विचार

आराध्यदेव पशुपतिनाथ र महाशिवरात्रि

महाशिवरात्रि २०७८ सालमा फागुन १७ गते मंगलबार परेको छ। यो विश्वका समस्त हिन्दुको एक महत्वपूर्ण दिन हो।

नेपालको पशुपतिनाथ, शिव मन्दिर र भारत तथा विश्वका शिवजीको मन्दिरमा शिवरात्रिका दिन असंख्यौं साधु, सन्त, तपस्वीलगायत हजारौं तीर्थयात्रीको उपस्थिति रहन्छ। मानव कल्याणका लागि बिषलाई आफ्नो कण्ठमा राखी त्यसको डाहाबाट मुक्त हुन त्रिशूलबाट जल निकाली कुण्ड बनाइ त्यही कुण्डमा विराजमान भएकाले गोसाइँ–कुण्डको पनि ठूलो महिमा छ।

अठार पुराण सबैमा शिवको महिमा छ र शिव पुराण शिवजीको बयानको वृतान्त हो। हिमवत्खण्डको पुस्तकमा– ‘मरिचि, पुलह, ऋतु, भृगु, अत्री आदि ऋषिले पशुपतिनाथको पूजा गरेर बसेको उल्लेख छ। नेपालका पशुपतिनाथ, स्वयम्भूनाथ, मुक्तिनाथ, गोसाइँ–कुण्ड, बाराहक्षेत्र, जनकपुरधाम, लुम्बनी, बौद्धनाथ धाम जस्ता प्रसिद्ध ठाउँ छन्। नेपालमा रहेका धाम, पवित्र मन्दिर र सयौं तीर्थस्थलका साथै यहाँको सभ्यता र सांस्कृतिक वैभवहरूको विश्वब्यापी मान्यता छ।

पशुपतिनाथमै विद्यावारिधि गरेका डा. गोविन्द टण्डन भन्छन्– ‘विन्ध्याञ्चल पर्वतदेखि दक्षिणका तैलिङ्ग ब्राह्मण पशुपतिनाथको पुजारी हुनुपर्ने परम्परा छ। ऋग्वेद वा साम्वेदी हुन सक्छन्। मन्दिरको पुजारी कृष्ण यजुर्वेदीय परम्पराका हुन्छन्। यजुर्वेदीय परम्पराका नेपाली विद्वान् पशुपतिनाथको पूजा गर्न योग्य व्यक्तिहरू अहिले उपलब्ध छन् जस्तो लाग्दैन।’

पूजारीको संबन्धमा प्रताप मल्लले कर्नाटकको राजासँग सम्पर्कमा जाँदा कर्नाटक राजाले सहयोगीका रूपमा तान्त्रिकहरू ज्ञानानन्द र लुम्मकर्ण भट्ट नेपालमा आएका र पछि तिनै तान्त्रिक भट्टहरूको मागअनुसार भट्टहरू पशुपतिनाथका पुजारी बनाइएको हो।

अहिलेसम्म पशुपतिनाथको मन्दिरमा मूलभट्टसहित दक्षिण भारतका चारजना भट्ट पुजारी र १०६ जना नेवार भण्डारी छन्। पशुपतिक्षेत्र देवपाटनमा जन्मिएका भण्डारीहरूलाई मात्र पशुपतिनाथका पूजामा चलाइन्छ। भट्टहरू तथा भण्डारीहरू गृहस्त हुन्छन्। भारतका कैयौँ मन्दिर धामहरूमा नेपाली पूजारी रहने व्यवस्था छ।

पशुपतिनाथ विश्वभरका हिन्दुका लागि आकर्षणको केन्द्र बनेको छ। भारत र अन्य देशबाट लाखौँ तीर्थयात्री तथा साधु–सन्त पशुपतिनाथको दर्शनार्थ आएका हुन्छन्। यहाँका हिमाल, पहाड, तराईका हरक्षेत्र, पवित्र नदीहरू, ताल, धाम, जंगल, भूभागले सिँ चित छ। उता भारतखण्डमा एक हजार वर्षसम्म मुसलमान र अंग्रेजी साम्राज्यले हिन्दु र बौद्धका अस्मिताहरू तोडफोड गरेर बिटुलो बनाउँदै आफ्नो भाषा, धर्म र संस्कृति लाध्ने काम गर्‍यो।

तर नेपाल एकमात्र पवित्रभूमिका रूपमा सुरक्षित हुँदै आफ्नो अस्मिता बचाउन सकेकाले नेपालको विश्वमा ठूलो प्रतिष्ठा छ। नेपालमा पशुपतिनाथको पूजारीका रूपमा दक्षिण भारतबाट भट्ट पूजारीको व्यवस्था छ। भारतका कैयौँ मन्दिर धामहरूमा नेपाली पुजारी रहने व्यवस्था रहेको छ। नेपाल तथा भारत हिन्दुधर्म दर्शनको उद्गम हो।

महाभारतकालमा युद्धको समाप्तिपछि हिमाल जाँदा पाण्डवहरूले प्रायश्चितस्वरूप पशुपतिनाथको पूजा गरेका र लिच्छवि वंशका पहिला राजाले ‘विक्रमादित्य’ को उपाधि धारण गरेर ‘वैशालाधिपति’ का रूपमा पशुपतिनाथ र वज्रयोगिनीको तपस्या गरी शक्ति प्राप्त गरेर बत्तीसपुलतीमा आफ्नो सिंहासन कायम गरेका र विक्रम संवत् चलाएका थिए। उनैबाट कासीमा विश्वनाथको मन्दिर स्थापना गरिएको कुरा देवमाला वंशावली र हिमवत्खण्डमा उल्लेख छ।

