विचार

कोरोनाबाट भाषा पनि संक्रमित !

सुरुमा सन् २०१९ को अन्त्यतिर चीनको ‘उहान’ सहरमा देखापरेको ‘भनिएको’ (किनकि अमेरिकासँगको सवालजवाफमा चीनले बेलाबेला कोरोनाको उत्पत्ति उहानमै भएको प्रमाण छैन भन्ने गर्छ) ‘कोरोना भाइरस’बाट यतिबेला विश्व नै आक्रान्त छ। यो भाषासम्बन्धी आलेख भएकाले ‘उहान’ शब्दको पनि चर्चा गरिहालौं। मैले उहान शब्द प्रयोग गरेको छु। तर चीनको त्यो सहरको नामको सही उच्चारण वुहान, बुहान वा उहान कुन हो, यसमा हामी पत्रकार अझै प्रस्ट हुन सकेका छैनौं।  

किनकि नेपाली सञ्चारमाध्यम (लिखित) हेर्‍यौं भने यी तीनवटै रूप देख्छौं। बोलिने सञ्चारमाध्यमले भने यसको उच्चारण ‘उहान’ नै गरिरहेका छन्। यसकारण यसमा मेरो तर्क के छ भने जे उच्चारण गरिन्छ, त्यही लेख्नु सही हो।  

अंग्रेजीमा डब्ल्युयुएचएएन भएका कारण हामीले वुहान वा बुहान लेखेका हौंला। एउटा उदाहरण- एकताका नेपाली सञ्चारमाध्यमले चीनका राष्ट्रपतिको नाम ‘सी जिनपिङ’ लेख्ने गरेका थिए (कतिपयले त अहिले पनि लेख्छन्)। तर अंग्रेजीमा एक्सआई जेआइएनपिआइएनजी लेखिए पनि उनको नामको सही उच्चारण ‘सी चिनफिङ’ रहेछ। अहिले धेरैजसो सञ्चारमाध्यमले यही लेख्छन्।

अर्काे एउटा उदाहरण- फ्युचर, जसको ‘स्पेलिङ’ (हिज्जे) हो- एफयुटियुआरई। अब यसलाई अक्षरका आधारमा नेपालीमा मिलाएर लेख्ने हो भने के लेख्नुपर्ला ? पक्कै हामी गन्जागोलमा फस्छौं। यसर्थ मेरो सामान्य बुझाइले भन्छ- अंग्रेजी शब्द/नाम नेपालीमा लेख्दा त्यसको उच्चारण लेख्ने हो, हिज्जे (स्पेलिङ) होइन। यसकारण मलाई लाग्छ- बोल्दा उहान भन्छौं भने लेख्दा पनि यही लेख्नु सही हो। किनकि हामी ‘उ’ आउने ठाउँमा ‘वु’ पक्कै लेख्दैनौं। जस्तो : उखान लेख्नुपर्दा वुखान लेख्दैनौं।  

कोरोना र कोभिड-१९  
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनका अनुसार आम मानिसले कोरोना भाइरस भनेर चिन्ने यसको वैज्ञानिक नाम ‘सिभियर अक्युट रेस्पिरेटोरी सिन्ड्रोम कोरोना भाइरस-२’ अर्थात् छोटकरीमा ‘सार्स कोभ-२’ हो। जसको संक्रमणबाट हुने रोगलाई ‘कोरोना भाइरस डिजिज-१९’ अर्थात् संक्षिप्तमा ‘कोभिड-१९’ भनिन्छ। उनी प्रस्ट्याउँछन्, ‘जसरी एचआईभी भाइरस हो भने यसको संक्रमणबाट हुने रोग एड्स हो।’ तर हाम्रा कतिपय सञ्चारमाध्यमले कोरोना र कोभिड-१९ लाई पर्यायवाची शब्दका रूपमा भरमार प्रयोग गरिरहेका छन्।

‘शारीरिक दूरी’लाई पनि ‘सामाजिक दूरी’ भन्ने गरिएकैले हो कि समाजमा साँच्चै सामाजिक दूरी बढ्न थालेको छ। मानिस असामाजिक हुँदै गएका छन्। मानवता हराउँदै गएको छ।

एउटा सरकारी सञ्चारमाध्यममा प्रकाशित समाचारको ‘लिड’ हेरौं- ‘बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेललाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ।’

माथि नै भनियो- कोरोना भाइरसले संक्रमण गरेपछि ‘कोभिड-१९’ रोग लाग्ने हो। अझ डाक्टर पुनका अनुसार कोरोना भाइरसको संक्रमण पुष्टि हुनु नै ‘कोभिड-१९’ हुनु होइन। अर्थात् जति जनालाई कोरोना भाइरसको संक्रमण भएको छ, ती सबैलाई ‘कोभिड-१९’ भएको छैन। उनका अनुसार सामान्यतया जसमा रोगका लक्षण देखिन्छन्, उसलाई मात्र कोभिड-१९ भएको मानिन्छ। अर्थात् कोरोना पोजिटिभ भएर पनि जसमा लक्षण देखिएको छैन, ऊ कोरोना संक्रमित मात्र हो। यसर्थ ‘कोरोना संक्रमण पुष्टि’ भन्नु/लेख्नु सही हो।  

