विचार

राजा होइनन् राष्ट्रपति

राष्ट्रपति कार्यालयमा गुणस्तरीय राडी, पाखी प्रयोग गरे के होला ? एउटा सकारात्मक जिज्ञासा। राष्ट्र कोरोनाको निर्मम आक्रमण र प्रहारबाट गम्भीर घायल छ। हाम्रो गौरवपूर्ण राष्ट्रपति कार्यालय भने १ करोडको गलैँचा फेर्ने चटारोमा छ। राष्ट्रपति कार्यालयको उक्त भवन तीन वर्षअघि मात्र ६८ करोड रुपियाँ खर्च गरी बनाइएको हो। त्यतिबेला यो भवनमा पक्कै पनि नयाँ गलैँचा ओछ्याइएको हुनुपर्छ। तीन वर्ष नपुग्दै गलैँचा फेर्नुपर्ने ? त्यतिबेला कस्तो गलैँचा किनिएछ यति चाँडै फेर्नुपर्नेे ? एकपल्ट त्यो फाइल पनि पल्टाउने हो कि ? कतै त्यतिबेला नै भ्रष्टाचारको भाइरस त पसेको थिएन यति चाँडै फेर्न पर्नुमा ?कि त्यतिबेला अरू कार्यालयबाट पुरानो ल्याइ बिछ्याइएको पो थियो कि ? जे भएपनि यो तसारै भएन।  

यति सानो विषय कतै सानो मनले त होइन भन्ने पनि लाग्न सक्छ। सानोबाटै त ठूलो हुने हो। तसर्थ आज यो सानो मुद्दा उठाइएको हो। यो गलैँचा फेर्ने निर्णय कसको हो ? नेपालको वर्तमान अर्थतन्त्र राष्ट्रपति कार्यालयका गलैँचा तीन वर्ष नपुग्दै फेर्न सक्ने अवस्थाको छ÷छैन ? निर्णायक तहका मान्छेले सोच्नुपर्ने होइन र ? लौ त्यो तहले सोचेन रे ! स्वयं राष्ट्रपति महासयाले पनि विचार गर्नुपर्ने हो जस्तो लाग्छ। ल हामी बाहिरका मान्छेलाई त थाहा हुने कुरो पनि भएन रे, कथं राष्ट्रपति महोदयालाई नसोधी यो काण्ड भएको रहेछ भने क्षमा चाहन्छु।

भोजपुर भनेको नेपालमा बनेको
राष्ट्रिय व्यक्तित्व बन्न यस्ता सामान्य कुराले ठूलो भूमिका निर्वाह गर्छ। २०१६ सालको नेपाली कांग्रेसका सभापति तथा नेपाली कांग्रेस संसदीय दलका नेता विश्वेश्वरप्रसाद कोइरालाको प्रधानमन्त्रित्वमा गठित मन्त्रिमण्डलमा स्वास्थ्य र स्थानीय स्वायत्त शासन मन्त्री, जयतु संस्कृतम् आन्दोलनका नेता काशीनाथ गौतमले मोटर नचढी साइकलमा अफिस गएपछि चर्चित हुनुभएको थियो। केही सातामा नै त्यो कदम सान्दर्भिक भएन भनी स्थगित गरे। त्यस्तै गाउँ फर्क राष्ट्रिय अभियानका आर्किटेक्ट तथा अध्यक्ष विश्वबन्धु थापाले पनि केही समय मोटर होइन, साइकल प्रयोग गरेर श्रेय बटुलेका थिए। दुवै जनाको विश्लेषणमा नेपालको अर्थतन्त्रले मोटर सुविधा धान्दैन भन्ने थियो।  

नेपाली जनताले गणतन्त्र ल्याएको परम्परागत राजाको ठाउँमा नयाँ आवधिक राजा ल्याउन होइन।  

त्यसैले नाम कमाउनेहरू संसारमा थोरै छैनन्। राष्ट्रपति महोदया राष्ट्रपति कार्यालयमा गलैँचा होइन, भोजपुरे राडी प्रयोग गर्ने कि ? पर्दामा भोजपुरे पाखी प्रयोग गर्ने हो कि ? यहाँ भोजपुरे भनेको भोजपुरको मात्र नभई नेपालका कुनै जिल्लामा भएपनि बनेका राडी, पाखी हो नकि विदेशबाट आयात गरिएका।  

