विचार

सत्य र असत्यको युद्ध

चाँदीका मुद्रा पाउने लोभमा क्राइस्टका चेला जुडासले गुरुप्रति घात गरेको प्रसंग आउँछ बाइबलमा । जुवामा परास्त गरेर राजा नललाई वनवास लखेट्ने उनकै भाइ पुष्कर थिए । कौरवका सय जना दाजुभाइमध्ये युयुत्सु मात्र पाण्डवका पक्षमा उभिए । दुर्योधन गलत छन् र पाण्डवहरू सत्यका पक्षमा छन् भन्ने उनको तर्क थियो । महाभारत युद्ध समाप्त हुँदा पाण्डव पक्षका सात र कौरवतर्फ चार जना मात्र जीवित रहेको धर्मशास्त्रका ज्ञाता बताउँछन् । सत्य र असत्यको युद्ध सत्य, त्रेता र द्वापर युग हुँदै आज पनि चलिरहेको छ । लाखौँले सत्यका लागि प्राणोत्सर्ग गरेका छन् । त्यस्तै अठोट र इमानले सत्यको बीउ जोगिएको छ ।

अमेरिकी सेनाका कमान्डरसमेत भएका पूर्वविदेशमन्त्री कोलिन पावेलले भनेका छन्– ‘मेरा बा लुथर पावेल र आमा माउद एरियल जमैकाबाट आएका थिए । उनीहरू अमेरिकी भएपछि अमेरिकालाई कसरी माया गर्नुपर्छ भनेर हामीलाई सिकाए । राष्ट्र भन्दा ठूलो केही हुँदैन भनेर सिकाए ।’ रामकथामा हजारौँ वर्षअघि नै लेखिएको थियो– ‘आमा र जन्मभूमि स्वर्गभन्दा महान् हुन्छन् । जननी जन्मभूमिश्चः स्वर्गादपी गरियसी ।’ पावेलले स्वीकारेका छन्– ‘अमेरिका बसाइँ सरेर आउनेहरूको देश हो ।’ राष्ट्रिय सुरक्षामाथि गम्भीर खतरा उत्पन्न हुन थालेपछि सन् २००१ को सेप्टेम्बर ११ को घटनालाई एउटा विन्दु मानेर देशभक्ति कानुन ल्यायो अमेरिकाले । घरमा पस्ने र बाहिरिनेहरूको अभिलेख त पहिले पनि हुन्थ्यो । सेप्टेम्बर ११ को घटनापछि झन कडाइ गरियो । अमेरिका विकारमुक्त छैन तर पहिले पहिलेको तुनलामा जातीय घृणा (जेनोफोबिया) न्यून छ ।

राजा ज्ञानेन्द्रलाई ‘पूर्वराजा’ घोषणा गर्नेहरू नेपाली जनतालाई ‘पूर्वनेपाली’ बनाइदिने खेलमा सक्रिय छन् । कुनै शक्तिशाली राष्ट्रलाई नेपाल बुझाउन पाए लन्ठा नै सकिन्थ्यो भन्ने ‘नेता’ पनि भेटिन्छन् ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको आठ वर्षपछि मात्र ब्रिटेनबाट स्वतन्त्र भएको हो अमेरिका, सन् १७७६ मा । सयौँ राष्ट्रले उपनिवेशबाट मुक्ति पाएपछि स्वतन्त्रता दिवस मनाएर गर्व गर्न थाले । काठमाडौँका विदेशी राजदूतहरूले आयोजना गर्ने गरेका त्यस्ता दिवसमा धेरैपल्ट पंक्तिकार सहभागी भएको छ । कतिपय विदेशीले सोधका छन्– ‘नेपालको स्वतन्त्रता दिवस कहिले पर्छ ?’ ‘नेपाल पराधीन भएन । त्यसैले हामी स्वतन्त्रता दिवस मनाउँदैनौँ भन्ने जवाफ सुनेपछि छक्क पर्ने विदेशी धेरै भेटिन्छन् । हाम्रा पुर्खाले सत्यका पक्षमा उभिएर राष्ट्र बचाए । यहाँका प्राचीन धर्म–संस्कृति बचाए । एउटा पुस्ताले घर, समाज र राष्ट्र सजीव राखेर भावी सन्तानलाई हस्तान्तरण गर्नु चानचुने कुरा होइन । घरमूली गतिलो भएन भने राजा नल जुवामा हारेर जंगल पसेझैँ दुर्भाग्य सुरु हुन्छ । तराईमा हजारौँ बिघा जमिन हुनेका सन्तान दरिद्र भएका उदाहरण हाम्रै समाजमा छन् ।

