विचार

अतिविरुद्ध प्रकृति

पर्याप्त वैज्ञानिक प्रमाण र हामीहरूको वर्तमान अनुभवले सिद्ध गर्छ– विश्वको बढ्दो तापक्रम बदलिँदो जलवायु परिवर्तन कोभिड–१९  भन्दा खतरनाकरूपमा देखिएको छ। कोरोना भाइरसको खोप लगाइरहँदा जलवायु परिवर्तनको खोपले मान्छेलाई जिस्काइरहेको छ। जीवाष्म इन्धनको बढ्दो प्रयोगले हाम्रो वायुमण्डल विषाक्त भएको छ। कार्बनमय भएको छ। तथापि हामीले ३५ वर्षदेखि गरेको विश्वासिलो वैज्ञानिक चेतावनीका बाबजुद ग्लोबल वार्मिङ दिनानुदिन बढिरहेको छ र खतरनाक विन्दुमा पुगिरहेको छ। कोभिड–१९ ले आक्रान्त विश्व पहिलेदेखि नै ग्लोबल वार्मिङसँग जुधिरहेको थियो। विश्वको बढ्दो चरम मौसम आपत्काल यतिखेर अर्को डरलाग्दो चुनौती बनेर मानवताविरुद्ध तेर्सिएको छ। यसप्रकारको चरम मौसम मानव जातिको अस्तित्वमाथि नै एउटा ठूलो प्रश्नचिह्न बनेर खडा भइरहेको छ। यो कतै मानव विलुप्त हुने कारण बनेर मडारिने त होइन? यो बढ्दो सामाजिक–आर्थिक र राजनीतिक आराजकता बढाउने साधन त हुने होइन?

चीनको बाढी

जुलाइ २० का दिन चीनको झेन्झौको मेट्रो लाइनमा अचानक आएको बाढीले देखाएको ताण्डवको भिडियो फुटेज विश्वभर भाइरल भयो। चीनको यो अचानक आएको भयानक बाढीलाई एउटा गम्भीर वैश्विक चरम मौसमको रूपमा लिइएको छ। यो बाढीले २५ जनाको ज्यान लियो। एक घण्टामा ८ इन्च पानी परेको बताइएको छ। जुन दिनभरि परेको पानी औसतमा वार्षिक पर्ने पानीको बराबर मानिएको थियो। तीन  लाख  असी हजार मान्छेलाई सुरक्षित ठाउँमा सारियो चीनको हेनान प्रान्तमा बाढीले गर्दा। युगान्डाको ३० वटा गाउँ नदीहरूमा आएको बाढीले प्रभावित  भए। हाम्रो छिमेकी भारतको मुम्बईमा आएको पहिरोले २५ जनाको ज्यान लियो। टर्की र उत्तर अमेरिकामा तापक्रम ५० डिग्री  सेल्सियस  पुग्यो। उता साउथ अफ्रिका र ब्राजिल चिसोले  कठ्यांग्रिए। साइबेरिया फेरि आगोलागीको चपेटामा पर्‍यो। त्यस्तै युरोपका जर्मनी, निदरल्यान्ड र बेल्जियममा ठूलो बाढी आयो। सयौँ मान्छेले जीवन गुमाए।  

हरेक वर्ष बाढीका घटना भैरहने चीनमा यसपालिको बाढी अत्यन्त अप्रत्याशित र हजारौँ वर्षमा आएको खतरनाक प्रकृतिको भनेर दरिएको छ। शोधकर्ताहरूले जनाएअनुसार जलवायु परिवर्तनले गर्दा पृथ्वीमा यसप्रकारका चरम मौसमका घटना बढिरहेका छन्।

गत वर्षको समरमा चीनको यान्जी नदीको किनारमा ठूलो बाढी आएको थियो जसमा सयौँ मान्छे मारिएका थिए भने लाखौँ विस्थापित भएका थिए। उक्त बाढीले चीनको प्रख्यात ‘थ्रि गोर्जे ड्याम’ खतराको विन्दुमा पुगेको थियो। कतै बाढीले त्यो विशाल ड्याम भत्काउने त होइन भन्ने शंका फैलिएको थियो सर्वत्र।

युरोपको बाढी

जुलाइ १४  र १५ का दिन पश्चिमी युरोपमा एउटा ठूलो आँधिबेरी आयो। जसले गर्दा बेल्जियम, जर्मनी, स्विजरल्यान्ड, फ्रान्स र नेदरल्यान्डमा भयानक वर्षा भयो। जर्मनीको केही भागमा दुई दिनमै दुई महिनामा पर्ने पानी बराबरको वर्षा भयो। जसका कारणले नदीहरूको किनारा बढ्न गयो। समुदायमा बाढी पस्यो र सयौँ मान्छेले ज्यान गुमाए। हेर्दाहेर्दै भौतिक संरचना ध्वस्त भए। आधुनिक र सुविधा सम्पन्न मानिएको युरोपको भौतिक संरचना कति कमजोर र निरीह रहेछ एउटा बाढीलाई समेत थाम्न नसक्ने ? सन् २१०० सम्ममा युरोपीय महाद्वीपभरि बाढीबाट हुने नोक्सान ५६ बिलियन डलर प्रतिवर्ष अनुमान गरिएको छ। जुन यतिखेर ७.८  विलियन डलर भन्दा ७  गुणा बढी हो। बाढी नियन्त्रणका लागि कुनै ठोस कदम नथालिने हो भने बाढी प्रभावित मान्छेको सङ्ख्या दोब्बरले बढेर ३५००००  पुग्नेछ।

