विचार

प्रधानमन्त्रीको सपथ

वैशाख ३० गते खड्गप्रसाद ओलीको प्रधानमन्त्री पदका लागि सपथ ग्रहण भयो। यो उनको जीवनको विशेष अवसर हो। दोस्रो कार्यकालमा विश्वासको मत प्राप्त गर्न असफल भई कामचलाउ भएको तीन दिनमै राष्ट्रपतिबाट पुनः नियुक्ति पाइ तेस्रो कार्यकालको सपथ ग्रहण हो यो। यो यस अर्थले उनको जीवनको विशेष अवसर हो। अरू शक्तिलगायतका प्रतिपक्षको संयुक्त प्रयासले उनीविरुद्धको विश्वासको मतदानमा असफल बनाउँदासमेत खोस्न नसकिएको प्रधानमन्त्रीको सपथ ग्रहण हो यो। यो यस अर्थले पनि उनको जीवनको विशेष अवसर हो। संविधानको धारा ७६, उपधारा २ बाट प्रधानमन्त्रीमा कुनै दलले दाबी गर्न नसक्नाले सोही धाराको उपधारा ३ को प्रावधानका प्रधानमन्त्रीको सपथ ग्रहण हो।    

देशको वर्तमान तरल परिस्थितिमा सिर्जना भएको प्रधानमन्त्रीको यो अवसरको जनतालाई विशेष चासो छ। आफैँले संसद्को विशेष अधिवेशन बोलाइ लिएको विश्वासको मतमा असफल हुँदाहुँदै राजीनामा दिने नैतिकता नदेखाइ लिएको सपथ ग्रहण हो यो। यस अर्थले यो सपथ ग्रहणको जनतालाई विशेष चासो छ। सपथको बेहोरामा उल्लिखित ‘प्रतिज्ञा गर्छु’ भन्न छुटाएका प्रधानमन्त्रीलाई राष्ट्रपतिले दोहो¥याउन आग्रह गर्दासमेत ‘त्यो पर्दैन’ भन्दै ठाडै अस्वीकार गरी आफूलाई संविधान र राष्ट्रपति भन्दा माथि स्थापित गरेको असंवैधानिक सपथ ग्रहण हो यो। यस अर्थले यो सपथ ग्रहणको जनतालाई विशेष चासो छ। देश संक्रमणले आक्रान्त भइरहँदा सोको व्यवस्थापनमा असफल भई जनताको जीवन बचाउने जिम्मा जनताकै हातमा राखी निर्लज्जतासाथ लिएको सपथ ग्रहण हो यो। यस अर्थले यो सपथ ग्रहणको जनतालाई विशेष चासो छ। जनता आजको दिनमा किंकर्तव्यविमुढ छन्।  

अक्सिजनको आशमा मुस्किलले धानिएको श्वास फुस्किरहेछ। सही उपचार पाउने आशमा एकपछि अर्को अस्पतालको ढोका घच्घच्याउँदा घच्घच्याउँदै बाटैमा जीवन गुमिरहेछ। अस्पताल पुग्न आफूले जानेको र सञ्चार माध्यममा प्रचारित सबै फोन घुमाउँदा घुमाउँदै घरमै प्राण गइरहेछ। चिनजानका चिकित्सक, नर्सलगायतका स्वास्थ्य कर्मचारीसँग सम्पर्क गर्दा, उनीहरूले आफ्नो लाचारी छोप्न फोनै नउठाइदिँदा जीवन चुँडिरहेछ। सिकिस्त हुँदासमेत सघन कक्ष र भेन्टिलेटरसम्म पुग्न नपाउँदै मृत्यु वरण गरिरहेछ। धूपदीप आरतीको सुगन्ध र प्रकाशमा प्रज्वलित पावन पाशुपत क्षेत्र, आज लाशको लस्कर, चिताको धुवाँ र गन्धले विनाशको साक्षी बनिरहेछ।  

रोगले लखेट्दै गर्दा, भोकले पनि उत्तिकै सताइरहेछ। बिहान/बेलुकी ज्याला मजदूरीले पेट पाल्ने बाध्यताका जनता कोठाभित्र बसी कोरोना भन्दा भोक बढी खतरनाक हुने आकलन गरिरहेछन्। खेतीपातीबाट गुजारा चलाउने किसान, बाली बेच्न नपाएको निराशामा आत्महत्या सोचिरहेछन्। झोला बोकी स्कुल जाने बालबालिका घरको कुनामा थुनिँदा टोलाइरहेछन्। कसैलार्ई यो अतिरञ्जित लाग्न सक्छ। कसैलाई दुःस्वप्न जस्तै पनि। तर यो अक्षरशः सत्य हो। एउटा तीतो सत्य।  

