कोभिड–१९ महामारीले शिक्षकहरूलाई ‘हामीले शिक्षण सिकाइका लागि अपनाउँदै आएका विधि र प्रक्रिया मात्र पर्याप्त रहेनछन्, अन्य थप सहयोगी प्रक्रिया पनि आवश्यक रहेछ’ भन्ने महसुस गराएको छ। वर्षौं विद्यार्थीलाई पढाएर कपाल फुलाएकालाई पनि समय र परिवेश सान्दर्भिक शिक्षण सिकाइ गर्न अझै सिक्नुपर्ने रहेछ, प्रविधिमा समेत क्षमता बढाउनुपर्ने रहेछ भन्ने सोचको विकास गराएको छ।
लकडाउनका बेला शिक्षकका केही पेसागत संस्थाबाट आफ्ना सदस्य शिक्षकलाई शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग, विद्यार्थी मूल्यांकन, बालमैत्री शिक्षण सिकाइ, पाठ्यक्रमको प्रयोग जस्ता विविध विषयमा क्षमता विकास गराउने प्रयास भए। सरकारी निकायको तुलनामा पेसागत संस्थाहरू ‘जुम’ र ‘गुगल मिट’का माध्यमबाट छलफल, अन्तक्र्रिया गरी आफ्ना सदस्य शिक्षकको क्षमता विकास गराउने मामलामा अगाडि देखिए। पेसागत संस्था बीचमा एक किसिमको सकारात्मक प्रतिस्पर्धा पनि भयो। शिक्षकले सिकेका यी सीप आगामी सामान्य अवस्थामा पनि शिक्षण सिकाइलाई प्रभावकारी पार्न कामयाबी हुने छ भन्ने विश्वास गर्न सकिन्छ।
यस अवधिमा केही शिक्षक र पेसागत संस्थाहरू साँच्चै निदाएनन्। कोभिड महामारीमा पनि कसरी शिक्षण सिकाइलाई निरन्तरता दिन सकिन्छ, कसरी आफू र आफ्ना संस्थाका सदस्यको क्षमता वृद्धि गर्न सकिन्छ, कसरी बालबालिकाको सिकाइलाई निरन्तरता दिन सकिन्छ भनेर लगातार लागिरहे। स्थानीय तहले पूरक विधिहरू प्रयोग गर्दै बालबालिकाको सिकाइलाई निरन्तरता दिने काममा लाग्न अनुरोध गर्दा केही शिक्षकले ‘सरकारले सार्वजनिक बिदा दिएको छ, त्यसको उपयोग गर्ने आफ्नो अधिकार हो, हामीले थप सुविधा के पाउँछौँ ?’ भन्दै सिकाइको कुराबाट टाढा रहने प्रयास मात्र गरेनन्, सिकाइलाई निरन्तरता दिन प्रयास गर्ने शिक्षककै विरुद्धमा समेत लागे। सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्ने शिक्षकलाई फेसबुके भनेर लाञ्छना समेत लगाए। जसले गर्दा समुदाय र अभिभावकले ‘कोे बालबालिका र समाजप्रति साँच्चै जिम्मेवार ? को गफ गर्ने जागिरे प्रवृत्तिको ?’ भनी छुट्ट्याउने र संकटका बेला त्यस्ता शिक्षकको भित्री नियत बुझ्ने मौका समेत पाए।
समुदायलाई सचेत पार्न, कठिन अवस्थामा बालबालिकाको सिकाइलाई निरन्तरता दिन, बालबालिकाको सिकाइमा अभिभावकको भूमिका वृद्धि गर्न शिक्षकसँग सूचना र प्रविधिको ज्ञान आवश्यक रहेछ भन्ने अहिले धेरैलाई महसुस भएको छ।
