विचार

धेरैपटक लडाइँ भएको मकवानपुर दरबार

इतिहासमा यसलाई किल्ला दरबार अर्थात् (क्यास्टल) भनिएको छ । तर पछि गढी भन्न थालियो । यो गल्ती हो । वि.सं. १६२२ तिरै पाल्पा राज्यलाई टुक्रयाएर स्वतन्त्र मकवानपुर राज्य बनाउने पहिलो राजा लोहाङ सेन थिए । नारायणी नदी पूर्व जलढका (ब्रह्मपुत्र र गंगा नदीको संगम स्थल) सम्म मकवानपुर राज्य बनाए । जनमानसले मकवानपुर गढी भन्ने गरेको डाँडाको ठूलो किल्ला मकवानपुर राजाको दरबार हो । उस बखतका हिन्दुस्तानी मुगल राजा बादशाहहरूको दरबार किल्लाको रुपमा हुन्थे । हिन्दुस्तानमा बेलायत लगायत युरोप, टर्की, अरबी देशहरूमा यस्ता किल्ला प्रशस्तै छन् । सोही प्रारुपमा सेन राजा र त्यसभन्दा अगाडिका सिम्रोन गढका न्यायदेव लगायत राजाहरूले पनि सोही मुताबिक किल्लारूपी दरबार बनाए । तसर्थ यो गढी होइन । यो दरबारको प्रतिरक्षाका लागि यो दरबार भन्दा ४०० गज जति उत्तर तल डढुवा गढी (मुख्य गढी), दक्षिणतर्फ काठे गढी, ढुंगे गढी आदि थिए । तीभन्दा टाढा भने चिसापानी गढी, हरिहरपुर किल्ला (सानो दरबार) पौवा गढी, अम्वास गढी आदि थिए । यो दरबार प्रथम राजा लोहाङ सेनले नै बनाएका थिए । पछि राजा शुभ सेनले यसलाई किल्ला रूपी पाराले अझै बलियो बनाए । अरु राजाहरूले थप किल्ला र संरचना बनाउँदै रहे । लोहाङ सेनका उत्तराधीकारीहरू राघव नरेन्द्र सेन, हरिहर इन्द्र सेन (हरिहरपुर किल्ला बनाउने) शुभ सेन, हेमकर्ण सेन (पृथ्वीनारायण शाहका ससुरा) र दिग्बन्धन सेन थिए । यो दरबार नेपालको इतिहामा नेपाल एकीकरण युद्ध, बंगलाको नवाबको हमला विरुद्धको लडाइँ, नेपाल–अंग्रेज युद्ध तथा सुगौलीको सन्धिसँग सम्बन्धित छ ।  

पृथ्वीनारायण शाहको विवाह  

वि.सं. १७९५ तिर युवराज पृथ्वीनारायणको विवाह हेमकर्ण सेनको छोरी इन्द्र कुमारीसँग यसै दरबारमा भएको थियो । उनका जेठान दिग्बन्धन सेन थिए ।  

नेपाल एकीकरण युद्ध

वि.सं. १८१९ मा मकवानपुरको योे राजधानीमाथि हमला गर्ने योजना भयो । काठमाडौंको इन्द्रदह डाँडाभरि सैनिक ब्यारेक थिए । राजा पृथ्वीनारायण शाहको अस्थायी मुकाम त्यही थियो । गोर्खाली फौज राख्ने अखडा (फर्म बेस) दहचोक थियो । सन् १७६२ अगस्त १७ मा चौतारा मोहम्मदकृती शाहको कमान्डमा हमलावार फौज हिँड्यो र २० अगस्तमा पुगे । ज्योतिषीको साइत अनुसार २१ अगस्तको बिहानै (फस्र्ट लाइट) मा हमला गरे । राजा दिग्बन्धन सेनको फौजले जवाफी लडाइँ लडे । करिब ४०० जति मरेपछि सबै सेन फौज भागे । राजा दिग्बन्धन सेन र मन्त्री कनक सिंह बानियाँ लगायत भारदार र सेनाहरू हरिहरपुर किल्ला (सानो दरबार) पुगे । यो दरबारमा युद्ध हुने डर भएपछि केही दिन पहिला नै राजाले आफ्ना रानी, परिवार र धन सम्पत्ति त्यहाँबाट अन्यत्रै पठाइसकेका थिए । हाल आएर विभिन्न इतिहासकार तथा पत्रकारहरूले समेत गोर्खाली फौजको डरले दिग्बन्धन सेनको रानी, छोरीहरू दरबारसँगैको भीरबाट हाम्फालेर मरे । कति केटीहरूलाई गोर्खाली सेनाले अमानवीय व्यवहार गरे भनिएको छ । ती कथा मात्र हुन् । गोर्खाली सेनातर्फ केही कमान्डरसहित ६० जना जति मरे । मकवानपुर दरबार गोर्खालीले जिते । त्यसको एक महिनापछि राजा दिग्बन्धन बसेको हरिहरपुर किल्लामाथि हमला गरेर त्यो पनि जिते । दिग्बन्धन खुँडाघाटतिर भागे ।

