विचार

कोरोनाजन्य फोहर व्यवस्थापन

आधुनिक विज्ञानलाई चुनौती दिँदै अप्रत्याशितरूपमा फैलिएको कोरोना भाइरस आज विश्व त्रासदीमा छ। विभिन्न देशका कुनाकाप्चामा भाइरसको जैविक फैलावट तीव्र भएका कारण बस्ती, क्वारेन्टाइन केन्द्र र अस्पतालबाट निस्कने संक्रामकजन्य र गैरसंक्रामकजन्य फोहोरमैला व्यवस्थापन चुनौती बनेको छ। संक्रमित दैनिक बढिरहेका बेला फोहर व्यवस्थापन सहज छैन।  

नेपालमा कुल उत्पादित ठोस फोहोरमा ६५ प्रतिशत घरायसी हुन्छ। यहाँ औसतमा प्रतिव्यक्ति प्रतिदिन ११५ ग्राम घरायसी फोहोर उत्सर्जन हुने गर्छ। अस्पतालमा बिरामीको डाएग्नोसिस, उपचार, मेडिकेसन र सर्जरी गर्दा निस्कने फोहोरलाई अस्पतालजन्य फोहोर भनेर वर्गीकरण गरिन्छ। ल्याबबाट निस्कने स्याम्पल, रसायन र रेडियोधर्मी पदार्थ खतरनाक हुन्छन्। नेपालका अस्पतालहरूबाट ८५ प्रतिशत गैरसंक्रामक, १० प्रतिशत संक्रामक र बाँकी ५ प्रतिशत रासायनिक र रेडियोधर्मी वस्तुहरू उत्सर्जन हुन्छन्। तर महामारी कारण पालिका र नगरको फोहोर उत्पादन आयतन घटबढ भएको देखिन्छ।  

देशव्यापी लकडाउन भएदेखि शैक्षिक, औद्योगिक र व्यावसायिक फोहोर उत्पादनमा कमी आए तापनि घरायसी र अस्पतालजन्य फोहोरको आयतनमा बढेको छ। कोभिड–१९ प्रकोपका कारण चीनमा नगरको ठोस फोहोर उत्पादनमा ३० प्रतिशतले कमी भएको र स्वास्थ्य संस्थाजन्य फोहोरमा ३७० प्रतिशतले वृद्धि भएको अनुसन्धानले देखाउँछ। कोरोनो बिरामी बढेसँगै इटालीमा अस्पतालजन्य फोहोर आयतन तीन गुणाले बढेको देखिन्छ। होम आइसोलेसन र सेल्फ क्वारेन्टाइनको प्रोटोकलका कारण टोकियोमा जलाउन सकिने घरायसी फोहोरमा ३.१० प्रतिशतले वृद्धि भएको छ।  

कोरोना भाइरस मानव शरीरबाहिर अन्य सतहमा जीवित रहन सक्छ। यो भाइरस कार्डबोर्डमा १ दिन, काठ र कपडामा २ दिन, स्टिलमा २–३ दिन, प्लास्टिकमा ३ दिन, ग्लास र कागजको पैसामा ४ दिन र हामीले प्रयोग गर्ने मास्कको बाहिरी सतहमा ७ दिनसम्म जीवित रहन सक्छ भनिएको छ। त्यसकारण क्वारेन्टाइन केन्द्र, शङ्कास्पद तथा कोरोना पुष्टि भएका संक्रमितको घर, स्वास्थ्य संस्थाबाट उत्पादन हुने फोहोर व्यवस्थापनमा चुनौती थपिएको छ।  

दैनिक फोहोर सङ्कलन गर्ने, सडकका पेटी र सार्वजनिकस्थल सरसफाइ गर्ने, सर्टिङ्ग गर्ने (स्काभेन्जर) र प्रशोधन केन्द्रमा काम गर्ने कामदार संक्रमणको अति उच्च जोखिममा छन्। काठमाडौँमा मात्र हेर्ने हो भने करिब १८ सय हाराहारीमा फोहोर व्यवस्थापनमा कामदार छन्। तर लकडाउनका कारण तीमध्ये ३० प्रतिशत कामदार आआफ्नो गाउँ फर्किसकेका छन्। फोहोर व्यवस्थापनको अग्रपंक्तिमा काम गर्ने बाँकी व्यक्तिले उपयुक्त पिपिइबिना काम गरिरहनुपर्ने बाध्यता छ। जसले गर्दा कोरोना भाइरस समुदाय स्तरमा सहजै फैलिन सक्ने स्पष्ट देखिन्छ।  

