विचार

नारी शिक्षा, जन्मदर र आर्थिक उन्नति

एक कोश (सेल)ले बनेको ब्याक्टेरियाको संख्या करिब २० मिनेटमा दोब्बर हुन्छ। यसरी सूक्ष्माणुको वृद्धिदर अत्यधिक भएकाले संक्रमणको प्रारम्भिक चरणमा सानो संख्यामा रहेको ब्याक्टेरियाको संख्या केही दिनमै असंख्य बन्छ। शरीरमा ब्याक्टेरियाको संख्या अत्यधिक बढेपछि बिरामीलाई रोगले चाप्छ। चिकित्सकीय हस्तक्षेप आवश्यक बन्छ।  

कोरम सेन्सिङ सूक्ष्म जीवाणु, ब्याक्टेरियाका सम्बन्धमा प्रयोग हुने प्रचलित वैज्ञानिक शब्द हो। वृद्धिको रफ्तारी गति भएको ब्याक्टेरियाको लामो अध्ययनपछि सूक्ष्माणुको अनौठो चरित्र पत्ता लगाउन सफल भए वैज्ञानिकहरू। विभाजनका क्रममा सूक्ष्माणुले आफ्नो जनघनत्व पत्ता लगाउन आफैँले उत्पादन गर्ने रासायनिक पदार्थ ‘अटो इन्ड्युसर’को सहारा लिन्छ।  

अत्यधिक जनघनत्व भए बाँच्नका लागि आपसी संघर्ष गर्नुपर्ने यथार्थ मानिसले नबुझे पनि ब्याक्टेरियाले भने थाहा पाएको देखियो। ‘अटो इन्ड्युसर’मार्फत कोश विभाजनमा भूमिका खेल्ने ‘जिन’लाई नियन्त्रण गरी ब्याक्टेरियाले आवश्यकता अनुसार आफ्नो वृद्धिदर काबुमा राख्छ। 

वातावरण तथा परिस्थितिलाई मध्यनजर राख्दै आफ्नो जनसंख्यालाई नियन्त्रणमा राख्ने ब्याक्टेरियाको चरित्रलाई समष्टिगत रूपमा ‘कोरम सेन्सिङ’ भनिन्छ। खान्की अभावका बखत सन्तति बढे जटिलता थपिने भएकाले जनसंख्या वृद्धिमा ‘ब्रेक’ लगाउनुपर्ने अनि यथेष्ट पोषण पदार्थ भए सन्तान उत्पादन गर्न अनुकूल हुने यथार्थ ब्याक्टेरियाले बुझेको देखियो।  

उल्लिखित उद्धरणले ब्याक्टेरियाले समेत कुन अवस्थामा सन्तानोत्पादन अनुकूल हुन्छ भन्ने बुझेको भए पनि मानव जात भने उक्त तथ्यप्रति संवेदनशील भएको देखिएन। हेर्दा गरिबीका कारण भोकभोकै बस्न बाध्य परिवारमा सन्तानको चाप बढी देखिन्छ। मुलुककै कुरा गर्दा समेत सिरिया, युगान्डा, सुडानजस्ता गरिब अनि समस्याग्रस्त देशमा जनसंख्या वृद्धिदर अत्यधिक देखियो। गरिब परिवार तथा दरिद्र मुलुकमा आखिर किन जनसंख्याको चाप अत्यधिक हुन्छ ?

२०औँ शताब्दीको पूर्वाद्र्धमा विश्वको जनसंख्या करिब २ अर्ब रहेकामा अहिले उक्त संख्या बढेर झन्डै ८ अर्ब पुगेको छ। २०औँ शताब्दीको पूर्वाद्र्धमा जर्मन रशायनशास्त्री फ्रिज्ड ह्याबरले वायुमण्डलमा रहेको नाइट्रोजन र हाइड्रोजन ग्यासलाई ह्याबर संश्लेषणमामार्फत ‘अमोनिया’ बनाए। 

