विचार

जंक फुड अर्थात पत्रु खाना

वर्षौँदेखि घरमा रहेको दही मोथ्ने ठेकीलाई दही मोथ्ने मेसिनले प्रतिस्थापन गर्ने तरिका एक सामान्य वैज्ञानिक तरिका हो जसमा यति दिन पुरानो जमेको दहीलाई, यति मात्रामा मनतातो मिलाएर यतिपटक घुर घुर पारेपछि नौनी बन्छ भन्ने तथ्यांक जम्मा गरिन्छ । मोटर जडित मेसिनलाई टाइमरसँग जोडेर उक्त प्रक्रिया पूरा गर्न सक्दा नयाँ दही मोथ्ने मेसिनको विकास हुने गर्छ।

परीक्षणमा निर्धारण गरेको प्रक्रिया अपनाएर दही मोथ्दा मिसिनले चाहेअनुरूपको नौनीको डल्ला दिएको भेटिएमा गरिएको आविष्कार सफल कहलिने गर्छ। दही मोथ्ने मेसिन वर्षौँ वर्ष प्रयोग गर्दै गर्दा त्यो भन्दा पनि उन्नत मेसिनको जरुरत महसुस हुने गर्छ । एकातर्फ दूधबाट दही बनाउने प्रक्रियालाई नौनी बनाउने प्रक्रियासँग जोड्न जरुरी ठानिन्छ । अर्कोतर्फ नौनी बनाउने प्रक्रियालाई नौनीबाट घीउ बनाउने तरिकासँग जोड्न नयाँ प्रविधि विकास गरिन्छ । जसबाट एक जटिल प्रकृतिको दूधबाट घीउ बन्ने प्लान्ट वा स्वचालित मेसिनरीयुक्त उद्योग नै तयार हुन जान्छ।

उक्त स्वचालित मेसिनरीले त्योबेला मात्र प्रभावकारी काम गर्छ जतिबेला जहाँ जे हुनुपर्ने हो त्यो हुन्छ। जस्तै– प्रशोधनको प्रत्येक चरण प्रयोग हुने कच्चा पदार्थ तोकिएअनुरूपको उपलब्ध गराइएन वा बनिदिएन भने गडबड भएर गुणस्तरीय उत्पादन प्राप्त गर्न सकिन्न।

दही मोथ्नतीन दिन जमेको दही प्रयोग हुने गरी मेसिनको डिजाइन भएको छ तर तीन दिन जमाएको तर आधा मोथिसकेको दही हाली मेसिन चालु गरियो भने दही नौनी बनेर फेरि तेल्लिएर पुनः मोहीमै मिसिन्छ । उक्त मोहीबाट फेरि नौनी लिने प्रक्रिया त्यति सहज रहँदैन। त्यो लट खेर जान्छ ।  मेसिनले खोजेको नतिजा दिइरहेको हँुदैन। दही मोथ्ने प्रक्रिया नै रोगी सावित बन्छ।

जुन जुन खाना खाँदा हाम्रो पाचन यन्त्रमा आधा मोथिसकेको दही मेसिनमा बिग्रेजस्तो हाम्रो शरीरअनुकूलको सार तत्व नदिने बन्छ, ती खाना नै जङ्क वा पत्रु खाना गनिन्छन् ।

हाम्रो शरीरको पाचन प्रक्रिया लाखौँ लाख वर्षदेखि शरीरलाई उपलब्ध खाना सकेसम्म राम्रो गरी पचाउन र शरीरलाई उपलब्ध गराउन प्रकृतिले डिजाइन गरेको एक जीवित मेसिनरी हो । मानवलाई हितकारी हुने प्रकृतिमा पाइने खाद्य पदार्थलाई राम्रोसँग प्रशोधन गरी प्रभावकारी नतिजा दिन सक्ने गरी निर्वाण भएको एक अजीव मेसिनरी।

त्यो जीवित, सामथ्र्यवान र मूर्धन्य पाचन यन्त्र तपाईँले पुर्खौँदेखि कस्तो खाना खानुहुन्थ्यो तिनै खानाहरूबाट जीवनलाई चाहिने अधिकतम सार तत्व निकाली शरीरलाई उपलब्ध गराउन सक्षम हुने गरी प्राकृतिकरूपमा इन्जिनियरिङ भई तयार भएको हो।

