विचार

के यी प्रतिक्रियावादी दलाल हुन्?

ठोकेरै दलाल भने यी ७५ वर्षीय वृद्धले जसले २०२१ सालदेखि पुरै जिन्दगी वामपन्थी आन्दोलनको सङ्घर्षमा नै बिताएका छन्। त्यति मात्र होइन, २०४४ सालको अन्त्यतिरको ‘सेक्टर काण्ड’ पछि आफूले महासचिवको पद छोडेर आफ्नै चेलो प्रचण्डलाई ’मशाल’ को नेतृत्व गर्ने अवसर दिए।

२०५२ मा आफ्नो लाइनअनुसारको सशस्त्र सङ्घर्ष, जुन माओवादी जन युद्ध बन्यो, त्यसमा होमिए। अहिले आएर उनको ठम्याई छ– ‘छलाङ हानेको र फड्को मारेको भन्ने कुरो कति उल्टो रहेछ।’

नेपालले भन्दा पहिले माओवादीलाई आतङ्ककारी घोषणा गर्ने भारतले माओवादी नेताले बिबिसीलाई दिल्लीबाटै अन्तर्वार्ता दिँदा आँखा चिम्लेर बसे पनि १२ बुँदे समझदारी गराउने वातावरण मिलाउन २०६० सालको चैतको तेस्रो हप्ता आँखाको अपरेसन गराएर बसेका उनलाई भने सिलीगुडीबाट पक्राउ गरेर थुन्यो। उनी पराश्रित राजनीतिबाट मुलुक चल्ने कुराको विरोधी थिए। त्यसैले पक्राउ पर्ने डेढ वर्षअगाडि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालमै आएर माओवादी अवतरण खाका कोर्दै थिए।

त्यतिबेला त्यत्रो ठूलो राजनीतिक लाभ हुन सक्ने सम्भावना राजा ज्ञानेन्द्र दिन चाहँदैनथे देउवालाई। उनको उद्देश्य देउवालाई प्रयोग गर्नमा सीमित रह्यो। त्यसैले प्रयोग सकिएपछि ’असक्षम’ भनेर निकालिदिए।

महेन्द्रपथको यात्राको तालमेल मिलाए। नौ महिनाको अन्तरालमा भएको आफ्नो दोस्रो दिल्ली भ्रमणमा भारतीय प्रधानमन्त्री अटलबिहारी वाजपेयीसँग तीन वर्षको समय मागे। यसको करिव एक वर्षपछि मनमोहन सिंह प्रधानमन्त्री भए। स्थिति बदलियो।

त्यसपछि राजनीति बदलियो। भारत आफ्नो पकड नगुमाउन व्यग्र रह्यो। यता राजा ज्ञानेन्द्रले शासनको बागडोर प्रत्यक्ष आफ्नो हातमा लिए। आफ्नो प्रभाव अझ निर्णायक बनाउन चाह्यो भारतले। जसलाई वामपन्थीहरूले भारतीय विस्तारवाद भन्ने गरेका छन्। यसअन्तर्गत नै सुरुङ युद्धको नाटक मञ्चन गरेका थिए प्रचण्डहरूले जनयुद्धमा निश्छल आम जनतालाई दिग्भ्रमित पार्न।

त्यस्तै युरोपियन युनियनले क्रिस्चियन धर्म विस्तारको अजेन्डा द्रुत गतिमा अगाडि बढाइरहेको थियो। त्यसैमा मिसिन पुग्यो प्रजातन्त्रको अजेन्डा लिएर संयुक्त राज्य अमेरिका, जसलाई द्वितीय विश्व युद्धपछि बेलायतबाट साम्राज्यवादको मुकुट पहिरिएको भन्ने गरिन्छ। यसरी बन्यो त्रिवेणी, तीन स्वार्थ प्रवाहको। अर्थात्, राजा ज्ञानेन्द्रलाई उनको चाहना अनुसारको तीन वर्षको महेन्द्रपथको यात्रामा हिँड्न नदिने भए। 

