विचार

एमालेको ओरालो यात्रा

वैदिक महाकाव्य महाभारत नियालौँ– अहंकारले शक्तिलाई कहाँ पुर्‍याउँछ ! यता किशोर अभिमन्युको चिता जलिरहेको थियो, उता बाबु, बाजे, काका, मामा सबै सत्ताका छिनाझप्टी गरिरहेका थिए। पाँच गाउँ पनि दिन्न भन्दा राज्य ध्वस्त भयो, कूल संघार भयो, मतिले काम नगर्दा सत्य र असत्यमा मनिषीहरू आआफैँ अर्थ लगाउँदै बाँडिए। आखिर यदुवंशी पनि आपसमा मारामार गर्दै सकिए। हाम्रो राजनीति पनि अहिले त्यस्तै निर्दयी कुरु क्षेत्र जस्तो भएको छ। त्यसले अरूलाई त सक्छ नै, आफूलाई पनि व्यवस्थासँगै सक्दै जान्छ।

संकट विश्वासको

आफैँले विघटन गरेको सदनसँग विश्वास गर भनेर प्रधानमन्त्रीले सदनमा ठट्टा गरे। विश्वासका लागि आधार हुन्छन्, अहंकारसँग लम्पसार हुँदैन। विश्वासको संकट कोरोना भन्दा पनि महासंकट बन्यो। कसले, कसलाई विश्वास गर्ने ? आफ्नै अंग र आफन्तलाई विश्वास गर्न नसकेर अविश्वासको रजाइँ भएका बेला अझ राजनीतिक व्यवसायमा अविश्वास फैलिने भयो नै। विश्वासै नभएको विश्वासको जगेर्ना विरोधी वा प्रतिस्पर्धीलाई असुरक्षा र डर फैलाएर आतंकित बनाउँदै समर्थन हासिल गर्नु हुन जान्छ। जब शक्तिलाई अंशमा सकिने कि समग्रमा भन्ने त्रास हुन्छ तब उधारोमा सम्झौता गरिन्छन्। संकट टर्नेबित्तिकै सम्झौतापत्र ट्वाइलेट पेपर बनाउँदै पुरानै चरित्रमा फर्किन्छ। एकीकृत प्रतिरोध तोड्न नैतिकताका हरेक बन्धन तोडिन्छन्। शक्तिमा रहन, टिक्न, हत्याउन जे/जसो गरे पनि जायज ठानिन्छन्। शक्ति चञ्चल हुने हुँदा को, कता, कुन समयमा लहसिन्छ त्यसकै मालिकले संकेतसमेत पाउँदैन्।  

षडयन्त्र सिद्धान्तमा भ्रम, हल्ला, मनोवैज्ञानिक त्रास, तोडफोड, भय, लोभ धारिला हतियार बन्छन्। विश्वासलाई ध्वस्त बनाएर मातहति—विश्वास लिइन्छ। सत्यका परिभाषा पनि अनुकूलताअनुसार फेरिएर तर्क कोरलिन्छन्। संभावना रहुन्जेल विश्वास पनि किनबेच हुन थाल्छ। कमजोर पक्ष भने तमसुक लिएर नैतिकताको कोकोहलो गर्छ। आदर्शको खोल ओडेर ठन्टीगाईलाई कसैले पनि बन्सो घाँस हालिरहँदैन्। जहाज डुब्न लाग्दा को जहाजी, को यात्रु अर्थ रहँदैन्। तर अहंकारले समयको संवेदनशीलता बुझ्न दिँदैन्, नक्कली दुश्मन तयार गर्दै तरबार खैँचिन्छ। समय घर्काउन, शक्ति आर्जिन षडयन्त्रको खेलमा सधैँ रहन्छ। समय बलवान हुन्छ, अर्कालाई थापेको पासोमा कहिलेकहीँ आफैँ पनि परिन सक्छ।  