झापामा २०४८ सालमा कांग्रेस पार्टीको महाधिवेशनको रिपोर्टिङ गर्न गोरखापत्रबाट रमेश तिवारी, गोपाल चित्रकार र मलाई खटाइयो । रमेशजीका निम्ति झापा नौलो ठाउँ थियो । चन्द्रगढी बजारबाट भद्रपुरको पुछारमा पर्ने मेची नदीको किनारसम्म पुग्दा रिक्सा चालकले त्यहाँका आदिवासी राजवंशीहरूको कथा÷व्यथा सुनाए । उनी भन्दै थिए– ‘चन्द्रगढीबाट भद्रपुरको संगमचोकसम्म मेरा बाजेको तीन सय बिघा खेत थियो रे ।’ शुक्रलाल राजवंशी र संसारका कैयन् राजाको पीडा उस्तै छ । पुर्खाले संरक्षण गरेको माटो अरुले नै कब्जा गरे ।

गनगन गरेर बस्नुभन्दा हरेक टोल र गाउँबाट जनता सडकमा आएर विदेशी पैसाबेगर पनि क्रान्ति हुन्छ भन्ने देखाउनुपर्छ । राष्ट्र बचाउने र सत्य जोगाउने अन्तिम उपाय यही हो ।

राजा ज्ञानेन्द्रलाई ‘पूर्वराजा’ घोषणा गर्नेहरू नेपाली जनतालाई ‘पूर्वनेपाली’ बनाइदिने खेलमा सक्रिय छन् । कुनै शक्तिशाली राष्ट्रलाई नेपाल बुझाउन पाए लन्ठा नै सकिन्थ्यो भन्ने ‘नेता’ पनि भेटिन्छन् । सहरमा दूध भनेर पचास प्रतिशत जति पानी बेचिए जस्तै नेपाली राजनीतिमा राष्ट्रघातीहरू मिसिएका छन् । जनता  बोलेनन् र दलका भोटिङ मेसिन मात्र भए भने नेपाल रहँदैन । नेपाललाई ‘शक्तिशाली’ दलहरूबाटै खतरा छ । तीस वर्ष पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गर्ने गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले नेपाली कांग्रेस त्यागे, दलमा विदेशीसहित प्रबल भएपछि । एमालेमा भारतको स्वार्थ बलियो हुँदा महाकाली सन्धिमा उसले आत्मसमर्पण ग-यो । राष्ट्रवादको नारा लगाउने पूर्वपञ्चहरूले भारतकै प्रलोभनमा राप्रपा पार्टीलाई प्रयोग गरेर महाकाली सन्धि समर्थन गरे । सन्धिबाट खर्बौँ रुपियाँ फाइदा हुन्छ भन्ने खड्गप्रसाद ओलीले किड्नी त फेरे तर नियत बदल्न सकेनन् ।