त्यतिबेला भारतमा आश्रित तर १२ बुँदे समझदारीको विपरीत जान सक्ने माओवादी नेताहरूलाई छानेर पक्राउ गरिएको थियो। आफ्नो लाइनमा मतैक्य भएपछि भारत आफैँले सात पार्टीबीच मङ्सिर ७, २०६२ मा गराइदिएको १२ बुँदे समझदारी, जसको पहिलो पुष्टि भारतका तत्कालीन परराष्ट्र मन्त्री प्रणव मुखर्जी जो पछि राष्ट्रपति पनि बने, उनले काठमान्डुमा नै गरिसकेका हुन्।

यसरी दोस्रो जनआन्दोलन सतहमा देखियो। त्यसलाई हाँकेको थियो नदीको अन्डरकरेन्टले अर्थात् मुनिको प्रवाहले जस्तै यो त्रिवेणीको अन्डरकरेन्टले। यसरी माओवादी अवतरित भए। अझ भनौँ, ‘भारतविरुद्धको सुरुङ युद्ध’ बाट निस्किए। र, यसपछिको १५ वर्षमा ११ वर्षभन्दा बढी समय माओवादीले सत्तामा हालीमुहाली गरेको छ। तर उनी कहिले सत्तामा गएनन्। एक्लो बृहस्पति जस्तै ‘रूपान्तरण’ खोजिरहेका छन्। उनी हुन् मोहन वैद्य (किरण), नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका महासचिव।

माओको १२६ औँ जन्मजयन्तीको अवसरमा उनले भने– ‘पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली प्रतिक्रियावादी दलाल हुन्।’ प्रचण्डले हालै आठौँ अधिवेशनबाट पास गराएको राजनीतिक प्रतिवेदनलाई पनि उनले त्यसरी नै व्याख्या गरेका छन्।

शेरबहादुर देउवालाई असफल प्रधानमन्त्री भनेर चार महिनाअगाडि नै भनिसकेका हुन् जब देउवा राष्ट्रिय मुद्दामा लाचार छाया बने। उनले थपे– यी दक्षिणपन्थी मात्र होइनन्। मुलुकको विकराल स्थितिको उद्गमस्थल उनको ठम्याइमा यी दक्षिणपन्थीको नेतृत्व गर्नेहरूले अरूलाई दक्षिणपन्थी अवसरवादी भनेर जसरी खतरा देखाएर दिग्भ्रमित पारिरहेका छन्, खतरा त्यहाँ छ। जसरी प्रचण्ड अझै मार्क्स, लेनिन र माओको नाम भट्ट्याइरहेका छन्, खतरा त्यहाँ छ। यसरी प्रचण्ड अझै आफूलाई क्रान्तिकारी र ओली आफूलाई मार्क्सिस्ट भनिरहेका छन्, डरलाग्दो खतरा त्यहाँ छ।

दक्षिणपन्थी मात्र पनि बन्न सकेनन् यी। त्यहाँ त एउटा कित्ता हुन्थ्यो। यी त बिग्रिँदै गएर केवल अवसरवादी भएका छन्। क्रान्तिकारीहरू अन्ततः किन यसरी बिग्रिए यसको व्याख्या हुनु अनिवार्य ठान्छन् उनी र प्रश्न गर्छन्–को सच्चा कम्युनिस्ट अहिले? अब आएर यो प्रश्न उठिरहेको छ जब ‘कम्युनिस्टले गरिबको हित गर्दछ’ भन्ने नारा घोकाएर राजनीतिक अग्र भागमा कम्युनिस्टहरू आइपुगेपछि नै मुलुक तहसनहस नै भएको छ।

