विचार

गालीगलौजको राजनीति

राजनीतमा जहाँसुकै पनि एकअर्कालाई व्यंग्य गर्ने, छेड हान्ने र बेइज्जत गर्नेजस्ता अभ्यास हुँदैआएको पाइन्छ। नेपालको परिप्रेक्ष्यमा नेपाली कांग्रेस र विश्वेश्वर प्रसाद कोइरालाले राणा शासनविरुद्ध सञ्चालन गरेको आन्दोलनबाट आधुनिक राजनीति सुरु भएको मान्ने हो भने शासक र विपक्षीबीच त्यही बेलादेखि नै भनाभन, व्यंग्य र उपहास हुने गरेको देखिन्छ।

हुनत, विश्वेश्वर प्रसाद कोइरालाका पिताजी कृष्णप्रसाद कोइरालाले पनि राणा प्रधानमन्त्री चन्द्र शमशेरसँग राजनीतिक अडान राखेका थिए। त्यसबेला नै राणाहरूले कोइरालालाई ‘काठा' भनेर खिस्याउँदै ‘बाहुन भएर राजकाज ताक्ने', भनेर गाली गर्थे। वि.सं. २००४ सालमा बीपीलाई काठमाडौंबाट पक्राउ गरेको करिब डेढदुई महिनामा मोहन शमशेरले भेट दिए। बीपीले मोहन शमशेरसँग भेट्न अनसनै गरेका थिए। त्यसबेला मोहन शंशेरले प्रयोग गरेको व्यंग्य भने बडो सटीक तर सन्तुलित छ – ‘तिमीले भनेका होउला राज गरौंला। तिमीजस्ता भारेभुरे ठेट्नाहरूले कराउने बित्तिकै कसैले राज्य दिँदैन। राज्य गर्नको निम्ति पुर्पुरोमा लेख्नुपर्छ।’ 

राणा र कोइरालाको गालीगलौज धेरै लामो चलेन। बीपीको पुर्पुरोमा लेखिएकै रहेछ क्यारे उनी चाँडैनै गृहमन्त्री र प्रधानमन्त्री पनि भए। मोहन शमशेरका छोरानातिको भाग्यमा भने राज्य लेखिएकै रहेनछ। हुनत, उनका नाती पशुपति शमशेर जबरा चाहिँ अहिलेसम्म राजनीतिमा सक्रियै छन्। उनका दिन कस्तो होला त्यो समयले नै बताउला। तर राणापछि कांग्रेसको पहिलो गाली गलौजको प्रतिद्वन्द्वी गोर्खा दल भयो। गोर्खा दलले गालीगलौजमात्र होइन बीपीको ज्यानै लिनेसम्मको कोसिस गरेको थियो तर त्यसबेलाका गृहमन्त्री बीपीसँग पेस्तोल भएका कारण आक्रमणलाई गोली हानेर उनले ज्यान जोगाए। 

राजनीतिक गालीगलौज २०१७ सालपछि अझ धेरै भए। ‘देश र माटो सुहाउँदो’ व्यवस्थाका सूत्रपात गर्ने राजा महेन्द्रले विद्यालयका पाठ्य पुस्तकमा समेत नेपाली कांग्रेस र तिनका सहयोगीलाई अराष्ट्रियतत्व, विदेशी दलाल, भ्रष्टाचारी लेखाएर बालबालिकालाई समेत कण्ठस्थ गराए। तर त्यसबखत पनि पंचायतका ठूला नेताबीच एक आपसमा गालीगलौज भने प्रशस्तै चल्थ्यो। तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाविरुद्ध २०३९ सालमा महाभियोगको प्रस्ताव ल्याउँदा उनीमाथि निरंकुश हुन खोजेको भन्दै ‘देशमा पुनः राणा जन्माउन खोजेको आक्षेप' गरिएको थियो। त्यसको जवाफमा थापाले अविश्वास प्रस्तावका प्रमुख समर्थकमध्येका पशुपति शंसेर राणालाई इंगित गर्दै, ‘राणोल त राणा जन्माउन नसकेको अवस्थामा थापाले कसरी राणा जन्माउला?’ भनेर व्यंग्य गरेका थिए। छोरीमात्र भएका राणलाई यो प्रहार कटुतापूर्ण गालीजस्तै भएको थियो। उनै थापाले २०४६ सालको जनआन्दोलन अगाडिसम्म पंचायतको भूमिगत गिरोह भनेर तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र र उनका सहयोगीलाई सधै नंग्याउने गर्थे। राजनीतिक दलको आन्दोलन चर्किनथाले पश्चात तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले आन्दोलनकारीलाई ‘मुट्ठीभर आतंककारी' भनेर बारम्बार भन्ने गरेका थिए। अहिले सबै राजनीतिक दलले आफूलाई कमजोर नठान्न भन्नका लागि उनकै भनाइ सापट लिएर भन्छन् – ‘कुनैबेला पंचायतले लोकतान्त्रिक शक्तिलाई मुट्ठीभर भनेर हेपेजस्तो हामीलाई नहेपियोस्।’ 