ठूला ड्यामको दुर्घटना

जुलाइ २०१७ मा लाओसको बिलियन डलर प्रोजेक्टको  नम थ ड्याम दुर्घटनामा ३५ जनाले ज्यान गुमाए र ७,००० भन्दा बढी घरबारविहीन भए। त्यहाँ ४६ वटा ठूला ड्याम सञ्चालनमा छन्। ५४ वटा निर्माणाधीन छन् भने १०० वटा ड्याम सन् २०२० सम्म बनाउने योजना थियो।

सन् २०१७ को फेब्रुअरीमा अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको २३० मिटर अग्लो ओरोभिल बाँध फुट्न सक्ने अवस्थामा पुगेको थियो। बाँधको तल्लो तटमा रहेका एक लाख ८० हजार भन्दा धेरैलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया तत्काल सुरु गरियो।

२८ जनवरी २०१९ मा बेलायतको  प्रसिद्ध  पत्रिका ‘दि गार्डियन’ मा डाम फिलिप्स लेख्छन्– २०१९ को जनवरीमा ब्राजिलको  ब्रुमनडिन्हो  डिज्यास्टरले  लगभग तीन सय मान्छेको ज्यान लियो। त्यो दुर्घटना अर्को  टेलिङ्गस ड्याम दुर्घटनाको ठीक तीन वर्षमा भएको थियो। जसमा १९ जनाले ज्यान गुमाएका थिए।

चीन र भारतको पानीको राजनीति

ठूला ड्यामले हिमालयको पर्यावरणमा पार्ने खतरा शीर्षकमा बेलायतको प्रसिद्ध पत्रिका ‘द अब्जर्भर’ १० अगस्ट, २०१३ मा माजोन भिडाल लेख्छन्– चार हजार भन्दा बढी हाइड्रोपावर प्रोजेक्टहरू पहाडी क्षत्रमा सञ्चालनका लागि सुरु गरिएको र तिनले भोलि ठूलो दैवी विपत्ति निम्त्याउने खतरा छ।

धेरै अध्ययन र अनुसन्धानले यो देखाउँछ कि प्रत्यक्ष वा परोक्ष सामाजिक वातावरणीय प्रभाव, जस्तै– वन विनाश, खाद्य सुरक्षाको चेतावनी, कार्बन उत्सर्जन, जीवजन्तु, जलचर प्राणीलगायत नदीको तल्लो तटीय क्षेत्रमा पार्ने प्रभाव सबैको अध्ययन एउटा चुनौतीको विषय भएको छ। डेभिड कप्लानको नेतृत्वमा युनिभर्सिटी अफ फ्लोरिडाको अनुसन्धानले बताएअनुसार पानीको वातावरणीय, पर्यावरणीय अध्ययनमा हजारौँ अनियन्त्रित तथ्यहरूलाई सामान्य हाड्रोलोजी  र  इकोलोजीमा पार्ने सूक्ष्म प्रभाव हरेक युनिट बिजुली उत्पादनमा साना ड्यामले पनि ठूला ड्यामले जस्तै १० गुणा असर पु¥याइरहेको हुन्छ।

यो संसारकै ठूलो चिन्ताको विषय हो बढ्दो ड्याम निर्माणमा भैरहेको दिनानुदिन वृद्धि। भविष्यमा साना जलाविद्युत् परियोजनाहरू एसिया, अफ्रिका जस्ता ठाउँमा बढिरहने सन्दर्भमा हिमालय क्षेत्र, टिबेटियन प्लाटुमा उर्लँदो ड्यामहरूको निर्माण भैरहेको छ। जहाँ हजारौँ हिमाली पानीमा आश्रित जल प्राणीहरू, तिनका प्राकृतिक पर्यावरण र त्यसको वरिपरि बस्ने लाखौँ मान्छेको ऐतिहासिक बासस्थान लोप हुने खतरा छ। क्लाइमेट चेन्जको कुप्रभाव देखिइसकेको छ– अस्ट्रेलियामा रिकर्डेड  गर्मी, सिकागोमा अन्टार्टिकामा भन्दा चिसो हुनु, काठमाडौँकै छेउछाउमा बाक्लै हिउँ पर्नु र हामी सबै त्यही हिउँ खेल्न ओइरो लाग्नु एउटा संयोगमात्र किमार्थ होइन। प्रकृतिले आफूविरुद्ध धेरै अति नगर्न गरेको खबरदारी हो।