यो कुरो अब धुवाँदार भाषणको धुवाले ढाक्न सक्दैन। घामजत्तिकै छर्लङ्ग भइसकेको छ। सच्चा कम्युनिस्ट यी किन हुन सकेनन् त? यसलाई अलिकति हेरौँ। यसका लागि मोहन वैद्यको ठहरबाट नै सुरु गरौँ।

सच्चा कम्युनिस्ट भनेपछि मूलतः त्यस्तो व्यक्ति हो जसले कार्ल माक्र्सको चिन्तनलाई आत्मसात् गरेर मुलुकको आम्दानी र सम्पत्ति साझा बनाउन लागिपर्छ। यसका लागि उत्पादन, उत्पादित वस्तु र वितरण साझा हुन्छ र हरेकले आफ्नो क्षमताअनुसारको काम र दाम पाउने हुँदा शोषण अन्त भई समतामूलक समाज निर्माण हुन्छ।

साझाको कुरो र शोषणरहित समाजको सिर्जना गर्ने कुरो त हिजो महेन्द्रको पालामा अर्थतन्त्रको घोषित नीति नै रहेको थियो। मुकामका पुग्ने कुरा छोडौँ। तर आजका यी ‘क्रान्तिकारी कम्युनिस्टहरू’ फड्को मार्ने, अग्रगामी छलाङ लगाउने कुरा गरेर जो कहिले थाक्दैनन्, तिनीहरूले त मुकाम नै देख्न सकेका छैनन्।

त्यो बाटोमा हिँड्ने मात्रको प्रयाससम्म गर्ने कुरो पनि कता हो कता भएको छ। यस्तो लथालिङ्ग किन भयो मुलुकमा अग्रगमनको नाममा, विकास र समृद्धिको नाममा? यसको उत्तर वैद्यले भनेझैँ कतै यिनीहरू प्रतिक्रियावादी दलाल बन्न पुगेर त होइन? पहिले हेरौँ, प्रतिक्रियावादी भनेको के?

सोझो अर्थ हो यी त्यस्ता व्यक्ति हुन् जो आफूले हालीमुहाली गर्न पाएपछि त्यो गुम्ला भन्ने डरले अगाडि जान चाहँदैनन् अर्थात् परिवर्तन चाहँदैनन्। तर परिवर्तनको संवाहक सिर्फ आफू भएको सत्य फुकिरहन्छन् र जनतालाई काल्पनिक सपना देखाइराख्छन्।

यो पाखण्ड खतरनाक विरोधाभासको अवस्था हो। यिनीहरूको स्वभाव दक्षिणपन्थीसँग मिल्दोजुल्दो भए पनि यिनीहरू दक्षिणपन्थीभन्दा धेरै बढी खतरनाक हुन्छन्। दक्षिणपन्थीको ऐतिहासिक पृष्ठभूमिमा नगईकन सिधा भन्दा तिनीहरू यथास्थितिवादी हुन् या अझ भनौँ मध्यमार्गी जो परिवर्तन चाहँदैनन्। यस अर्थमा ठीक/बेठीक आफ्नै ठाउँमा होला तर पनि यिनीहरूको विचारचाहिँ हुन्छ। मुलुक नै तहसनहस पार्न सक्दैनन् यिनले।

प्रतिक्रियावादीको त्यस्तो केही हुँदैन। आफ्नो स्वार्थ परिपूर्तिका लागि प्रतिक्रियावादीले जे पनि गर्न सक्छन्। यिनीहरूको कुनै बटम लाइन अर्थात् यो भन्दा तल त गिर्न सक्दैनन् भन्ने हुँदैन। त्यसो भए के यी दक्षिणपन्थी अवसरवादी हुन्? सोझो उत्तर हो– होइन।