मानिसले प्रशोधित खाना खान थालेको खासै लामो समय भएको छैन। परम्परागत खाना पचाउने प्रयोजनमा बनेको तपाईँको पाचन यन्त्रमा उच्च प्रशोधित खाना हालिदिँदा दही मोथ्ने मेसिनमा आधा मोथिसकेको दही हाली दिँदाको नियति आइलाग्छ।

झर्रो शब्दमा भन्दा जुन जुन खाना खाँदा हाम्रो पाचन यन्त्रमा आधा मोथिसकेको दही मेसिनमा बिग्रेजस्तो हाम्रो शरीरअनुकूलको सार तत्व नदिने बन्छ, ती खाना नै जङ्क वा पत्रु खाना गनिन्छन् ।

साधारणरूपमा बुझ्दा जङ्क खाना भनेको यस्तो खाना हो जसमा प्रयोगशालामा परीक्षण गर्दा उच्च क्यालोरी भएको त पाइन्छ तर ती खाना खाँदा प्रयोगशालामा परीक्षण गर्दा देखिने जस्तो पोषण तत्वहरू भने तपाईँको शरीरले प्राप्त गर्ने गर्दैन।

साधारणरूपमा बुझ्दा जङ्क खाना भनेको यस्तो खाना हो जसमा प्रयोगशालामा परीक्षण गर्दा उच्च क्यालोरी भएको त पाइन्छ तर ती खाना खाँदा प्रयोगशालामा परीक्षण गर्दा देखिने जस्तो पोषण तत्वहरू भने तपाईँको शरीरले प्राप्त गर्ने गर्दैन। प्रायः सबै नै जङ्क फुड नून, चिनी र फ्याटको संयोजनबाट तयार हुने गर्छन् । नून, चिनी र फ्याटको एउटा यस्तो संयोजन जसले गर्दा खाना अत्यन्त आकर्षक देखिन्छ। खानाबाट आउने बास्ना लोभलाग्दो हुन्छ । हेर्दै खाउँ खाउँ लाग्ने र खाँदासमेत धेरै मीठो महसुस हुन्छ । एकचोटि उक्त खाना खाएपछि पुनः पटक पटक खान मन लाग्ने एक प्रकारको एडिक्सन वा तलतल लाग्ने हुन्छ।

वास्तविकतामा भने खानाबाट अनिवार्यरूपमा शरीरले प्राप्त गर्नुपर्ने शरीरका लागि उच्च महत्व रहने खाद्य, पोषण तथा हिलिङ्गको सार तत्वमै कमी रहेको हुन्छ । खानाले तपाईँलाई दिने प्रभाव र शरीरलाई उपलब्ध गराउन सक्ने सार तत्वमा ठूलो अन्तर रहन्छ।आज संसारमा खाद्य वैज्ञानिक तथा रसायनशास्त्रीहरू मानिसमा कुनै खाना एकपटक चाखेपछि उक्त खाना दोहो-याएर नखाइ बस्न मन थाम्न नसक्ने बन्ने गरी स्वादको विकास गर्ने प्रविधि पहिचान गर्न सफल बनेका छन् ।

एकपटक खाएपछि पटक–पटक खान मन लाग्ने गरी खानको लत वा एडिक्सन विकास गर्ने प्रविधिनै हालको खाद्य विज्ञानको सफल प्रडक्ट डेभलभमेन्टको सामान्य कखरा बनेको छ। आज तपार्इँ हामी त्यो दुनियाँमा बाँचिरहेका छौँ जहाँ तपाईँ हामीले खाने हरेक खानालाई तपाईँ हाम्रो स्थानीयताको सबैभन्दा बिक्री हुने वा मन पराइने स्वाद ह्याक गरी त्यसैअनुसार डिजाइन गरेर तपाईँ हामीलाई उक्त खानाको स्थायी ग्राहक बनाउन सकिन्छ।

उन्नाइसौँ शताब्दीको अन्ततिर खानामा सोडियम ग्लुटामेड वा अजिना मोटो जस्ता टेस्ट बढाइने हेन्सर प्रयोग गरी खानालाई धेरै स्वादिलो बनाइन्थ्यो। उपभोक्ताको स्तरमा सोडियम ग्लुटामेडको विश्वव्यापी नकारात्मकता विकास हुँदै गर्दा हाल वैज्ञानिकहरू ब्लिीस पोइन्ट अथवा स्वादको आशीर्वादको विन्दु प्रयोग गरी आफ्ना ग्राहकलाई आफ्नो खाद्य पदार्थ खानका लागि मोहित पार्न सफल बनेका छन् ।

