विचार

आङको भैँसी नदेखेपछि...

अहिले नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको रडाकोले कोरोना, सलह, बाढी÷पहिरो, बेरोजगारी, वैदेशिक हस्तक्षेप, युवाहरूमा बढ्दो आत्महत्या, बलात्कार, हिंसा र अनेक अशान्तिको पीडामा नूनचुक दल्ने काम गरिरहेको अनुभव आमनेपालीले गरिरहेका छन्। राष्ट्रको विकासमा बहुमूल्य योगदान गरेका र अझै प्रशस्त योगदान गर्नेहरूको ठूलो पंक्ति  एमसिसीको मामिलामा बोल्यो कि‘देशघाती दलाल’ को आरोपको डण्डा खानुपर्ने कुराले सन्त्रस्त छ। चित्त बुझाउने ठाउँ सकिएजस्तो भएको छ। एक जना मित्रकी असी कटेकी आमाले भन्नुभएछ– यी कम्युनिस्टका बिरामी नेतालाई कांग्रेसले अस्पतालको ओछ्यानबाटै राजीनामा दिन लगाथ्यो तर यिनले अहिले आफ्नै बिरामी नेतालाई खेदो खनेर मार्नै पो लागे त, अझै चर्को सिके कि क्या हो?

एउटा कुरा छर्लंग भएको छ– उच्च वरिष्ठ भनिएको नेतृत्व वर्ग अहिलेको एक्काइसौँ शताब्दीको तन्नेरी चिन्तनका लागि असान्दर्भिक हुने क्रममा छ। यिनले आफूलाई अद्यावधिक  गरेनन्। यिनै नेताले कुनैबेला साह्रै दुःख भोगे, राष्ट्रको उन्नति र जनताको स्वाभिमानको सपना देखे र देखाए । तर सपनाको कार्यान्वयन गर्ने ठाउँमा यिनलाई पु¥याएपछि थाहा भयो कि उनीहरूमा व्यवस्थापन र प्रक्रियाबारे आवश्यक ज्ञान रहेनछ। नेताहरूले आन्दोलन सञ्चालन गर्न र राज्यको व्यवस्थापन गर्न चाहिने कौशल र संरचनाबीचको भिन्नता आत्मसात् गर्न नसक्दाको अनपेक्षित परिणाम भोग्न अहिले सिंगो राष्ट्र अभिशप्त भएको छ।

यत्तिका चर्चा गरिसकेपछि त्यसलाई परिस्थितिजन्य प्रमाणद्वारा स्थापित गर्नुपर्छ। अहिले राष्ट्र विश्वव्यापी महासंकटको भूमरीमा परेको छ। यो संकटको ठीक पूर्वसन्ध्यामा नेकपाको केन्द्रीय कमिटी बैठक थियो। त्यसले सरकारको काम गराइको समीक्षा गरेको दस्तावेजमा शानदार काम गरेको भनेर प्रशंसा गरेको थियो। अर्थात् जे कमजोरी भयो महामारीपश्चात् भयो। सचिवालय र स्थायी समितिको बहुसंख्यकको जिम्मामा तीनै विभाग छन् जसको कार्यक्षेत्र लथालिंग भयो भनेर अहिले उनीहरू प्रधानमन्त्रीविरुद्ध खनिएका छन्। यिनै वरिष्ठहरूले पार्टी एकीकरणको गुणगान गरे। दस्तावेज तयार गरे। धरती नै पल्टायौँ भनेजस्तो गरे तर के बिर्से भने एकीकरणको कानुनअनुसार दुई अध्यक्षले सहमति गरेबाहेकको कुनै निर्णय, कुनै प्रक्रिया नेकपाको कानुनले चिन्दैन।

कतै चुक छ भने पनि सच्याउने जिम्मा पाएकाले आफ्नो जिम्मेवारी लथालिंग पारेर सबै दोष प्रधानमन्त्रीउपर खन्याउनु भनेको आफ्नो आङको भैँसी नदेख्नुमात्र हो।  