दक्षिणपन्थी अवसरवादीले आफ्नो स्वार्थको लागि ढुकेर बसेका हुन्छन्। तर प्रतिक्रियावादीले जस्तो तिकडम मिलाएर अवसर खोसेरै लिन सक्दैनन्। प्रतिक्रियावादीका लागि त यो गर्न हुने या गर्न नहुने भन्ने कुनै कुरो नै हुँदैन। यिनीहरूको सिद्धान्त, विचार र मुलुकको हित हेर्ने कुनै अडान र दृष्टिकोण केही पनि हुँदैन। हिजो रुसी संशोधनवादीको कुरा गरिन्थ्यो।

यी त ‘अनन्त संशोधनवादी’ हुन्। आफ्नो व्यक्तिगत प्रयोजनको लागि मुलुकलाई नै होमिदिन्छन्। त्यो त हामीले ओलीको चुच्चे नक्सामा देख्यौँ। त्यसको के बेहाल गरे मध्यरातको विदेशी खुफिया प्रमुखसँगको गोप्य डिलपछि। त्यस्तै, नागरिकताको। भ्रष्टाचार त माछाका लागि पानी जस्तै हो यिनीहरूको लागि।

प्रचण्डलाई हेरौँ जो क्षणिक अवसरका लागि अनवरत भौतारिइरहेका छन्। उनको एकै दिनमा तिनौटा विचार र तीनपाते कुरो निस्किन्छ सबलाई लटरपटर पार्न। त्यो त ‘कागभन्दा कोइली चलाख’ भनेजस्तै ओली अझ खुराफाती भएर मात्र केही नलागेको हो।

अहिले आत्मालोचना गरेका छन्। के आफूले आफैँलाई निरीक्षण गरेर सच्चिने मौका मागेको हो र जुन कम्युनिस्टहरूको आत्मालोचनाले अङ्गीकार गर्दछ? बिलकुल होइन। निदाएको जस्तो गरेर सुतेको मान्छे कसरी बिउँझिने र? त्यसैले बकम्फुसे एकाङ्की नाटकमात्र हो यो। कत्रो विरोधाभास छ यसमा नै। त्यसैले प्रतिक्रियावादीको एउटै मात्र ध्याउन्न हुन्छ–आफ्नो स्वार्थ परिपूर्ति गर्न जे पनि गर्ने।

त्यसैले वैद्यले भने जस्तै प्रचण्ड र ओली प्रतिक्रियावादी त भए तर दलाल कसरी ? दलाल भनेको सेवा लिने र दिनेबीच त्यस्तो कार्य फत्ते गरिदिने बिचौलिया हो। जब प्रतिक्रियावादी शब्दसँग दलाल जोडिन्छ यसको अर्थले धेरै क्षेत्र ओगट्छ। यो मुलुकको अर्थ राजनीतिसँग डरलाग्दो किसिमसँग जोडिन्छ। अर्थात्, मुलुकको जनजीविका, सुरक्षा र अस्मितासँग नै।

प्रतिक्रियावादी दलाल भनेपछि आन्तरिक र बाहिरी दुवै कुरो आउँछ। अर्थात् दलाली दुवैतिरको। आन्तरिक तवरले हेर्दा यस्तो अवस्था भनेको दलाल पुँजीपतिसँगको हातेमालो हो। बाहिरीतिरबाट यो विदेशी आशीर्वादका लागि हो। गरिबीको जस्तै यो यस्तो दुश्चक्र हो जसमा परेपछि निस्कन धेरै गाह्रो हुन्छ। यो चक्रमा निर्णायकरूपमा हाल्ने श्रेयचाहिँ गिरिजाप्रसाद कोइरालालाई जान्छ।

प्रश्न उठ्छ जनताको सेवा गर्न राजनीतिमा आएकाहरूका लागि यस्तो आवश्यकता किन पर्दछ? तेस्रो विश्वका देशमा भएका घटनाहरूको आधारमा हेर्दा यस्तो अवस्था दुई किसिमबाट आउँछ। पहिलो हो बाहिरी कुरो। त्यो भनेको बाहिरी शक्ति, जसले सानो मुलुकमा आफ्नो प्रभाव जहिले पनि विस्तार गर्न लागिपरिरहेको हुन्छ आर्थिक र सुरक्षा कारणले, त्यहाँ दूरदर्शी नेतृत्व आउन दिँदैन।

