अहिलेको स्थिति हेर्दा एउटा भारतीय कथा सम्झना आउँछ। भारतको कुनै शहरमा नसिब नाम गरेको एउटा गरिब व्यक्ति थियो। चार सन्तानको बाबु उसलाई दुई छाक टार्नसमेत अप्ठेरो थियो। काम खोज्दा नपाएपछि उसले रेलवे स्टेसनमा भिख माग्न थाल्यो। ऊ स्टेसन जान्थ्यो, त्यहाँ रोकिएको रेलभित्र गएर यात्रुहरूसँग आफ्नो गरिबीको कथा सुनाउँथ्यो। केही दयालुले दिएको पैसाले सकी–नसकी छाक टार्दै आएको थियो।
त्यत्तिकैमा एक दिन स्टेसनमा धर्म प्रचार गर्न आएको व्यक्तिको आँखा ऊमाथि पर्यो। उसले त्यो व्यक्तिलाई पैसाको लोभ देखाएर आफ्नो धर्म अंगाल्न भन्यो। गरिबलाई त पैसाको आवश्यकता थियो, त्यसैले ऊ त्यही व्यक्तिसँगै लाग्यो। उसले पैसा लिएर धर्म परिवर्तन गर्यो। धर्म परिवर्तन गर्दा पाएको पैसाका कारण उसलाई केही दिन काम गर्न र भिख माग्न जान परेन। त्यही पैसाले उसको गुजारा टर्यो। तर पैसा सकिएपछि भने ऊसँग भिख माग्नुको विकल्प रहेन र फेरि रेलवे स्टेसन धाउन थाल्यो। त्यहाँ कुनै अर्को धर्मको प्रचारकले उसलाई देख्यो। ऊ फेरि पैसाको लोभमा अर्को धर्म अंगाल्न पुग्यो। केही दिन फेरि भिख माग्न परेन। तर पैसा सकिएपछि पुनः त्यही भिख माग्ने काम। अनि केही दिनको अन्तरालपछि पैसाको लोभमा फेरि उ अर्को धर्म अंगाल्न पुग्यो। केही दिनको आनन्दपछि फेरि त्यही हालत! फेरि स्टेसन,फेरि अर्को प्रचारकको संगत...। चौथो पटक धर्म प्रचारकसँग गएको केही दिनपछि ऊ रेलवे स्टेसनमा आयो। यस पटक उसले भिख माग्नुको साटो सबैसँग एउटै प्रश्न सोध्न थालेछ– हिन्दु, मुस्लिम, शिख र इसाईबाहेक अर्को कुन धर्म हुन्छ?
नेपाली जनताको स्थिति पनि त्यही गरिब व्यक्तिसरह छ, जसले सुशासन र निकासका लागि सबै प्रमुख दललाई हेरिसकेको छ। तर त्यस व्यक्ति जस्तै जनतासामु पनि अबको निर्वाचनमा कुनै विकल्प बाँकी छैन। यसले जनतामा द्विविधा र शंका उत्पन्न गराउनु स्वाभाविक नै हो। अहिलेका दल र उनीहरूका नेतालाई जनताले पटकपटक अवसर दिएका छन् तर परिणाम भने उही हात लाग्यो शून्य नै आएको छ। त्यसले जनमानसमा राजनीतिक दलप्रति वितृष्णा उत्पन्न गराएको छ। त्यस कारण जनतामा निर्वाचनलाई लिएर उत्साह नदेखिएको समाचार आउन थालेको छ। कतिपय स्थानमा त जनता मतदाता नामावली दर्ता गराउनसमेत नआएको तथ्यहरू खुल्न थालेको छ। तर निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा जनताको विचारमा पनि परिवर्तन आउने कुरामा विश्वास गर्न सकिन्छ। त्यसअनुसार यदि निर्वाचन हुँदासम्म जनताको सोचाइमा परिवर्तन आएर मतदान गर्न गएको खण्डमा उनीहरूसामु उही पुराना असफल एवं थकित अनुहार हुनेछन्। त्यस्तो अवस्थामा कुन विश्वासले कसाई मत दिने भन्ने द्विविधा कायमै रहनेछ।
