज्जत कमाएको, सम्मानित, प्रतिष्ठित हुन्छ।

समाजमा इज्जतका लागि मानिसहरू आफ्नो आर्थिक हैसियतले नभ्याउँदा–नभ्याउँदै पनि अरूलाई देखाउनुपर्ने सोचले आफूले धान्नै नसक्ने चालचलन, रीतिरिवाज, चाडपर्वआदि मनाउन, भविष्यमा सजिलै तिर्न नसकिने ऋणधन गरेर भोजभतेर गर्न एवम् बालबच्चालाई खर्च धान्नै नसकिने विद्यालय भर्ना गर्न अभिशप्त छन्। जसको परिणाम सामान्य खर्च धान्न सक्ने परिवारका सदस्य पनि विदेश भासिनुपर्ने अवस्थामा पुग्छन् भने केही अनावश्यक रूपमा ऋणको दुष्चक्रमा फस्न पुग्छन्। यस्तै देखाउने प्रवृत्ति पछ्याउन नमान्दा समाजमा पारिवारिक, सामाजिक सम्बन्धमा दरार आएका पनि बारम्बार देख्न पाइन्छ। यसरी हेर्दा इज्जत एक प्रकारले सामाजिक आडम्बर हो।

कसैका लागि अरूका अगाडि स्वावलम्बी भई आफ्नै कमाइमा बाँच्नु इज्जत हो भने कसैका लागि गलत काम नगर्नु इज्जत हो। कसैका लागि जसरी पनि धन जम्मा गर्नु इज्जत हो भने कसैका लागि गलत काम नगरी इमानदारीपूर्वक कमाउनु इज्जत हो अनि कसैका लागि आफूसँग भएको कुरा बाँड्नु इज्जत हो।

समाजमा इज्जतका लागि मानिसहरू आफू समानको सामाजिक हैसियतका व्यक्तिसँगमात्र सम्बन्धमा जोडिनुपर्ने र गलत काम गर्न नहुनेभन्दा पनि गलत काम गरेको अरूलाई थाहा हुनमात्र नहुने भन्ने मानसिकता व्याप्त छ। जसले गर्दा केही अभिभावक त्यही इज्जतका नाममा आफ्ना बालिग छोराछोरीलाई उनीहरूको मन परेको सम्बन्धबाट जबर्जस्ती छुटाएर अर्कोसँग वैवाहिक सम्बन्ध जोड्न बाध्य बनाउने मात्र होइन, केही आफ्ना सन्तानको हत्यासम्म पनि गर्न पुग्छन्। जसको नतिजा ती अभिभावक अथवा तिनका सन्तानको भविष्य त तहसनहस हुन्छ नै, सँगै अरू दोष नभएका व्यक्तिलाई पनि अनावश्यक दुःख, कष्ट, हैरानी आइपर्छ। इज्जतका नाममा केही अभिभावक आफ्ना सन्तानले गरेका गलत काम ढाकछोप गर्न हुने/नहुने, मिल्ने/नमिल्ने सबै काम गर्न पुग्छन्। जसको परिणाम निर्दोष मानिसहरूले मात्र भोग्नुपर्ने हुन्छ।

इज्जतका नाममा धेरै प्रेमीहरू आफूले मन पराएको व्यक्ति छोडेर चित्त नबुझेको मानिससँग सम्बन्ध जोड्ने काम गर्छन्। त्यस्तै आफूले मन पराएको व्यक्तिबिना बाँच्न सक्दिनँ भनेर आत्महत्या प्रयास गर्ने प्रेमीहरू एकअर्कालाई नचिनेको–नजानेको बहाना गर्न बाध्य हुने गर्छन्। समाजमा कोही विवाहेतर प्रेममा रमाउने विवाहित पुरूष र महिला इज्जतका नाममा आफू विवाहेतर प्रेममा रहेको अरूले थाहा पाउने अवस्था आयो भने सामान्य रूपमा स्वीकार गरेर सँगै रहने निर्णय गर्नको सट्टा तेस्रो व्यक्तिको ज्यान लिन पछि पर्दैनन्। त्यही इज्जतका नाममा त्यस्तै मानिसमध्येका केहीले गर्दा केही भ्र्रूणले जन्मिनुअघि नै संसारबाट बिदा पाउँछन्, कोही नवजात शिशुका घाँटी जन्म दिने आमाबाबुबाटै निमोठिन्छन्, अनि कोहीले आफ्नै आमाबुबा र आफ्नै हुर्किएका सन्तानका समेत ज्यान लिन पछि पर्दैनन्।

अपराधमा संलग्न पीडकसँग केही रकम सेवा शुल्क लिएर जानाजान हत्या, बलात्कारका अपराधीलाई सजायबाट जोगाउन उनीहरूकै पक्षमा बहस गरिरहेको वकिलले पनि इज्जतको कुरा फलाकिरहेकै हुन्छन्। उसैगरी वैवाहिक सम्बन्धमा हुँदा सम्बन्धमा रहेर आफूसँग विवाहित व्यक्तिलाई प्रयोग गर्ने व्यभिचारी पुरूष अनि महिलासमेत आफ्ना गलत कामको ढाकछोप गरी देखावटी रूपमा अरूको अगाडि असल, इमान्दार पति/पत्नी नै ठहरिन उही इज्जतकै सहारा लिन्छन्। अनि इज्जतदार नै मानिएका समाजका प्रतिष्ठित केही मानिसले समेत केही पाएमा अथवा पाउने आशामा त्यही इज्जतको सहारा लिई गलतलाई सही र सहीलाई गलत घोषित गरिदिन्छन्।