केही गरी आयो भने पनि विस्थापित गरिदिन्छ। नेपालको नै कुरा गर्ने हो भने विस्थापित त्यस्तो व्यक्ति हुन्– विश्वेश्वरप्रसाद कोइराला। आजको छलफलमा यसलाई समेट्न सकिँदैन। पछि  गरौंला ऐतिहासिक र परिस्थितिजन्य प्रमाणसहित।

मुलुक चलाउन राजनीतिक नेतृत्व पंक्ति त चाहिन्छ नै। दूरदर्शी नेतृत्व भएन भनेर राजनीति त रोकिँदैन। यसमा अनि मध्यमखालमा मानिस भरिँदै जान्छन्। यसरी बनेको पंक्तिलाई पकडमा राख्न बाहिरी शक्तिहरू हाम्रो मुलुकभित्र आआफ्नो प्रभाव विस्तारका लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्। यस क्रममा आफू अनुकूलको नेतृत्वको निर्माण गर्ने प्रयत्न जहिले पनि गरिरहेका हुन्छन्।

अझ प्रस्टसँग भन्नुपर्दा विभिन्न स्वरूपका लेन्डुप दोर्जेहरूको खोजी र चयन भइ नै रहेको हुन्छ। मुलुकलाई माया गर्नेहरू पनि लडिरहेका हुन्छन्–मुलुकको हकहित, स्वाभिमान र पहिचानका लागि। राजनीति गर्नेको लक्ष सत्तामा पुग्नु नै हो। सत्तामा कसरी पुग्ने? यहाँनिर हो बाहिरी शक्तिसँगको डिपेन्डेन्सी रिलेसनसिप। यो बनेको हुन्छ आशीर्वाद प्राप्त गर्ने मानसिकताबाट।

अब आन्तरिक कुरा जसअन्तर्गत पर्दछ दलाल पुँजीपतिसँगको हातेमालो। के हो दलाल पुँजीपति? एकदम छोटकरीमा भन्नुपर्दा यो अर्थतन्त्रको क्यान्सर हो। यसले राज्य दोहन गर्ने काममा संलग्न भएर सुकुलगुन्डा अर्थतन्त्र बनाउँदै लगेर मुलुकको आर्थिक स्वास्थ्य नै ध्वस्त पारिदिन्छ। जुनसुकै देशको अर्थतन्त्रमा पनि दलाल पुँजीपति हुन्छन् जसरी जुनसुकै व्यक्तिको शरीरमा पनि क्यान्सरको सेल अर्थात् कोष हुन्छ।

हाम्रो शरीरको विकास हुन र शरीरलाई चलायमान राख्न असंख्य कोष निर्माण भइरहेको हुन्छन्। त्यसमा क्यान्सर सेलको पनि उत्पत्ति भइरहेको हुन्छ। हाम्रो शरीरको सिस्टम यसरी बनेको हुन्छ कि क्यान्सरको सेललाई शरीरको इम्युन सिस्टम अर्थात् प्रतिरक्षा व्यवस्थाले पहिचान गर्दछ र नष्ट पारिहाल्छ।

यसलाई ‘स्काभेन्जिङ्ग’ भन्छन्। यसरी पहिचान गर्न सकेन भने क्यान्सर लाग्छ। अनि उपचार गर्ने समय विलम्ब भयो भने शरीरको विभिन्न भागमा कलोनी बनाउँदै जान्छ। यसरी मान्छेको मृत्यु हुन्छ।

