विचार

आदरार्थी शब्दप्रतिको तटस्थता

मिडियामा प्रयोग हुने आदरार्थी शब्दको प्रयोगका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट हालै एउटा चाखलाग्दो विषय उद्घोष भएको छ ।

केही वर्षदेखि नै यो विषयले प्रवेश पाएतापनि हालैका दिनमा सार्वजनिकरूपमा गरिने आदरार्थी शब्द प्रयोगविषयको छलफल झनै उत्कर्षमा पुगेको छ । अंग्रेजी भाषामा प्रयोग हुने ‘यु’ अर्थात् ‘तिमी’ शब्दले सबैलाई समेट्नु अस्वाभाविक नभएपनि नेपाली भाषामा समेत ठूलादेखि सानालार्ई ‘तिमी’ सम्बोधन गर्दा विषयले चर्चा पाएको हो ।

ओलीले नै नाम लिएकाविदेशी सञ्चारमाध्यम बिबिसीले प्रयोग गरेको ‘यु’ शब्दले नेपाली भाषा र संस्कृतिमाथि आक्रमण गरेको र बिस्तारै हाम्रो भाषा, परम्परा र संस्कृतिमाथि अंग्रेजी भाषाले साम्राज्य जमाएको भन्दै प्रधानमन्त्रीबाट चिन्ता सार्वजनिकभएको छ ।

आदरार्थी निरपेक्षताको अर्थ आदर नगर्नु भन्ने होइन, आदर/अनादरबारे कानुन तटस्थ रहनु हो भनिएको छ ।

सञ्चारमाध्यममा प्रयोग हुने भाषाको सन्दर्भमा लामो समयदेखिगंभीर चर्चा परिचर्चा चलिरहेकैछ । पहिला पहिला राजा/महाराजाहरूलाई अति आदर गर्न प्रयोग गरिने ‘बक्सियोस्’, ‘जी’ वा ‘हजुर’ जस्ता शब्दको अहिले कमैप्रयोग हुन थालेको छ। र, ती शब्दको सट्टा अहिले उच्चपदस्थपदाधिकारीका हकमा समेत सामान्य आदरार्थी शब्दबाटै सम्बोधन हुने गरेको छ ।  

कानुनी मामलादेखि सार्वजनिकसञ्चार माध्यमको प्रयोगमा समेत‘बक्सियोस्’, ‘जी’ वा ‘हजुर’ को सट्टामा सामान्य आदरार्थी शब्दहरूलेस्थान ओगटेका छन् । यस्तै अवस्था रहे‘जी’ वा ‘हजुर’ केही समयसम्म चलेतापनि ‘बक्सियोस्’ जस्ता शब्द बिस्तारै लोप हुनसक्छन् । औपचारिकरूपमा लेखनीमा प्रयोगमा नआएतापनि कतिपय ‘सम्भ्रान्त’ वर्गका कानुन व्यवसायीले अझैपनि यदाकदा न्यायाधीशहरूलाई बहसका क्रममा ‘बक्सियोस्’ जस्ता अति आदरार्थी शब्दको प्रयोगका साथ सम्बोधन गरेका पाइन्छ ।

न्यायाधीशहरूले समेत त्यस्ता अति आदरार्थी शब्दको प्रयोग नगर्न रुलिङ गरेको पाइँदैन बरु स्वीकारै गरेको देखिन्छ । बहसका क्रममा विपक्षीका कानुन व्यवसायीलाई समेत सम्मानजनक भाषाको प्रयोग गरी सम्बोधन गर्नुपर्नेन्यायिक डेकोरम (मान्यता) ले न्यायाधीशप्रति अति आदरार्थी शब्दहरूको प्रयोग अस्वाभाविक मानिँदैन ।  

यद्यपि सामान्य बोलीचालीका क्रममा, औपचारिकरूपमा टेलिभिजन वा रेडियोमा बोल्दा भने अति आदरार्थी शब्द प्रयोग हुने गरेको छैन । सार्वजनिकरूपमा जोकोहीलाई ‘तपाईँ’ वा ‘तिमी’ जस्ता शब्दकै प्रयोगबाट सम्बोधन गर्ने गरेको पाइन्छ । धेरै आक्रोशमा आएको अवस्थामा कहिलेकाहीँ संसद्को छलफल वा टेलिभिजनका कार्यक्रमहरूमा ‘तँ’ भनेर सम्बोधन गर्दा गालीकारूपमा लिइन्छ । र, कतिपय अवस्थामा त्यस्तो भाषागत प्रयोगलाई असंसदीय भाषा भनी रेकर्डबाट हटाउने गरिएको पनि छ ।

