विचार

कहाँ छ प्रजातन्त्र ?

बाइरोडको बाटोमा

बिहानै फेरि पनि तोप पड्किए मुलुकमा लोकतन्त्र रहेको सन्देश दिन । नागरिकलाई तोप पड्काएर प्रजातन्त्रको शुभकामना दिन थालेको ७० वर्ष पुगेको छ ।

यस पटकको फागुन सातमा पनि त्यही भयो जुन ७० वर्षदेखि भइरहेको छ । सैनिक मञ्चभित्र काला चश्मा लगाएका शासकहरू देखिए । नजिक गएर हेर्ने हो भने ती भिन्न देखिन्छन् । टाढाबाट हेर्दा ती उस्तै देखिन्छन् ।  

अर्थात् हाम्रो लोकतन्त्रलाई सैनिक मञ्च प्यारो लाग्छ । त्यहीँभित्र बसेर हामी लोकतन्त्र दिवस मनाउँछौँ । हाम्रा नागरिक सैनिक मञ्चको फलामे बारबाहिर बसेर भित्र चिहाउँछन् । बाहिरबाट भित्र लोकतन्त्र भरिभराउ देखिन्छ । भित्रबाट बाहिर हेर्दा नागरिकले उत्सव मनाइरहेको देखिन्छ ।  

टुँडिखेल बाहिर भने जुलुस निस्किरहेको छ । जुलुसमा लेखक छन् । मानव अधिकारकर्मी छन् । कलाकार छन् । पेसाकर्मी छन् । उनीहरू सोधिरहेका छन्– खै कहाँ छ प्रजातन्त्र ?

सैनिक मञ्चबाट हुँकार आइरहेको छ– प्रजातन्त्रलाई केही हुन दिइने छैन । यसलाई कसैले खोस्न सक्ने छैन ।  

हिजोदेखि हामीले सुन्दै आएको हो यो । प्रजातन्त्रलाई जसले मुठीमा बन्द गर्छ, उसैले भन्छ– प्रजातन्त्रलाई केही हुन दिइने छैन । यो हाम्रो संरक्षणमा छ । 

म्यानमारमा सैनिक तानाशाहले प्रजातन्त्र खोस्यो । यहाँ सैनिक मञ्चभित्र मुसुमुसु मुस्कुराइरहेका नागरिक शासकले संविधान च्यातेका छन् । फरक यत्ति हो ।

र, सबै तानाशाही व्यवस्थाले भन्छ– म नै प्रजातन्त्र हुँ ।  

प्रजातन्त्रलाई नागरिकसँग रहन दिएन भने त्यो राम्ररी फस्टाउन सक्दैन । शासक वर्गमा प्रजातन्त्र जहिल्यै छ । उनीहरूका निम्ति प्रजातन्त्रको काफल जहिल्यै पाकिरहेको छ । नागरिकसँग प्रजातन्त्र पुग्यो भने त्यो गाँस, बास र कपासमा अनुदित हुन्छ । त्यो नानीहरूको स्कुल बन्छ । त्यो वृद्ध बाआमाका निम्ति स्वास्थ्य सेवा बन्न पुग्छ ।  

अस्ति भर्खरै भद्रकालीनिर पुगेपछि ठ्याक्क बाटो छेकियो । अगाडि सवारी साधनको व्यापक भीड छ । किन रहेछ ? छेउको एउटा सवारीचालकले भन्यो– अगाडि सवारी छ ।  

जनता रोकेर सवारी चल्छ । हिजो राणा कालमा पनि यही सवारी चल्थ्यो । राणाकालले नपुगेर प्रजातन्त्र आयो । फेरि सवारी चल्यो । पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र हुँदै अहिलेसम्म आइपुग्दा पनि सवारी चलिरहेको छ । सवारी चलेको चल्यै छ । नागरिक दिक्क हुन्छन्– धत् यस्तो पनि प्रजातन्त्र ।  

मान आफैँ खोज्ने होइन । नागरिकले दिन्छन् । त्यसका निम्ति आमनागरिकको प्रिय शासक बन्नुपर्छ । नागरिक हिँडिरहेको छ । शासक सवारी चलाइरहेको छ । त्यो सवारी चलाउन हाम्रो राज्य संयन्त्र सदैव तत्पर छ । हामीले खोजेको राज्य संयन्त्र जनमुखी हो । हामीलाई जनताको सवारी चलाउने संयन्त्र चाहिएको हो, शासकको होइन ।  