कुटिर उद्योग पुनःस्थापना
अँ त ! एउटा अर्को कुरा। हाम्रा राडी पाखी बेलाबेला रौँ झर्छन्। रौँ टाँसिन्छन् पनि। राष्ट्रपति कार्यालयमा ओछ्याइने राडी पाखीबाट रौँ झर्ने र रौँ टाँसिने भने हुनुभएन। साथै पार्केटिङ गरिएको ठाउँमा चिप्लने पनि हुनुभएन। राडी ओछ्याउँदै नचिप्लिने गरी ओछ्याउने प्रविधि प्रयोग गर्नुप-यो। साथै रौँ नटाँसिने र नझर्ने प्रविधि वा गुणस्तरीय हुनुप-यो। नेपाली राडी पाखी बाक्ला न बाक्लादेखि पातला न पातला पनि पाइन्छन्। यसका अतिरिक्त बुट्टा भएका र साधारण पनि बनाउने गरिन्छ। प्रयोग गर्ने हो भने बुनाइमा तालिम दिन सकिन्छ।  

हिमाल, नदी, गँैडा, बाघ, हात्ती, हाब्रे, कस्तूरी चित्तल, थारल, घोरल जस्ता जनावर, चरा, वनस्पति, वृक्ष, राष्ट्रिय निकुञ्ज, धाम जेको पनि बुट्टा बनाउन सकिन्छ। त्यस्तो बुट्टा देखी अतिथिहरू मुग्ध हुन सक्छन्। नेपाली राडी पाखीको माग बढ्न थान्छ। तब भेडा च्याङ्ग्राको ऊनको माग बढ्न थाल्छ। उनको बढी माग भएपछि मान्छे भेडा च्याङ«ग्रा पाल्न थाल्छन्। मासुत हुने नै भयो। ऊनबाट अतिरिक्त आम्दानी हुन थाल्छ। आय बढेपछि जीवनस्तर उच्च हुन थाल्छ। घरेलु सिप र दक्षता बढ्न थाल्छ। परिणाममा राडीपाखी नामका घरेलु उद्यम, कुटिर उद्यम, साना उद्योगहरूको सञ्जाल गाउँ गाउँमा पग्न थाल्छ। एउटा रोजगारीको विषयको स्थापना विकास र प्रतिफल प्राप्त हुने अन्ततोगत्वा नेपाल राडीपाखी उद्योगको लोपोन्मुख कुटिर पुनस्र्थापनाको युग प्रारम्भ हुनेछ।  

साना लघु, कुटिर र घरेलु उद्यम
अहिले हेर्दा यो आँखा लाग्ने गरी देखिँदैन। तर नेपाली जनता जो पहाडी भेगमा बसोबास गर्छन् उनीहरूको दुई पुस्ताअघिसम्मको त अतिरिक्त आयस्रोतको रूपमा उभिएको थियो। यो राडीपाखी उद्यम घरका सासू/बुहारी वर्ग प्रायः सबै जान्दथे। राडी, पाखी बनाएर घर घर डुलाउँथे। पहाडतिर, रछाननिर कपासका दुई चार बोट पनि प्रायः हुने गथ्र्यो। तीनै कपास पाकेपछि टिपी, केलाइ धागो कात्थे र तान बनाइ कपडा बनाउँथे। त्यस्ता घरमा कपासबाट कपडा बनाइन्थ्यो।। बुहारी/छोरी वर्गका महिला केही न केही त गराैँ भन्ने भावना राख्थे। देख्दा सानो, कम मान्छेको मात्र आँखा लाग्ने घरेलु, कुटिर लघु उद्यम राष्ट्रपतिज्यूले राडी पाखी प्रयोग गर्न थालेपछि सक्रिय हुन थाल्छन्। अस्तिसम्म गाउँगाउँमा प्रशस्त थिए यस्ता धेरैका आँखा नलाग्ने उद्यम । बेच्न पनि हुने, घर चलाउने खर्च पनि हुने साधन हुन सक्छ। सोचौँ, सधैँ यस्ता अवसर आउँदैन, गलैँचा होइन राडीपाखीले सजाउँ।  