सबै समान भएको अवस्थामा प्रधानमन्त्री वा राष्ट्रपतिलाई राजा/महाराजालाई झैँ जी/हजुरीसहित गरिबक्सियोस् जस्ता अति आदरार्थी शब्दको प्रयोग खिसिटिउरीको विषय बन्न सक्छ ।

भाषाको विकास इतिहास, परम्परा र सभ्यताको विकाससँग हुन्छ । आदरार्थी शब्दहरूको प्रयोगमा पनि केही राजनीतिक तथा सामाजिक परिवर्तन र चेतनाको विकासले असर गरेको पाइन्छ । राजनीतिक सामाजिक परिवर्तनले सबै व्यक्तिलाई समान दर्जा दिएको अवस्थामा आदरको खाडल पनि कम हुँदै गएको छ ।

मानव सभ्यताको विकासका क्रममा मालिक र नोकरको उपस्थिति हामीले इतिहासमा पढ्दै आएका छौँ । त्यति मात्र नभएर बधुवा मजदूर पनि मानव सभ्यताको क्रममा थिए र पछिल्लो कालसम्म पनि यसको प्रयोग भएको भेट्टाइन्छ । तिनलाई ‘तँ’ भनेर अनादर गरिएको सबैलाई अवगतै छ । ‘तँ’ को प्रयोग पनि परिस्थितिजन्य हुन्छ । एउटा मित्रले अर्को मित्रलाई ‘तँ’ को प्रयोग गरेर सम्बोधन गर्दा जति आत्मीय लाग्छ अरूले त्यसरी सम्बोधन गर्दा अपहेलना ठहरिन सक्छ । पतिले पत्नीलाई र पत्नीले पतिलाई समेत माया गरेर ‘तँ’ भनेको पनि पाइन्छ । यद्यपि आदरार्थी शब्दको प्रयोग सधैँं र सबै कालमा एउटै हुँदैन । परिस्थितिका आधारमा समेत यो फरक फरक रूपमा प्रयोग हुने गरेको छ । ‘चौतारीमा राजा भेटियो...’ भन्ने गीतले राजाको अपमान गर्दैन बरु राजाप्रतिको अपनत्व दर्शाउँथ्यो ।

२०६३ सालको संविधानको कार्यकालभरि अर्थातराजाको बिदाइ गर्नुअघिसम्म पनि राजाप्रति ‘बक्सियोस्’, ‘जी’ वा ‘हजुर’ जस्ता आदरार्थी शब्दको प्रयोग गरी अति आदरका साथ सम्बोधन गरिन्थ्यो । राजा स्वयम्ले पनि आफैँंलाई ‘बक्सियोस्’ लगाएर सम्बोधन गर्थे। राजाहरूले जारी गरेका पुराना संविधानहरूमै जारी ‘गरिबक्सेका’ छौंँ जस्ता शब्दहरू प्रयोगगरिने जमाना थियो । २०४७ सालको संविधानमा राजासँग ‘गरिबक्सने’वा ‘सकिबक्सनेछ’जस्ता शब्दहरू जोडिएको थियो । सो अघिका संविधानहरूमा त झन त्यस्ता शब्द नहुने कुरै थिएन ।  

मुलुकमा भएको ठूलो राजनीतिक परिवर्तनले सामाजिक तथा भाषिक क्षेत्रमा समेत असर पारेको छ। त्यसै मेसोमा वर्तमान संविधान स्वयम्ले पनि अति विशिष्ट पदाधिकारीलाई समेत अति आदरार्थी शब्दको सट्टा सामान्य आदरार्थी शब्दहरूको प्रयोग गरेको छ । संविधानसभाले संविधान बनाउँदा ‘हामी नेपाली जनताले संविधान ....जारी गरेका छौँ’ भन्ने वाक्यांश उल्लेख छ भने राष्ट्रपति र प्रधानमन्त्री जस्ता अति उच्चपदाधिकारीको सन्दर्भमा ‘गर्नेछ’ वा ‘सक्नेछ’ भन्ने व्यक्तिबोधक शब्दको प्रयोग गरी सामान्य आदरार्थी शब्द प्रयोग गरिएको छ ।