कर्णालीले सिद्धान्तको राजनीति वस्त्रहीन पारेर व्यावहारिक बन्दै देशैलाई नयाँ सन्देश दियो। गण्डकीले झन् सत्ता र संस्कृतिमाथि नै प्रश्न उठायो। समयसँगै समाजमा रोल मोडल फेरिँदै जान्छन्। मन्त्री राजीव गुरुङ नेपाली राजनीतिको पर्दा खोलेर नांगो यथार्थको ‘रोल मोडल’ बने। सिद्धान्तको राजनीति अन्तिम चपरी चिहानमा जनमोर्चाका संसद्ले लगाए। लुम्बिनीमा त झन जात्रै भो। अझ संघीय सदनमा विश्वास मत विभाजनमा छरपष्ट देखियो।

समय र परिस्थिति आदेशबाट हाँकिदैन। दश्मको दश्मै सबभन्दा भरसिलो सहयोगी शक्ति बनेर प्रतिक्रियाको शक्ति झन सशक्त हुन्छ। प्रधानमन्त्रीले विरोधीलाई एउटै मोर्चामा उभिने मौका दिए, आफ्नैलाई भने सम्हाल्न सकेनन्। भुइँको उठाउँछु भन्दा पोल्टाकै पोखियो। जो आफ्नैैलाई हुन सक्दैन् अरूलाई के पो हुन सक्छ ? यी घटना लोकतन्त्रमा शिर उठाउन लायक त छैनन्, हैनन्। तर जाग्दै गरेको अहंकार र घमण्डलाई भने तोडेको छ। उकालो यात्रा सुस्तरी हुन्छ तर ओरालो छिटै। ओरालोमा सम्हालिएर हिँडेन भने चिप्लिने मात्र हैन, पछारिन पनि सकिन्छ। घर सम्हाल्न डाडुपन्युँ हुने घरमुलीको मुख्य दायित्व हुन्छ भने अरू तपसिलमा। अदालतले पुनर्जीवन दिएको एमालेलाई पनि अध्यक्षले स्वीकार्न नसक्नु नयाँ कुरु क्षेत्र बन्यो। रक्तहीन कोतपर्व सदन बन्यो। के एमालेको ओरालो यात्रा अब सुरु भएकै हो ?    

अहिले नेपाली राजनीतिमा दोस्रो वा तेस्रो तहको नेतृत्वमा नैतिक पुँजीको ह्राससँगै विश्वासको संकट अझ  झांगियो। नेता र नेतृत्व त आन्दोलनमा जन्मने हो। प्रश्न उठाउने र दबाब दिने सडक मौन छ। राजनीतिमा अहिले आन्दोलन र आलोचनात्मक चेत नभई चाकडी प्रथा मौलाएको छ। भक्तरामको बिगबिगी छ। त्यसैले दोस्रो वा तेस्रो तहको नेतृत्वलाई गुट/उपगुट आवश्यक परेर जोखिम उठाउने हैसियत गुम्दै गएको हो। गुटियारको आदेशमा ठप्पावाज बन्ने यो पुस्ता देश अस्तव्यस्त हुनुमा अझ दोषी छ। उनीहरू राजनीतिक भविष्य धरापमा परेकाले चिन्तित त छन् तर मौलिक पहिचान बनाउन भने सक्या छैनन्। यो पुस्ताका कमजोरीले नै अहंकार, अलोकतान्त्रिक घमण्डी र भ्रष्ट शासकहरू जन्मने र उनीहरूको महत्वाकांक्षा अझ बढाउने मौका पायोे। आश गर्ने नयाँ पुस्ता पनि नदेखेर संसदीय राजनीतिप्रति नै अनास्था, विकर्षण र जनतामा निराशा फैलिएको हो।