सरल जीवन उच्च प्रतिष्ठा
सरल जीवन शैली उच्चतम विचारका कारण उच्च प्रतिष्ठा आर्जन गर्ने व्यक्तित्वहरू यो विश्वमा निकै छन्। नेपाल जस्तो देश आधुनिक, अझ अत्याधुनिक शृंगारपटार एवं सजावटका अगाडि पर्न सजिलो छैन होला। तर संसारमा परिचित हुने अर्को सरल बाटो पनि छ त्यो हो सरल जीवन, सहज सजावट। नेदरल्यान्डका प्रधानमन्त्री मार्करुटी साइकलमा अफिस आउजाउ गर्दारहेछन्। उनका न अगाडि न पछाडि गाडी, न साइरन, न सुरक्षाकर्मी। अमेरिकी पूर्वराष्ट्रपति बाराक ओवामा सुरक्षा गार्डबिना नै यात्रा गर्दा रहेछन्। बिरामी केटाकेटी भेट्न अस्पताल जाँदारहेछन्। सामान्य मान्छेझैँ किनमेल गर्न पसल पनि जान्छन् रे। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले त एसियामै उल्का गरे। प्रधानमन्त्रीले पाउने सुविधा व्यापक कटौती गरेर। भव्य महलमा रहेको प्रधानमन्त्री कार्यालय तीनकोठे भवनमा सारे। त्यो विशाल भवनमा शिक्षालय सञ्चालन गरे। प्रधानमन्त्रीका लागि राखिएका हेलिकप्टर र ३३ बुलेटप्रुफ गाडीसहित ८० वटा गाडी र ८ वटा भैँसी लिलामीमा बिक्री गरिदिएछन्। दुईवटा गाडीमात्र राखे रे। प्रधानमन्त्री निवासमा कार्यरत ५२४ कर्मचारी कटौती गरी दुई जनामात्र राखेछन्।  

गणतन्त्रले नयाँ राजा खोजेको होइन। जनताका छोराछोरी राष्ट्रको सर्वोच्च पदमा पुग्ने पद्धति खोजेको हो।

त्यस्तै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्युडो शरणार्थीका प्रिय नेता नै हुन्। सिरिया द्वन्द्वबाट विस्थापित ५० हजार अप्रवासीलाई आफ्नो देशमा स्वागत गरे। शरणार्थीलाई न्यानो कोट लगाइदिएर स्वागत गरे। जस्टिन आफ्नो आवागमनमा सान देखाउँदै साइरन बजाउने र अन्य यात्रुलाई रोकेर दुःख दिन रुचाउँदैनन्। भारत आएका बेला पनि सामान्य होटेलमा खाना खाएका थिए रे।  

धेरैले मन पराए विना रिसल्ला
न्युजिल्यान्डकी यातायात मन्त्री जुली एनी गेन्टर साइकलमा नै अफिस ओहोरदोहोर गर्छिन्। मेक्सिकोका राष्ट्रपति म्यानुअल लोपेजले सन् २०१८ मा राष्ट्रपति भएपछि आफ्नो पारिश्रमिक ६० प्रतिशत कटौती गरे। यस्तै उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिका, मलावीका पूर्वराष्ट्रपति बान्डा, भारतका.पूर्व राष्ट्रपति एपिजे अब्दुल कलाम राष्ट्रपति हुनुपूर्व एउटा कोठा भाडामा लिएर बस्थे, राष्ट्रपतिबाट बिदा भएपछि पनि त्यही कोठामा अन्तिम सास फेरेका थिए।  

यी केही उदाहरण हुन्। सिक्न खोजे धेरै उदाहरण भेटिन्छन्। राष्ट्रपति आफ्नो गाउँ जिल्लाका विद्यालय पढ्दा र मोरङ कलेज पढ्दाका बेला सम्झनुभयो भने प्रशस्त हुन्छ। कहाँ कसरी बस्दा सुखी र सन्तुष्ट हुनुहुन्थ्यो। फेरि राष्ट्रपति राजा हुने पद होइन। सधैँ राष्ट्रपति निवासमा बस्न पाइने पनि होइन। एक दिन त  छोड्नैपर्छ तसर्थ सरल जीवन उच्च प्रतिष्ठा रोज्ने हो कि ? गत २ जेठमा संघीय संसद्लाई सम्बोधन गर्न वा सरकारको नीति र कार्यक्रम वाचन गर्न नयाँ बानेश्वर आउँदा बिनारिसल्ला आउनुभएको धेरैले मन पराए।  

श्री पाद अमृत डाँगेलाई मोटर
भारतमा कम्युनिस्ट आन्दोलन निकै समय चल्यो। पश्चिम बंगालमा तीन तीनवटा कार्यकाल ज्योतिबसु मुख्यमन्त्री भए। तर किन हो कम्युनिस्ट संघर्ष सफल हुन सकेन। कम्युनिस्टहरू आन्दोलन गर्न, बलिदान गर्न सिपालु तर शासन गर्न, सत्ता सञ्चालन गर्न भने नसक्ने इतिहास रह्यो। केरला र अरू केही राज्यमा शासन गरे तर सत्तामा दोहोरिएनन्। यसमा कम्युनिस्टहरूले कटु, कठोर एवं दिमाग रन्किने गरी बेलाबेलामा आत्मालोचना र आलोचना गर्नैपर्छ। नत्र अहिलेका भारतका कम्युनिस्टहरूको जस्तै स्थिति बेहोर्नुपर्नेछ।