राजनीतिक क्रान्तिले राजनीतिमा मात्रै परिवर्तन ल्याउँछ भन्ने होइन । सामाजिक परिवर्तनले गर्दासामान्य व्यक्तिदेखि राष्ट्रपति तथा प्रधानमन्त्रीसम्मलाई पनि सामान्य आदरार्थी शब्दको प्रयोग संविधानमा गरिएको पाइन्छ । व्यक्तिबोधक शब्दको प्रयोग गरी कुनैपनि काम गर्नेछ वा नगर्नेभन्ने व्यवस्था संविधानमा गरिएको छ । उदाहरणका लागि वर्तमान संविधानको धारा ७६ लाई लिन सकिन्छ । मन्त्रिपरिषद् गठनको सन्दर्भको सो धारामा प्रयोग भएको भाषा यस्तो छ : राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ । यसरी प्रयोग भएको भाषाले न त ती पदाधिकारीलाई कम आदर गरेको हो वा बढी भन्ने प्रश्न गर्न मिल्दैन । संविधानका सयौँं ठाउँमायस्तो व्यवस्था देख्न सकिन्छ । यो त मस्यौदाको नियम हो र सबैमा समभाव राख्ने उद्देश्यले बनेको व्यवस्था हो ।

यो एउटा उदाहरण मात्रै हो, पहिला पहिलाका संविधानमा राजालाई झैँ राष्ट्रपति वा प्रधानमन्त्रीप्रति अति आदरार्थी शब्दको प्रयोगको सट्टा किन सामान्य आदरार्थी शब्दको प्रयोग भएको होला भन्ने विषय मथिंगलमा घुम्नु अस्वाभाविक होइन । राजाले ‘गरिबक्सनेछ’ भन्ने ठाउँको सट्टा राष्ट्रपति वा प्रधानमन्त्रीले चाहिँ‘गर्नेछ’ भन्ने किन प्रयोग भएको होला ? स्वाभाविकरूपमा हिन्दु राजालाई विष्णुको अवतार मान्ने गरिएकाले अति आदरका साथ त्यस्तो अति आदरार्थी शब्दको प्रयोग भएको पनि हुनसक्छ । सावैभौमसत्ता र राजकीयसत्ता उनै राजामा निहीत हुने मान्यताले पनि उनलाई अति आदरार्थी शब्दको प्रयोगबाट सम्बोधन गरिन्थ्यो । व्यक्तिभन्दा माथि रहने मान्यताका कारण संविधान र कानुनले राजालाई अति आदरका साथ सम्बोधन गरिन्थ्यो ।  

राजतन्त्र बिदाइसँगै राजनीतिक र समाजिक परिवर्तन सबै क्षेत्रमा हुनु अस्वाभाविक होइन । कानुन मस्यौदामा समेत यसको असर नपर्ने कुरै थिएन । विधिशास्त्रीय दृष्टिकोणमै फरक परेपछि सामान्य बोलिचालीको भाषामा समेत त्यस्ता उच्च आदरार्थी शब्दको प्रयोग अस्वाभाविक हुन जान्छ । सबै समान भएको अवस्थामा प्रधानमन्त्री वा राष्ट्रपतिलाई राजा/महाराजालाई झैँ जी/हजुरीसहित गरिबक्सियोस् जस्ता अति आदरार्थी शब्दको प्रयोगखिसिटिउरीको विषय बन्न सक्छ ।

विदेशी भाषाको दबाब वा अतिक्रमणको पनि केही न केही असर नहोला भन्न सकिँदैन । नेपाली कानुनी भाषामा फारसी, हिन्दी र अंग्रेजी शब्दहरूको लामो समयदेखि गहिरो प्रभाव भइनै रहेको छ । तर बिस्तारै ती शब्दको प्रयोगमा समेत पुनर्विचारहुन थालेको छ ।  