केही मानिस इज्जतका नाममा आफूसँग भएको अथवा आफूले कमाएको सबै सम्पत्ति मठमन्दिर, गुम्बा, मस्जिद, गिर्जाघर, अस्पताल र विद्यालयलाई दान गर्छन्। समाजमा केही व्यक्ति इज्जतका नाममा आफूसँग भएको अथवा आफूले कमाएको सबै सम्पत्ति अर्कोलाई सुम्पिएर जोगी हुन तयार हुन्छन् भने केही त्यही इज्जतलाई हतियार बनाएर अर्काको भएको सर्वस्व हडप्न हरसम्भव प्रयत्नशील पनि रहन्छन्। इज्जतकै लागि केही मानिसहरू गर्नै नहुने गलत काम गर्न पनि तयार हुन्छन् भने केही मानिस त्यही इज्जतकै लागि आफ्नो ज्यान दिन पनि तयार हुन्छन्। इज्जतकै लागि मानिसहरू कसैले आफूमाथि अन्याय गरे पनि सहिदिन्छन्, कसैलाई सहयोग गर्छन्, कसैलाई दया गरिदिन्छन्, पेट पाल्नकै लागि धेरै जोखिमपूर्ण काम गर्न पनि तयार हुन्छन्। गलत काम गरेर पनि केही मानिस इज्जतको सहारा लिएर चोखिन्छन् भने केही आफ्नो कुनै दोष नहुँदा पनि अरू कसैले आफूमाथि अन्याय गर्दा आफ्नो इज्जत गएको सम्झेर ज्यान दिन्छन् अथवा मानसिक सन्तुलन गुमाउँछन्।  

इज्जत सापेक्ष नभई तुलनात्मक कुरा हो किनभने हामीले इज्जतको कुरा गर्दा तुलनात्मक रूपमा हेरिरहेका हुन्छौँ। केही भौतिक सम्पत्ति नभएको मानिसभन्दा केही भएको ज्यादा इज्जत हुन्छ। केही नजानेको मानिसभन्दा केही जानेको मानिसको ज्यादा इज्जत हुन्छ। समाजमा केही पेसा इज्जतदार मानिन्छन् भने केही पेसा कम इज्जतदार मानिन्छन्। केही पेसा–व्यवसाय गरेकै आधारमा केही इज्जतदार मानिन सक्छन् भने केही कम इज्जतदार भएको ठहरिन पनि सक्छन्। एकजना सामाजिक मनोवैज्ञानिक अब्राहम मास्लोले मानिसका आवश्यकताहरूको तहगत रूपमा वर्गीकरण गर्दै भनेका थिए, ‘आवश्यकताहरूमा आधारभूत आवश्यकता पूर्ति भएपछि मात्र इज्जतलगायतका माथिल्लो तहका आवश्यकता पूर्ति गर्न मानिसहरूको जोडबल रहन्छ।’ त्यसैगरी दार्शनिक कार्ल माक्र्सले भनेका थिए, ‘सर्वहारा वर्गसँग गुमाउनका लागि केही हुँदैन।’ सामाजिक घटना परिघटनाले यी दुवै विद्वान्का भनाइलाई समेत गलत साबित गरिदिन्छन् किनभने एकातिर आधारभूत आवश्यकता पूर्तिकै लागि समाजमा कसैले इज्जत जाने मानिएका काम गर्दैनन्।  

धेरै पढ्नु, कुनै पेसा गर्नु, धन कमाउनु, राम्रो लाउनु, मिठो खानु, घुम्नु, डुल्नु, घर किन्नु, गाडी चढ्नु, ठुलो पदमा पुग्नु, हैसियतमा आफ्नो कोही हुनु, भोजभतेर गर्नु, शरीरभरि गरगहना लगाउनु, राम्रो भाषा बोल्न जान्नु, छोराछोरीलाई राम्रो स्कुलमा पढाउनु, छोराछोरीले राम्रोसँग पढ्नु, छोराछोरी विदेश जानु, छोराछोरीले कमाउनु, छोराछोरीको आफूले सोचेकै ठाउँमा बिहेबारी गराउनु, छोराछोरीले गलत काम नगर्नुलगायत समाजमा अनेक चल्तीका इज्जत मापनका कुरा छन्, जसले हामी समाजमा इज्जतदार हौँ अथवा होइनौँ भन्ने निर्धारण गर्छन्। सबै कुराले धानिएको इज्जत कुनै एउटा मापनले शून्यमा पुर्‍याइदिन पनि सक्छ। त्यसैले त हामी हरेक मापनमा उत्कृष्ट बनेर इज्जतदार बन्न हरसम्भव प्रयासरत हुन्छौँ। त्यससँगै कुनै गलत काम गरेको कुरा अर्कोले थाहा पाएर आफ्नो इज्जतको पगरी उत्रेला कि भनेर गल्ती लुकाउन त्योभन्दा ज्यादा प्रयत्नशील बन्छौँ।

इज्जतका लागि मानिस बाँच्छ, बाँच्न दिन्छ, कमाउँछ, रमाउँछ, देखाउँछ, फकाउँछ, तर्साउँछ र मर्छ। कोही इज्जतदार बनेर बाँच्छ, कोही इज्जतदार हुन बाँच्छ र कोही इज्जतदार भएर मर्छ। इज्जत सहारा हो, हतियार हो, आडम्बर हो, प्रतिष्ठा हो, उत्प्रेरक हो र सबैभन्दा मुख्य कुरोचाहिँ धेरैका लागि जिउने मुख्य बहाना हो।    

akhemraj888@gmail.com

प्रकाशित: २५ असार २०७९ ०३:३९ शनिबार