अर्थतन्त्रको पनि करिब यस्तै हो। मूल फरक शरीरको जस्तो अर्थतन्त्र क्लोज्ड सिस्टम होइन। विश्व समुदायसँग सरसहयोग र मिलेर आर्थिक गतिविधिहरूको विकास नभई गरिब मुलुक सक्षम हुन सक्दैन। यस क्रममा दलाल पुँजीपतिको पनि उत्पत्ति हुन्छ। हाम्रो अर्थराजनीतिक व्यवस्थाले पहिचान गरी नष्ट पार्न सक्नुपर्दछ। बेलैमा उपचार गरिहाल्नुपर्दछ।

यत्रो परिवर्तनपछि, अझ गणतन्त्रपछि झन् हाम्रो दुर्भाग्य कहाँनिरबाट भयो भने नयाँ नेपाल बनाउन भनेर आएका नयाँ शासकहरूले दलाल पुँजीपतिलाई पहिचान त राम्ररी गरे तर जुन सिस्टमले त्यो क्यान्सर सरहको दलाल पुँजीपतिलाई नष्ट गर्नुपर्ने हो त्यो सिस्टमलाई नै क्रमशः ध्वस्त पार्दै गए।

अर्थात् दलाल पुँजीपतिसँग नै हातेमालो या मिलेमतो गर्दै आफैं दलाल पुँजीपति बन्दै गए। यसरी मुलुकको आर्थिक स्वास्थ्य नै खत्तम पारे, धुजा धुजा पारे। र, राजनीति भनेको राज्य गर्ने वैधानिकता हत्याउने कसरतबाजीमा सीमित गरिदिए।

अर्थतन्त्र पद्धतिमा चल्छ राजनीतिक आतसबाजीबाट होइन। सरकार नै नभए पनि अर्थतन्त्रमा ‘स्पोन्टियस ग्रोथ’ अर्थात् स्वतः हुने वृद्धि भइनै रहेको हुन्छ। किनकि श्रमले उत्पादन गरि नै रहेको हुन्छ जे जस्तो औजार या प्रविधि त्यो समयमा उपलब्ध भएको हुन्छ त्यसअन्तर्गत।

राजनीतिक पद्धतिको तागत भनेको मुलुकको आम्दानी बढाउनु र बढेको आम्दानीको उचित वितरण गर्न सक्नु हो। यसका लागि कृषिबाट अतिरिक्त श्रम उद्योगमा लगाउन सक्नुमा निहित हुन्छ।

हामीकहाँ त खुलेको उद्योग पनि बाहिरी आशीर्वाद लिन र दलाल पुँजीपतिसँग मिलेर खान कौडीको दाममा बेच्ने काम नयाँ शासकहरूको पहिलो प्राथमिकता बन्यो। अर्थनीति बन्यो। नेपाली श्रमले आफ्नै मुलुकमा काम गर्न नपाउने भयो। भूभाग बाँझो छन्। प्रत्येक बुँदमा राष्ट्र निर्माण गर्न सक्ने तागत भएको नेपाली तन्नेरीहरूको पसिना विदेशी मरुभूमिलाई ऊर्वर बनाउन गएको छ अहिले।

ती विदेशिन विवश भएकाहरूले पठाएको रेमिटेन्सले र त्यो रेमिटेन्सको विदेशी मुद्रा प्रयोग गरेर आयात गरिएको उपभोग्य र व्यापार विचलन सामानहरूबाट प्राप्त राजश्व या आम्दानीले नयाँ शासकहरूको शाही रहनसहन र सरकार चलेको छ अहिले।

मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक स्वयम् कराइरहेको छ–विदेशी मुद्रा सञ्चयले धान्नै सक्दैन अब, यसो गर्न हुन्न भनेर। तर आयात अझ बढाउनेतर्फ अर्थमन्त्री लागिपरेका छन्।