सामाजिक दूरी कि शारीरिक दूरी ?
कोरोना संक्रमण सुरु भएयता एउटा शब्द निकै चर्चित छ- सामाजिक दूरी। भाइरस, एक मानिसबाट अर्काेमा नसरोस् भन्नाका लागि व्यक्ति-व्यक्तिबीच कायम गर्नुपर्ने दूरी बुझाउन व्यापक रूपमा प्रयोग भइरहेको शब्द हो यो। सही छ त ? होस् कि नहोस्, कोरोना महामारी सुरु भएयता ‘सामाजिक’लाई पनि ‘शारीरिक’ नै बुझ्नुपर्ने बाध्यता आइलागेको छ। किनकि कोरोना ‘विज्ञ’ले यही शब्द प्रयोग गरे/गरिरहेका छन्, अपवादबाहेक सारा सञ्चारमाध्यम/पत्रकारले पनि यसैलाई पछ्याइरहेका छन्। यसरी साइनो न सम्बन्धका शब्दलाई पनि पर्यायवाची ठान्नुपर्ने भएपछि कोरोना भाइरसबाट भाषा पनि संक्रमित भएको किन नभन्ने ?

‘शारीरिक दूरी’लाई पनि ‘सामाजिक दूरी’ भन्ने गरिएकैले हो कि समाजमा साँच्चै सामाजिक दूरी बढ्न थालेको छ। मान्छे सामाजिक प्राणी हो। उसलाई बाँच्नका लागि अरू (समाज) को साथ, सहयोग र सद्भाव आवश्यक पर्छ। तर कोरोना महामारी सुरु भएयता मानिस असामाजिक हुँदै गएका छन्। मानवता हराउँदै गएको छ। कसैलाई कोरोनाको संक्रमण भएको थाहा पाउनासाथ उसलाई मात्र होइन, उसको परिवारलाई नै समाजबाट अलग (बहिष्कार) गर्नेसम्मका हर्कत हुन थालेका छन्। जसको सबैभन्दा बढी मारमा शारीरिक दूरीलाई पनि सामाजिक दूरी भनेर सिकाउने स्वास्थ्यकर्मी (चिकित्सक/विशेषज्ञ) नै परेका छन्। वास्तवमा सामाजिक दूरीको अर्थै यही हो। जसरी सदियौंदेखि दलितलाई त्यस्तै दूरीमा राखिएको छ। नत्र शारीरिक दूरी त एउटै घरमा, एउटै कोठामा पनि मजाले कायम गर्न सकिन्छ। भाइरस नसरोस् भन्नेसम्म न हो।  

कोरोना विजेता !
अहिले हाम्रा सञ्चारमाध्यममा एउटा अर्काे शब्दावली व्यापक प्रयोग भइरहेको छ- ‘फलानोले कोरोना जिते’ ! अब यही ठाउँमा यो वाक्य विचार गरौं त- ‘फलानोले पुरस्कार जिते’।  

मानौं, कोरोना पुरस्कार हो, जसलाई बिरामीले जिते र घरमा लिएर आए ! हुँदाहुँदा कतिपय सञ्चारमाध्यमले त ‘कोरोना विजेता’ नै लेख्न थालेका छन्। हैट ! यसले प्रस्ट पार्छ- हामीले कोरोनालाई पुरस्कारै ठानेका रहेछौं !  

नत्र ‘कोरोनालाई जिते’ लेख्नुपर्ने होइन र ? यसो भन्दा कतिपय पत्रकारले यसो पनि भन्न सक्छन्- ‘यति कुरा त पाठकले मिलाएर बुझिहाल्छन् नि !’ पाठक आफैंले सम्पादन गरेर बुझ्नुपर्ने भए तपाईंको के काम ?

