विचार

समाजका रोगको निदान र उपचार

मान्छेको चिकित्सक बन्न नेपाली युवा अहिलेसम्म चिकित्साशास्त्र पढ्दैछन् तर समाजको चिकित्सक बन्न समाजशास्त्र पढिरहनु पर्दैन। हाम्रो समाज विभिन्न थरीका रोगबाट आक्रान्त छ र करिब सबैले नहुनुपर्ने के हुँदैछ भनेर सरसर्ती भनिदिन सक्छन्। यस्ता समाजका ‘डाक्टर' कुरा सुन्दासुन्दा र आफैँले भोग्दाभोग्दा सबैले बुझिसकेको तथ्य के हो भने नेपाली समाजको जटिल क्यान्सर भ्रष्टाचार नै हो।भ्रष्टाचारपछि कानुनको शासन, नातावाद, कृपावाद, गुण्डागर्दी, करछली क्रमशः आउलान्। नेपाली समाज सामन्तवादले गहिरोसँग जरो गाडेको समाज पनि हो, महिलामाथिको भेदभाव र थिचिएका समूहप्रति गरिने विभेद पनि नेपाली समाजका समस्या हुन्। यी समस्याहरूको ‘डाएग्नोसिस' त सबैबाट भएकै छ अब उपचार कसरी सम्भव छ भन्ने विषयमा भने अनेक धारणा छन्।
चिकित्सा क्षेत्रमा डाक्टरहरूबीच एउटा भनाइ प्रचलित छ – सर्जनकहाँ गयोभने साधारण औषधिले निको हुने बिरामीलाई पनि सकभर शल्यक्रिया गर्न खोज्छन् र फिजिसियनको पुगेमा चाहिँ तुरुन्तैै अपरेसन गर्नुपर्ने बिरामीलाई पनि सकभर केही महिना औषधि चलाउन चाहन्छन्। नेपाली समाजका सामाजिक डाक्टरको अवस्था र प्रवृत्ति पनि करिब त्यस्तै देखिएको छ।
समाजमा भएका समस्याको समाधानका लागि मुख्यतः तीन प्रकारका डाक्टर छन् र ती तीनैथरीको आआफ्नै पे्रस्त्रि्कप्सन देखिएको छ। पहिलोथरीका डाक्टरको उपचारलाई ‘ओँठे उपचार पद्धति'भन्दा हुन्छ। दोस्रोथरीको ठम्याई डलर ‘सर्व रोग निवारक' हो भन्ने पद्धतिमा आधारित देखिन्छ भने तेस्रोथरीको उपचार विधि चाहिँ कोठे विद्रोह हो।
पहिलोथरीका समाजका डाक्टरमा मुख्यतः लाभान्वित व्यक्ति हुन्छन्। यस्ता व्यक्ति प्रायः राजनीतिक दलसंग सम्बद्ध हुन्छन् वा सरकारी अड्डामा जागिर खाइरहेका हुन्छन्। यिनीहरू राजनीतिक दलबाट लाभ प्राप्त व्यक्तिका नातेदार वा कार्यकर्ता पनि हुन सक्छन्। त्यस्तै सरकारी कर्मचारीका सन्तान र तिनका भाइ भतिजालाई पनि पनि देश प्रशस्त दुख्छ। जब जब जनताका समस्यालाई सबैसामु भन्नु पर्ने हुन्छ त्यसबेला यिनलाई सायद देशको समस्या देखाउन र त्यसको समाधानको उपाय बताउन व्यवस्थापन गुरु भनेर नाम कमाएका पिटर ड्रकर, शिव खेरा, म्यालकम ग्लाडवेलले पनि भेट्टाउन नसक्लान्। तर, यिनका विरोध र समाधान ‘गोहीको आँसु' मात्र हुन्। यिनलाई भोलि मौका पर्दा आफूले बोलेका र निन्दा गरेका सम्पूर्ण कुरा बिर्सेर सर्पले काँचुली फेरेजस्तै सरक्क पदमा पुग्छन् अनि आफूभन्दा पहिलेका व्यक्तिले जसरी काम गरेका थिए त्यही ढंगले अझ त्यसभन्दा पनि बढी भ्रष्ट ढंगले काम गर्न पछि पर्दैनन्। यस्ता गोही आँसु पात्रमा पदमा बसेका मन्त्री, सचिव पनि पर्छन्। कतिपय अवस्थामा दलका प्रमुख, सभासद्, सरकार प्रमुख पनि जनताको हितका कार्य हुन नसकेकोमा निःसहाय भएको रोइलो रुन्छन्। तर यिनले भनेको काम लागु भयो भने कर्तामात्र फेरिने हो, व्यक्ति फेरिने हो कर्म वा प्रवृत्ति फेरिँदैन। यस्तै ढोंगी सामाजिक नेतृत्वकर्ताको पछि लागेर त समाज अहिलेसम्म अघि बढ्न नसकेको हो नि!