विगतमा यति लामो सममसम्म विद्यालय बन्द गर्नुपर्ने, शिक्षण सिकाइलाई रोक्नुपर्ने अवस्था आएको थिएन। यस्तो महामारी र विपत्ति भविष्यमा पनि आउन सक्छ। यस्तो अवस्थामा शिक्षकहरूले विद्यार्थीलाई पढाउने मात्र होइन, समुदायलाई कसरी सचेत पार्ने, महामारी तथा आइपरेको विपत्तिबाट कसरी जोगिने, कसरी क्षतिलाई न्यून गर्ने भन्ने सीप पनि आवश्यक पर्दो रहेछ। महामारी र संकटमा सचेत समुदायभन्दा पछाडि पारिएको, विपन्न, रुढिगत मान्यता राख्ने समुदाय बढी पीडित हुन पुग्दा रहेछन्। समुदायलाई सचेत पार्न, कठिन अवस्थामा बालबालिकाको सिकाइलाई निरन्तरता दिन, बालबालिकाको सिकाइमा अभिभावकको भूमिका वृद्धि गर्न शिक्षकसँग सूचना र प्रविधिको ज्ञान आवश्यक रहेछ भन्ने अहिले धेरैलाई महसुस भएको छ।
बालबालिका घरघरमा रहेको तथा फुर्सदमा भएको यस अवधिमा शिक्षकलाई शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधि प्रयोग गर्न सक्ने गरी दक्ष बनाउन सकिने मौका थियो। शिक्षकका पेसागत संस्थाहरूले गरेका प्रयासले सबै शिक्षक समेटिन सक्ने सम्भावना रहँदैन। यस अवसरमा स्थानीय तह, प्रदेश तथा संघीय निकायले सबै शिक्षकलाई समेटी क्षमता विकासका कार्यक्रम गर्न सक्थे। केही जिल्लामा तथा स्थानीय तहमा यसतर्फ प्रयास पनि भए, तर अनलाइन शिक्षा सञ्चालन गर्ने सेवाप्रदायक साइटहरूको शुल्क व्यहोर्ने समस्या सिर्जना भयो। विगतका बजेट खर्च गर्ने नियम र प्रक्रियाले गर्दा भएको बजेट पनि यस्ता कार्यमा खर्च गर्न सक्ने अवस्था भएन। प्रयास गर्नेहरू पनि खुम्चिनुपर्ने अवस्था आयो।
अवस्था जटिल बन्दै छ, अझै पनि कहिलेदेखि विद्यालयमा नियमित पठनपाठन सुरु हुन्छ भन्न सकिने अवस्था छैन। यस अवस्थामा शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी शिक्षकको क्षमता विकासका लागि समय उपयोग गर्न सकिन्छ। अभाव महसुस भएको अवस्थामा सबै शिक्षकले सिक्ने चाहना पनि राख्ने, शिक्षकको क्षमता वृद्धिसँगै विद्यार्थीलाई सूचना प्र्रविधिको प्रयोगबाट सिकाइ सञ्चालन गर्न मद्दत पनि पुग्ने हुन्छ।
हुन त सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट शिक्षण सिकाइ गर्ने सन्दर्भमा विभिन्न व्यंग्यहरू पनि गरिए। नेट र विद्यत्को सुविधा नभएको स्थानमा कसरी अनलाइनबाट कक्षा चलाउने भनेर सुविधा भएकाहरूले समेत भने। अधिकांश विद्यार्थीलाई अनलाइनको पहुँच नपुगेको वास्तविकता हो। यसो भन्दैमा पहुँच पुगेकाले पनि प्रयोग नगर्ने भन्ने सोच गलत हो। अर्कोतर्फ अधिकांश शिक्षकहरू नेट तथा सूचना तथा सञ्चार प्रविधिको पहुँच प्राप्त गर्न सक्ने अवस्थामा छन्। केही स्थानमा डाटा प्रयोग गर्नुपर्ने हुन सक्छ। डाटा किन्नका लागि विद्यालय तथा सरकारी तबरबाट रकमको व्यवस्था गर्नुपर्ने हुन सक्छ। बालबालिकालाई सूचना प्रविधिको पहुँच पु¥याउन व्यक्तिगत प्रयास गर्ने महावीर पुनले भन्नुहुन्छ, ‘नेट नपुगेका स्थानमा नेट पु¥याउने उपाय छन्, केवल प्रयासको खाँचो छ।’
