विचार

समृद्धि सपना

बाइरोडको बाटोमा

प्रत्येक वर्ष हामी सुख, शान्ति र प्रगतिको अपेक्षा राख्छौँ। वर्षको अन्त्यमा फेरि हामी तिनै अपूरा सपनाको खातमा हराउन पुग्छौँ। वर्ष २०७७ हाम्रा निम्ति धेरै अर्थमा अर्थपूर्ण रहे पनि आर्थिक मामिलामा बिर्सनलायक रह्यो। यो अनुभवबीच फेरि हामीले गर्नुपरेको छ– २०७८ सालको शान्ति, समृद्धि र सफलताको कामना।  

वास्तवमा हाम्रा निम्ति समृद्धि सपना एउटा जीजिविषाजस्तो बन्न पुगेको छ। हाम्रै जीवनमा हामीले अनेकन् राजनीतिक परिवर्तन देख्यौँ। ती सबै परिवर्तनको अन्तर्निहित उद्देश्य सुख–शान्ति हो। हिजोभन्दा आज बढी सुविधा भयो भने त्यो सुख हो। हाम्रा बाआमाले भन्दा छोराछोरीले बढी सुख पाए भने त्यो प्रगति हो।

सालका हिसाबले नयाँ संविधान आएको सात वर्ष लागेको छ। देशमा लोकतन्त्र आएको १५ वर्ष भएको छ। २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रकै बाटोमा हिँडेको पनि ३० वर्ष पुगिसकेको छ। लोकतन्त्रले देशको विकासमा योगदान गर्नुपर्छ, मुलुक समृद्धिको बाटोमा हिँड्नुपर्छ र हिजोको भन्दा आजको जीवन बढी सुखद हुनुपर्छ भन्ने कल्पना स्वाभाविक हुन्छ।  

२०४६ सालको जनआन्दोलनको ‘सर्वोच्च नेता’ गणेशमान सिंहले भाषणका क्रममा राजनीतिक परिवर्तन सफल भएको हुँदा अब आर्थिक रूपान्तरणको बाटोमा लाग्न गरेको आह्वान विस्मृतिमा जान लागिसकेको छ। हामीकहाँ राजनीतिक व्यक्तिले आर्थिकभन्दा राजनीतिकै कुरा गर्ने चलन बढी छ। यदाकदा अचेल विकास निर्माणका कुरा सुन्न पाइन्छ।  

आजभन्दा दुई दशकअगाडि चीनको राजधानी बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनको समाचार संकलन गर्ने मौका पाएको थिएँ। त्यो हु जिन्ताओ पार्टी नेतृत्वमा आउने तयारीमा रहेको बेला थियो। चीनमा उनीपछि नेतृत्व परिवर्तन भएर पनि अहिले सी चिनफिङको समय चलिरहेको छ। उनकै योजना अनुसार यस क्षेत्रमा ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ चलिरहेको छ। 

आगामी वर्षहरूलाई विकास निर्माणमा गति दिएर देशलाई फरक पार्न सक्दा मात्र हाम्रा उपलब्धि संस्थागत हुनेछन्। लोकतन्त्रको गीत गाउन त्यतिबेला बढ्ता मजा आउँछ, जतिबेला देशको विकासले गति लिन्छ। त्यो देशले तिनै नेतालाई सधैँ सम्झन्छ, जसले मुलुकको आर्थिक समृद्धिलाई माथि पुर्‍याउँछन्। 

यो प्रसंग यहाँ उल्लेख गर्नुको उद्देश्य हो– त्यो बेला पनि कम्युनिस्ट पार्टीको महाधिवेशनमा मुख्य अजेन्डा विकास, निर्माण थियो। सरकारले कति लगानी गर्दै छ, कस्ता प्राथमिकता छन्, यो लगानीले देश केही दशकमा पुग्ने गन्तव्य के हो ? आदि विषयमा त्यहाँ छलफल भइरहेको थियो। बाह्य लगानी ल्याउन, संसारका सबैभन्दा ठूला कम्पनीलाई आफ्नो देशमा भित्र्याउन र आफूलाई प्रतिस्पर्धामा अगाडि बढाउन आर्थिक चर्चाको मुख्य योगदान हुन्छ।  