भन्नलाई मुलुकमा सन्तुलन र नियन्त्रण छ । यस्तो व्यवस्था छ भन्ने विश्वास कसैलाई छैन । सन्तुलन होइन यहाँ ‘सेटिङ’ छ । यही आमविश्वास छ यहाँ । नागरिकलाई ‘सेटिङ’ गरिसकेको जानकारी दिइसकिएको छ । त्यसैले उनीहरू ढुक्क छन् यहाँ सन्तुलन र नियन्त्रण हुँदैन । यहाँ शासकीय सूचकअनुसार निकायहरूले निर्णय गर्छन् । अनि त्यसैलाई लोकतन्त्रको सुन्दर पक्ष भनेर विश्वास गर्नुपर्ने हुन्छ । तर, यो परीक्षणको घडी हो । निर्णय क्षमता परख गर्ने समय हो ।

टुँडिखेल र प्रजातन्त्र उस्तै भइसकेका छन् । टुँडिखेल पनि चारैतिरबाट फलामे बारले घेरिएको छ । त्यसभित्र शासकीय शान छ । बाहिरबाट नागरिकहरू जुलुस लिएर आउँछन् र भनिरहेका छन्– यो टुँडिखेल हाम्रो हो ।

भित्रबाट शासक मुसुमुसु मुस्काउँदै भन्छ– टुँडिखेल न हिजो तिमीहरूको थियो न आज छ । यो हिजो पनि हामी जस्तैको थियो । आज पनि हामी जस्तैको छ । लोकतन्त्र पनि पानी जस्तै हुने रहेछ । जस्तो भाँडोमा राख्यो, पानीको आकार त्यस्तै हुन्छ । लोकतन्त्र जस्तो शासकको हातमा पर्छ, त्यो पनि त्यस्तै हुन्छ । अधिनायकवादी सत्ताले आफूलाई जहिल्यै प्रजातन्त्र भन्छ ।  

हामीले जेलाई परिवर्तन भन्दै आयौँ, त्यो परिवर्तन थिएन । वास्तवमा त्यो व्यक्तिको स्थानान्तरण मात्र थियो । हिजो खाइरहेकाहरूलाई नागरिकले त्यहाँबाट हट्न भने । त्यसपछि फेरि नयाँलाई त्यहाँ गएर बस्न भने । केही समयपछि नयाँ पनि हिजोका जस्तै देखिन थाले ।

त्यही भएर अहिले नागरिकलाई सबै उस्तै उस्तै लाग्छ । नागरिक थकित छन्– भैहाल्यो, यी गए पनि उस्तै त आउने हुन् । मौका गुमाएकाहरू फेरि नागरिकसँग आएर बिलौना गर्छन्– हामी पूरै परिवर्तन भएका छौँ । हामीले हिजो गल्ती गर्‍यौँ । हामी फेरि सच्चिन्छौँ ।

भन्नलाई मुलुकमा सन्तुलन र नियन्त्रण छ । यस्तो व्यवस्था छ भन्ने विश्वास कसैलाई छैन । सन्तुलन होइन यहाँ ‘सेटिङ’ छ ।  

२०४६ सालको जनआन्दोलनताका न्युरोडबाट जुलुस निस्किएको झल्झली सम्झन्छु । तीन दशकअघि प्रतिबन्धित दल कांग्रेस र वाममोर्चाका झण्डासहितका जुलुस देख्दा मुलुक विकासको उषाकाल सम्झेर पुलकित भएथ्यौँ । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता नेताको एक झल्को देख्न सबै लालायित थिए ।  

टुँडिखेलछेउ उभिएको त्यही वीर अस्पताल हो जहाँ ‘सर्वोच्च नेता’ गणेशमान सिंहको उपचार भइरहेको थियो । उहाँलाई जसरी पनि कार्यक्रमस्थलमा ल्याउन नागरिक कसरी तड्पिएका थिए । नेता एउटा मुक्तिको जाज्वल्यमान प्रतिमूर्ति थिए । तिनले हामीलाई बोल्न दिन्छन् । तिनले हामीलाई सुख दिन्छन् । रातैरातै अविर लगाएका ती आकांक्षाहरू तीन दशकमै तुषारापात भएका छन् ।  

त्यस्तो उत्साहले आएका प्रजातन्त्रका नेतालाई राजा ज्ञानेन्द्रले २०६१ माघ १९ मा जेल हाल्दा नागरिक कौसीबाट सडकमा ओर्लिनै मानेनन् । एकथरी सत्ताका सौदागरहरूले दीपावली नै गरे । नेताहरूको त्यो दीनहीन अवस्थाका कारण फेरि पनि नागरिक जुर्मुराए । नागरिकले तिनलाई तल बसाएर अबदेखि सच्चिन भने । उनीहरूले सच्चिन्छु पनि भने ।

