विचार

पुटिनको दिमागमा के छ?

रुसी राष्ट्रपति पुटिनले युक्रेनलाई पूर्णरूपमा आक्रमण गर्ने निर्णय कुनै पनि राजनीतिक तथा अन्य तर्कविरुद्ध छ।

उनको कठोर अधिनायकवादी तर्कलाई समेत यसले अवज्ञा गर्छ। विनाउक्साहट भएको यो आक्रमणले स्टलिन जस्ता तर्कहीन तानाशाहको पंक्तिमा उनी उभिएका छन्। आफ्नो शक्तिलाई निरन्तरता दिन यसलाई विस्तार गर्नुपर्छ भन्ने स्टलिनको धारणा थियो। यही तर्कका कारण स्टलिनले आफ्नै नागरिकविरुद्ध भीषण अत्याचार गरेका थिए जसका कारण लाखौँ युक्रेनीले भोकभोकै मर्नुपरेको थियो।  

बीसौँ शताव्दीको अर्काे सामूहिक हत्या चीनमा माओत्सेतुङले गरेका थिए। माओत्सेतुङले राजनीतिक शक्ति बन्दूकको नालवाट आउँछ भनेका थिए। अहिले आणविक मिसाइलबाट राजनीतिक शक्ति हासिल गर्न सकिन्छ भन्ने देखिएको छ। माओत्सेतुङले आन्तरिक तथा बाह्य सत्रुसँग लड्न मेरा जिज्यु बुबा तथा सोभियत संघका नेता निकिता ख्रस्चेभसँग आणविक हतिहार मागेका थिए।

यही प्रकृतिको सोचअनुसार पुटिनले युक्रेनमाथि आक्रमण गरेका देखिन्छ। पुटिनले युक्रेनबाट नाजी हटाउने (डिनाजिफाइ) चाहेका छन् तर यो तर्क असंगत छ, किनभने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनस्की आफैँ यहुदी हुन्।

उसो भए पुटिनको अन्तिम उद्देश्य के हो त? के युक्रेनको सैनिक संरचनालाई ध्वस्त पारेर अथवा जेलेनस्कीको ठाउँमा अर्काे कुनै कठपुतली सरकार गठन गरेर नाटोलाई सजाय दिने पुटिनले अपेक्षा गरेका हुन्? अथवा दोस्रो विश्व युद्धताका फ्रान्सका सैनिक कमान्डर फिलिप पेटानले गरेझैँ सहयोगी भूमिका निर्वाह गर्न बाध्य बनाएर जेलेनस्कीलाई युक्रेनी पेटान बनाउन चाहन्छन् पुटिन?

यी प्रश्नका उत्तर ‘हो’ हुन सक्छ। तर उनको युक्रेनलाई आक्रमण गर्नुुको उद्देश्य व्यावहारिक नभै खतरनाक छ। रुसलाई प्रष्ट प्रभाव क्षेत्रसहितको विश्व शक्तिका रूपमा उभ्याउने अहंकारी चाहनाबाट उनी प्रेरित छन्। उनी दोस्रो विश्व युद्धपछि आयोजना गरिएको याल्टा एन्ड पोट्सड्याम सम्मेलन जस्तै गरी चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो वाइडेनसँग वार्ता गरेर विश्वलाई आफूहरूबीच बाँडचुँड गर्न चाहन्छन्।

त्यतिबेला उनी र उनका नयाँ सहयोगी चिनफिङले विश्वमा पश्चिमा प्रभाव घटाउन हातेमालो गर्न सक्छन्। यसले रुसको प्रभाव अभूतपूर्व हिसाबले बढ्नेछ। नोबल पुरस्कार विजेता लेखक अलेक्जेन्डर सोल्जेनिटसिनले धेरै अघिदेखि इंगित गरेझैँ पुटिन रुसी सभ्यताको आधार मानिने पररम्परागत क्रिस्तान राज्य बनाउन उद्यत देखिन्छन्।

उनले यो रुसी युनियनमा रुस, युक्रेन, बेलारुस, रुसी मूलको अधिपात्य रहेको काजिकित्सानका केही क्षेत्र समेट्न चाहेका छन्। युक्रेनमा भएको यो पूर्ण स्तरको आक्रमणपछि यसअघि सोभियत युनियनमा रहेका देश चिन्तित हुन थालेका छन्। त्यसो त, अजरबैजानका राष्ट्रपति इहाम अलियेवलाई फोन गरेर साम्राज्य विस्तार गर्ने आफ्नो कुनै योजना नभएको भनेर पुटिनले आश्वस्त पार्न खोजेका छन्। स्लोभाक देशहरूमा तेस्रो राष्ट्रले नियन्त्रण जमाएकामा पुटिन असन्तुष्ट छन्।