दुवै अध्यक्ष आआफ्नो तत्कालीन पार्टीबाट निर्वाचित अध्यक्ष हुन् भने एकीकृत पार्टीका वरिष्ठलगायत सकल दर्जाका सबै मनोनीत हुन्। दस्तावेजले विवाद निरूपणको कुनै संरचनाको कल्पना गरेको छैन। आआफ्नो तुष्टिका लागि लेनिनवादी सांगठनिक अनुशासन वा महाधिवेशनद्वारा निर्वाचित ढाँचाको नियम जे÷जे बोले पनि हुन्छ। मनमा चोर पालेर गरिएको एकीकरणले जे गर्नु पथ्र्याे, त्यही गरिरहेको छ। त्यसैले सबैले ओकलेको आक्रोश निजात्मक जस्तो देखिन्छ। नेताका खास मान्छे हुने रहर पनि गजबले सदृश्य भएको छ। एकजना माधव नेपालका खास मान्छे हुँ भन्नेको आक्रोश  छ– ‘माधव नेपाललाई आरोप लगाउने?’ उहाँले ललिता निवास प्रकरणमा नेपाल प्रधानमन्त्री हुँदाको निर्णयबारे छानबिन समितिले उल्लेख गरेको सन्दर्भलाई लिएर भन्नुभएको हो। बिचराले बिर्सनुभयो कि आरोप लाग्नासाथ, बयान लिनासाथ अपराधी भइन्न। बरु त्यसले सफाइको अवसर दिन्छ।

झट्टै महाधिवेशन गरेर पार्टीभित्रको राजनीतिक समस्या समाधान गर, संसदीय प्रक्रियाबाट प्रधानमन्त्रीसँग सम्बन्धित विवाद हल गर, कानुनको शासन मान्छौ भने कानुनसम्मत व्यवहार गर, लोकतन्त्र मान्छौ भने लोकतान्त्रिक चरित्र प्रदर्शन गर, तर सत्तरी वर्षदेखिको स्थायी सरकारको हाम्रो धोको नबिगार। आजको नेपाली समाजले नेकपाका नेतासँग भन्ने यिनै पाँच कुरा हो तर एकपछि अर्को गर्दै आफ्नो असान्दर्भिकता प्रकट गर्ने नेताहरू आफ्नै माकुरी जालमा फस्दै गएका छन्।

एमसिसीलाई यसरी गिजोलियो कि भनिसाध्य छैन। पाँच वर्षमा सिद्धिने साझेदारीको अनुदानमा आधारित परियोजनालाई अमेरिकी सेना नेपाल प्रवेश गर्ने र नेपालले सार्वभौमसत्ता समर्पित गर्ने महाजालका रूपमा अपप्रचार गरियो। सफेद झूट नेपालमा खुब बिक्छ। महालेखा परीक्षक लेखापरीक्षण गरिरहेको छ, त्यहीबेलामा एक जना नेता कुर्लिनुहुन्छ– ‘लौ नेपालले खातापाता जाँच्न नपाउने यो कस्तो सहयोग?’ परेन वित्यास?तानिएको तार र बनाइएको सडकमा ‘भएभरको बौद्धिक सम्पत्ति अमेरिकाले लैजाने भयो’ सम्म भनिन्छ। मैले त्यसैबाट अभिप्रेरित तन्नेरीलाई सोधेँ– ‘तपाईँले किन्नुभएको मोबाइलको बौद्धिक सम्पत्ति तपाईँसँगै छ कि कम्पनीसँग?’  अर्को प्रश्न पनि आयो– ‘लौ उत्तरबाट किन तार तानेको?, चिनियाँ रेललाई छेक्न किन खोजेको?’ विद्युत् गृह उत्तरमा छ भने तार कताबाट तान्ने? अर्को प्रश्न गरियो– ‘संसद्मा किन बहस गर्ने? भारतसँग सहमति किन गर्ने?’