सत्ता र संस्कृति  

आत्ममुग्धता र आत्मकेन्द्रित नेतृत्वका कारण जब देश बन्धक बन्छ, महामारीसँगै मानवताविरुद्ध अपराध पनि भइरहेका हुन्छन्। यस्तो बेला बोल्ने शक्ति आवश्यक हुन्छ। प्रतिरोधी सोचले प्रतिरोधी शक्ति पैदा गर्छ। त्यसले असन्तोष कुण्ठा मात्र नभै निकासको मार्गचित्र पनि दिनुपर्छ।  कसैले शक्ति वा राज्यलाई प्रश्न उठाउँदा मात्रै हामी गद्गद् हुन्छौँ। निजी कमजोरी, लोभ, अपेक्षा र महत्वाकांक्षाका कारण मान्छेमा मौनता छाउँछ। आफ्ना सोच अरूले उठाइदेओस् भन्ने ठूलो जमात सहिद अर्काको घरमा जन्मियोस् र क्रान्तिको उपलब्धिको पहिलो हकवाला हुन पाउँ भन्ने सोच्छन्। 

कतिपय बेला हृदयलाई मस्तिष्कले थाहा पाइसकेको कुरा पनि स्वीकार्न समय कुर्नैपर्छ। दायित्व स्वीकार्ने, चुनौती सामनाका मार्गचित्र पेस गर्ने भन्दा कमजोरी र उदासीनतालाई राज्य अन्यन्त्र मोड्ने प्रयास गर्दैछ। सहनशीलताको एउटा सीमा हुन्छ। फ्रेडरिक डगलस भन्छन्– ‘तानाशाहहरूको सीमा ती मान्छेको सहनशीलताले निर्धारण गर्छ जसलाई ऊ अत्याचार गरिरहेको हुन्छ।’ अहिले युवाहरू राजनीतिदेखि टाढिँदैछन्। पार्टीहरू कार्यकर्ता भन्दा अन्धभक्त उत्पादन गरिरहेका छन्। अन्धभक्तको परिचय, सीमा र समस्या भनेको हरेक विकसित घटनाका कारण नखोतल्नु र कहिल्यै पनि किन र कसरी भयो भन्ने प्रश्न र जिज्ञासा मालिकसँग नराख्नु हो।  

राजनीति फेरेर मात्र सत्ता, संस्कृति र समाज फेरिँदोरहेनछ। सत्ताचिरत्रमा फेरबदल नआउन्जेल राजनीतिमा समस्या आइरहन्छन्। चेत निर्माणका आधार धर्म, सामाजिक स्थिति, सम्पत्ति र सम्बन्ध हो। शासकसँग युगले गर्ने प्रश्न भनेको पूर्वजबाट तिमीले के पायौ भन्दा पनि अर्को पुस्तालाई के छाडेर जाँदैछौ भन्ने हुन्छ। संसदीय अभ्यास नियाल्दा तर्क शक्ति, नैतिक पुँजी सकिएपछि मतभेद मात्रै हैन, मनभेद पनि हुँदोरहेछ। जब चुनावमार्फत नै धेरैजसो तानाशाह जन्मन्छन् तब संस्थाको अर्थ हुँदैन्। जनमत अपहरण हुन्छ। सूचनाका औजार कब्जा गरिन्छन् तब जनताका निर्णय गलत भएर चुनावमा आफ्नैविरुद्ध फैसला पनि दिन सक्छन्। 

सत्तामा सन्तुलन आवश्यक तत्व हो। संसद्, अदालत, कर्मचारीतन्त्र, सुरक्षातन्त्र अनिर्वाचित सत्ता हुन्। जब त्यो सरकारी छाया बन्न पुग्छ तब लोकतान्त्रिक पद्धति तानाशाहीमा फेरिन्छ। तब ऊ मिडियाको हेडलाइन व्यवस्थापन गर्न थाल्छ। आफैँलाई सर्वज्ञ सोचेर अरूलाई आफूमा विलिन गराउन वा मातहत राख्न मात्र चाहन्छ। समस्याको समाधान प्राविधिक हल खोज्दै जनताको रिस कसरी व्यवस्थापन गर्ने वा अयन्त्र मोड्ने भन्नेमा लाग्छ। हरेक शासकका राजनीतिक पुँजी र लोकप्रियता एउटा सीमामा पुगेर रोकिन्छन्। शक्तिको अन्धताले कुनै पनि सरकारलाई स्वयं सर्वनाशकारी बनाउँछ।

