हिमालसरी म अग्लिरहेछु
समात समात समात मलाई
बादलसरी पग्लिरहेछु
सम्हाल सम्हाल सम्हाल मलाई
स्वरसम्राट नारायणगोपाल र अरूणा लामाले वर्षाैँअघि स्वर दिएको कान्छी चलचित्रको यो लोकप्रिय गीत कालजयी छ। प्रेम प्रसंगमा केन्द्रित यो गीतका रचयिता गोपाल योञ्जनले गीतलाई हिमाल, बादल र आकाशसँग लाक्षणिक (सिम्बोलिक) रूपमा जोडेका छन्।
पृथ्वीको गर्भमा इन्डियन प्लेट र युरेसियन प्लेटको ५ करोड वर्षअघि भएको टकरावका कारण हिमाली क्षेत्रमा पर्वतीय शृंखलाको जन्म भएको र यो प्रक्रिया अहिले पनि जारी रहेकाले हिमालको उचाइ थोरै मात्रामा भए पनि निरन्तर बढ्दै गरेको मानिन्छ।
यो प्रसंगमा सगरमाथाको बढेको उचाइ जोड्न सकिन्छ। सन् २०२० मा गरिएको नयाँ मापनले सगरमाथाको उचाइ यसअघिको भन्दा शून्य दशमलव ८६ सेन्टिमिटरले बढेर ८८४८.८६ मिटर रहेको घोषणा गरिएको थियो।
योञ्जनले ‘हिमालसरी अग्लिरहेछु’ लेखिरहँदा यो वैज्ञानिक तथ्यलाई आत्ममात गरे अथवा गरेनन् भन्न सकिन्न। तर दशकौँअघि रचिएको यही गीतलाई परिवर्तित परिप्रेक्ष्यमा ढाल्ने हो भने गीतमा भनिएको बादलमात्र होइन, अहिले हिमालसमेत पग्लेको प्रसंग थप्न सान्दर्भिक देखिन्छ।
हुन पनि, पछिल्ला वैज्ञानिक अध्ययनले हिमालय क्षेत्रमा रहेका हिमनदी (ग्लेसियर) तीव्ररूपमा पग्लिरहेको देखाएका छन्। यो अनपेक्षित परिघटनाका लागि जलवायु परिवर्तन एक प्रमुख कारण मानिएको छ। दुई साताअघि मात्र सार्वजनिक गरिएको एक अध्ययनले संसारको सबैभन्दा अग्लो स्थानमा रहेको हिमनदी तीव्र गतिमा पग्लिरहेको देखाएको छ।
सो अध्ययनअनुसार सगरमाथाको सबैभन्दा अग्लो भागमा रहेको साउथ कोल ग्लेसियरको मोटाइ गएको २५ वर्षमा १८० फिट अर्थात ५४ मिटरले घटेको छ। हिमनदी (ग्लेसियर) मा रहेको हिउँको थुप्रोमा भएको क्षयीकरणका कारण त्यसभित्र रहेको कालो हिउँ अर्थात ब्ल्याक आइसमा सूर्यको किरण पुग्दा यसको पग्लने क्रममा तीव्रता आएको अनुसन्धानमा संलग्न वैज्ञानिकको मत छ।
क्यानडाको युनिभर्सिटी अफ मेन र किंग्स कलेज लन्डनको सोधकर्ताले गरेको तथा नेचरको क्लाइमेट एन्ड एट्मोस्फेरिक क्लाइमेट साइन्स जर्नलमा प्रकाशन भएको उक्त अध्ययनले पृथ्वीको बढ्दो तापक्रम र उक्त स्थानमा तीव्र वेगमा चल्ने हावाका कारण यस्तो भएको तर्क गरेको छ।
विश्वका विभिन्न स्थानमा हिमनदी पग्लने विषयमा धेरै अध्ययन भए पनि यति धेरै उचाइमा जलवायु परिवर्तनले मौसम तथा हिमनदीको स्वास्थ्यमा परेको प्रभावबारे भएको यो अध्ययनको नतिजालाई महŒवपूर्ण मानिएको छ। यति धेरै तीव्रतामा हिउँ पग्लँदा यसको प्रभाव क्षेत्रीयदेखि विश्वको तहमा समेत पर्ने देखिएको छ। विश्वको जलवायु प्रणालीका लागि ग्लेसियरको अभिभावकीय भूमिका छ।
केही साताअघि साइन्टिफिक रिपोट्र्स नामक अर्काे जर्नलमा प्रकाशित एक प्रतिवेदनका अनुसार हिमपहिरो, बाढी तथा तीव्र गतिमा हिउँ पग्लिँदा नेपाल, भारत र भुटानका बासिन्दालाई खतरा बढेको छ। हिमालय क्षेत्रका हिमनदी (ग्लेसियर) विगत सात शताब्दीको तुलनामा पछिल्ला ४० वर्षमा १० गुणा बढी पग्लेको उक्त वैज्ञानिक अध्ययनले औल्याएको थियो।
परापूर्वकालमा रहेको हिमनदीको पदचाप (ग्लेसियल ट्रयाक) सँग तुलना गरेर यो क्षेत्रमा कति मात्रामा हिउँ पग्लेको हो भनेर अध्ययनमा आकलन गरिएको थियो। हिमनदी पग्लेर बग्दा हिमनदीसँगै ठूला चट्टान तथा गेग्रान जम्मा हुने भएकाले वैज्ञानिकले त्यस प्रकारको ग्लेसियर ट्रयाकको अनुमान गरेका थिए। अध्ययनमा दक्षिण एसिया क्षेत्रका १५ हजार हिमनदीका तस्बिरको तुलनात्मक समीक्षा गरिएको थियो।