 

१८१४ डिसेम्बरको अन्तिम दिन अंग्रेजको नयाँ वर्ष सुरु हुने रातमा समनपुर, बारा गढी र पर्सा गढीमा एकै रात र एकै समयमा हमला गर्दा सबैतिर अंग्रेजको ठूलो नोक्सान भयो । सबै भागे । आश्चर्यको कुरा त अंग्रेज डिभिजन कमान्डर मार्ले नै युद्ध भूमिबाट भागे । ऊबेलादेखि आजको दिनसम्मको पहिलो र अन्तिम घटना बनेको छ । यसरी पहिलो चरणमा नेपालले पूर्ण रुपले अंग्रेजलाई हरायो ।

 

मीर कासिम (बंगालको नवाब) विरुद्धको युद्ध  

हिन्दुस्तानका मुसलमानी शासकले पटकपटक काठमाडौं उपत्यका पसेर लुटपाट गरेर धन सम्पत्ति लैजाने एउटा कुसंस्कार नै बसेको थियो । मीर कासिमले सैनिक कमान्डर गुर्गिन खाँलाई मकवानपुर दरबारमाथि हमला गरेर अनि काठमाडौं उपत्यकाका मल्ल राज्यमा लुट्न ठूलो फौज र हात हतियारसहित पठाउँछन् । १८१९ सालमै (सन् १६७२ को डिसेम्बर) ३५०० जना फौजको नेतृत्व दिएर गुर्गिन खाँ मुर्सिदाबादबाट हिँडेर हर्नामाडी फाँट (हालको हेटौंडाको पूर्व–दक्षिण) मा जम्मा हुन्छन् । अब पृथ्वीनारायण शाहलाई छिटो वैरी विरुद्ध मार हान्नैपर्ने अवस्था आइपर्छ । अनि उनी दहचोकको इन्द्र दहबाट फौज हिँडाई बैरी विरुद्ध आफैँ लड्छु भनेर आउँदै गर्दा भाइ–भारदारहरूले उनलाई ठिंगन भन्दा यता आउन नदिई उनले ठिंगनबाटै युद्ध सञ्चालन गर्छन् । ढुंगे गढी, डढुवा गढी, मकवानपुर (दरबार) किल्ला आदिमा फौज तैनाथ गरी प्रति हमलाको तयारी गरिन्छ । मुसलमान फौजले २० जनवरी १७६३ को बिहानै मकवानपुर दरबारमा हमला गर्छन् । दिनभरि लडाइँ भयो । मुसलमान राति लड्न सकेन । युद्ध रोकियो । यस बखत दहचोकबाट थप फौज पनि आइपुगे । त्यसपछि गोर्खालीले तीनतिरबाट अन्धाधुन्ध हमला गरे । धेरै मुस्लिम सेना मरे । गुर्गिन खाँ भाग्यो । दुईवटा तोप र ५०० नालजति राइफल हात पारे, गोर्खालीले । शताब्दियौंदेखि नेपालभित्र पसेर लुटपाट गर्ने लुटेरा मुस्लिम फौजलाई नेपालीले पहिलोपटक तहसनहस पारी मारे । त्यसपछि कहिल्यै फर्केनन्, यो युद्धबाट दुईवटा अभिलेख बनेकोे छ– एक, नेपाल (टुक्रिएको नेपाल) ले विदेशी शक्तिविरुद्ध विजय गरेको पहिलो युद्ध । दुई, यहाँ खोसिएका हात–हतियारबाट पृथ्वी नारायण शाहले १०० नाल हतियारसहितको पाँचवटा कम्पनी (गुल्म) पहिलोपटक खडा गरे । जसमा श्रीनाथ, काली बक्स, सवुज, बर्ज बाणी (वर्द बहादुर होइन) र गोरख (हाल पुरानो गोरख) कम्पनी थिए । गोरख (पुरानो गोरख) कम्पनीलाई पृथ्वीनारायणले मगरहरूको कम्पनी बनाएका थिए भन्ने गरिन्छ, त्यो होइन । नेपाल–अंग्रेज युद्धपछि ब्रिटिसले उसको सेनामा नेपालका केही जातलाई मात्र सेनामा भर्ना गर्न थालेपछि मात्र नेपालले पनि ती जातिलाई नेपालमै रोक्न मगर, गुरुङ, राई, लिम्बुको कम्पनी र पल्टन बनाउन थालेको हो ।