भारतमा मुस्लिम साम्राज्यका बेला विक्रम संवत् १४०० तिर बंगालका नबाव सुल्तान समसुद्दिनले एकतीस हजार मुसलमान पल्टन लिएर नेपालका मन्दिर तथा विहारहरू ध्वस्त गर्दै जनकपुर, पनौती हुँदै पशुपतिनाथको मन्दिरसमेत ध्वस्त पार्ने धृष्टता गरे। अन्तिम लिच्छवि राजा जयर्जुनदेवको शासन कमजोर थियो।

मुसलमानको आक्रमणले सारा हिन्दु तथा बौद्धहरूमा कोलाहल मच्चिएको अवस्थामा यस क्षेत्रलाई बचाउन पाल्पा, कास्की, गोरखा, लमजुङका राजाहरूको सहयोग लिएर खसराजा जयस्थिति मल्लले मुसलमान फौजमाथि आक्रमण गरे। तीस हजार चार सय मारिए र ६ सय जति बाँचेर भागेका थिए भन्ने कुरा भक्तपुर तजेलु स्तम्भमा उल्लेख छ (योगी नरहरिनाथ)।

त्यसपछि जयस्थिति मल्ल काठमाडौँ उपत्यकाको राजसिंहसानमा बसेर पशुपतिक्षेत्रमा जीर्णोद्घार र पुनरुत्थान गरी वाग्मतीपारि राम मन्दिर निर्माण गरेर कुम्भेश्वर महादेव स्थापना गरी कोटीहोम गर्दै शुद्ध शान्ति गरेर पराई धर्म र आक्रमणकारीबाट पुशपतिनाथमाथि कुनै कुदृष्टि नपरोस् भन्नका लागि नै जयस्थिति मल्लले त्यसैबेलादेखि पशुपतिनाथको मन्दिरभित्र हिन्दु तथा बौद्धबाहेक अरूलाई प्रवेश निषेध गर्ने नियम चलाएको थियो। पशुपतिनाथको मन्दिरभित्र यसरी हिन्दुलाई मात्र प्रवेश गरेर पशुपतिनाथलाई संकीर्ण बनाइएको छ भन्ने विवाद पनि उठाइएका छन्।

कतिपय नास्तिक प्रश्न गर्ने गर्छन् कि धर्म भनेको सबैका लागि साझा मानिनुपर्छ। त्यसो भन्दै पशुपतिमा अन्य धर्मावलम्बीलाई रोक लगाएकामा असन्तुष्टि व्यक्त गरेका पनि पाइन्छ। तर परम्परागत मान्यतालाई विचलित बनाएर मान्यता तोड्न सकिँदैन।

विश्वका सबै धर्मका परम्परालाई संविधान र कानुन भन्दा माथि मानिन्छ। कैयौँ मस्जिद र चर्चमा यो भन्दा कडा नियम लगाएका छन्। साउदी अरबमा शिवजीको फोटोसमेत बोक्न पाइँदैन। पाकिस्तानमा नै घोडाका टापको औँठी लगाएर हिँड्ने हिन्दु सुरक्षित हुन्नन् भनिन्छ। कतिपय तर्क युक्तिसंगत लागे तापनि धार्मिक परम्परा तोड्न सजिलो हुँदैन। संविधान फेरिरहन सकिन्छ तर परम्परागत नियमहरू बदल्न गाह्रो हुन्छ। तर पशुपतिनाथमा जुन/जस्ता नियम लागु छन्, ती सबैमा तर्कसंगत देखिन्छन्। कैयौँ मस्जिद र चर्चमा यो भन्दा कडा नियम लगाएका छन्।

वैदिक हिन्दु सनातन धर्म सभ्यताको उद्गम हो। वैदिक हिन्दु सनातन धर्म पञ्चदेवका उपासक हुन्छन्। ॐ कार जगत् नै वैदिक हिन्दु पञ्चदेवका उपासक हुन्। वैदिक सनातन हिन्दु धर्मको आडमा रहेर हामी एकले अर्कोका सम्मान गर्छौँ। सभ्यताको विकासक्रममा संसारभरका देशमा हिन्दु धर्म र संस्कृतिको गहिरो प्रभाव पारेको पाइन्छ।

संस्कृति एवं सभ्यतामा शिवलिङ्ग पूजा पनि त्यसैको प्रतिबिम्ब हो। महेन्जोदारो र हरप्पा तथा सिन्धु घाँटीको सभ्यतामा भएको पुरातात्विक उत्खननमा शिवमूर्ति प्राप्त हुनाले शैव संस्कृति विश्वव्यापी भएको कुरा पुष्टि हुन्छ। शिवलिङ्गबारे शिवपुराणमा विस्तृत व्याख्या छ।

शिवपुराणमा शिवजीबारे उल्लेख छ– ‘शिवलिङ्ग समसद्भूतः कोटीसूर्यसम प्रभुः। ‘देव देवज महादे! नीलकण्ठ नमोस्तुते!’ कालरात्रि, मोहरात्रि र महारात्रि यी तीन रात्रिको हिन्दु जगत्मा विशेष महत्व छ। यी रात्रिमध्ये महारात्रि नै महाशिवरात्रि हो। ‘सत्यं शिवं, सुन्दरम् ।’ शिव भनेको कल्याण हो।  

dirgharajprasai@gmail.com

प्रकाशित: १७ फाल्गुन २०७८ ०३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App