अर्काथरी सामाजिक डाक्टर द्रव्य पिचास हुन्। यिनले नेपालमा त्यस्ता समस्यालाई मात्र समस्या भन्दछन् जसलाई देखाउँदा डलर आउँछ। मानव अधिकार, महिला अधिकार, बाल अधिकार, दलित अधिकार आदि इत्यादि अधिकारमा लड्न अनेकथरी सञ्जाल र अनेकथरीका संस्था बनाएर विदेशीलाई खुसी पार्ने र आफ्नो भुँडी भर्नेमा यिनको दाँजो लाग्न कसैले पनि सत्तै्कन। कतै ग्यासमा कालोबजारी भयो, कतै मालपोतमा भ्रष्टाचार भयो, कहिले भन्सारबाट सुन आयो त गाउँ सहरमा गुण्डाराज  भयो भने यिनले ‘प्रपोजल' लेख्छन्। यो देशमा सामाजिक विभेद अत्यन्त बढेका कारणले गरिब जनताले प्रयोग गर्ने खाना पकाउने ग्यांसमा मूल्य वृद्धि गरिएको हो त्यसैले विभेदीकरणविरुद्ध जनतालाई जागरुक बनाउनुपर्ने वा ग्यासको मूल्य बढेर महिला कति मारमा परेका छन् त्यसका लागि करोडौंको अनुसन्धान गरिनुपर्ने प्रकारको यिनको अनुसन्धान प्रस्ताव हुन्छ। अझ क्रिस्चियन परिवारलाई ग्यासको कालोबजारीले पारेको असर सम्बन्धमा अध्ययन गर्दा पैसा आउँछ भने त्यही कार्यले यिनको कार्यसूचीमा प्राथमिकता पाउँछ।
यिनले पनि जतिसुकै देश दुखेको अभिनय गरेता पनि यिनलाई देश खासै दुख्दैन। यिनले प्रशस्त पैसा कमाएका छन् र परेको बेला विदेश बसाइँसराइसम्म गर्ने यिनमा हिम्मत हुन्छ। तर सकेसम्म विदेशीले केमा पैसा दिन्छ त्यसैमा यिनको ध्यान केन्द्रित हुन्छ। साधारण रूपमा यिनीहरू पनि सर्व साधारण जनताजस्तै अभिनय गर्छन्। यस देशमा कानुनको शासन भएन, भ्रष्टाचार बढ्यो, राजनीतिक दलको बढी तानातान भयो आदि सबै यिनले पनि भन्छन् तर यिनलाई तिनै कार्यले फाइदा छ। किनभने समस्या भएको देशमा मात्र विदेशीले पैसा लगाउँछन्। त्यसैले यी डलर पिचास सधैँ यो देश अब सकिने भयो, यो देशमा अब विद्रोह हुन्छ, यहाँ गृह युद्ध हुन्छ भन्नैमा व्यस्त हुन्छन्। अचम्म के छ भने डलर पिचास वर्ग देशको सबैभन्दा प्रभावशाली समूह हो। यस समूहले विदेशीसँग उनकै भाषामा वार्ता गर्न सक्छ। अझ कति त बेलायतीबाहेकका अन्य युरोपेलीभन्दा धेरै राम्रोसँग तिनलाई प्रभावित पारेर तिनबाट डलर झार्न खप्पिस भइसकेका छन्। यिनलाई देशमा के राम्रो हुँदैछ वा हुनसक्छ भन्नेसँग खासै मतलब हुँदैन। विदेशी पनि यिनीहरूसँगै खुसी हुन्छन्। यिनीहरू विदेशीले जे ठान्छन् त्यही कुरा अनुसन्धानै गरेरसमेत प्रमाणित गरिदिने क्षमता राख्छन्। विदेशीले देशविरुद्ध षडयन्त्र पो गर्दैछ कि? नेपालीलाई दिने नाउँमा ऊ आफै टन्न पैसा बुत्याउन नेपालको प्रयोग गर्दैछ कि भनेर सोच्ने न यिनलाई समय छ न मतलबै। धेरैजसो नेपालमा बस्नै नभ्याउने यस्ता परजीवीलाई कहिलेकाहीँ थाई एयरको बिजनेस क्लासको सिटमा निद्रा नलाग्दा कहीँ कतै नेपाल दुख्छ कि? त्यसको सर्वेक्षण गर्न पनि अर्को प्रपोजल लेख्नुपर्ने हुन्छ।