नेपाल–अंग्रेज युद्ध  

वि.सं. १८७१ (१ नोभेम्बर १८१४) को दिन भारतमा रहेको ब्रिटिस इस्ट इन्डिया कम्पनीले नेपालविरुद्ध औपचारिक युद्ध घोषणा ग¥यो । तर त्यो भन्दा १० दिनअगाडि नै नालापानीको खलंगा किल्लामा हमला सुरु गरी ब्रिटिसले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको थियो । पूर्वमा टिस्टा नदीदेखि पश्चिममा सतलज नदीसम्मको करिब २५०० किलोमिटरको लम्बाईमा अंग्रेजले झापा–विजयपुर, मकवानपुर, पाल्पा, कुमाउ, नालापानी, नाहान श्रीमोर, मलाउँ–नालागढ क्षेत्रबाट हमला सुरु ग¥यो । तीमध्ये मकवानपुर मुख्य र महŒवपूर्ण थियो । यहाँबाट राजधानी काठमाडौं एकदम नजिक पर्छ । अंग्रेजको युद्ध घोषणापछि नेपालले उल्लिखित सातवटै क्षेत्रमा सेना तैनाथी ग¥यो । यो क्षेत्रमा पहिलो चरणमा कर्नेल (पछि जनरल) रणवीरसिंह थापा र दोस्रो चरणमा उनकै दाजु काजी बख्तावरसिंह थापाले कमान्ड (नेतृत्व) लिए । यो दरबार जंगी अड्डाको क्षेत्रीय मुख्यालय थियो । यस युद्धका केही चरण छन् ।

पहिलो चरण :  कर्नेल रणवीरसिंह थापा मुख्य कमान्डर । कोशी नदी पश्चिम र नारायणी नदी पूर्वको सेक्टर कमान्डर थिए । उनले सुमेश्वर गढी, उपरदाङ गढी, कविलास गढी, कान्द्राङ गढी, चिसापानी गढी, मकवानपुर किल्ला, ढुंगे गढी, डढुवा गढी, हरिहरपुर गढी, अम्वास गढी, हरिहरपुर किल्ला, सिन्धुली गढी, उदयपुर गढी, चौदण्डी गढी लगायत सेना तैनाथी गराए । त्यसैगरी पर्सा (गढ) गढी, बारा गढी, समनपुर आदि सम्म तराई इलाकामा फौज तैनाथी गरे । अंग्रेजतर्फ मेजर जनरल बेनेट मार्लेको नेतृत्वमा पूर्वमा जनकपुरदेखि चितवन सम्म फैलिएर हमला बढ्दै थियो । यही क्रममा अंग्रेज फौज रौतहट–बारा र पर्सा मुहुडाबाट हमला गर्न अगाडि बढ्दै गर्दा १८१४ डिसेम्बरको अन्तिम दिन अंग्रेजको नयाँ वर्ष सुरु हुने रातमा समनपुर, बारा गढी र पर्सा गढीमा एकै रात र एकै समयमा हमला गर्दा सबैतिर अंग्रेजको ठूलो नोक्सान भयो । सबै भागे । आश्चर्यको कुरा त अंग्रेज डिभिजन कमान्डर मार्ले नै युद्ध भूमिबाट भागे । ऊबेलादेखि आजको दिनसम्मको पहिलो र अन्तिम घटना बनेको छ । यसरी पहिलो चरणमा नेपालले पूर्ण रुपले अंग्रेजलाई हरायो ।

