राजतन्त्र,राजसंस्था र गणतन्त्रबारे चर्चा छ अहिले। धरातलीय खोजी छ। यसलाई हेर्ने सुरुवातको बिन्दु धर्म र राजनीतिबीचको सम्बन्ध नै हो। धर्म र राजनीति एकअर्कासँग यसरी जोडिएका छन्,जसरी माछा र पानी।
के हो धर्म? स्फूर्त धर्मको कुरा गर्ने हो भने यो चेतनाको स्वरूप मात्र हो। फ्रान्सेली दार्शनिक लुसी लेभी ब्रुल्हले यस अवस्थालाई ‘मिस्टिकल पार्टिसिपेसन’ भनेर वर्णन गरेका छन्। यो भनेको मान्छेभित्र अहं नजन्मिसकेको अवस्था हो। धर्म भनेर हामी जे बुझ्छौँ, यसभित्र दुइटा पाटा छन्।
पहिलो हो,दर्शन। यही पाटोमा हो, हिन्दू धर्मलाई सनातन मानिएको। सनातन भनेको पुरानो मात्र नभई सृष्टि अटाएको भन्ने पनि हो। दोस्रो हो, कर्मकाण्ड। यहीँनिर हिन्दू धर्मलाई कमजोर गरिएको छ। समग्रमा,धर्म भनेको अन्तर्मनको यथार्थतालाई बुझ्ने विज्ञान हो।
विज्ञान भनेर ‘नर्मेटिभ साइन्स’को कुरा गरिरहेको छु म। त्यसैगरी आफू बाँचेको समाजमा अरूलाई दुःख नदिएर खुसीसँग बाँच्ने कला पनि हो। महर्षि व्यासको दुई वचन यसरी श्रुति बनेको छ–अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम्,परोपकारः पुण्याय पापाय परपीडनम्। अर्थात्, अठार पुराणमा व्यासको दुई वचन हो–परोपकार भनेको पुण्य र अरूलाई पीडा दिनु पाप हो।
दर्शन अटूट छ, असीम छ,समयको वारिपारिमा एउटै प्रवाह छ। कर्मकाण्ड बदलिरहेको हुन्छ, बदलिँदो समयको बदलिँदो सत्ता राजनीतिसँग। धर्मको नाममा यो कर्मकाण्डबाट जे गरेका छन्, त्यसरी नै अहिले जनताको नाम लिएर जे पनि गर्न पाइएको छ राजनीतिमा। धर्मको नाममा आतंकवाद जन्माइयो। अनि लादेनले अमेरिकाको ट्विन टावर ध्वस्त पारे।
यहाँ आलमले स्थानीय राजनीति मिलाउन जिउँदै मान्छेलाई इँटाभट्टामा जलाएर मारे। जहाँ धार्मिक दर्शनले बोकेको आध्यात्मिकता हराउँदै जान्छ, त्यहाँ धर्म अपराधीको क्रीडास्थल बन्छ। करिब २० वर्षअगाडि प्रकाशित एउटा अध्ययन प्रतिवेदन भन्छ–भारतको अयोध्यामा करिब एक हजार ६ सयभन्दा बढी मठ छन् र त्यसमध्ये अधिकांश अपराधीको अड्डामा परिणत भएका छन्। त्यहाँ के हुँदैन? बलात्कार,हत्या,ड्रग र हातहतियारको कारोबार। यसका भँगालाहरू कतै न कतै राजनीतिसँग मिसिएका छन्।
राज्य गर्न वैधानिकता चाहिन्छ। शासक जो राजा हुन्थे उनीहरूले यो वैधानिकता धर्मबाट लिँदै आएका हुन्। राजनीतिसँगै अर्थ राजनीति प्रवेश गर्दछ। इतिहासपारिका दिनमा राज्य गर्ने भनेको जनताको सुखदुःखसँग समाहित भएर राजाले जनताको दुःख हटाउने र सुख बढाउनका लागि थियो।