विकेन्द्रित विद्युतीय प्रणालीको युग

सन् २०३० सम्म केन्द्रीकृत प्रणाली ३० प्रतिशत हुनेछ भने मिनी ग्रिड र अफ ग्रिड प्रणाली ७० प्रतिशत हुनेछ। ७० प्रतिशत भन्दा बढी ऊर्जाको खपत मात्र केही विकशित राष्ट्रले गर्छन् र तिनले वायुमण्डलमा ८० प्रतिशत कार्बन उत्सर्जन गर्छन्। नेपाल जस्ता अल्पविकशित राष्ट्रहरू ठूलाबडाले गरेको तिनै प्रदूषित वायुमण्डलको साझा भागेदारी हुनुपर्ने बाध्यता एउटा तीतो सत्यका रूपमा देखिन्छ। धनी राष्ट्रहरू डर्टी इनर्जी अफ्रिकातिर धकेल्दै शीर्षकमा बेलायतको प्रसिद्ध पत्रिका ‘गार्डियन’ को २३ जुलाइ, २०१८ मा कारेन लेख्छन्– चाइना जसले आफ्नो देशमा नवीकरणीय ऊर्जालाई ठूलो प्राथमिकतामा राखे पनि अफ्रिका जस्ता अविकसित देशहरूमा डर्टी इनर्जीको व्यापार गरेको देखिन्छ। यसरी नेपाल जस्ता अल्प विकसित देशहरूले ऊर्जाको नीति नियम बनाउँदा आफ्नो आवश्यक्ता, आफ्नो पर्यावरण र आफ्ना जनताको हितलाई सर्वोपरि ठान्नुपर्छ न कि दाता राष्ट्रहरूको। यद्यपि सन् २०३० सम्म संयुक्त राष्ट्र संघले नवीकरणीय ऊर्जाको अनुपात र ऊर्जाको स्तरोन्नतिलाई डबल बनाउनुपर्ने लक्ष्य राखेको छ।

नेपालले सिक्नुपर्ने पाठ    

नेपाल संसारको सबै भन्दा कमजोर भूधरातलमा उभिएको राष्ट्र हो जुन विश्व प्राकृतिक प्रकोपजन्य सम्भावनाको अन्तर्राष्ट्रिय इन्डेक्समा  क्लाइमेट  चेन्जमा चौथो,  भूकम्पमा ११ औँ र बाढीमा १३ औँ स्थानमा छ। चुरे  महाभारत  शृंखलामा गिट्टी बालुवाको  व्यापार  नगर्न  र  काली गण्डकी–तिनाउ नदी डाइभर्सन आयोजनालाई कार्यान्वयन नगर्न सर्वोच्च  अदालतले आदेश  गर्नुप¥यो। नेपालमा जलाशय कानुन बनेको छैन। यस प्रकारका मेगा ड्याम परियोजना बनाउनुपूर्व गरिनुपर्ने धरै आधारभूत अध्ययन, त्यसको विश्वमा चलेको सुरक्षासम्बन्धी सचेतना जस्ता कुरामा बेलैमा बुद्धि पु¥याउनु विज्ञहरूको राय सल्लाह लिनु आवश्यक देखिन्छ। यसपालि  असारमै  आएको ठूलो  बाढीले  अरबौँको  धनजनको  क्षति  बेहोर्‍यो देशले। हाइड्रोपावरलगायत  दर्जनौँ  पुल,  सडक सम्बन्धी भौतिक  संरचना ध्वस्त  भए। नेपालका अधिकांश हाइड्रोपावर परियोजना ६ महिनादेखि १२ वर्षसम्म समय र लागत दुवै दोब्बर र तेब्बर हुने गरेको यथार्थ सबैलाई प्रस्ट छ। 

करप्सन इन्डेक्समा देश बदनाम छ। सोझै कमिसन मागेर विदेशी कन्ट्याक्टरलाई दिक्दार पारेर काम सकिन लागेको परियोजनाबाट धपाइन्छ। देशका ठूला सम्भावना र राम्रा परियोजना छिमेकीहरूलाई सुम्पिने होड चलेको छ मात्र कमिसनका लागि। घरका छाना छानामा रुफ टप सोलार, विद्युतीय गाडी, विद्युतीय खाना पकाउने चुलो हरेक नेपालीको घरमा हुने हो भने ग्यास, पेट्रोल र बिजुलीको नाममा देशबाट बाहिरिएको खरबौँ रुपियाँले देश आफैँ बन्छ। मात्र भ्रस्टाचारको जालो तोड्ने एउटा दुःसाहसको ठूलो खाँचो छ यतिखेर। आशा गरौँ, विश्वको यस्तो चरम मौसमसम्बन्धी घटनाहरूबाट नेपालले बेलैमा सिकोस्। हामी सबैमा परिवर्तन ल्याओस्। देश बनाउने देशलाई यस प्रकारका संरचनात्मक त्रुटिबाट हुने ठूलो जनधनको क्षतिबाट जोगाओस्।

प्रकाशित: २६ श्रावण २०७८ ०४:४१ मंगलबार

अतिविरुद्ध प्रकृति