विगतमा प्राप्त सीपले मात्र समसामयिक परिवेशमा शिक्षण सिकाइ प्रभावकारी पार्न सम्भव छैन। आधुनिक प्रविधि, नवीन शिक्षण कौशलमा अपडेट हुन पनि शिक्षक तालिम अपरिहार्य छ। कोभिड–१९ महामारीले ल्याएको अवस्थाको सदुपयोग गर्न सके, सिकिएका पाठहरूमा मनन गरे पछिसम्म यसका सकारात्मक उपलब्धि प्राप्त गर्न सकिन्छ। अनलाइनमार्फत सञ्चालन गर्ने शिक्षक तालिममा समुदायलाई कसरी सचेत पार्ने, उपलब्ध विज्ञ तथा स्रोत व्यक्तिको सहयोग कसरी लिने, अभिभावक र विद्यार्थी परामर्श कसरी गर्ने, बालबालिकाका गुनासा कसरी सुन्ने, बालबालिकालाई समाजमा पर्ने समस्या आफैँ समाधान गर्न सक्ने कसरी बनाउने जस्ता विषयवस्तु समेटिनुपर्छ।
अबका दिनमा शिक्षकले समय सान्दर्भिक शिक्षण सिकाइ गर्नु आवश्यक छ। शिक्षकले सामग्री निर्माण गर्दै सिकाउने, विद्यार्थीलाई आफैँ गरेर सिक्न र आफैँ नयाँ–नयाँ पुस्तक खोजी गरी पढ्न उत्प्रेरित गर्ने क्षमता र सीप विकास गराउन आवश्यक छ।
राष्ट्रिय शिक्षा नीति–२०७६ को शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई बढाउने भन्ने उद्देश्य पूरा गराउन पनि सबै शिक्षकलाई सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्न सक्ने बनाउनुपर्छ। शिक्षकलाई एकै स्थानमा भेला गरेर दिने तालिमभन्दा अनलाइनमा आधारित तालिममा विज्ञको उपलब्धता हुन सक्छ। नयाँ–नयाँ ज्ञानका बारेमा गुगल खोजी गर्नेदेखि गुगलले उपलब्ध गराएका विभिन्न सुविधाको उपयोग गर्न सकिन्छ। पाठ्यक्रममा अपेक्षा गरिएका उपलब्धि पूरा गराउन सहयोग मिल्ने वेबसाइटहरू खोजी गर्ने र प्रयोग गर्ने, उत्पादित डिजिटल सामग्रीहरूको प्रभावकारी प्रयोग गर्ने, विषयगत सिकाइलाई प्रभावकारी पार्ने जस्ता कार्य गर्न सकिन्छ।
भनिन्छ, शिक्षकले पढाउनुभन्दा पनि बालबालिकालाई सिक्न उत्प्रेरित गर्न सक्नुपर्छ। सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट सिकाउँदा विद्यार्थीलाई नयाँ–नयाँ उत्साह जगाउन, आफैँ खोजेर सिक्ने, विज्ञ र समुदायका अन्य व्यक्तिबाट सिक्ने बानीको विकास गराउन सजिलो हुन्छ। शिक्षकमा सूचना तथा सञ्चार प्रविधि प्रयोग गर्न सक्ने क्षमता भए मात्र विद्यार्थीलाई यसको प्रयोग गरी सिकाउन सम्भव हुने हो।
अनलाइनमार्फत शिक्षक तालिम सञ्चालन गर्दा सुरुसुरुमा केही कठिनाइ हुन सक्छ। तालिम लिने व्यक्ति निष्क्रिय श्रोता बन्ने, एकोहोरो हुने, अन्तक्र्रिया हुन नसक्ने, नजानेको नबुझेको कुरा सोध्न कठिन हुनेजस्ता समस्या पनि आउन सक्छन्। यस्ता समस्या समाधान गरी बढीभन्दा बढी अन्तक्र्रियात्मक तरिकाले शिक्षक तालिमलाई सञ्चालन गर्न सकियो भने कम खर्चमा व्यापक रूपमा शिक्षक तालिम सञ्चालन गर्न र यसमार्फत विद्यार्थीको सिकाइ उपलब्धि बढाउन सम्भव छ।
प्रकाशित: १४ आश्विन २०७७ ०४:५४ बुधबार