यसैभित्र पर्दछ दरिलो दण्डनीति। यसका लागि राजाले कसैलाई काखा वा कसैलाई पाखा नगरेर योगीसरह या योगी मन लिएर राजकाज गर्थे। रामराज्यको अवधारणा यही हो। इतिहासवारि पनि मूल प्रवाह यही रह्यो। समग्रमा यसैलाई राजधर्म भनिन्थ्यो। सक्रिय वा आलंकारिक राजा भएको या नभएको कुनै पनि मुलुकमा शासन गर्ने आधार यही हो।
धर्मराज युधिष्ठिरले सिके यो कुरो, करिब पाँच हजार वर्षअगाडि, सबै कुरो गुमाइसकेपछि–राजा राज्यको मालिक होइन, संरक्षक मात्र हो। युवक राजा वीरेन्द्रले सुरुमा एकपटक यही राजधर्मको कुरा गरेका थिए,अमेरिकी न्युज म्यागेजिनलाई दिएको एउटा अन्तर्वार्तामा। अटल बिहारी वाजपेयीले भारतको प्रधानमन्त्रीको हैसियतमा गुजरात राज्यको तत्कालीन मुख्यमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई यही राजधर्म सिकाएका थिए,सन् २००२ को सुरुमा ट्रेनमा सवार अधिकांश मुस्लिम जलाएर मारिएपछिको हुलदंगाले आक्रान्त बनेको गुजरातमा।
टेलिभिजनमा सबैले देखेका थिए वाजपेयीले दिएको निर्देशन, ‘यसरी हुँदैन,राजधर्म अनुसार गर्नुस्।’ अहिले पनि राजा भएका या नभएका मुलुकमा यो प्रवाहबाटै राज्य गरिन्छ। राज्य गर्ने भनेको ‘बहुजन हिताय बहुजन सुखाय’ अर्थात् आम जनताको हित या असलका लागि हो भन्ने विचार र आदर्श यसैमा सन्निहित छ।
दूधमा पानी मिसाएजस्तै राजधर्ममा यति धेरै दुष्टता र बेइमानीको फोहोर मिसाइँदै ल्याइएको छ कि वागद्वारबाट निस्केको पवित्र वागमती ढलमती बनाइएसरह नै बनेको छ राजनीति पनि। यो काम जनजीविकाको कुरा रूपान्तरण गर्न भनेर आएका तर लोभमा चुर्लुम्म डुबेर वामपुड्के भएका नेताले गर्दै आएका छन्।
हाम्रो मुलुक हाँक्ने आधा दर्जन शीर्ष नेता एकअर्कालाई ‘झूट, बेइमानी र धोकाको अर्को नाम हो’ भन्ने तथ्य देखाउँदै ठोकुवा गर्दै आएका छन्। एकले अर्कोलाई ‘गद्दार’ भन्छन्, ‘राष्ट्रद्रोही’ भन्छन्। बबुरो जनता ‘कुन चोर’ भन्ने अवस्थामा छन्।
दुइटा चोरबीचको चुनावमा जनताले जसलाई भोट हाले पनि चोर नै छानिने हो। त्यसैले राजधर्म अन्तर्गतको शासन अर्थात् अहिलेको शब्दमा परिभाषित गर्दा शासकले जनतासँग गरेको कबुलियतनामा अन्तर्गतको गर्ने शासन भन्ने कुरा मरिसक्यो नेतृत्वरूपी भञ्जकले गर्दा। विश्वमा ठूलो द्वन्द्वको स्थिति छ। यसैभित्र नेपाल तानिँदै गइरहेको छ,आफ्नो रणनीति अवस्थिति, पछौटेपन र भञ्जकले गर्दा।
गहिरिएर हेर्ने हो भने यो अन्तर्राष्ट्रिय द्वन्द्वको उद्गमस्थल धर्म नै हो। मानव इतिहासमा नदी र समयको प्रवाहले धर्मसँग लयबद्ध भएर आउँदा कति सभ्यता जन्मे, कति मरे त्यसैगरी जसरी मान्छे आबद्ध भएको छ जन्म मरणसँग। फरक समयको अन्तराल मात्र हो।