सकभर हाल त्यस्ता शब्दहरूको सट्टा आफ्नै मौलिक शब्दको प्रयोग गर्न थालिएको छ । यद्यपिअर्काे भाषाको नेपाली भाषामा प्रभाव पर्नै दिन्न भनेर निमिट्यान्नै गर्न सकिने अवस्था पनि छैन । स्वयम् अदालत भन्ने शब्द नै हाम्रो आफ्नो मौलिक शब्द होइन, त्यसैले त्यसलाई परिवर्तन गरेर न्यायालयको रूपमा स्वीकार्न हामीलाई कति वर्ष लाग्ला यसै भन्न सकिँंदैन । न सबै नेपाली शब्दको अन्य भाषामा रूपमान्तरण नै संभव होला न त अंग्रेजी वा अन्य भाषाकै पूर्णतःनेपालीमा रूपान्तरण संभव छ । त्यसैले अन्य भाषाको प्रयोगलाई समेत पूरै अस्वीकार गर्न पनि त्यति सजिलो छैन ।  

राजनीतिक प्रणालीको परिवर्तनले विधिशास्त्रमा कति फरक पारेको छ भन्ने कुरा निकै महत्वपूर्ण छ । कानुन मस्यौदा गर्दा सामान्य व्यक्तिबीच अति आदरार्थी शब्दको प्रयोग गर्न वर्जित गरिने चलन छ । व्यक्तिबोधक शब्द प्रयोग गर्दासमेत पुरुष वा स्त्री लिङ्गको समेत प्रयोग नगरी तृतीय पुरुषको प्रयोगबाट कानुनको मस्यौदा गर्नुपर्ने अनिवार्यतालाई मस्यौदाको नियम बनाउन थालिएको छ । हाम्रो कानुन आयोगले बनाएको कानुन तर्जुमा दिग्दर्शनमा समेत यस्तो विषयलाई सचेत गराइएको छ ।

राजनीतिक परिवर्तनपछि बनेको कानुन तर्जुमा दिग्दर्शनको दफा २.१.२८ मा आदरार्थी शब्दको निरपेक्ष प्रयोग गरिनुपर्ने उल्लेख छ । जसअन्तर्गत ‘जी’वा ‘हजुर’ जस्ता शब्दको प्रयोग गरी कानुनको मस्यौदा गर्दा आदरभाव व्यक्त गर्नुहुँदैन । आदर जनाउने ’दरार्थी’ क्रियापद, सर्वनाम वा पदावलीसमेत कानुनमा प्रयोग गर्नुहुँदैन र आदरार्थी शब्दप्रति निरपेक्षताको भाव दर्शाउनुपर्छ । आदरार्थी निरपेक्षताको अर्थ आदर नगर्नु भन्ने होइन, आदर÷अनादरबारे कानुन तटस्थ रहनु हो भनिएको छ ।

प्रधानमन्त्री ओलीले आरोप लगाए झैं सञ्चार माध्यममा प्रयोग हुने भाषा पनि त्यत्तिकै चलेको छैन । यसको विकास पनि सामाजिक राजनीतिक परिवर्तनसँग जोडिएको छ । सञ्चार माध्यम आफैंँ पनि समाजभन्दा निरपेक्ष हुनै सक्दैन । त्यसैले अंगे्रेजी भाषामा प्रयोग हुने ‘यु’ अर्थात् ‘तिमी’ शब्दको प्रयोगले मात्रै हाम्रो भाषामाथि अतिक्रमण हुने होइन, न त हाम्रो सभ्यता नै धरापमा पर्छ । अन्य परिस्थितिको विकास नभइकन हामी कुनै भाषाको प्रभावले मात्रै अहिलेको अवस्थामा पुगेका होइनौँ । सबैभन्दा ठूलो कुरा हाम्रा अभ्यास, हाम्रा विचार र हाम्रा आनीबानीले नै हाम्रो सभ्यतामा परिष्करण हुने हो । परिष्करणका लागि हामी अरूका राम्रा अभ्यास पनि अनुकरण गर्न सक्छौंँ तर तिनमा न उनको दोष नै होला न श्रेय नै ।

प्रकाशित: १३ माघ २०७७ ०४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App