अमोनिया ग्यासको उत्पादनले मलखाद युरियाको पहुँच सहज बन्यो, कृषि उत्पादन बढ्यो। खानामा पहुँचबढेपछि जनसंख्याको गतिले रफ्तार लियो। संयुक्त राष्ट्रसंघ (युएन) का अनुसार यो शताब्दीको अन्त्यसम्म पृथ्वीको कुल जनसंख्या ११ अर्ब पुग्ने अनुमान छ।  

वातावरणीय परिवर्तनका कारण विश्व अतिवृष्टि तथा अनावृष्टिको चपेटामा पर्‍यो। कुनै बेला अत्यधिक वर्षा भएर बालीनाली नाश गर्ने अनि कहिले खडेरी पर्ने भएपछि खाद्यान्न उत्पादनको प्रक्षेपण कठिन बन्यो। ‘जेनेटिक इन्जिनियरिड’ लगायतका वैज्ञानिक अनुसन्धानले बालीनालीमा विविधीकरण गरे पनि भूक्षयका कारण जमिनको उत्पादकत्व डगमगाउँदा आउँदा दिनमा उकासिँदो जनसंख्यालाई खुवाउनै नसक्ने अवस्था आउने हो कि भन्ने चिन्ता छ नै। त्यस्तो अवस्थामा विश्वको जनसंख्याका सम्बन्धमा चनाखो हुनुपर्‍यो।  

धेरै अन्वेषण समूह तथा विज्ञले विश्वको जनसंख्या संयुक्त राष्ट्रसंघले प्रक्षेपण गरे जति कुनै पनि हालतमा नपुग्ने ठान्छन्। उनीहरूको विचारमा अबको पाँच दशकभित्र विश्वको जनसंख्या नौ अर्बको हाराहारी पुग्छ। त्यसपछि वल्र्ड पपुलेसन अनवरत रूपले ओरालो लाग्ने ठान्छन् उनीहरू। विश्व जनसंख्यामा स्थिरता ल्याउन दम्पतीलाई पुरस्कृत गर्नुपर्ने दिन आउन सक्ने अनुसन्धानकर्ताको ठहर्छ। विश्व जनसंख्या ओरालो लाग्ने प्रक्षेपणका पक्षमा आएका उदाहरण र तर्कलाई यहाँ प्रस्तुत गर्न सान्दर्भिक देखियो।  

२०औँ शताब्दीको उत्तराद्र्धतिर धेरै देशमा जनसंख्या वृद्धि अत्यधिक बढ्यो। जनघनत्व अत्यधिक बढ्दा भोकमरीले मर्ने अवस्था आउला कि भन्ने त्रास भयो, विकासको रफ्तार रोकिने डर पलायो। जतिसक्दो छिटो देशको जनसंख्या घटाउनुपर्ने मान्यता बन्यो। भारतले जबर्जस्ती बन्ध्याकरण गर्नेसम्मको अभियान चाल्यो। चीन, सिंगापुरजस्ता देशले कठोर अध्यादेश ल्याए।  

त्यसै क्रममा सन् १९८० मा सिंगापुरले ‘स्टप एट टु’ भन्ने नारा अघि सार्‍यो। दुईभन्दा बढी बच्चा जन्माउने दम्पतीलाई विभिन्न सुविधाबाट वञ्चित गर्ने भयो सिंगापुर। आमाहरू दुई मात्र बच्चा पाउन बाध्य भए। धेरै बच्चाको स्याहार गर्नुनपरेपछि दम्पतीहरू आ–आफ्नो पेसागत वृत्ति विकासमा लागे। 

अझ केही जोडीले सरकारी आदेशलाई सहयोग गर्न केवल एक बच्चा मात्र जन्माए। यसरी प्रतिदम्पती सालाखाला सन्तानको संख्या दुईभन्दा पनि कम हुन पुग्यो सिंगापुरमा। जनसंख्यालाई यथास्थितिमा राख्न एक जोडीले सालाखालामा २.१ सन्तान जन्माउन आवश्यक हुन्छ। सिंगापुरको जन्मदर न्यूनतम संख्याभन्दा पनि तल पुग्यो। आवश्यक संख्या कायम हुन नसकेपछि केही वर्षभित्रै सिंगापुरको जनसंख्या ऋणात्मक बन्न पुग्यो।