एकै दिन कि एक दिनमै ?
अहिले सञ्चारमाध्यममा छाइरहने अर्काे शब्द हो- एकै दिन (एकैदिन)। एउटा शीर्षक हेरौं- ‘एकै दिन थपिए ५ हजार संक्रमित’।

खासमा यहाँ जोड दिन खोजिएको कुरा हो- एक दिन (२४ घण्टा) मै धेरै जना संक्रमित भए। तर ‘एकै दिन’ले ‘एक दिनमै’ भन्ने कुरालाई होइन, उही/त्यही बार वा गते भन्ने कुरालाई जोड दिन्छ।  

जस्तो : ‘राम र श्याम एकै दिन घर पुगेछन्’ भन्नु र ‘राम र श्याम एक दिनमै घर पुगेछन्’ भन्नुमा भिन्नता होला कि नहोला ? पक्कै होला।  

यहाँ ‘एकै दिन’ले दुवै जना उही (एउटै) दिन घर पुगछेन् भन्ने अर्थ दिन्छ भने ‘एक दिनमै’ले २ वा ३ दिन लागेन भन्ने अर्थ दिन्छ।  

तसर्थ माथिको शीर्षक यसरी लेख्नु सही हुन्छ होला- ‘एक दिनमै ५ हजार संक्रमित थपिए’। अझ ‘एक दिनमै’ पनि आवश्यक नहोला। ‘एक दिनमा ५ हजार संक्रमित थपिए’ भन्दा नै पर्याप्त होला। किनभने एक दिनमा थपिने संख्या नै जोड दिने कुरा हो।  

यही सिलसिलामा यस्ता शीर्षकको पनि चर्चा गरौं- ‘बुधबार थपिए अहिलेसम्मकै बढी संक्रमित’।  

‘अहिलेसम्मकै बढी’, कति ? यो शीर्षक लेख्दासम्म नेपाल वा विश्वमा जति जना संक्रमित भएका छन्, ती सबैभन्दा बढी ? नत्र के बुझ्ने, कसरी बुझ्ने ? वास्तवमा त्यस दिन देखिएका संक्रमितको संख्या, २४ घण्टाभित्र थपिएकामध्ये अहिलेसम्मकै बढी हो। यसर्थ यसो भन्नुपर्ला- ‘बुधबार अहिलेसम्मकै बढी संख्यामा संक्रमित थपिए’।  

‘काठमाडौं उपत्यकामा पहिलोपटक एकैदिन संक्रमित हुनेको संख्या ३०१ पुग्यो’। यो अर्काे समाचार शीर्षक।  

‘पहिलोपटक ३०१ रे’ ! यसपछि ३०२, ३०३, ३०४... पुग्यो भनेचाहिँ के भन्ने त ? यसरी भन्ने हो भने त हरेक अंकलाई पहिलोपटक भन्नुपर्ने हुन्छ। खासमा माथिको शीर्षकले भन्न खोजेको के हो भने पहिलोपटक ३ सय नाघ्यो।  

यसै प्रसंगमा ‘नेपालकै नम्बर १’ दैनिक पत्रिकाको अनलाइन संस्करण (पत्रिकामा पनि छाप्यो कि छापेन थाहा भएन) मा प्रकाशित यो शीर्षक पनि हेरौं- ‘संक्रमित संख्या लाख नाघ्यो : सरकार राजनीतिक नियुक्ति र पदावधि थपमै सीमित’।

‘संक्रमित संख्या’ कि मान्छे ? यो शीर्षकले त संक्रमित मानिस होइन, संख्या भएको बुझाउँछ। यसकारण लेखिनुपर्छ- संक्रमितको संख्या लाख नाघ्यो।  

पहिलो स्वास्थ्यकर्मीको मृत्यु !
‘कोरोना संक्रमणबाट पहिलो स्वास्थ्यकर्मीको मृत्यु’। यस्ता प्रकृतिका शीर्षक पनि सञ्चारमाध्यममा देखिए/देखिन्छन्। यो शीर्षकले स्वास्थ्यकर्मीलाई ‘पहिलो’ बनाएको छ। साँच्चै ती स्वास्थ्यकर्मी नेपाल वा विश्वकै पहिलो स्वास्थ्यकर्मी हुन् त ? उनीभन्दा अघि कोही स्वास्थ्यकर्मी बनेका थिएनन् ? पक्कै यसो होइन। हामीले भन्न खोजेको मृत्यु (स्वास्थ्यकर्मीको) लाई पहिलो हो। यसकारण लेखिनुपर्छ- ‘कोरोनाबाट पहिलोपटक स्वास्थ्यकर्मीको मृत्यु’।  

अन्त्यमा, यी भाषिक त्रुटि औंल्याउनुको अर्थ के होइन भने यो पंक्तिकारले चाहिँ कहिले गल्ती गर्दैन, अनि अरू सबैले नजानेरै गल्ती गरे। वास्तवमा यहाँ उल्लेख कतिपय उदाहरण पंक्तिकार स्वयंले गरेका गल्तीसमेत छन्। यसर्थ यो आलेखको उद्देश्य के हो भने लेख्ने क्रममा हतार वा हेलचक्र्याइँका कारण हामी कति गल्ती गर्दारहेछौं भनेर मनन गर्नु र गराउनु हो। सच्चिने र सच्याउने प्रयास हो। जसले गर्दा सही सञ्चार हुन सकोस्।

प्रकाशित: २५ कार्तिक २०७७ ०५:२५ मंगलबार

कोरोना महामारी भाषा