त्यै पनि निर्धक्क भन्छ– ‘सब ठीकठाक छ।’ स्थितिको आकलन नगरी गैरजिम्मेवार यो सरकार। देशवासीलाई मात्र होइन, विदेशीलाई समेत आश्वस्त पार्न भनिरहेछ– ‘कोरोना हाम्रो नियन्त्रणबाट बाहिर गएको छैन।’। दिवा स्वप्नमा रमाउने भ्रमित यो सरकार। ठीक अर्को दिन विदेशीसँग सहायता माग्छ।  आफूसँग क्षमतै नभएको लाचार यो सरकार। संक्रमणले आफैं आक्रान्त भारतकै मुख ताक्छ। लाजै नमानी निर्लज्ज यो सरकार। विश्व स्वास्थ्य संगठनले नेपाललाई आपत्कालीन सहयोगको खाँचो छ भनिरहँदा ‘तत्काल स्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था छैन’ भन्छ। नैतिकताको हदै पार गरी मुर्छित यो सरकार।  

सपथको बेहोरामा उल्लिखित ‘प्रतिज्ञा गर्छु’ भन्न छुटाएका प्रधानमन्त्रीलाई राष्ट्रपतिले दोहोर्‍याउन आग्रह गर्दासमेत ‘त्यो पर्दैन’ भन्दै ठाडै अस्वीकार गरी आफूलाई संविधान र राष्ट्रपति भन्दा माथि स्थापित गरेको असंवैधानिक सपथ ग्रहण हो यो।

देशमा कोरोना संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढिरहँदा नेताहरू अत्यन्तै लज्जास्पद सत्ताको खेल खेलिरहेछन्। सत्ताको खेल र कोरोना संक्रमित र मृतकको संख्याको ग्राफ समानान्तर गतिमा उचाइ छुँदैछ। अब आउँदा दिनमा नेपालमा कोरोनाले अरू विध्वंश मच्चाउने अहिलेको लहरको प्रकृतिले देखाइसक्यो। यिनै दिनमा हुन गइरहेको नेताहरूको सत्ता समीकरणको सम्भावित दौडको उद्घाटन पनि हालैको प्रधानमन्त्रीको सपथ ग्रहणसँगै भइसक्यो। प्रधानमन्त्रीको सत्ता कब्जाको खेल र विपक्षीको उनको खेलमा युद्धविराम लगाउने कसरत जोरसोरले चल्ने नै भयो। जीत जसको भए पनि हार्ने त जनता नै हुन्छ। जीवन गुमाउने त जनता नै हुन्छ।  

यस अवधिमा कतिको जीवन जाने हो, कतिको घरवार डुब्ने हो, यसको मात्र लेखाजोखामा पनि कहाली लाग्छ। जनताको लाशमाथि भइरहेको सत्ताको खेल र खेलाडीप्रति वितृष्णा हुन्छ। यस्ता प्रवृत्तिले प्रधानमन्त्रीको तुष्टि त पूरा गर्ला, जनताको जीवन रक्षा किमार्थ गर्दैन। प्रधानमन्त्रीले अहिलेको यो अनावश्यक, आफ्नै सहकर्मी साथीहरूलाई राजनीतिक खेल बाहिर हुत्याइदिने र फेरि मिसाउने अनि फकाउने र लोभ्याउने, असान्दर्भिक राजनीतिको खेललाई यही पूर्णविराम लगाएर, देशका सम्पूर्ण स्वास्थ्य कर्मचारीकोे रक्षा र सम्मानमा लाग्ने समय हो यो। स्वास्थ्य कर्मचारीको ठाउँमा आफूलाई उभ्याएर मनन गर्ने समय हो यो। तर यस्तो भएको कहाँ छ र ? यसैले प्रधानमन्त्रीलाई म केही अनुरोध गर्न चाहन्छु। जे म सोच्दैछु, त्यो कुरा हाँस्यास्पद लाग्न पनि सक्छ। देश हाँक्ने प्रधानमन्त्रीलाई यस्तो अनुरोध गर्दा वाहियात लाग्नु स्वाभाविकै हुन्छ होला। यद्यपि, म यो अनुरोध गर्ने धृष्टता गर्दैछु। प्रधानमन्त्रीलाई वर्तमान नेपालको यथार्थ तस्बिर देखाउन यही आवश्यक ठान्छु।  