महामारीले गर्दा डिस्पोजेबल मास्क, ग्लोब्स, स्यानिटाइजरका बोतल, पिपिइ जस्ता फोहोरको मात्रा स्वतः बढेको देखिन्छ। यस्ता वस्तु प्रयोग गरिसकेपछि तीन दिनसम्म छुट्टै झोलामा सङ्कलन गरेर मात्र बाहिर पठाउनुपर्छ भनिए तापनि जथाभावीरूपमा फालिरहेका देख्न सकिन्छ। यसले उच्च दरमा भाइरस संक्रमण फैलाउन मद्दत गरिरहेको छ।

नियमावली र यथार्थता  
नेपाल सरकारले कोभिड–१९ सङ्कटभर फोहोर व्यवस्थापनका लागि ठोस फोहोर व्यवस्थापन नियमावली–२०७० पालना गर्नुपर्ने भनेर निर्देशिका जारी गरिसकेको छ। महामारीको आपतकालीन अवस्थामा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ असार १९ मा अन्तरिम निर्देशन जारी गरेको थियो। विडम्बना, हरेक बुँदालाई बेवास्ता गरिएको छ। फोहोर सङ्कलनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ र कम्तीमा पनि कुहिने र नकुहिने फोहोर सर्टिङ्ग गर्नुपर्छ भनिएको छ। तापनि फिल्डमा त्यो देखिँदैन। पहिलेका झैँ सडक पेटी र सार्वजनिक ठाउँमा फोहोरको थुप्रो देखिन्छ।  

पालिकाहरूले उठाउने फोहोरमा वर्गीकरण गरेको देखिँदैन। सामान्य नियम पनि पालना नगरी वातावरणमा प्रत्यक्ष देखिने गरी ओसारपसार गरेको पाइन्छ। स्वास्थ्यजन्य फोहोरलाई पनि निर्मलीकरण नगरी घरायसी फोहोरसँगै मिसाएर डिस्पोजल गर्ने गरेको हालसालैको अनुसन्धान देखाउँछ। यस्तो आपतकालमा पनि हाम्रो चेतनामा सुधार आउन सकेन। आफूले प्रयोग गरेका मास्क र ग्लोबलगायतका अन्य संवेदनशील स्वास्थ्य सामग्री जताततै फाल्ने गरेका देखिन्छ।  

शहरी क्षेत्रमा नगरपालिकाको गाडी फोहोर लिन आउँदा मात्र फोहोर नफ्याँक्ने र अरू बेला कसैले देख्छन् कि भनेर दायाँबायाँ नजर लगाई सुटुक्क फोहोर थुपार्ने चलन आज पनि छ। ग्रामीण भेगमा नजिकैको कुलो, खोल्सी र पानी बग्ने खोलाहरूमा लगेर विसर्जन गर्ने कुसंस्कार छ। यसले भयाबह स्थिति सिर्जना गर्छ। महामारीकै बीच विभिन्न जिल्लाका पाँच सयजना मानिसमा गरिएको अनलाइन सर्वेक्षणमा ८७ प्रतिशतले फोहोरबाट पनि कोरोना भाइरस सर्न सक्छ भन्ने बुझेको पाइयो। २३ प्रतिशतले आफ्नो क्षेत्रमा फोहोर सङ्कलनको कुनै सेवा नरहेको बताए। सेवा उपलब्ध भएका ठाउँमा पनि उक्त सेवाबाट ६० प्रतिशत मानिस असन्तुष्ट रहेका देखिन्छ। ७५ प्रतिशत सरसफाइकर्मी विनापिपिइ जोखिम मोलेर आउने गरेका पाइयो। यो तथ्याङ्कले पनि फोहोर व्यवस्थापनमा महामारीको गहिरो प्रभाव परेको छर्लङ्ग देखिन्छ।

अब कुरा रह्यो कामदारको सुरक्षाको। मापदण्डअनुसारको आवश्यक व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) विना कामदारहरू फोहोर सङ्कलन, ओसारपसार, भण्डारण, उपचार र विसर्जनमा संलग्न हुनुपर्ने बाध्यता छ। फोहोरको प्रत्यक्ष सम्पर्कमा आउने यस्ता व्यक्तिको सुरक्षामा पहिले ध्यान दिन सकिएको छैन। कोरोना संक्रमण फैलन नदिन हरेक टोल र समुदायसम्म पुग्ने यी कामदारलाई सुरक्षाको दृष्टिकोणले अग्रपंक्तिमा राख्नुपर्ने देखिन्छ।  