जुन परियोजना सम्पन्न भएपछि पनि तपाईँकै हुन्छ, जसले त्यसको बौद्धिक सम्पत्तिको उपयोग निःशुल्करूपमा दुवै पक्षले गर्न पाउँछ भन्छ, त्यसकै विरोध? जुन परियोजनाको सम्पूर्ण व्यवस्थापन नेपाल सरकारले गठन गरेको संरचनाले गर्छ, त्यसकै विरोध? जसले यसअघिका र अहिले चलायमान तमाम अन्तर्राष्ट्रिय साझेदारीका परियोजनासरहका प्रबन्ध भन्दा बढी केही खोजेकै छैन, त्यसकै विरोध? जुन परियोजना नेपालले तयार गरेर प्रस्तावित गरेअनुसार स्वीकृत गरिएको छ, त्यसकै विरोध? हो,परियोजनाबाट नेपालले नवीन कुरा सिक्न पाउँदैन भनेको भए, सुरक्षा र कूटनीतिक मामिलासँग गाँसिएको विषय भएको भए विरोध जायज हुन्थ्यो। भारतलाई विद्युत् निर्यात गर्नुपर्ने भएकाले भारतको सहमति लिनु झन् जाति, त्यस्तै संसद्मा बहस गरेर अझ पारदर्शी हुनु झन् जाति हुनुपर्नेमा किन यो गरिस्, किन त्यो गरिस् त्यो पनि उनै व्यक्तिले सोध्नुहुन्छ जो एमसिसीको प्रक्रियाको थालनी गर्ने निर्णय गर्दा प्रधानमन्त्री हुनुहुन्थ्यो।अनि बौद्धिक वर्गको एउटा तप्का एमसिसीको वेबपेज पनि पढ्दैन, त्यसमा संलग्न विज्ञहरूको कुरा पनि सुन्दैन।

दुवै अध्यक्ष आआफ्नो तत्कालीन पार्टीबाट निर्वाचित अध्यक्ष हुन् भने एकीकृत पार्टीका वरिष्ठलगायत सकल दर्जाका सबै मनोनीत हुन्। दस्तावेजले विवाद निरूपणको कुनै संरचनाको कल्पना गरेको छैन।

साम्राज्यवादको विरोध गर्नुपर्छ, एमसिसी चाहिँदैन रे। त्यसो भए साम्राज्यवादीको भिटो चल्ने संयुक्त राष्ट्रसंघ किन चाहियो? अमेरिकी, बेलायती दूतावास किन चाहियो? रणनीति भनेको युद्ध नीति हो भनेर कुर्लिने नेतासमेत छन् नेपालमा। एकजना ठूलै नेतालाई सोधेँ– ‘हाम्रो वैदेशिक सम्बन्धको निर्देशक सिद्धान्त पञ्चशील हो, अरूको त होइन। र, एमसिसीको दस्तावेज एमसिसीको दस्तावेज हो त्यसलाई विश्व ब्रह्माण्डको भएभरको इतिहास र दर्शनसँग गाँसेर किन हेर्नुहुन्छ?’ अतिरिक्त पत्राचारलाई सम्झौताको अंग बनाएर गर्न सकिने सरल समाधान नखोजेर एमसिसी परियोजनालाई क्लिष्ट बनाउने होडबाजी चलेको छ। अन्तर्यमा सबै वरिष्ठको आआफ्नो निहितार्थ छ। पुष्पकमल दाहाललाई द्वन्द्वकालीन तमाम प्रश्नबाट मुक्ति चाहिएको छ। राजकीय अवसरको आकांक्षी जमात पनि छ जो जसरी भएपनि प्रधानमन्त्रीलाई उहाँको अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन चाहन्छ। भारतीय मिडियाको बोलीको विरोध गर्नुपर्ने थियो पुष्पकमल दाहालले। उहाँलाई भारत पक्षीय भनेर भारतीय मिडिया घोकेको घोकै छन् तर स्याल कराउनु र सिंगारी हराउनु दुरुस्त मिलेको छ। प्रधानमन्त्रीले भारत सरकारको नाम त लिनुभएको थिएन तर भारतसँग सम्बन्ध बिगारेकाले राजीनामा दिनुपर्छ भन्ने कुरा एकाएक वाचाल भएर आएको छ।