मान्छेले आफ्नै जीवनमा सभ्यताको अवसान नदेख्न सक्छ, जबकि प्रत्येक सभ्यताले करोडौँ मान्छेको अन्त्य देख्नुपर्ने हुन्छ। सभ्यताको जन्ममरणको क्रमलाई हाँक्ने कारण धेरै छन्। मलाई लाग्छ,निर्णायक धर्म नै छ।
यसले त्यसरी नै हाँकेको छ,जसरी नदीलाई हाँकेको हुन्छ त्यसको अन्डरकरेन्टले अर्थात् मुनिको प्रवाहले। धर्मलाई जनताको अफिम वा मुक्तिको द्वार,जे भने पनि यो शाश्वत छ। समस्या यसलाई प्राक्टिस गराउने ठेकेदारले शासकको आवश्यकतासँग मिलान गरेर बदल्दै गएको कर्मकाण्डले हो।
त्यहाँबाट निस्केको लोभ र पापले धर्मको नाममा कुकर्म उत्पादन गर्दै लग्यो। अमानवीय शोषण भयो। युरोपमा राजा र पादरीबीच एकले अर्कोलाई टेवा दिएर वैधानिकता अक्षुण्ण राखिन्थ्यो, जब कि जनता मरिरहेका छन् राम्ररी खान नपाएर। हाम्रोतिर शासक र धर्माधिकारबाट।
यस्तो शासक र धर्माधिकार वा पादरीबीचको गठबन्धन तोड्ने काम विश्वमा पहिलोपटक फ्रान्सेली क्रान्तिबाट भएका कारण यसलाई महत्वपूर्ण मानिन्छ। यसको १३ वर्षमै अर्को बादशाह आयो त्यहाँ नेपोलियन बनेर त्यो अर्को कथा हो। मूल कुरो आजको विश्वमा धर्मले हाँकेको सभ्यताहरूबीच ठूलो द्वन्द्व बनेको छ।
यसबाट कुनै मुलुक अछुतो छैन,हिजोको दुई ध्रुवीय विश्वमा होस् या आजको एक ध्रुवीय अन्तर्गतको बहुध्रुवीय क्षेत्रहरूमा होस्। समग्रमा,अन्तर्राष्ट्रिय द्वन्द्वको उद्गमस्थल यही हो। यहाँनिर आइपुगेपछि म सम्झिरहेको छु,२५ वर्षअगाडि प्रकाशित स्यामुअल पी हन्टिङ्टनको ‘क्लास अफ सिभिलाइजेसन्स्’ अर्थात् सभ्यताहरूको मुठभेडलाई।
हन्टिङ्टनको निष्कर्ष छ,विश्वमा अन्ततः हुने निर्णायक मुठभेड इस्लाम र क्रिस्चियानिटीबीच हुनेछ। अर्थात् अबको विश्वयुद्ध भनेको यी दुई सभ्यताका बीच हुनेछ। उनी आशावादी पनि छन्, यस अर्थमा कि यी दुवै सभ्यता यति ‘सभ्य’ छन् कि त्यस्ता युद्धलाई रोक्न सक्ने तागत पनि यी सभ्यतामा अन्तर्निहित छ। ‘सभ्य’ भनेको एकअर्काको सभ्यताको संवेदनशीलतालाई हिफाजत गर्न सक्ने गुण हो।
यो बिन्दुमा उनको चिन्ता अमेरिकातिर भएको देखिन्छ। आफ्नो स्वार्थ परिपूर्ति गर्ने कुरा आएपछि अमेरिकाले आत्म नियन्त्रण गुमाउन सक्छ। सभ्यताको लामो इतिहास बोकेको मुलुक नभएका कारण होला अमेरिकाले अरूको सभ्यताको संवेदनशीलतालाई बुझ्न सक्तैन, जब उसको तत्कालको स्वार्थ परिपूर्ति गर्ने कुरो आउँछ।
क्षेत्रीय स्तरको ठूलो मुलुकले सानो मुलुकमा दादागिरी गर्न अमेरिकी यो स्वार्थलाई आफ्नो स्वार्थसँग लयबद्ध गर्ने प्रयासको फलस्वरूप विश्वको हरेक ठाउँमा द्वन्द्व भइरहेका छन्। नेपालमा जे भइरहेको छ,त्यसको कारक तत्व यो समग्रतामा खोजेपछि मात्र पाइन्छ। परिणतिमा खोजेर होइन।