जोखिम न्यूनीकरण कसरी ?
महामारीको आपतकालीन अवस्थामा सकेसम्म स्रोतमै फोहोर उत्पादन घटाउनुपर्छ। हाम्रो घर÷परिवारबाट निस्कने फोहोरमैलालाई अनिवार्यरूपमा कुहिने, मिश्रित र पुनः प्रयोग गर्न सकिने फोहोर भनेर वर्गीकरण गर्नुपर्छ। देशैभर विकेन्द्रित अवधारणा अपनाउनु उत्तम हुन्छ। यसले स्थानीय वडाहरूले आफ्नो ढङ्गबाट काम गर्न पाउने छन्। फोहोर र डेब्रिज अस्थायीरूपमा स्टोर, सर्टिङ, स्रेडिङ र चिपिङ गर्न सकिने गरी अस्थायी फोहोर सङ्कलन र न्यूनीकरण साइट निर्माण गर्नुपर्छ। विश्वव्यापी महामारीका बेला संक्रमित र शङ्कास्पद फोहोरलाई स्पष्टरूपमा लेबल गरिएका बलिया बिन र बाल्टिनमा सुरक्षिततवरले सङ्कलन गर्नुपर्छ।  

कोभिड–१९ संक्रमित र क्वारेन्टाइनबाट निस्केका कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउने र अन्य फोहोर जम्मा गरेर ३ दिनसम्म राखेर मात्र ल्यान्डफिलिङका लागि बाहिर पठाउनुपर्ने हुन्छ। क्वारेन्टाइन र होम आइसोलेसनमा बसेकाको हकमा संक्रमित फोहोर मैलालाई सानो खाल्डो खनेर विसर्जन गर्न पनि सकिन्छ। त्यसरी खाल्डो खन्दा भूमिगत पानीको सतह (ग्राउन्ड वाटर लेबल) कति छ भनेर विचार पु¥याउनुपर्ने हुन्छ। क्लिनिक र अस्पतालबाट उत्पादन हुने संक्रामकजन्य ठोस फोहोरहरूलाई अटोक्लेभ र माइक्रोवेभ उपचार विधि प्रयोग गरी अनिवार्य निर्मलीकरण गर्नुपर्ने हुन्छ।  

संक्रामक फोहोरलाई अस्पतालको हाताभित्रै इन्सिनिरेसन गरेर नष्ट गर्नुपर्छ जहाँ फोहोर ८५० डिग्री भन्दा बढी तापक्रममा जल्छ र चारैतिर फैलन पाउँदैन। सीमित स्रोत र साधनका कारण हामीकहाँ प्रविधियुक्त प्रशोधन केन्द्र कम छन्। त्यस कारण महामारी भर संक्रमणको जोखिम उच्च रहने भएकाले फोहोर प्रशोधनका लागि नपठाइ नगरपालिकाको ल्यान्डफिल साइटमा पुनः प्रयोग नगर्ने गरी विसर्जन गर्नुपर्छ। यसै त हाम्रा अधिकांश सहरमा स्यानिटरी ल्यान्डफिल नभएको हुनाले फोहोरको अन्तिम विसर्जन गर्दा एकदमै ध्यान दिनुपर्ने हुन्छ। जथाभावीरूपमा बिसर्जन गर्दा चराचुरुङ्गीले फोहोर टिपेर बस्तीसम्म पु-याउने सम्भावना रहन्छ। त्यसैले यस्ता ठाउँमा दैनिक फोहोर जम्मा गरेपछि माथिबाट माटोले छोपेर राम्रोसँग कम्प्याक्ट गर्नुपर्छ।  

अन्तमा, कोरोना संक्रमित संख्याका आधारमा ठाउँहरूको नक्सांकन गरौँ र सोहीअनुसार उत्पादित फोहोर व्यवस्थापनको नयाँ नीति बनाऔँ। नीति नियमलाई बेवास्ता गर्दै जथाभावी फोहोर मैला गर्नेलाई कडा कारबाही गरौँ। फोहोर व्यवस्थापनमा दैनिक लागेका सफाइकर्मीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखौँ। हरेक पालिका र त्यहाँका आमनागरिकले यस्तो संवेदनशील विषयमा गहिरिएर आआफ्नो जिम्मेवारी बहन गरौँ। फोहोर व्यवस्थापनमा हेलचेक्र्याइँ ग-र्यौँ भने तपाईँ/हामी एक दिन अवश्य कोरोनाको सिकार बन्नुपर्ने निश्चित छ।
इन्जिनियरिङ भूगर्भशास्त्रमा स्नातकोत्तर

प्रकाशित: २ आश्विन २०७७ ०४:०४ शुक्रबार

कोरोनाजन्य फोहर