यसरी जनसंख्या घट्दा उत्पादनशील जनशक्ति कम भयो। सरकारले आफ्नो पूर्ववत निर्णयलाई १८० डिग्रीमा सच्याउँदै धेरै सन्तान जन्माउनेलाई पुरस्कृत गर्ने रणनीति लियो। तर, उक्त सरकारी आदेश निष्प्रभाव भयो। करिअरमा फोकस गर्ने संस्कार बोकेका वर्तमान पिँढी धेरै सन्तान जन्माएर रुमलोमा पर्न चाहेनन्। सिंगापुरको जनसंख्या निरन्तर ओरालो लाग्यो। विदेशीलाई ल्याएर देश चलाउनुपर्ने अवस्था भयो। आवधिक तथ्यांकले सिंगापुरको जनसंख्या प्रतिवर्ष १ हजारमा तीनजनाको दरले घट्दो छ भन्छ।  

सन् १९८० मै सन्तानका सम्बन्धमा सिंगापुरभन्दा पनि अझ कडा नीति ल्यायो चीनले। सरकारी आदेश मुताबिक चिनियाँ महिलाले केवल एउटा मात्र सन्तानलाई जन्म दिन पाउने भए। उक्त नीतिका कारण देशको उत्पादनशील जनशक्ति निकै घट्यो। उत्पादनका लागि आवश्यक जनशक्ति भएन, श्रम अभावको प्रभाव अर्थतन्त्रमा पर्न थाल्यो। 

जनसंख्या घट्दा देशको प्रगतिमा कुठाराघात भएको ठहर गर्दै चीनले सन् २०१६ मा दुई बच्चाको नीति ल्यायो। दम्पतीले दुई बच्चा जन्माउन पाउने भएपछि जनसंख्या वृद्धिदर बढ्ने सरकारले ठानेको थियो। यथार्थमा त्यसो भएन। पछिल्लो चार वर्षको अवधिमा समेत जन्मदरमा खासै सुधार नभएपछि सरकार आत्तियो। अनि, गत मेमा एक जोडीले तीन बच्चा जन्माउन पाउने नीति ल्यायो। 

प्रारम्भिक अध्ययनले सरकारको उक्त आदेश पनि त्यति सहज दिशामा गएको देखिएन। सानो परिवारसहित आफ्नो वृत्ति विकासमा केन्द्रित युवा जमात सरकारले धेरै सन्तान पाउन अनुमति दियो भन्दैमा घरलाई गोठ बनाउन तयार छैनन् भन्ने सन्देश दियो। त्यसैले कुनै ठूलै सरकारी हस्तक्षेप नभए सिंगापुरझैँ चीनको जनसंख्या पनि छिटै ऋणात्मक हुने ठानिँदै छ।  

केहीअघि संयुक्त राज्य अमेरिका र चीनले सन् २०२० को आ–आफ्नो जनगणनाको तथ्यांक सार्वजनिक गरे। यी सर्वाधिक धनी राष्ट्रले सार्वजनिक गरेको आँकडाले तिनीहरूको जनसंख्या वृद्धिको अवस्था सन्तोषजनक नरहेको र उनीहरू श्रमशक्ति अभावको दिशामा लागेको देखियो। चीन र अमेरिका दुवै जनसंख्याको तथ्यांक चुस्त राख्ने मुलुक भएकाले आँकडामा शंका गर्नुपर्ने अवस्था रहेन।  

धनी देशको जनसंख्या घट्दा विपन्न मुलुकको जनघनत्व के होला त भन्ने चासो हुनु अन्यथा भएन। युएनको प्रक्षेपणले गरिब अनि शिक्षा क्षेत्रमा पछि परेका नाइजेरिया, युगान्डाजस्ता विपन्न मुलुकको जनसंख्या भने यो शताब्दीको अन्त्यसम्म तीन गुणा बढ्ने भन्छ। 