देशको आकस्मिक र अन्य संकटका बारेमा, संगठन सबलीकरणका बारेमा, नीति कार्यक्रम र बजेटका बारेमा सुधार र परिमार्जनको प्रस्तावमा छलफल हुनुपर्ने पार्टीको उच्चस्तरीय समिति प्रधानमन्त्रीलाई सबै पदबाट बेमाख गर्ने विषयमा मात्र केन्द्रित भएको छ। र, अहिलेसम्म के÷के बिग्रियो र कसरी सच्याउने भन्ने कुराको चर्चा पनि गरिएको छैन। अहिलेको छलफल जसरी उग्र ढंगले व्यक्तिकेन्द्रित भएर उजागर भएको छ त्यसले केमात्र साबित गरिरहेको छ भने नेकपाको नेतृत्व वर्गको ठूलो हिस्सा जनताले के चाहेका छन् र कस्तो समाधानको प्रतीक्षामा उनीहरू छन् भन्ने कुराबाट टाढा हुँदैछ।

एकीकरण गर्दाको सम्झौताअनुसार नेकपाको आगामी महाधिवेशन एकताको र सहमतिको अधिवेशन बनाउने वाचा छ अर्थात् आगामी अधिवेशनमा निर्वाचन हुने छैन। नेपालको कम्युनिस्ट आन्दोलनलाई प्रजातन्त्रीकरण गर्ने श्रेय जननेता मदन भण्डारीलाई छ। उहाँले पाँचौँ अधिवेशनमा पार्टीका सम्पूर्ण दस्तावेज सार्वजनिकमात्र गर्नुभएन, प्रमुख दल र समाजका लब्ध प्रतिष्ठितहरूलाई ती दस्तावेज पठाएर सुझाव माग गर्नुभएको थियो किनकि पार्टीले राज्य सञ्चालन गर्ने हुँदा सम्पूर्ण नागरिकलाई पार्टीको नीति र कार्यक्रम जान्ने अधिकार छ। आमनागरिकको तह र सरोकारमा पार्टीलाई पु¥याएकोले पार्टी लोकप्रिय भएको थियो। त्यही अधिवेशनले सबै पदको निर्वाचन गरेको थियो। आगामी अधिवेशनमा पुग्दा अहिलेका सबै वरिष्ठले सहमतीयको नाममा आपसमा तालमेल मिलाएर नरमकरम हुँदै प्रस्तुत हुनुपर्नेछ। अधिवेशन प्रतिनिधिले चुनाव माग गरे भने उहाँहरू चुनिने सम्भावना न्यून छ। आखिर मिल्नु नै छ।

२०७७ भित्र महाधिवेशन गर्नु नै छ। अबको २ वर्षमा राष्ट्रिय चुनाव गर्नु नै छ। वर्तमान प्रधानमन्त्रीले आगामी महाधिवेशनदेखि चुनावसम्म कतै पनि आफ्नो चुनावी आकांक्षा छैन भनिरहनुभएको छ तर पनि किन उहाँलाई तत्कालै बर्खास्त गर्ने आकांक्षा पलाएको होला? आमनागरिकमा जागृत भएको प्रश्न यो हो। कार्यकर्ता पंक्तिमा रहेको प्रश्नचाहिँ के हो भने कुनै पनि उच्चस्तरीय नेताले आफ्नो भूमिका निर्वाह गरेका छैनन्। प्रधानमन्त्रीको बोलीवचनले बिझायो होला, उहाँको स्वकीय सचिवालयले शिष्टाचार पु¥याएन होला तर नीति, सिद्धान्त र कार्यक्रममा चुक छैन। कतै चुक छ भनेपनि सच्याउने जिम्मा पाएकाले आफ्नो जिम्मेवारी लथालिंग पारेर सबै दोष प्रधानमन्त्रीउपर खन्याउनु भनेको आफ्नो आङको भैँसी नदेख्नुमात्र हो।

प्रकाशित: ३० असार २०७७ ०५:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App