क्रमशः करिब ३१, २५, १५ र ७ प्रतिशत छन्– क्रिस्चियन, इस्लाम र हिन्दू र बुद्धिस्ट आज विश्वमा। नेपालमा करिब ८१ प्रतिशत हिन्दू, ९ प्रतिशत बुद्धिस्ट,४ प्रतिशत इस्लाम र १ प्रतिशत क्रिस्चियन छन्। पृथ्वीनारायण शाहले सन् १७६९ मा एकीकरण गरेको नेपालबाट सन् २००८ मा राजतन्त्र फालियो र गणतन्त्रमा परिणत भयो। अहिले राजतन्त्रलाई होइन,राजसंस्थालाई ल्याउने प्रयास भइरहेका देखिन्छन्। हिजो राजतन्त्र फालियो असन्तोष र अरू कारणले। आज पनि असन्तोष र केही अन्य कारण छन्। तर,धर्मको कारणमा फरक छैन। के गणतन्त्र भनेको लुटतन्त्र हो भन्ने प्रश्न उठिरहेको छ।
कति प्रायोजित कति स्फूर्त यस्ता आवेग पोखिइरहेका छन्। बाचुन्जेल मोज गर्ने हो राजनीतिक व्यापार गरेर, मरेपछि जोसुकै राजा होस् भन्ने राजकाज गर्ने मान्यता हाबी हुँदै गएको छर्लंग देखिन्छ, जब हामी सबैले देखेका छौँ निकृष्टतालाई भाषणको आदर्शले ढाक्न नसक्ने भएको छ। त्यसैले नांगो बादसाह बनेका छन् यी हरेक पार्टीमा हरेक पार्टीको टुट, फुट,जुट र लुटको कथा यसैसँग आबद्ध छ। हरेक पार्टीमा अदृश्य हात निर्णायक यही बाटोबाट भएका छन्। मात्रा या आयतन फरक छ यसको तर नेपालमा अहिले हरेक पार्टीको सानो घेराभित्रको लडाइँ यही हो।
आफ्नो स्वार्थ परिपूर्ति गर्न जे मन लाग्यो, त्यो गर्न चाहने यो मनोमानी आवेगले मुलुक हाँकिन पुगेर हो। विना रोकटोक यो आवेग बलियो पार्न मुलुकको संस्थागत संरचना भत्काउने,कमजोर पार्ने र आफूमुखी पार्ने प्रयासले मुलुक अहिले ध्वस्त भएको छ। नेता चोर होइन लुटेरा नै बनेका छन्।
होइन,होइन भनेर हात हल्लाएर के गर्ने? सर्वोच्चमा पार्टी क्याडरको भर्ती होस् या न्यायको खरिद–बिक्री होस् या अख्तियारको तामेली या लोकसेवा आयोगको भर्ती होस् या महालेखाको बेरुजु या निर्वाचन आयोगको व्यक्तिपरक मौनता वा सक्रियता होस्, यी सबै यसैभित्र पर्छन्।
चिरञ्जीवी, जयप्रकाश, खुमबहादुर र गोविन्दराजलाई मात्र भ्रष्टाचारीको बोझ हालेर अरू सबै पानीमाथिको ओभानो कति दिन बन्ने? अर्बौं लुट्ने अनि घर नै काठमाडौंमा नहुने म कसरी भ्रष्टाचारी भन्ने बकम्फुसे गफ कति बिक्ने? तीन कट्ठा जमिन हुने प्रचण्ड होस् या सुजाताले बेनामी घर बेचिरहेका छन् नि! हिजोसम्म भाडामा बसेको र पार्टीले भाडा तिरेको छ भनेर सार्वजनिक रूपमै भनेका थिए।
अझ भ्रष्टाचार गरेको प्रमाणित भए झुन्डिन तयार छु भन्दा तल्लो स्तरको मजाक पनि हुन छाडेको छ। प्रमाण त भित्ताभित्तामा लेखिएका छन्,खोज्नैपर्दैन। यस्तो लुटको कालो धनलाई सेतो पार्नका लागि नै सत्ता परिवर्तन हुने गरेको कुरा सार्वजनिक रूपमा जिम्मेदार नेता खुलेआम भनिरहेका छन्। राजनीति नै राष्ट्र लुटमा घुमिरहेको छ।