पार्टी महाधिवेशनमा भएको आर्थिक विकासको चर्चाबाट छक्क नपर्ने कुरै भएन। हामीकहाँ पार्टी महाधिवेशनमा यसरी कुरा हुँदैन। नेतृत्व हात पार्न बाह्र सत्ताइस राजनीतिक दर्शनका भाषण र दस्तावेज धेरै सुन्न पाइन्छ। संसारमा कहाँ क्रान्ति र प्रतिक्रान्ति भयो भन्ने विषयमा चर्चा हुन्छ। तर, आर्थिक प्रगतिले ती देशलाई अग्रणी बनाउँदै लगेको पक्षमा खासै ध्यान पुग्दैन।  

हामीकहाँ बेलाबेला देशलाई सिंगापुर बनाउने आश्वासन सुनिन्छ। सिंगापुर वा स्विटजरल्यान्ड बनाउने कुरा त्यस्तै हो, पछिल्ला दिनमा नेपाललाई नेपालै रहन दिने नेतृत्व भए पनि पुग्छ भन्ने अवस्थामा नेपाली पुगिसकेका छन्।  

संयोगले एक दशकअघि हामीले सपना देख्ने गरेको सिंगापुरमा पनि मैले तीन महिना बस्ने अवसर पाएँ। विकास निर्माणका निम्ति कुनै पनि देशले चाह्यो भने सम्भव हुन्छ भन्ने उदाहरण सिंगापुरभन्दा अर्को कहाँ होला ? कुनै साधनस्रोत नभएको बालुवा मात्रै भएको ठाउँ आज संसारकै बगैँचा बनेको छ– सिंगापुर।  

विकास निर्माणमा हाम्रो छेवैको सिंगापुरलाई मात्रै नमुनाका रूपमा लिने हो भने पनि हामीले धेरै उपलब्धि हासिल गर्न सक्छौँ। उसले आफ्नो विकासका निम्ति अन्य देशको उदाहरण लिने र त्यसलाई आफू अनुकूल ढाल्ने गरेको रहेछ। शिक्षाकै कुरा गर्दा उसले लिएको जर्मनीको तौरतरिकालाई अहिले यसरी आफ्नो ढंगले अगाडि बढाएको छ कि स्वयं जर्मनहरू त्यसलाई देखेर आश्चर्य चकित हुन्छन्।

व्यावसायिक तथा प्राविधिक तालिमलाई हामीले जसरी झारा टार्ने हिसाबले अगाडि बढाएका छौँ, त्यो सिंगापुरको हकमा भिन्न छ। तिनका प्रयोगशालामा हवाई जहाजका इन्जिन समेत बनिरहेका छन्। र, यस्तो सीप सिकेको जनशक्तिलाई काम दिन रोजगारदाता पहिल्यै तयारीमा बसेका छन्। निरन्तरको लगन भयो भने बालुवामा पनि तेल आउँछ। यो उदाहरण हो– सिंगापुर।  

पत्रकारिताकै सिलसिलामा जापानदेखि दक्षिण कोरियासम्म घुम्दा होस् वा अन्य देशमा पुग्दा होस्, जहिल्यै मनमा लाग्छ– सबैले गर्न सक्ने हामीले मात्र नसक्ने कारण के हो ? यही नेपाली अन्यत्र देशमा जाँदा उत्कृष्ट हुन्छ, देशभित्र किन पछि पर्छ ? यही नेपालीले अन्यत्र गएर संस्था राम्ररी चलाउन सक्छ, यहाँ किन केही गर्न सक्दैन?