अब अर्को स्वधनमान्य प्रकारलाई भेटौं। यो समूह हो कोठे विद्रोहीको। यो तेस्रो प्रकार माथिका दुई प्रकारको वर्णशंकर उपज हो। देशको हितका नाममा आफू पदमा हुँदा वा पदको नजिक हुँदा तिनले कहिल्यै दुई शब्द बोलेनन्। यसरी देशको अहित हुन्छ भनेर कुनै एक वाक्य सार्वजनिक गरेनन्। किनभने उनको पालो थियो खाने, मजाले खाए। त्यसैले यिनी ओंठे सामाजिक डाक्टर पनि हुन्। तर अब उनको भूमिका बदलिएको छ। यिनको राजनीति सकिएको छ। यिनी सेवा निवृत्त भएका छन्। फेरि यिनले डलर पिचासको गुण पनि सबै छाडेका हैनन्। ओठे डाक्टरको सेवा सकिएपछि डलर पिचास भएका नै हुन् यिनीहरू। कति अझै पनि डलरका पछि लाग्दैछन् भने कति अब डलरले साथ नदिने भयो भनेर देशभक्तिमा लागेका छन्। यो तेस्रो प्रकारलाई कोठे विद्रोहीभन्दा नै सही होला।
कोठे विद्रोहीहरू कोठामा जम्मा हुन्छन् र शासन सत्ता आफूले चलाउन पाउनुपर्ने माग गर्छन्। कोठामा भयंकर देशभक्ति र नैतिकताको आगो बाल्छन् र त्यस आगोमा समाजले चिसो पारेको मन एकछिन सेकाउँछन्। विचरा कोठे विद्रोही कोही साँच्चै पाएको समयमा नखाने पनि होलान् तर यस समूहमा अधिकांश कम खान पाएँ भन्नेहरू नै हुन्छन्। अझ कति त डकार्नुसम्म डकारेर अब अर्को भतेर कता छ भनेर खोज्न पनि यही चौकडीमा सामेल भएजस्ता देखिन्छन्। यिनका माग सुने भने २०५२ सालमा ४२ बुँदे माग राख्ने माओवादीले पनि आफूले कति कमजोर माग रादिएछ भन्ने ठान्लान्। यिनका माग आफू पदमा पुग्नुपर्योू, भोलिनै चाँदीको किस्तीमा सजाएर यिनलाई कुनै पद ग्रहण गर्ने निमन्त्रणा दिनुपर्यो‍ भन्नेजस्ता हुन्छन्। यिनलाई लाग्छ राज्य भनेको स्वस्थानीको कथामा हात्तीले सेचन गरेर नवराज ब्राह्मणलाई राजा बनाएझैँ गरेर उनीहरूलाई खोज्दै आफैँ आउनुपर्छ। यिनलाई जनताको कुनै मतलब छैन।
कोठे विद्रोहीलाई जनता भन्ने पनि छन्, जनताको समर्थन भन्ने केही नैतिक शक्ति चाहिन्छ भन्नेसम्म पनि हेक्का छैन। यिनलाई त एक अर्कालाई मात्र प्रभाव पार्नु छ म ठूलो राष्ट्रवादी वा राष्ट्रप्रेमी भन्ने। एकाध युवा पनि होलान् बुढो काँधमा चढेर सत्ताको सिँढी चढ्ने दाउमा तर यी कोठे विद्रोही अधिकांश विद्वान् र सेवा निवृत्त कर्मचारी हुन्। यिनी बाहिर निक्लेर ठूलो स्वरमा कराउँदैनन् किनभने यिनलाई अझै कतै मधुरो आशा छ भोलि सत्ताको ढुकुटी हसुर्न आफूलाई पनि निमन्त्रणा आई पो हाल्छ कि!
जे होस्, नेपाली समाजलाई अहिले खाईपाई आएकाबाहेक अन्य प्रकारका सामाजिक डाक्टर चाहिएको छ। तर त्यस्तो समूह वा व्यक्तिले जनताको हित बुझ्न, सोच्न र बोल्न सक्नुपर्छ। आफूलाई जेल, नेल वा समस्या हुन्छ भनेर चुप लाग्ने र समूहमा भए जे पनि बोल्ने नेताले देशको भलो गर्दैन। अब यस देशलाई पैसा तिरेर ठूलो पद लिने व्यक्तिको पनि जरुरत छैन। भोलि आफ्नो कालो धनको संरक्षण नहोला भनेर क्रान्तिकारी बन्ने जमातको पनि केही उपयोगिता र महत्व छैन। समाज बदल्ने हो भने ढोंगी, पाखण्डी र काँतर व्यक्तिको ‘प्रेस्त्रि्कप्सन' मात्रले हुँदैन। जनताको समस्या बोकेर अघि आउनुपर्छ। लाग्छ, जनता त्यस्तै सामाजिक डाक्टरको खोजीमा छन् तर अहिले उपलब्ध सामाजिक डाक्टर भने सबै परालका खुट्टा भएको तर हाँडीको टाउकोको धाक लगाउने बुख्याँचाजस्ता मात्र देखिन्छन्।

प्रकाशित: ७ चैत्र २०७१ २२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App