उता कांग्रेस, एमाओवादी, एमाले र मधेसवादी दल भने आफ्नो बहुमत आए संविधान बन्ने बताउँदै आएका छन्। तर यस पटक संविधान बन्छ नै भन्ने कुनै ठोस आधार कुनै दलले दिन सकेको छैन। आफ्नो बहुमत आएको खण्डमा संविधान बन्ने जस्ता अमूर्त कुराले निकासको ढोका देखाउन सक्दैन।
यस्तो अवस्थामा अब जनतासँग आगामी निर्वाचनमा दलको नभई उम्मेदवारको अनुहार हेरेर निर्णय लिनुको विकल्प रहने छैन। एक पटक राजनीतिमा आएपछि बाँचुञ्जेलसम्म कुर्सीमा टाँसिएर बस्ने प्रचलनले स्वयं दलहरूलाई नै नकारात्मक असर पारिरहेको छ। असफल पुराना अनुहारको दरिलो उपस्थितिका कारण पार्टीमा नयाँ पुस्ताको सोचाईले प्रवेश पाउन सकेको छैन। यसले गर्दा दलहरू उही पुरानै शैलीमा अगाडि बढ्न बाध्य छन्। अर्थात् दलहरू निकासको भन्दा सत्ताको पछि लागेका छन्। निर्दलीय चुनावी सरकार बनाएर दलहरूले यसलाई प्रमाणित गरिसकेका छन्। यस्तो अवस्थामा जनताले निकासका लागि कुनै नौलो कुराको आश दलबाट गर्नु ब्यर्थ छ। जनताका सामु रहेको विकल्पमध्ये मतदान गर्दा दलको झण्डा र उम्मेदवारको अनुहारभन्दा उसको क्षमता हेरेर भोट खसाल्नु नै छ।
त्यसैले देशको दुर्दशाका लागि दलहरूलाई सराप्नुको साटो आफ्नो मत खसाल्दा उम्मेदवार चयन गम्भीरपूर्वक गर्दा नै राम्रोे हुनेछ। दल र यिनका नेतालाई यस स्थानमा पुर्याएको आखिर हामी जनताले नै त हो। राजनीतिमा असल व्यक्तित्व आउने मार्ग प्रशस्त गर्ने जिम्मेवारी त जनताको नै हो। आज यदि वषर्ौं पुराना अनुहारले नेपाली राजनीतिमा अधिपत्य जमाएका छन् भने त्यसको केही जिम्मेवारी जनताको पनि छ। आखिरमा हामीले नै यिनीहरूलाई नेता बनाएका हौँ। यिनीहरू पटकपटक असफल भए पनि अवसर दिने त हामी नै हौँ। मत खसाल्दा यसतर्फ ध्यान दिएको खण्डमा दलहरूले पनि असल उम्मेदवारको खोजीमा ध्यान पुर्याउने प्रचलन बसाल्ने थिए। यस अर्थमा अब हुने निर्वाचन दलका लागि मात्र नभई मतदाताका लागि पनि परीक्षा हो। नेपालका लगभग सबै राजनीतिक दलका पहिलो पुस्ताका नेताहरू असफल सावित भएका छन् भने तिनै दलका दोस्रो पुस्ताका नेता सक्षम छन्, तयार छन्। उनीहरू सबै अवसरको प्रतीक्षामा छन्। आफ्नै पार्टीबाट नपाएको त्यो अवसर उनीहरूलाई मतदाताले दिन सक्छन्। त्यसको सुरुवात् यही निर्वाचनबाट भएको खण्डमा देशको 'नसिब' पैसाको लोभमा नयाँ नयाँ धर्मको खोजीमा लागेको गरिब व्यक्तिभन्दा फरक हुने थियो।
प्रकाशित: २४ असार २०७० २३:३८ सोमबार