दोस्रो चरण :  नेपालले सन् १८१५ मे १५ सम्म महाकाली पश्चिमका सबै युद्ध हारेर पश्चिम सिमाना काली (महाकाली) नदी भइसकेको थियो । तर, महाकाली पूर्व टिस्टा नदीसम्मका युद्ध नेपालले जितेको थियो । महाकाली पश्चिमका जमिनले मात्र चित्त नबुझी अंग्रेज काठमाडौं पुग्न चाहन्थ्यो । त्यसपछि उसले मलाउँ–नालागढ क्षेत्रमा बडाकाजी अमरसिंह थापालाई हराउने कमान्डर मेजर जनरल डेभिड अक्टरलोनीलाई मकवानपुर क्षेत्र हुँदै काठमाडौंमा पुनः हमला गराउने योजना बनायो । नेपाल हुँदै अंग्रेज युद्धको सफल कमान्डर थिए, अक्टरलोनी । यता मकवानपुर सैनिक अड्डा प्रमुख भएर कर्नेल रणवीरसिंहका दाजु काजी बख्तावरसिंह थापा आए भने रणवीरसिंह विजयपुर–झापा इलाकामा खटाइए । दोस्रो चरणको युद्ध कोशी नदीदेखि नारायणी नदीबीच हुने पक्का भयो । यो इलाकामा नेपाली फौज पहिलाको जस्तै तैनाथी भए । सिन्धुली गढीमा बडाकाजी अमरसिंह थापा र हरिहरपुर गढीमा उनका छोरा काजी रणजोर थापा खटाइए । उनीहरू काजी बख्तावरसिंहको मातहतमा थिए । अंग्रेजले योपटक मकवानपुर दरबार र हरिहरपुर किल्ला (सानो दरबार) लाई कब्जा गरी दुई मुहडाबाट मात्र काठमाडौं उत्रने तरिकाले अघि बढ्यो । सिमानाबाट अगाडि बढेको अंग्रेज फौज कर्नेल केलीको नेतृत्वमा हरिहरपुर किल्लातर्फ र मेजर जनरल अक्टरलोनीको फौज मकवानपुरतर्फ बढ्यो । हरिहरपुर किल्लामा अंग्रेजले नेपालीलाई हराएपछि नेपालले सन्धिको प्रस्ताव पठायो, मेजर जनरल अक्टरलोनी कहाँ । अक्टरलोनीको फौज हेटौंडाको हर्नामाडीमा मात्र पुगेको थियो । त्यहाँबाट मकवानपुर दरबार र गढीमा तोप पड्काउँदै थिए । तर, योपटक पनि मकवानपुर दरबारमा हमला नगर्दै सन्धिको प्रस्ताव आएकाले ब्रिटिस खुसी भयो । अब हरिहरपुर किल्लामा लडाइँ जितेका फौज पनि हर्नामाडीमा आइपुगे । लडाइँ बन्द भयो ।

सुगौली सन्धि : भारतको रक्सौलबाट झन्डै ४० किलोमिटर पश्चिम सुगौलीमा ब्रिटिसको सैनिक छाउनी र प्रशासकीय अड्डाहरू थिए । त्यही स्थानमा पुगेर ब्रिटिसको इच्छा बमोजिमको सन्धि गर्न मकवानपुर दरबारका हाकिम काजी बख्तावरसिंह थापालाई नेपाल दरबारबाट भनियो । उनले पनि आफ्ना प्रतिनिधि खटाई डिसेम्बर २, १८१६ मा सन्धि गराए । जसलाई सुगौलीको सन्धि भनिन्छ । अब नेपालको सिमाना पूर्वमा मेची र पश्चिममा महाकाली भयो ।  

अन्तमा, मकवानपुर दरबारले धेरै दुःख बेहोरेको छ । यहाँ धेरैपटक लडाइँ भए । धेरै मानिस मरे । यहाँ रहेका गढीहरूको इतिहास त्यत्तिकै महत्त्वपूर्ण छन्, यति धेरैपटक युद्ध भएको स्थल नेपालमा अन्त छैन । तसर्थ यहाँ लामो इतिहास प्रदर्शन गरेको संग्रहालय बन्न सक्छ । यो राजा दरबारलाई मकवानपुर गढी नभनौँ । यसको वास्तविक इतिहासलाई प्रमाणित गरौँ । व्यक्ति व्यक्तिले फरक–फरक इतिहास लेख्ने–बोल्ने कामले धेरैलाई दुविधा बढाएको छ । यो दरबार बाग्मती प्रदेशको इज्जत र नेपालको गौरव हो ।

(डा. बस्न्यात ‘नेपाल–अंग्रेज युद्धको २०० वर्ष’ पुस्तकका लेखक हुन् )

प्रकाशित: १७ जेष्ठ २०७७ ०६:०९ शनिबार

अक्षर