प्रधानमन्त्रीलाई बालुवाटार सभा कक्षको पारदर्शी, वातानुकूल सिसाको कवजबाट बाहिर निस्किएर ‘यातना कोठा’ भित्र पसे जस्तो अनुभूति दिने स्वास्थ्य कर्मचारीले चौबीसै घण्टा लगाउने व्यक्तिगत सुरक्षा उपकरण लगाएर, अस्पतालको आपत्कालीन कक्षमा केही क्षण बिताउन अनुरोध छ। यस्ता स्वास्थ्य उपकरण अरू स्वास्थ्य कर्मचारीलाई दुर्लभ होला, यद्यपि प्रधानमन्त्रीका लागि त अवश्य प्राप्त हुने नै छ। प्रधानमन्त्रीलाई बालुवाटारको ‘हो पुरुषहरू’ को घेराबाट बाहिर निस्किएर अस्पतालमा सुनिने बिरामी, बिरामीका आफन्त र स्वास्थ्य कर्मचारीले गरेको अहिलेको व्यवस्थापनलाई लिएर आउने विरोधका छट्पटाहट मिश्रित विभिन्न आवाज सुनेर आफ्नो कमजोर नेतृत्वलाई बलियो बनाउन कोसिस गर्न अनुरोध छ। तर यस्तो कहाँ होला र ?

अहिलेको असहज परिस्थितिमा प्रधानमन्त्रीले त्यस दिन शीतल निवासमा केको शपथ ग्रहण लिएका हुन् ? त्यो हाम्रो बुझाइ भन्दा धेरै परको कुरो हो। हामीले अहिले बुझ्ने त उनै स्वास्थ्य कर्मचारीले हाम्रो जीवन बचाइदिन प्रयत्नरत रहने ‘प्रतिज्ञा गर्छु’ भन्ने बेहोरामा लिएको सपथ ग्रहण मात्र हो। स्वास्थ्य कर्मचारीहरू हाम्रो जीवन रक्षार्थ अहोरात्र मौदानमा भिडिरहेछन्। आफ्नो सपथ पूरा गर्न स्वास्थ्य कर्मचारी पूर्ण युद्धमा, अपूर्ण तयारी अवस्थामा पनि लडिरहेछन्। युद्ध लड्दालड्दै कति स्वास्थ्य कर्मचारी सहिद भइसके, अब अरू कति होलान् ? यो ‘अंक’ त समयले नै बताउला।  

स्वास्थ्य कर्मचारी कुनै ‘अंक’ होइन। ऊ भगवान पनि होइन। ऊ यन्त्र पनि होइन। ऊ एउटा संवेदनशील मानव हो। हत्केलामा राखेको आफ्नो जीवन, घर/परिवार र आफ्नालाई संक्रमित बनाउने त्रास, सुरक्षा उपकरणको उपलब्धताको सुनिश्चितताको अभाव, घर÷परिवारसँग जबर्जस्त थप घण्टा काम गर्ने समर्थन जुटाउने नैतिक दबाब, स्कुल बन्द भई घर बसेका बच्चाको शारीरिक र मानसिक व्यवस्थापन जस्ता व्यक्तिगत चुनौतिका साथसाथै जीवन गुमाउँदै गरेका संक्रमितको सामना गर्दाको विवशता, एक मुठ्ठी अक्सिजनको अभावमा छट्पटाएको जीवन टुलुटुलु हेर्नुपर्दा टुक्रिएको हृदय, जीवन गुमाउँदै गर्नेका आफ्न्तको आग्रह मिश्रित बिलौना र हेर्दाहेर्दै उनीहरूकै अगाडि ती जीवनलाई प्लास्टिकमा गुट्मुटाउनुपर्दाको भावनात्मक पीडा कुन अंकगणितले कसरी समेट्ने हो ?    

आज प्रधानमन्त्रीको सपथ ग्रहण समारोह टेलिभिजनको पर्दामा हेरिरहँदा हृदय करुणाले भरिइरहेछ। हृदयबाटै अनायास निक्लियो– आज स्वास्थ्य कर्मचारीको सम्मानको दिन हुनुपथ्र्यो। आज स्वास्थ्यकर्मीको चाहना पूरा गर्ने सपथ ग्रहणको दिन हुनुपथ्र्यो। स्वास्थ्य कमचारीले चाहेकै के छ र ? कोरोना संक्रमित सिकिस्त बिरामीलाई अस्पतालमा भर्ना नपाइ निराश फर्काउनु नपरोस्। मतान, चोटा, कोठा, चोक र बाटैमा पनि राखेर उपचार गर्न तयार सरकारले उनीहरूको उपचारमा चाहिने उपयुक्त साधनको उपलब्धताको सुनिश्चिता गरिदिएको खण्डमा।  

यसैमा स्वास्थ्य कर्मचारीको सन्तुष्टि छ। यही उनीहरू आफ्नो सम्मान सम्झन्छन्। आज प्रधानमन्त्रीद्वारा स्वास्थ्य कर्मचारीको सम्मानको प्रतिबद्धताको सपथ ग्रहणको दिन हुनुपथ्र्यो भन्ने हाम्रो कृतकृत मनको अभिलाशा मात्र हो।

प्रकाशित: ६ जेष्ठ २०७८ ०५:२२ बिहीबार

प्रधानमन्त्रीको सपथ