शिक्षामा पहुँच नहुँदा बालिकाको उमेर नपुग्दै विवाह हुने नै भयो। नपढेपछि करिअर ग्रोथको बदला महिलाहरू सन्तान उत्पादनको कारखाना बन्नु अस्वाभाविक भएन। परिवार नियोजनको साधनमा गरिबको पहुँच नहुँदा विपन्न मुलुकको जनसंख्या अकासिने नै भयो।  

गरिब मुलुकको अकासिँदो जनसंख्या वृद्धिलाई कसरी स्थिर बनाई उत्पादनशील क्षेत्रमा लगाउने भन्ने चिन्ताको विषय हो। समाधानका खातिर बालिका शिक्षालाई अभियानका रूपमा अगाडि बढाउनुपर्ने मान्यता आयो। महिला शिक्षित भए उनीहरू आफ्नो पेसागत अभिवृद्धिमा लाग्थे, आम्दानी बढ्थ्यो। 

आम्दानी बढ्दा स्वास्थ्य तथा प्रजनन सेवामा पहुँच पुग्थ्यो। सीप आर्जनमा लागेका युवतीहरू करिअर फोकस बन्दा उनीहरूको थोरै सन्तान जन्माउने अवस्थामा पुग्छन्। पढे–लेखेका महिला पेसागत काममा लाग्दा आर्थिक उन्नति पनि हुन्थ्यो। यसरी जन्मदर र आर्थिक उन्नतिका बीच विपरीत सम्बन्ध देखियो। जन्मदर घट्दा आर्थिक भविष्य उज्ज्वल देखियो।  

नाइजेरियाको विस्फोटक जनसंख्या वृद्धि रोक्न महिलाको शिक्षामा पहुँच आवश्यक रहेको युएनको भनाइ नेपाली समाजको हकमा समेत अक्षरसः सही देखिन्छ। नेपालका गरिब र विपन्न बस्तीमा सहरको तुलनामा जन्मदर निकै बढी छ। स्थलगत अध्ययनले घरधन्दा गर्ने अनि सन्तान उत्पादन गर्ने नै महिलाको पेसा हो कि भन्ने भान हुन्छ। 

अनि, त्यस्ता मान्यता भत्काउन महिला शिक्षा आवश्यक देखियो। विपन्न बस्तीका महिलालाई शिक्षामा पहुँच पुर्‍याउन सके उनीहरूले आफ्नो पढाइ अनुरूपको पेसामा लाग्थे। जागिरे भएपछि पेसागत उन्नति प्रगतिका लागि बच्चा पाउने कुरा पछि धकेलिन्थ्यो। परिणामस्वरूप जनसंख्या वृद्धिमा ब्रेक लाग्थ्यो, अनि पारिवारिक आम्दानी बढ्थ्यो।  

ब्याक्टेरियाको रफ्तारी वृद्धि रोक्न कोरम सेन्सिङ रासायनिक पदार्थले भूमिका खेल्छ भने देशको जनसंख्या वृद्धि रोक्न र आर्थिक प्रगति हासिल गर्न महिला शिक्षा अपरिहार्य देखियो। छोरीको अध्ययनले देशको प्रतिव्यक्ति आय तथा जनसंख्या नियन्त्रणमा दोहोरो भूमिका खेल्ने भएकाले नीति निर्माताले महिला शिक्षामा जोड दिनुपर्‍यो। 

आमा शिक्षित भए सन्ततिको भविष्य उज्ज्वल हुन्छ भन्ने मनन जरुरी देखियो। महिला साक्षरताले जनसंख्या नियन्त्रण र आम्दानी अभिवृद्धि दुवैमा प्रत्यक्ष भूमिका खेल्ने भएकाले समाज रूपान्तरणका लागि पुरुष तालिमभन्दा नारी शिक्षा सशक्त देखियो।  

प्रकाशित: १२ आश्विन २०७८ ०१:१८ मंगलबार

कोरम सेन्सिङ सूक्ष्म जीवाणु