रुसी लेखक अलेक्जेन्डर सोल्जेनित्सिनको सोचअनुसार चल्ने पुटिनको प्रयासलाई उनको सैनिक कारबाहीले पुष्टि गर्दैन। राष्ट्रवादी उन्मादमा पनि आधारभूत नैतिकता गुमाउन नहुने सोल्जेनित्सिन ठान्थे। ऐतिहासिक रुसलाई पुनस्र्थापना गर्ने चाहना पूरा गर्ने क्रममा निर्दाेष युक्रेनी तथा रुसीको संहार कल्पनासमेत गर्न नसकिने विषय हो। युक्रेनका सहरमा बम हान्ने निर्देशन दिए पनि युक्रेनी जनताप्रति आफ्नो स्नेह रहेको पुटिन दाबी गर्छन्।

चीनले अन्ततः आफूलाई समर्थन गर्ने पुटिन ठान्छन्। तर चिनियाँ अधिकारीले यो मामलामा संयम राख्नुपर्ने भन्दै आएका छन्। अमेरिकाको नेतृत्वमा रहेको गठबन्धनलाई चुनौती दिन पुटिन चीनसँग धेरै भर परेको देखिन्छ। पुटिनले राजनीतिक तथा रणनीतिक फाइदाका लागि चीनसँग अन्यथा गर्ने छैनन्। यो चिन्ताको विषय हो।

एक नेताले गर्ने निर्णयको सही हिसाबकिताब गर्न पुटिन असफल देखिएका छन्। समान हैसियतको नभै चीनको सहयोगी (भ्यासल स्टेट) बन्ने दिशामा रुस उन्मुख छ। युक्रेन आक्रमणपछि पुटिनका अन्य सहयोगी र समर्थक पनि टाढिएका छन्। रुसका विश्वासपात्र राष्ट्र चेकोस्लाभाकियाका राष्ट्रपति मिलोल जेमानदेखि हंगेरीका प्रधानमन्त्री भिक्टोर अर्वानले समेत यो कारबाहीको आलोचना गरेका छन्। तर यो आक्रमणले सबैभन्दा महत्वपूर्ण बढी रुसी जनतालाई विश्वसमुदायबाट अलग्याएको छ।

युक्रेनमाथि भएको बर्बर आक्रमणपछि रुसको दशकौँको आर्थिक तथा सामाजिक विकास प्रभावित भएको छ र भविष्यप्रतिको रुसी जनताको आशावादितामा तुषारापात भएको छ। विश्व समुदायका लागि अब रुस अछूत बन्नेछ।

जब मैले हालचाल बुझ्न किभमा रहेका एक साथीलाई फोन गरेँ, उनले मानिस बमबाट सुरक्षित हुने स्थान (बम सेल्टर) र सबवेमा लुकेको बताए। दोस्रो विश्वयुद्ध जस्तै स्थिति बनेको प्रतिक्रिया उनको थियो। लडाइँ र युद्धले मित्रवत् देशलाई नोक्सान गर्ने धारणा राख्दै आएका पुटिनले गरेको आक्रमणप्रति उनी अचम्मित थिए। कुराकानीका क्रममा उनले मलाई सोधे, ‘के भइरहेछ, तिमी भन। तिमी रुसीहरूले नै यस्ता निरंकुशलाई निर्वाचित गरेका हौँ।’

मेरा साथीको भनाइबाट बुझ्न सकिन्छ तर यो सत्य होइन। सुरुमा रुसी जनताले पुटिनलाई निर्वाचित गरेका हुन् तर पछिल्ला वर्षमा उनले आफूलाई सत्ताप्रति आत्मसमर्पण गरेका छन् किनभने हाम्रो जनमतको कुनै अर्थ छैन। यसैगरी युक्रेन आक्रमणप्रति ७३ प्रतिशत रुसी जनताको समर्थन रहेको दाबी पनि प्रोपोग्यान्डा मात्र हो।

पक्राउ पर्ने तथा प्रहरीको ज्यादती हुन सक्ने हुँदैहुँदै पनि युद्धको विरोधमा विभिन्न सहरमा हजारौँले प्रदर्शन गरेका छन्। यस पटक रुसी जनताले शान्त हिसाबले आत्मसमर्पण गर्ने संभावना छैन। आगामी दिन र सातामा रुसी जनता युद्धको पक्षमा नरहेको विश्वले थप प्रमाण पाउनेछ। स्टालिनको मृत्यु नहुन्जेल स्टालिनवाद मरेको थिएन, माओवादमा पनि त्यही लागु हुन्छ। यही कुरा पुटिनवादमा पनि सत्य होला त?

(लेखक दि न्यु स्कुलकी अन्तर्राष्ट्रिय मामला विषयकी प्राध्यापक हुन्। प्रोजेक्ट सिन्डिकेटबाट।)

प्रकाशित: २५ फाल्गुन २०७८ ०१:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App