दक्षिण एसियाको पर्वतीय क्षेत्रका हिमनदी पग्लँदा यसको परिणाम झन डरलाग्दो हुने देखिन्छ। हिमनदी (ग्लेसियर) पग्लेर निस्कने पानी यो क्षेत्रका सयौँ नदीमा समाहित र प्रवाहित हुन्छ। यही पानीले यो क्षेत्रका कृषियोग्य जमिनमा सिँचाइ गर्छ भने स्वच्छ पिउने पानीको आपूर्ति हुन्छ। यो सन्तुलन खलबलिँदा बहुआयामिक प्रभाव पर्ने देखिन्छ।
यसले जलवायु, समुन्द्र सतह तथा पृथ्वीमा रहेका समग्र जीवन र जीवन यापनलाई असर गर्छ। हिमनदी पग्लिँदा प्रवाह हुने अत्यधिक पानीका कारण हिमनदी नजिक रहेका बासिन्दालाई बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपसँग जुध्नुपर्ने स्थिति सिर्जना भएको छ भने तल्लो तटमा समेत डुबान तथा बाढीको समस्या देखिएको छ। नदीमा पानीको अत्यधिक प्रवाह हुँदा अन्ततः समुन्द्रको सतहसमेत बढ्न गई समुन्द्रको किनारमा बसोबास गरेका समुदायलाई संकट पर्ने देखिएको छ भने तटीय क्षेत्रमा रहेका जलविद्युत् तथा अन्य भौतिक संरचनामा प्रभाव पर्ने प्रष्ट छ।
विश्वका पर्वतीय तथा ध्रुवीय क्षेत्रमा हिउ (बरफ) जम्नु र पग्लनु प्राकृतिक प्रक्रिया मान्न सकिएला तर मानवीय गतिविधिका कारण जुन तीव्रतामा यो प्रक्रिया अगाडि बढेको छ, चिन्ता र चुनौती त्यहीँ छ। केही अध्ययनले त यो शताब्दीको अन्तसम्म विश्वका केही क्षेत्रमा ग्लेसियर पूर्णरूपमा हराउन सक्नेसमेत देखाएका छन्। यसले यो विषयलाई झन् पेचिलो पारेको छ।
आखिर किन?
उद्योग तथा कलकारखाना सञ्चालन गर्दा तथा गाडी चलाउँदा प्रयोग हुने पेट्रोल, डिजेल जस्ता खनिज इन्धनको प्रयोग हुँदा निस्कने उत्सर्जन तथा वन विनाशका कारण वायुमण्डलमा हरित गृह ग्यासको मात्रा अत्यधिक बढेको छ। यसले पृथ्वीको वायुमण्डललाई तताएको छ। कोरोना महामारीका कारण आवागमन तथा औद्योगिक गतिविधिमा कमी आए पनि सन् २०२१ मा पृथ्वीको वायुमण्डलमा हरित गृह ग्यासको सर्वाधिक संकेन्द्रण (कन्सन्ट्रेसन) भएको गत अक्टोबरमा विश्व मौसम संगठन (डब्लुएमओ) ले गरेको एक अध्ययनले देखाएको थियो।
पृथ्वीको तापक्रम औद्योगिक क्रान्तिताका भन्दा १.१ डिग्री सेल्सियसले बढिसकेको छ। सन् २०१५ मा सम्पन्न जलवायुसम्बन्धी पेरिस सम्झौताले यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम वृद्धिलाई १.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिए पनि यो उद्देश्य पूरा गर्न कठिन देखिएको छ। यसरी पृथ्वीको बढ्दो तापमानले हिमनदीको पग्लने क्रमलाई बढाएको छ।
सगरमाथा र यो आबद्ध रहेको हिन्दकुश क्षेत्रमा मात्र होइन, पछिल्ला दशकमा विश्वका अन्य पर्वतीय क्षेत्रका हिमनदीको आयतनमा क्षयीकरण हुँदै गएको देखिएको छ। स्वच्छ पानीको स्रोत रहेको यो अमूल्य भण्डारमा परेको प्रतिकूल प्रभावले हिमनदीको नजिकमा रहेका करोडौँको जीवन यापन प्रभावित भइसकेको छ भने यो क्रम जारी छ।
विश्वका १ अर्ब ६० करोड मानिस पर्वतीय क्षेत्रबाट बग्ने पानीमा निर्भर रहेको मानिन्छ भने पृथ्वीको जैविक विविधताको ठूलो हिस्सा यही क्षेत्रमा आधारित छ। पृथ्वीको जलवायुलाई स्थिरता दिने अभिभावकीय भूमिका निर्वाह गरेका यो हिमनदीमा आएको यो संकटले भविष्यमा झन् ठूला संकट निम्त्याउन सक्छ। समग्रमा जलवायु परिवर्तनले सिर्जित विषम मौसमका कारण विश्वका कतिपय स्थानमा अत्यधिक हिमपात र वर्षा हुने गरेको छ भने कतै आँधीबेहरीले तहल्का मच्चाएको छ। खडेरी र जंगली आगोका घट्ना बढ्दो क्रममा छन्। नेपालमा पनि बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक प्रकोपका घटना लगातार बढेका देखिन्छ।
अब के गर्ने?
संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम (युएनइपी) हालै सार्वजनिक गरेको एक प्रतिवेदनले विश्वका राष्ट्रले हाल जारी गरेका हरित गृह ग्यास उत्सर्जन कटौती योजनाको कार्यान्वयनले पृथ्वीको तापक्रम वृद्धिलाई १.५ प्रतिशतमा सीमित राख्न नसक्ने देखाएको छ। यो परिप्रेक्ष्यमा आगामी वर्ष पर्वतीय क्षेत्रमा पर्ने प्रभाव झन् बढ्न सक्ने देखिएको छ।
जलवायु परिवर्तनका प्रभावले राजनीतिक सीमा हेर्दैन। विशेषगरी पर्वतीय क्षेत्रमा परेको प्रभाव न्यूनीकरण गर्न यो क्षेत्रका राष्ट्रले सहकार्य गर्न आवश्यक छ। यस्ता परिवर्तनसँग जुध्न अनुकूलनका उपायहरू अवलम्बन गर्न आवश्यक छ। जलवायुजन्य विपद्ले पर्वतीय क्षेत्रमा पार्ने प्रभावलाई अझ बढी मुखरित गर्न आवश्यक छ। हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान रहँदारहँदै पनि नेपालले जलवायुजन्य विपद्को अत्यधिक सामना गर्नुपरेको सन्दर्भमा विश्व मञ्चमा नेपालले यो विषयलाई प्रभावकारीरूपमा उठाउन आवश्यक छ। आफ्नै शिरमा देखिएको यो संकट समाधानमा नेपालले कसरी प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ भन्नेमा थप छलफल र विमर्श गर्नुपर्छ।
त्यसो त, संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य (एसडिजी), विपद्को जोखिम घटाउन स्थापना गरिएको सेन्डाइ फ्रेमवर्क तथा पेरिस सम्झौतामा पर्वतीय क्षेत्रमा थप अनुसन्धान र ध्यान दिनुपर्ने र यी नीतिगत संरचनाले तोकेको लक्ष्यलाई नियमित अनुगमन तथा रिपोर्टिङ गर्न आवश्यक रहेको उल्लेख गरिएको छ। जलवायुजन्य विपद् रोक्न विश्वव्यापी सहकार्य र समन्वयलाई सशक्त पार्नुको विकल्प छैन। यो प्रसंगमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यो समस्या हामी आफैँले सिर्जना गरेको हो।
त्यसैले यो समस्या समाधानमा पनि हाम्रो गंभीर प्रयास जरुरी रहन्छ। तर संकटको स्तरअनुसार यसलाई सम्बोधन गर्ने हाम्रा प्रयास अपुग छन्। मानव जीवन र सभ्यतालाई अविच्छिन्न राख्न हिमाल र हिमनदीको संरक्षण अपरिहार्य छ। यो जिम्मा समग्र विश्व समुदायको हो। तर विश्वको सबैभन्दा उच्च शिखर सगरमाथा नेपालमै रहेकाले यो अग्लो र कठिन चुनौतीलाई सम्बोधन गर्न नेपाल थप अग्रसर हुन आवश्यक छ। पर्वतीय अजेन्डा सम्बोधनमा विश्व समुदायको ध्यान आकर्षित गर्न उचो स्वरमा आवाज उठाउन सकिन्छ। प्रमाण र नतिजामा आधारित पैरवीको प्रभाव महत्वपूर्ण हुन्छ।
प्रकाशित: ३ फाल्गुन २०७८ ०१:१७ मंगलबार