हिजो किन फालियो राजतन्त्र र आज किन राजसंस्था ल्याउने यो प्रयास छ ? के गणतन्त्र ट्रान्जिट बनेको हो गएको राजतन्त्र र यो प्रयास गरिएको राजसंस्थाबीच? रोक्ने र ल्याउने शक्तिहरूको यो प्रयास अनि राष्ट्र लुट र बिग्रँदो मुलुकको आर्थिक अवस्थाले मुलुक द्वन्द्वमा छ। असन्तुलित बनेको छ। जे देखिएको छ काठमाडौंमा राजनीतिक रमिता त्यसले थाम्न नसक्ने हुँदै गइसकेको छ,यो डरलाग्दो असन्तुलन। असन्तुलनको सुरुवात असन्तोषबाट हुन्छ,जुनसुकै मुलुकमा पनि।
केही न केही असन्तोष जुनसुकै मुलुकमा हुन्छ। यसले दुइटा बाटोबाट सत्ता परिवर्तन गर्न सक्छ। पहिलो हो–असन्तोष सम्बोधन हुन नसकेपछि यसको गति बढ्दै जान्छ र असन्तुलन प्राकृतिक प्रक्रियामा गएर अन्ततः राज्यसत्ता बदलिन्छ। यो प्राकृतिक प्रक्रिया नै हो। दोस्रो हो–असन्तोषलाई योजनाबद्ध रूपमा असन्तुलनतर्फ लगेर सत्ता पल्टाउने अर्को तरिका हुन्छ। यसलाई ‘फरिन इम्पोज्ड रेजिम चेन्ज’ भनिन्छ। अर्थात् विदेशीले आफ्नो स्वार्थ परिपूर्तिका लागि गराएको सत्ता परिवर्तन।
नेपालमा यो दोस्रो बाटोबाट सत्ता परिवर्तन भएको हो, सन् २००८ मा,जसरी सन् १९५२ मा इजिप्टमा अमेरिकाको गुप्तचर संस्था सिआइएले गराएको थियो। त्यहाँका राजा फारुकलाई आफैँले हुर्काएका क्रान्तिकारीमार्फत फालिदिएको थियो सिआइएले। यसरी फाल्दा त्यहाँ त नेपालमा जस्तो बेबी किङको कुरा मात्र गरिएन, राखियो पनि ११ महिना।
नेपालको सन्दर्भमा यो बुझ्न मदन भण्डारीले नमानेको, माओवादीको उदय, मदन भण्डारीको हत्या, युरोपियन युनियनमार्फत क्रिस्चियानिटीका लागि एनजिओ डलर खेती र जनमत अनुकूल पार्न पालित बुद्धिजीवीको प्रयोग,राजा वीरेन्द्रको वंशनाश,ज्ञानेन्द्रको उदय र उनको महेन्द्र पथको यात्रा, भारतले गराइदिएको १२ बुँदे समझधारी,आन्दोलनको थालनी, सेनालाई धम्क्याइएको,राजा ज्ञानेन्द्रसँगको समझदारी–पहिले प्रचण्डसँगको र पछि दलहरूसँगको,मृत संसद्लाई जबर्जस्ती खडा गरेको,अन्तरिम संविधान र त्यहाँ लेखिएको सर्वसम्मतिबाट गरिने निर्णय जुन राजा नफालुन्जेलका लागि मात्र रह्यो,नयाँ सांसद थपिएर माओवादीसहितको सरकार, माओवादीले जंगल जाने धम्की दिएर निस्केको, राजतन्त्रको निलम्बन,माओवादी सरकारमा फिर्ता,संविधानसभाको म्याराथन सेसनको योजनाबद्ध टेबल ठटाइबाट राजतन्त्र फालिएको र पछि धर्मनिरपेक्ष राखेको, आदि घटना प्रवाहलाई सूक्ष्म ढंगले केलाएर हेरेमा प्रस्ट देखिन्छ।
