विचार

कांग्रेसको बैसाखी

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट फाल्न सफल गठबन्धन चुनावसम्मै सँगसँगै जान्छन् कि जाँदैन भन्ने टुङ्गो लागिसकेको छैन।

गठबन्धन दलका सबै शीर्ष नेता लगभग यसैलाई निरन्तरता दिने सवालमा एकै ठाउँमा उभिएको देखिन्छ। शीर्ष नेताको सोच वा अडानमा पार्टीका अन्य तहका नेताबाट भने फरक–फरक मत र धारणा पनि व्यक्त भइरहेकै छन्। तर यस मुद्दामा कुनै पनि दलले कार्यकर्ता, समर्थक र शुभेच्छुहरूको तहसम्म बहस गरेका पाइँदैन। यसले गर्दा गठबन्धनभित्रका दलका कार्यकर्तामा अन्योल छ।

गठबन्धनभित्रको सबैभन्दा ठूलो दल कांग्रेस निर्णायक भूमिकामा देखिन्छ। कांग्रेसभित्र पनि गठबन्धनका सम्बन्धमा मतमतान्तर बाहिर आइरहेको छ। गठबन्धन गर्दै नगर्ने वा आफू कमजोर भएको ठाउँमा मात्र गर्ने जस्ता तीन किसिमका विचार बाहिर आइरहेका छन्।

कांग्रेसभित्रका प्रतिपक्ष तथा प्रभावशाली नेता शेखर कोइराला, उनकै समूहबाट महामन्त्री जितेका गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मा गठबन्धन गरेर भन्दा नगरेर जाँदा काँग्रेसलाई लाभ हुन्छ भन्ने सोचमा देखिएका छन्।

कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने खुलेरै गठबन्धनको बचाउ गरिरहेका छन्। गठबन्धनको पक्ष र विपक्षमा तर्क गर्ने नेताका आ–आफ्ना स्वार्थ भए पनि ती पार्टीगतहुन् कि व्यक्तिगत, त्यो भने स्पष्ट भैसकेको छैन।

सभापति देउवाले गठबन्धनभित्र दललाई अप्ठेरो हुनेगरी अभिव्यक्ति नदिन आफ्ना नेताहरूलाई सचेत गराइरहेका छन्। त्यसो त उनले प्रतिपक्षको आलोचनामा समेत नरम व्यवहार प्रदर्शन गरेका छन् र त्यै अनुकूल निर्देशन पनि दिएका छन्। गत बिहीबार मात्र उनले वीरगन्ंजमा संविधान र लोकतन्त्रको रक्षा गर्न बनेको यस गठबन्धनलाई तीनै तहको निर्वाचनसम्म निरन्तरता दिने धारणा व्यक्त गरे।

तीनै तह (स्थानीय, प्रदेश र संघीय) को निर्वाचनमा कसैको बहुमत नआउने उनको अनुमानले गठबन्धनभित्रका दलको धरातल कमजोर छ भन्ने पुष्टि गर्छ। देउवाले यसो भनिरहँदा गठबन्धनभित्र सबैभन्दा ठूलो हिस्सा ओगट्ने उनकै दल कांग्रेस पनि दिन/प्रतिदिन कमजोर हुँदै गएको आभास हुन्छ। आफ्नो दललाई लोकप्रिय बनाएर चुनावमा एक्लै जाने हिम्मत देखाउनुुको साटो लोकतन्त्र र संविधान रक्षाको अजेन्डा अघि सारेर गठबन्धनको निरन्तरताको कुरा उठाउनुले देउवाले आफ्नो अक्षमता ढाक्न खोजेको त होइन भन्ने प्रश्न उठेको छ।

कांग्रेस नेतृत्वले चुनावमा एक्लै भिड्ने हिम्मत किन गर्न सकिरहेको छैन? काँग्रेस जस्तो लोकतन्त्रमा खारिएको र बलियो जनाधारयुक्त दललाई स्वंयम यसको नेतृत्वले निकै कमजोर आकलन गर्नुले आमकार्यकर्ता उत्साही बन्न सकेका छैनन्।

गठबन्धनसहित चुनावी तालमेल गर्दा तीनै तहको निर्वाचनमा धेरैभन्दा धेरै सिटका लागि अन्य तीन दल (नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) को बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष) सँग बार्गेनिङ गरेर सिट संख्या बढाउनुको साटो पार्टीभित्रको लोकतन्त्र बलियो बनाउँदै देश बनाउने दीर्घकालीन योजना तथा कार्यक्रमहरू अघि सारेर अघि बढ्नुपर्ने थियो, जुन हिम्मत र आँट सभापति देउवाले देखाउन सकेका छैनन्।

एक्लै चुनावमा जाँदा आउने सिट संख्या भन्दा गठबन्धन गरेर जाँदा धेरै सिट जित्न सकिन्छ भन्ने गणितीय तथ्याङ्कमा उनी ढुक्क देखिन्छन्। यही सिट संख्या देखाएर पार्टीभित्र बलियो हुने र गठनबन्धनका प्रमुख निर्णयकर्ताका रूपमा आफूलाई शक्तिशाली नेताका रूपमा अनुमोदन गराउने दाउमा देउवा छन्। 

यसबाट उनी त बलियो होलान् तर दलको भविष्य के हुने हो? यसतर्फ उनको ध्यान पुगेको देखिँदैन। उनको यस अडानले सिद्धान्त, अजेन्डा र अहिलेसम्मको दलको साखलाई बिस्तारै घटाउँदै लैजाने निश्चित छ। यो गठबन्धनबाट अस्तित्वको धरापमा पुगेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी) र जसपालाई फाइदा पुगे पनि कांग्रेसलाई भने फाइदा हुने कतै देखिँदैन।