राजनीतिक गालीगलौजको सिलसिला राजावादी र नेपाली कांग्रेसका समर्थकबीच सधैँ जुहारीजस्तै चल्यो। राजावादीले कांग्रेसीलाई ‘विदेशी दलाल' भन्न कहिल्यै छाडेनन् भने कांग्रेसजनले राजावादीलाई मण्डले, गुण्डा, मूर्ती तस्कर भन्ने गर्थे। विसं २०४६ साल पश्चात नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीचको द्वन्द्वले राजा पक्ष अलि ओझेलमा पर्योा। नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाले सार्वजनिकरूपमै ‘माले, मण्डले र मसाले एकै हुन्’ भनिदिए। उनको भाषणले यी दुई दलबीच निकै कटुता बढाएको थियो। त्यसबेला एमालेले आयोजना गर्ने हरेकसभा र विरोध र्या लीमा ‘यसपालीको हैजा गिरिजालाई लैजा’ भन्ने गाली सुनिन्थ्यो। त्यस्तै मनमोहन अधिकारीको सरकारलाई ‘फु गरेर ढालीदिन्छु' भन्ने गिरिजाप्रसाद कोइरालाको कथन पनि निकै चर्चित थियो। 
विसं २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंश नाश र उनका भाई ज्ञानेन्द्रको राज्यारोहणपश्चात राजनीतिक गाली गलौज पुनः राजावादी र राजनीतिक दलका बीच केन्द्रित भएको थियो। बाबुकै सिको गर्दै ज्ञानेन्द्रले पनि राजनीतिक दलहरूलाई विदेशी दलाल र भ्रष्टको उपमा दिए। राजा ज्ञानेन्द्रले शासन लिएको बेला उनको र गिरिजाबीचको भनेर एउटा संवाद बहुतै चर्चित छ। 
एकदिन राजा ज्ञानेन्द्रले सोधे रे, ‘पीएम तपाईको सरकारलाई एकदमै भ्रष्ट भयो भन्छन् नि जनताले, तपाईलाई यस विषयमा के भन्नुछ?’
गिरिजाले तत्काल उत्तर दिएछन्, ‘सरकार! जनताले त सरकारलाई पनि दाजुको हत्यारा भन्छन्, त्यस्तो कुरामा विश्वास गरेर हुन्छ?’
विदेशमा साधारणतया निर्वाचनका बेला यस्ता व्यंग्य र आलोचना सुनिने गरिन्छ। चाहे अमेरिका होस् या भारत, बेलायत होस् वा पाकिस्तान निर्वाचनका बेला एउटा दलले अर्को दलमाथि सकेजति तितो पोख्ने र हिलो पोत्ने गर्छन्। भारतको करिब एक वर्षअघिको निर्वाचनमा भारतीय जनता पार्टीले कांग्रेसलाई ‘बिनानेताको टिम' भनेको र भारतीय नेसनल कांग्रेसले भाजपालाई ‘बिनाटिमको नेता' भनेको टिप्पणी सटीक थियो। तर कतिपय अवस्थामा राजनीतिक गालीगलौजले पिटापिट र दंगाको अवस्थासम्म सिर्जना गर्न सक्छ। अमेरिकी चुनावको बेला बाराक ओबामाको नाम लिँदा उनलाई बाराक हुसेन ओबामा भनेर इस्लामसँगको सम्बन्ध देखाउन उनका राजनीतिक प्रतिद्वन्द्वी सधैँ अग्रसर रहन्थे। 
नेपालको इतिहासमा र संसारमै गालीगलौजको राजनीति जसरी चलेको छ त्यसभन्दा नेपाल एक खुडि्कला माथि चढेको छ माघ ५ गतेपछिको राजनीतिक खेलकुदले। माघ ५ गते संविधान बनाउन प्रक्रियागत ढंगले अघि बढ्न खोज्दा एमाओवादी र मधेसी नेताले जुन प्रकारले संसद्मा उद्दण्डता देखाए त्यसभन्दा बढी उत्तेजित विपक्षी त्यसबेला भए जब सत्तारुढ घटकको दोस्रो ठूलो दलका नेता केपी ओलीले त्यस घटनालाई ‘माक फूईं’ भनेर बयान गरे। त्यसरी उछलकुद गर्नु, मेच भूइँमा पछार्नु, माइक फ्याल्नुजस्ता घटना वास्तवमा अस्वीकार्य थियो। तर त्यसलाई बाँदरको फुईं भनेर दुई शब्दमा बयान गरिदिँदा विपक्षीलाई मर्ममै चोट पर्योय। ओलीका भनाइ अघि बढाउँदै भने – बाँदर रुखमा चढेर हाँगा हल्लाउँदा रुखै हल्लिएजस्तो देखिन्छ तर वास्तवमा त्यस्तो हुँदैन। 