वास्तवमा यहाँ उपयुक्त योजना बनाउने, त्यो योजना कार्यान्वयनमा सक्रिय हुने र लक्ष्य हासिल गर्न जसरी पनि प्रयास गर्ने हो भने प्रगति अवश्यम्भावी छ। आज हामीलाई सबै क्षेत्रमा जनशक्ति चाहिएको छ। तर, तिनलाई कामको व्यवस्था गर्न नसकेर विप्रेषणको कमाइका निम्ति विदेश पठाउनुपरेको छ। त्यसरी आएको रकमले मुलुकको अर्थतन्त्र धानिएको भए पनि त्यसले कालान्तरमा पार्ने नकारात्मक असरका बारेमा खासै चर्चा गरिएको छैन।  

तन्नेरी जनशक्तिको जाँगर, प्राकृतिक स्रोतसाधन र छेउमा रहेका दुई विशाल बजार (भारत र चीन)का कारण नेपालका निम्ति सम्भावनै सम्भावना छन्। तर, हामीकहाँ यी सम्भावनालाई बुझेर काम गर्ने वातावरण अझै बनेको छैन। हामीले बितेका एक वर्ष कसरी बितायौँ, त्यसलाई हेरे मात्र पनि सहजै अनुमान गर्न सकिन्छ।  

एक, गत वर्ष देश कोरोना विषाणुको संक्रमणबाट आक्रान्त रह्यो। संसारलाई पारेको असरबाट हामी पनि अछुतो रहने कुरा भएन। दुई, कोरोना नभए पनि हाम्रो विकासको गति उही हो। हामीले गर्ने पुँजीगत बजेट खर्चको ढर्रा पनि उही हो। वास्तवमा देशले गरेका कानुनी व्यवस्था कुनै अर्थमा पनि अन्य देशको तुलनामा उम्दा छन्। तर, कामका हिसाबले कहिल्यै पनि अपेक्षित परिणाम आउने गरी काम भएन।  

हाम्रो विकासको गति के हो भन्ने बुझ्न मेलम्ची खानेपानी आयोजनालाई मात्र हेरे पुग्छ। आयोजनालाई दुई दशक लगाएर पूरा गरिएको छ। वास्तवमा यस्ता आयोजनालाई वर्षौं तन्काएर त्यसैलाई दोहन गर्ने प्रवृत्तिको विकास भएको छ। मेलम्चीको नाममा नेताहरूले गाडी चढ्ने, यसका स्रोतसाधनलाई ठेकेदारमार्फत आफूले उपयोग गर्ने लगायत गलत अभ्यास भएको विगतमा देखिएको हो। यस्तै गति अन्य आयोजनाको पनि छ।  

गएको एक वर्ष राजनीतिक रन्थमोलको वर्ष पनि रह्यो। वास्तवमा विकास निर्माणका काम तीव्र गतिमा अघि बढ्ने हो भने राजनीतिमा पनि ठूलो दबाब पर्दैन। जुन नेताले विकास गर्छ, स्वतः उसको पक्षमा जनमत हुन्छ। पछिल्ला केही दिनयता यो परिस्थितिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले महसुस गरेको हो कि भन्ने देखिँदै छ। त्यही भएर उनी सकेसम्म आयोजनाको शिलान्यास र उद्घाटनमा लागिरहेका छन्। विकास निर्माणले आफूलाई लोकप्रिय गराउँछ भन्ने महसुस गर्नु पनि आफैँमा सकारात्मक पाटो हो।  

अतः हाम्रा बितेका वर्षको चिन्ता गरेर उपलब्धि हुनेवाला छैन। आगामी वर्षहरूलाई विकास निर्माणमा गति दिएर देशलाई फरक पार्न सक्दा मात्र हाम्रा उपलब्धि संस्थागत हुनेछन्। लोकतन्त्रको गीत गाउन त्यतिबेला बढ्ता मजा आउँछ, जतिबेला देशको विकासले गति लिन्छ। त्यो देशले तिनै नेतालाई सधैँ सम्झन्छ, जसले मुलुकको आर्थिक समृद्धिलाई माथि पुर्‍याउँछन्। सबैलाई सिंगापुरका नेता ली क्वान यु बन्ने जोस चढ्छ, तर उनको जस्तै इमानदारितामा ध्यान जाँदैन। त्यसमा ध्यान जाने हो भने देश नबनी सुखै छैन। देशलाई तेस्रो विश्वबाट पहिलो बनाउने बित्तिकै नेता अमर हुन्छन्। देश समृद्ध बन्छ। नयाँ वर्ष २०७८ को चिन्तन यसो हुनुपर्ने हो कि?  

प्रकाशित: १ वैशाख २०७८ ०६:२७ बुधबार

समृद्धि सपना बाइरोडको बाटोमा