हिजो असन्तोषको किन सम्बोधन भएन? यो प्रश्नको एउटै उत्तर हो– विरोधाभासले गर्दा। किन भयो विरोधाभास भन्ने प्रश्नको उत्तर हो,राजधर्म राम्ररी पालना नगरेको हुनाले। यसरी असन्तुलन बढ्यो– ८१ प्रतिशत हिन्दु बसेको, त्यो पनि बुद्ध धर्मसँग घुलमिल गरेर र अरूसँग सद्भाव राखेर। यसै मेसोमा क्रिस्चियन धर्म हाबी भयो, जब हिन्दू धर्म शिथिल भएको थियो।
यो राजनीतिमा मिसियो। अनि परिणाम त जगजाहेरै छ। अहिले असन्तोष व्यापक बढेको छ। कारण पुरानै हो– राजधर्म राम्ररी पालना नगरेर। होइन,पालना नै नगरेर। यसले असन्तुलनलाई डरलाग्दो पारेको छ। यतिखेर पनि धर्म मिसिएको छ राजनीतिमा। योपटक प्रवाह हिन्दू धर्मको छ। त्यसैले राजसंस्था फर्किनुपर्छ भन्ने आवाज पहिलेजस्तो झिनो होइन अलि सुनिएको छ। राजावादीको पार्टीको राप्रपाको सेरोफेरोमा मात्र होइन अलि परसम्म सुनिँदै छ।
यही समग्रतामा हेर्नुपर्ने हुन्छ, नेकपा गठन, पारवहन सन्धि, लिपुलेक, एमसिसी, बेल्ट एन्ड रोड इनिसेटिभ,बिम्सटेक, नयाँ गठबन्धनको सरकार,अध्यादेशीय शासन,नागरिकता दिने होइन बाँड्ने प्रयास, दुईपटकको संसद् विघटन, पुनस्र्थापन,नेकपाबाट एमाले र माओवादी अलग,एमाले टुक्रिएको, पाँच पार्टीको महा गठबन्धनको सरकार,सर्वोच्चको भ्रष्टाचार र प्रधान न्यायाधीश हटाऊ आन्दोलन,राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व परिवर्तनमा पूर्वराजा ज्ञानेन्द्रको संलग्नतामा, एमालेको ‘ओलीवेसन’ र कांग्रेसको महाधिवेशन। यो डरलाग्दो असन्तुलनले अन्तर्राष्ट्रिय द्वन्द्वमा मुलुकलाई तानिरहेको छ। राजनीतिको केन्द्र जनता भनेर भट्ट्याइरहँदा जनता कर्मकाण्ड प्रयोजनमा र राजनीतिको केन्द्र अन्तै बन्दै गइसकेको देखिन्छ।
यी भट्ट्याउने ट्रान्समिटर मात्र बन्दै गएका छन्। अन्तभित्र पनि अनेक अन्त छन्। त्यो अन्तले राजतन्त्र फाल्ने गठजोडबाट कति पायो,कति गुमायो? योपटक नराम्रोसँग बिगारिएको बाटो भने विकास र समृद्धिको गफ र मिथ्यांक प्रस्तुत गरेर लुट्दालुट्दा सोतर भएको मुलुकको अर्थतन्त्र बनेको छ।
यो वेला एउटा प्रश्न टड्कारो भएर उठेको छ–के गणतन्त्र ट्रान्जिट बनेको हो? तर यसका लागि ‘कन्जङ्सन’ पर्नुपर्ने हुन्छ। त्यो भनेको आठ ग्रहमध्ये पृथ्वी, बृहस्पति र शनि गत वर्ष एउटै लाइनमा आएजस्तै हाम्रा राजनीतिक ग्रह पनि एउटै लाइनमा आउनुपर्ने हुन्छ। यो हुन सक्ने देखिँदैन। कमसे कम दुई भीमकाय ग्रह शनि र बृहस्पति जसरी नजिक आए त्यसैगरी के हाम्रा दुई भीमकाय राजनीतिक ग्रहहरू नजिक आउन सक्छन्? सायद उत्तर त्यहाँनिर छ।
प्रकाशित: ५ पुस २०७८ ०२:०२ सोमबार