ओलीको तीखो व्यंग्यपछिका दिनमा संसद्मा उछलकुद र तोडफोडका घटना भएनन् तर सबै विपक्षीका लागि ओली सबैभन्दा ठूला शत्रुका रूपमा देखिए। ओली पनि त्यत्तिले चुपलागेर बस्ने नेता परेनन्। अहिले विपक्षी दलले जुन प्रकारले विरोधका कार्यक्रम तय गरेर आन्दोलनको धम्की दिइरहेको छ त्यसमा ओलीको बोली झन कडा गोलीका रूपमा आयो। पहिले माधव नेपाल प्रधानमन्त्री भएका बेला लडाकुलाई करिब ३ अर्ब दिनुपर्ने तिनको माग गरेर एमाओवादीले बजेट पेस गर्नै दिएको थिएन। ओलीले सोही घटना सम्झाउँदै बल्खुमा बोले – ‘पहिले तीन अर्ब दिएर संसद् खोल्नुपरेको थियो अब १० अर्ब दियो भने यो समस्या पनि समाधान हुन्छ।’ ओलीको यस व्यंग्यलाई विपक्षी दलका नेतासँग निकट मानिने एक जना व्यापारीको नेपाल राष्ट्र बैंकले रोकेर राखेको पैसासँग पनि जोडेर हेरिएको छ। ती व्यापारी एमाओवादी अध्यक्षसँग ज्यादै नजिक भएकाले पनि पैसाको आक्षेपले विपक्षी बढी तिलमिलाएको देखिन्छ। 
ओलीको कटाक्ष विपक्षी दलले सहन सकेनन्। विपक्षी मोर्चाका १९ दलले बैठक बसेर एजेन्डा पारित नै गरेर ओलीको मानसिक उपचार गर्नुपर्ने व्यहोराको ज्ञापनपत्र संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई बुझाए। अब ओलीसँगै वार्तामा बस्नुपरेको अवस्थामा फेरि बैठकमा एजेन्डानै पारित गरेर ओलीको मानसिक अवस्था ठीक भएको व्यहोराको पत्र एमाओवादीसहितको मोर्चाले सभा अध्यक्षसमक्ष पेस गर्ने हो वा होइन त्यो भने हेर्न बाँकी नै छ। कि आफ्नो बैठकले नै मानसिक अवस्था ठीक नभएको घोषणा गरेको व्यक्तिसँग राजनीतिक लेनदेन गर्न मोर्चा तयार हुने हो? 
ओली पनि पछि किन पर्थे। उनले भनिहाले – धेरै ज्वरो आएको छ भने सिटामोल खाएर आराम गर्नु, हैनभने दाह्रा किटेरमात्र केही हुन्न, बंगारा खिइन्छ। ओलीको व्यंग्यको चोट सजिलै ननिभ्ने देखिएको छ। एकातिर उनलाई दिमागी सन्तुलन गुमाएको नेता भनिदै छ भने अर्कातिर एमाओवादी अध्यक्ष प्रचण्डले दक्षिणको आकाशवाणीअनुरूप बेहोरा देखाएको आरोप लगाएका छन्। अब प्रचण्डको आकाशवाणीको उत्तरमा ओलीको गोली कसरी आउने हो राजनीतिका दर्शक उत्सुक भएर हेर्न र सुन्न बसेका छन्।

राजनीतिमा सामान्य गालीगलौज, आरोप र कटाक्ष सामान्य नै भए पनि औपचारिकरूपमा पत्र पठाउने वा शारीरिकरूपमा थप्पडै हान्ने वा गाडी जलाउनेजस्ता उग्र अराजक आदेश विपक्षी नेताबाट नआएकै भए उनीहरू जिम्मेवार देखिने थिए। राजनीतिक कटाक्ष त क्षणिक रमाइलो हो र राजनीतिमा त्यस्ता बोलीको गोलीले लामो असर पार्दैन तर भौतिक नोक्सान पुर्याहउने र शारीरिक क्षति गर्ने राजनीतिबाट नेपालका नेतामाथि उठ्नसक्नुपर्छ। व्यंग्य त राजनीतिमा चलिनै रहन्छ।

प्रकाशित: २४ माघ २०७१ २२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App