ब्लिस पोइन्ट भनेको यस्तो विन्दु हो जसमा कुनै पनि खाद्य पदार्थको उत्पादनमा प्रयोग हुने चिनी वा नून वा चिल्लो अथवा तिनीहरूमध्ये कुनै दुई वा सबैको संयोजनको हजारौँ परीक्षण गरी यस्तो ठीक मात्राको फर्मुला पहिल्याइन्छ कि उक्त मात्रामा मिसाएर बनेको खाना नखाइ बस्न लगभग असम्भवप्रायः बनिदिन्छ। यस्तो विन्दुको खाना जुन उद्योगमा मात्र बन्न सम्भव हुन्छ र प्रकृतिमा उपलब्ध हुँदैन । जस्तै उदाहरणका लागि– आलु चिप्समा हुने नून र चिल्लो । डोनट पाउरोटीमा हुने नून, चिनी र चिल्लो । क्यान्डिबारमा हुने चिनी र चिल्लो।

ब्लिस पोइन्ट प्राप्त गर्न नून, चिनी र चिल्लोबाहेक खाद्य पदार्थमा हुने अन्य स्वाद र गुणको समेत उपयोग हुन्छ । जस्तै– तयारी चाउचाउमा हुने नून, चिनी र गुलियो (नेपालको हिसाबमा अजिनामोटोसमेत) को मात्रा । सर्वतमा हुने चिनी र एसिड। अचारको अमिलो, पिरो, गुलियो। कोलाको गुलियो र मसलाको स्वाद आदि। तर पनि ब्लिस पोइन्ट प्राप्त गर्नका लागि मुख्यतया नून, चिनी र चिल्लोको मात्रा संयोजनमै मूल ध्यान केन्द्रित गरिन्छ।

अमेरिकन मेडिकल एसोसिएसनले पैँतालीस वर्षमाथिका पैँतालीस हजार वयस्कमा नौ वर्ष लगाएर गरेको फेब्रुअरी २०१९ मा सार्वजनिक भएको अनुसन्धानको निचोडमा खानामा मात्र पन्ध्र प्रतिशत अत्यधिक प्रशोधन गरिएको खाना खाने मानिस प्रायः सबै रोगका कारण छिट्टो रोगी हुने लेखिएको छ । विशेष गरी क्यान्सर र हृदयघात जस्ता रोगको प्रकोपबाट छोटो अवधिमा नै जीवन अन्तः भएको उल्लेख छ।

अत्यधिक प्रशोधन गरिएको खाना मानिसको प्राकृतिकरूपमा इन्जिनियरिङ भएको मूर्धन्य पाचन यन्त्रको जरुरत भन्दा अधिक प्रशोधित रहेका कारण उत्पन्न गडबडी नै मानिस उक्त अवस्थाको सिकार हुनुपरेको सहजै अनुमान गर्न सकिन्छ।

उच्च प्रशोधित खाना तयारीका क्रममा एकातर्फ अनावश्यक प्रशोधनमा उच्च धनराशि खर्च हुने, अनावश्यक वातावरण प्रदूषित हुने गर्छ । अर्कोतर्फ उच्च प्रशोधित खानाले हाम्रो आफ्नै पाचन प्रभावकारिता नष्ट गरी शरीरलाई रोगी बनाइदिन्छ। 

खाद्य उत्पादनलाई औद्योगिकीकरण गर्दै गर्दा हिजो धेरै पोषण तत्व थोरै परिमाणबाटै शरीरमा उपलब्ध गराउन सकिने अल्पज्ञानको प्रभावमा विकसित मुलुकहरूले उच्च प्रशोधित खाद्य पदार्थ बजारमा उपलब्ध गराए। धेरै कोणबाट हानिकारक प्रमाणित बनेपछि विकसित मुलुकहरूले पत्रु खानाको विकल्पमा प्लान्ट बेस खाना भित्र्याउँदै गर्दा हामी भने उनीहरूले लत्याइसकेको पत्रु खाना आफ्नो खानामा घुसाउन लागिप¥यौँ । नशालु स्वाद विकास गर्न सकिने विन्दुको दुरूपयोग गरी बनाइएको पत्रु खानाको नशाबाट समाजलाई मुक्ति दिनेतर्फ हाम्रो ध्यान कहिल्यै पुगेन।(क्यानेडियन खाद्य तथा औषधिविज्ञ)

प्रकाशित: २४ वैशाख २०७७ ०३:३५ बुधबार

जंक_फुड शरीर