भारतका पुराना जमानाका कम्युनिस्ट कार्यकर्ता कस्ता भने दक्षिण भारत गरिब, सुक्खा लाग्ने, अनिकाल पर्ने। त्यसैले कम्युनिस्ट आन्दोलन चर्कै हुने। मजदूर धेरै। कम्युनिस्ट मजदूरहरूमा कांग्रेस नेता मोटरमा हिँड्ने तर कम्युनिस्ट नेता पैदलै। मजदूरलाई चित्त बुझेनछ र पैसा उठाइ कम्युनिस्ट नेता श्री पाद अमृत डाँगेलाई मोटर किनिदिएछन्। त्यतिबेला समाचार पढेको सम्झेर यो लेखेको। आजको प्रसङ्ग कम्युनिस्ट नेतृ संवैधानिकरूपमा यस देशकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा एक करोड रुपियाँको नयाँ गलैँचा ओछ्याउँदै हुनुहुन्छ भन्ने प्रसङ्गमा यी कुरा उठेका हुन्।  

एकातिर कोरोनाको कडा आक्रमण, क्वारेन्टाइनको अवस्था गोठ जस्तो, आइसोलेसनमा बस्ने पनि विश्व स्वास्थ्य संस्थाले भनेअनुसार छैन। पैसाको हाहा छ सरकारलाई। यस्तो संकटका बेला राष्ट्रपति कार्यालयमा एक करोड रुपियाँको गलैँचा फेर्नुको के औचित्य ? त्यस्तै बाथरुम सिंगार्न ८४ लाख रुपियाँ रे। यो के पारा हो ? स्पष्ट हुनुप-यो।  

गलैँचा फेर्नु सामयिक भएन
सरकारी सम्बन्धित कार्यालयले उक्त कामको ठेक्का हिमालयन डेकोर तथा श्री बिकोली–इन्द्रेणी–सुप्रिय जेभेइलाई दिने निर्णय यही जेठमा गरेको रे। गलैँचा फेर्ने ठेक्का पाएको कम्पनी गण्डकी प्रदेशका नेकपा सांसद रामबहादुर गुरुङको रे। हिमाल डेकोरकी प्रबन्धक शोभा गुरुङका अनुसार नेपाली मौलिकता झल्कने गरी भव्य र मौलिक बनाउन लागिएको छ। शोभा रामबहादुरकी आफ्नै मान्छे हुन् क्यार। राष्ट्रपति कार्यालयका एक अधिकारीका अनुसार यो गलैँचा फेर्ने राष्ट्रपतिको व्यक्तिगत रुचि होइन। तर राष्ट्रपतिले यस्ता असामयिक काम रोक्नेतिर लाग्नुपर्छ। नभए हस्तक्षेप पनि गर्नुपर्छ। नेपाली जनताले गणतन्त्र ल्याएको परम्परागत राजाको ठाउँमा नयाँ आवधिक राजा ल्याउन होइन। गणतन्त्रले नयाँ राजा खोजेको होइन, अवधिसहितको राष्ट्रपति खोजेको हो। जनताका छोराछोरी राष्ट्रको सर्वोच्च पदमा पुग्ने पद्धति खोजेको हो, रोजेको हो। राष्ट्रपति जनताको भरोसाको सेवा दिने हुनुपर्छ।  

राष्ट्रपति कार्यालयका अधिकारी जनताबाट चुनिएर गएका हुँदैनन्। उनीहरू जनताप्रति उत्तरदायी पनि हुँदैनन्। राष्ट्रपति जनताको मान्छे हो। पदावधि सकिएपछि जनतामै जानुपर्छ। तसर्थ तपाईँको व्यक्तिगत रुचि र अरुचिको प्रश्न होइन यो। आफ्नो अधिकार प्रयोग गरेर भए पनि यो गलैँचाँ फेर्ने काम तत्काल रोक्नु नै बुद्धिमानी होला। 

प्रकाशित: २५ जेष्ठ २०७७ ०२:४३ आइतबार

राष्ट्रपति गणतन्त्र राजा