के दलाल पुँजीपतिको नयाँ शाही रहनसहन र तामाझाम यथावत् राख्न मुलुक विदेशीका बन्धकी राख्ने? सरकारमा पुग्ने र टिक्ने भीषण लडाइँको मूल उद्देश्य मुलुकको सम्पत्तिलाई कसरी बेचेर खाने, कसरी लिजमा दिने र कसरी कमिसन खाने भन्नेमा केन्द्रित छ–जनताको नाममा, विकास र समृद्धिको नाममा।

यसै क्रममा ‘आइसबर्गको टुप्पो’ जस्तो सतहमा देखिन आएकामात्र हुन्– यती, ओम्नी र बतासहरू। चुरे सम्याउने सरकारी नीतिहरू। निरन्तर देखिएका विचलनका एलसी काण्डहरू, ल्वाङ सुपारी आयातहरू।

कस्ता पटमूर्खहरूले हाँके यो मुलुक लुट्ने नशामा! यतिसम्म पनि भने– चुरे सम्म्याएर पर्यटन विकास गर्ने हो अब त्यहाँ। ‘मरेपछि जोसुकै राजा’ को राजनीति छ यिनीहरूको। यस्तो राजनीतिले नेपालको आर्थिक स्थिति विकराल बनेको छ अहिले। अर्थमन्त्रीको सनकमा या ‘आफ्नै हात जगन्नाथ’ गर्नेहरूको हातमा छोड्न मिल्दैन। यसमा पनि छुट्टै छलफल गरौँला।

आन्तरिक र बाहिरी दुवैतिरको दलालीबाट सत्तामा पुग्ने र टिक्ने अर्थ राजनीतिको विकासले शरीरको जस्तै मुलुकको इम्युन सिस्टम अर्थात् प्रतिरक्षा गर्ने व्यवस्था नै प्रायः समाप्त हुने अवस्थामा हाम्रो देश गइरहेको छ। ‘जो हात सो सात’ भने जस्तै गरी राजदूत लगायत सरकारी पदहरू नै बढाबढमा राखेर कति दिन मुलुक चल्ने? राज्यको अङ्गहरूको हालत हेरौं त।

न्यायालय छ र नेपालमा भन्ने अवस्थाको बनेको छ। हुँदै नभएको अधिकारको प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतो प्रयोगबाट दुई पटक विघटन भएर ब्युँताइएको संसद् विगत छ महिनादेखि ठप्प छ। नेपाली सीमाभित्र भारतले बाटो सुदृढ गरेको कुरा त्यहाँका प्रधानमन्त्रीले बोल्दा हाम्रो सरकार चुँ गर्न नसकेर लाचार छाया बनेको छ।

जनतालाई भने सरकार के निहुँबाट दुःख दिउँ भनिरहेको छ। हेरौँ त अहिलेको परिचयपत्रको सकस। पाँचौँ पटके प्रधानमन्त्री शेरबहादुर देउवाको विगत हेर्दा आशा गर्ने ठाउँ कति छ र? राजनीतिक चरित्र हेरौँ। सिपी मैनालीले अस्ति मात्र पनि भने ’माओवादी पार्टी भारतबाट सञ्चालित हो, यसमा पनि कुनै शङ्का हो र?’ तर माओवादीको युद्ध लडेका रामबहादुर थापाले प्रचण्डलाई अझ अगाडि नै ‘भारतीय दलाल’ नै भनेर छुट्टिए। फर्केर गृहमन्त्री बने अर्कै रूपमा। फेरि ओलीको एमाले नेता बनेपछि अर्कैरूपमा छन्। ‘भारतीय दलाल’ देख्ने पम्फा भुसाल अहिले महान् देखेको कारण मन्त्री बनेकी छन्।

यो समग्रतालाई हेरेपछि वैद्यको ठहर सत्यको नजिकै छ भन्न के सकिँदैन?

प्रकाशित: ३ माघ २०७८ ०३:३० सोमबार

पराश्रित राजनीति महेन्द्रपथ मोहन वैद्य (किरण) दोस्रो जनआन्दोलन