फेरि के भयो ? तिनै नेताले खलपात्रलाई अख्तियारमा पु¥याए । अदालतमा पुर्‍याए । आयोगमा पुर्‍याए । सुटकेससँग पद साट्दै गए । सुटकेसमा साटिएको पदले विवेकलाई बन्धकी राख्छ । त्यसपछि त्यसले राष्ट्रको सिन्दुर पहिरिएको महसुस गर्दैन । अनि सुटकेस मालिककै निम्ति निर्णय गर्छ ।  

मुलुकले ७० वर्षदेखि पटक–पटक संघर्ष गरेर आजको अवस्था आएको हो । बाटाघाटा बनाउँदै गरौँला । तर कहिल्यै र कसैले खोस्न नसक्ने भनेर लोकतन्त्र ल्याएको हो । यसका निम्ति बलिदान दिनेको संख्या अगणित छ । मरेर सहिद हुनेहरू मात्र होइनन् बाँचेर पनि सत्ता समस्याकै कारण छिनछिनमा मरेर बाँचेकाहरूका आँसु छन् यसमा । संविधानकै निम्ति भनेर नागरिकले अर्बौँ खर्चेका छन् । देश बन्ला, सुख पाऔँला, विधि र पद्धतिको शासनमुनि बसौँला भन्ने नागरिक सपना ७० वर्षदेखि अधुरो छ ।  

हिजो राजा/महाराजाबाट हाम्रो स्वतन्त्रतालाई खतरा पुग्यो । आज आफ्नै बीचबाट पुगेको नेता साथीले त्यसलाई खतरामा परेका छन् । पञ्चायतभन्दा प्रजातन्त्र राम्रो । प्रजातन्त्र पनि खोसिने रहेछ भनेपछि लोकतन्त्र आयो । तर त्यो लोकतन्त्र त अझ सजिलै धराशायी भएको छ । यतिखेर लोकतन्त्र मुर्छित अवस्थामा छ । यो मुर्छित अवस्थाबाट बौरिन्छ कि बौरिँदैन ?  

प्रजातन्त्र दिवसका दिन टुँडिखेल वरिपरि हेरिरहँदा यिनै प्रश्नहरूको उत्ताल तरंग मनमा आइरहेको थियो । नागरिकले सांकेतिक होइन सिधै प्रश्न गरिरहेका थिए– कहाँ छ प्रजातन्त्र ? म्यानमरामा सैनिक तानाशाहले प्रजातन्त्र खोस्यो । यहाँ सैनिक मञ्चभित्र मुसुमुसु मुस्कुराइरहेका नागरिक शासकले संविधान च्यातेका छन् । फरक यत्ति हो ।  

ढुक्क हुनुपर्ने कुराचाहिँ के छ भने सैनिक तानाशाहले पनि नागरिकलाई रोक्न सक्दैनन् । म्यानमार अहिलेको हाम्रो उत्साह हो । स्वतन्त्रताको स्वाद चाखिसकेका नागरिक त्यसको प्राप्तिका निम्ति लागिरहन्छन् । हाम्रो लोकतन्त्र केही समयका निम्ति खोसिन सक्छ । तर, त्यो प्राप्त हुँदा अहिलेभन्दा धेरै भएर आउनेछ ।

यत्ति हो, अहिले मुर्छित अवस्थामा रहेको लोकतन्त्र ब्युँझिनुपर्छ । यससँग हाम्रा सपना छन् । त्यसको छिनोफानो गर्ने जिम्मा अहिले सर्वोच्च अदालतले पाएको छ । सारा देशले भनिरहेको छ– प्रतिनिधिसभा विघटन गैरसंवैधानिक छ ।

प्रतिनिधिसभा पुनस्र्थापित भएन भने ढुक्कैसँग भने हुन्छ– यो संविधानको आयु सकियो । त्यसपछि खेल भत्किनेछ । मुलुक फेरि एउटा अस्थिरताको भूमरीमा पर्नेछ । देशभित्रकै नेताका हातमा आएको निर्णय क्षमता सकिनेछ । कसैको इसारामा मुलुकले फेरि निर्णय गर्नुपर्ने अवस्था आउनेछ ।  

तैपनि स्वतन्त्रताको यो वेग रोकिने छैन । अहिलेको भन्दा उन्नत व्यवस्था फेरि आउनेछ । संवैधानिक निकायहरूकै असल निर्णयबाट संविधान जोगाउन सकिएन भने सडक छँदैछ । घेराबन्दीमा परेको लोकतन्त्र उठाउन आमनागरिक अवश्यै आउनेछन् । त्यतिबेला सोधिने छैन– कहाँ छ प्रजातन्त्र ?

प्रकाशित: ९ फाल्गुन २०७७ ०३:११ आइतबार

विचार कहाँ छ प्रजातन्त्र ? बाइरोडको बाटोमा