कांग्रेस सबैभन्दा पुरानो दल वा राजनीतिक शक्ति भन्नेमा कसैको दुईमत छैन। राणा शासनविरुद्ध होस् वा निर्दलीय शासन व्यवस्थाविरुद्धको लडाइँ अथवा राजाको निरङ्कुशताविरुद्धको आन्दोलनमा होस्, नेपाली काँग्रेसको नेतृत्वदायी भूमिका र योगदान अग्रस्थानमा छ।

राष्ट्रियता, लोकतन्त्र र समाजवाद जस्तो नेपाली मौलिकतामा आधारित सिद्धान्तलाई आत्मसात गर्दै बिपीले निर्दिष्ट गरेका पथमा दृढताका साथ लागिपरेको दल काँग्रेस हो। नेपालको गणतान्त्रिक संविधान निर्माणलगायत हरेक राजनीतिक घटनाक्रममा अग्रणी अभिभावकीय भूमिका निर्वाह गरेका कारण काँग्रेसप्रति आमनागरिकको आकर्षक बढेको हो।

पछिल्लो समय गठबन्धनका नाममा आफ्नो सिद्धान्त, विचार, नीतिलगायत कुरामा छेउटुप्पो केही पनि नमिल्ने राजनीतिक दलहरूसँग सर्वकालीनरूपमा गठबन्धन गरेर जाँदा आफ्नो दलको मौलिकता गुम्ने त्रास कार्यकर्ता र आमशुभचिन्तकमा देखिन थालेको छ।

चुनावी तालमेलमा जाँदा सबै सिटमा आफ्ना उम्मेदवार हुँदैनन्। त्यस्तो अवस्थामा कांग्रेस कार्यकर्ता र समर्थकहरूले कसरी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी) र राजपालाई मतदान गर्लान्? जबकि यी दलका नीति, सिद्धान्त र विचार कांग्रेसको भन्दा ठ्याक्कै उल्टा छन्। 

आफ्नो दलका स्थानमा सिद्धान्त, विचार र नीति केही पनि नमिल्ने अर्का दलका उम्मेदवारलाई मतदान गर्नुपर्दा ती कार्यकर्ता, समर्थक वा शुभेच्छुकको आस्थामा चोट पुग्छ कि पुग्दैन? यसले गर्दा मतदानमा कांग्रेसलाई हेर्ने दृष्टिकोण र दलप्रति आममतदाताको झुकावमा विचलन आउन सक्छ।

कांगे्रस कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी), राजपालगायतलाई मतदान गर भनेर बाध्य पार्दा दलको आन्तरिक लोकतन्त्र के हुन्छ? आफ्ना दलका उम्मेदवारलाई मतदान गर्न पाउनुपर्ने कार्यकर्ताको अधिकारबारे कांग्रेस नेतृत्वले के सोचेको छ? यसबाट कार्यकर्ता तथा समर्थक मतदाताहरूमा घोर निराशा उत्पन्न हुन सक्छ।

साथै गठबन्धनका कुनै पनि दललाई मतदान नगरी गठबन्धन बाहिरका अन्य दललाई मतदान गर्ने वा मतदान नै नगर्ने अवस्था सिर्जना हुन्छ कि हुदैन? यी पक्ष केलाउँदा नियमित गठबन्धनले काँग्रेसलाई बलियो र आत्मनिर्भर बनाउनुको बदला कमजोर र परनिर्भर बनाउनेछ भन्ने आमधारणा छ।

उल्लिखित प्रश्नहरू गठबन्धनका सबै दलभित्र र कार्यकर्ता तहमा उठ्छ नै तर कांग्रेसभित्र सबैभन्दा बलियो गरी उठ्न सक्छ। सत्ता गठबन्धनका अन्य दलको राजनीतिक हैसियत र धरातल कांग्रेसको भन्दा निकै कमजोर छ। त्यसैले उनीहरूका लागि भने गठबन्धन अनिवार्य आवश्यकता हो। माओवादी केन्द्र र एकीकृत समाजवादी चोइटिएर बनेका दल हुन। सरकारमा रहेको राजपा पटक–पटक टुक्रिएर यहाँसम्म आएको एउटा समूह हो।

सत्ता र शक्तिका लागि गठबन्धनलाई निरन्तरता दिँदा कार्यकर्ता, समर्थक, शुभेच्छुकमा अवश्य पनि निराशा र विचलन आउँछ। कुनै पनि राजनीतिक दलकोे सबैभन्दा ठूलो शक्ति भनेकै यही समूह हो, यही समूुहमा निराशा र विचलन आउँदा दलको धरातल कमजोर हुने निश्चित छ।

त्यसैले यस्ता गठबन्धनले नेताहरूलाई सधैँ शक्ति र लाभको ठाउँमा त पुर्‍याउला तर केन्द्रदेखि तल्लो तहसम्म दलको उपस्थिति वा सहभागितालाई कमजोर बनाउँदै लैजाने कुरा पनि उत्तिकै निश्चित हुन्छ। कांग्रेसलाई सधैँ अरूको सहारामा हिँड्नुपर्ने अवस्थामा पुर्‍याउँछ।

प्रकाशित: १४ चैत्र २०७८ ०१:४८ सोमबार

‘घरघर जाऔं कांग्रेस जिताऔं’ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुुर देउवा