एकैपटक आएको हैन यो अवस्था  

यो नेपालको मात्रै हैन्, वैश्विक समस्या हो। सन् २०२० देखि पुँजीको चरित्र फेरिनुसँगै निरंकुश र अधिनायकवादी प्रवृत्ति मात्रै हैन, फासीवादको पनि उदयकाल रह्यो। यसको बाधक भनेकै लोकतान्त्रिक सोच र वैधानिक संस्था थिए। प्रतिरोधी जनआन्दोलन र विद्रोह थिए। वर्चश्वशाली समूहलाई ‘राष्ट्रवाद’, धार्मिक आवेग र अल्पमतप्रतिको घृणा आवश्यक पथ्र्यो। भ्रमित यथार्थमा जिउन अभ्यस्त गराउन भयको निरन्तरता प्रचार गर्दै समर्थक भिड जुटाउनुपर्ने हुन्थ्यो। 

तब आवेग, घृणा र भयलाई भोटमा फेरेर सत्ता कब्जा गर्नु र सत्तामा पुग्नेबित्तिकै सोही भर्‍याङ ढाल्दिने चरित्र बन्छ। टुप्पोमा एउटा सर्वज्ञ, महाशक्तिशाली व्यक्ति, अरू संस्था र व्यक्ति मातहत वा भक्तजन। 

तब आवेग, घृणा र भयलाई भोटमा फेरेर सत्ता कब्जा गर्नु र सत्तामा पुग्नेबित्तिकै  सोही भर्‍याङ ढाल्दिने चरित्र बन्छ। टुप्पोमा एउटा सर्वज्ञ, महाशक्तिशाली व्यक्ति अरू संस्था र व्यक्ति मातहत वा भक्तजन।  संवैधानिक संस्थाको औकात गिराएर शासकप्रति वफादार बनाइन्छ। विरोधी कुल्चन अदालत, अख्तियार, सम्पत्ति शुद्धीकरण आयोग, फर्जी मुद्दा र अध्यादेश बन्न थाल्छन्। नयाँ मोडल पुराना मोडललाई खतरा बन्ने हुँदा सबैखाले आन्दोलनका उपलब्धि ध्वस्त गर्न इतिहासको व्यवस्थापन गरिन थालिन्छ। वर्चश्वशाली वर्ग शासनका चालक फेरिदिए पनि सत्ताचरित्र रूपमा मात्रै फेर्दै हैसियतहीनलाई सत्तामा पुर्‍याएर पुरानै प्रभु वर्गले कज्याउने गर्छ।  

अन्तमा

संकेत र सन्देशले परिणामको भविष्यवाणी गरिरहेका हुन्छन्। कालान्तरमा मात्रै छर्लङ्ग हुन्छ। नयाँ जानकारीसँगै सत्य र शक्ति फेरिँदै जान्छन्। तब तथ्य, तर्क, मनोविज्ञानका आग्रहहीन विश्लेषण आवश्यक हुन्छ। त्यसैले नयाँ भूमिकाको दिशा निक्र्यौल गर्दै तर्कशक्ति दिन्छ। थाहा नपाउनु, नहुनु हैन्। समयको नाडी छाम्न नसक्ने शक्ति अन्धो हुन्छ।  कान र आँखा सुत्दा पनि सधैँ खोली राख्नुपर्ने र अनावश्यक मुख नखोल्ने हेक्का राख्दैन। मुर्ख शासक परिणामले मात्र चेत्छन्। त्यसबेलासम्म पहल खुस्किसकेको हुन्छ।  

प्रकाशित: २९ वैशाख २०७८ ०३:०४ बुधबार

एमालेको ओरालो यात्रा