अब्राहम लिंकनको जीवनी लेख्ने कार्ल स्यान्डवर्गले भनेका छन्– ‘लिंकन भन्थे, म कुनै पनि काम दुराशय राखेर गर्दिनँ ।’ यो वाक्यांशमा ठूलो अर्थ लुकेको छ । दूध बेच्नेले पानी मिसाउनु दुराशय हो । सुनमा तामा, बेसारमा मकैको पीठो, घ्युमा केरा र पिँडालु, पेट्रोलमा मट्टितेल र चामलमा कनिका मिसाउनु पनि दुराशय हो । मृत्युको मुखमा पुगेका बिरामीको ओखतीमा पनि कमिसन खाने, पाइला–पाइलामा माफिया पोसेर अर्बपति हुन चाहने र राजा महेन्द्र तथा त्रिभुवनका पालादेखिका उद्योग बेचेर धनी हुने ठूला दलका घटिया नेताहरूलाई जनताले नै दण्ड दिनुपर्ने बेला आएको छ । किनभने राष्ट्रघातीहरूलाई सलाम ठोकेर बस्ने राज्यका कुनै पनि संयन्त्रबाट ठूला अपराधी दण्डित हुने सम्भावना पटक्कै छैन । सत्य र असत्यको लडाइँमा दलका नेता र दासहरू कौरवतिर हुनेछन् । जनता सत्यका पक्षमा उभिए भने २०४७ सालपछि पटकपटक राष्ट्र लुट्ने र हजारौँ जनताका हत्यारा दृश्यबाटै हराउने छन् । तसर्थ, गनगन गरेर बस्नुभन्दा हरेक टोल र गाउँबाट जनता सडकमा आएर विदेशी पैसाबेगर पनि क्रान्ति हुन्छ भन्ने देखाउनुपर्छ । राष्ट्र बचाउने र सत्य जोगाउने अन्तिम उपाय यही हो । 

‘मलाई माया, प्रसिद्धि र धन चाहिँदैन, सत्य भए पुग्छ’– भनेका छन् हेनरी डेभिड थोरोले । मानिसका लागि तिर्खा र सत्यको खोजी गर्ने प्रवृत्ति निरन्तर चरित्र हो । सत्य बोल्नु र खोज्नु क्रान्ति हो । सत्यका पक्षमा उभिनु झन ठूलो कुरा । अर्बौँ मानिसबीच थोरै मानिस मात्र सत्यको सामना गर्न र त्यसका पक्षमा उभिन सक्छन् भन्ने कुरा प्रमाणित हुँदै आएको छ ।

विवेकशून्य, क्रोधी, प्रतिशोधी, असभ्य, अयोग्य र स्वार्थी ‘जनप्रतिनिधि’ मिलेर संसद्मा एकाउन्न प्रतिशतको बथान बनाए भने सरकार बन्छ । ४९ प्रतिशत सभ्य, योग्य र जनप्रियहरू अल्पमतमा पर्छन् । यो पनि ‘डेमोक्रोसी’ हुन्छ । असत्यले मान्यता त पाउँछ तर त्यो सत्य ठहरिँदैन । इराकमा सद्दाम हुसेनले रासायनिक हतियार थुपारेका छन् भनेर अमेरिकाले सद्दामसहित हजारौँलाई मारे पनि ‘रासायनिक हतियार’ कतै फेला परेन । पहिले विश्वले वासिङ्टनको कुरामा विश्वास ग¥यो । त्यो असत्य रहेछ भन्ने बुझेपछि दृष्टिकोण बदलियो ।

२००७ सालको क्रान्तिपछि मिथ्या बोलेर हजारपल्ट नेपालका दलहरूले जनतालाई ढाँटे । आज पनि ढाँटिरहेका छन् । सरकारमा जानुको अर्थ राष्ट्र र जनताको सेवा मात्र थियो भने कंगाल नेताहरू केही वर्षमै कसरी करोड रुपियाँको सम्पत्ति जोड्न सफल भए ? कांग्रेस, साना दल या वामपन्थी जो भए पनि दामपन्थी नै रहेछन् भन्ने प्रमाणित गरे । इमान, आत्मसम्मान र नैतिकता नभएकाहरू राजनीतिमा चाँडै ‘सफल’ भएका छन् । तर असल सावित हुन सकेनन् । राष्ट्रलाई चाहिने प्रचुर जनशक्ति शक्तिशाली नेताको प्रियपात्र बन्न नसक्दा निस्क्रिय छ । कृषि, उद्योग, व्यापार, प्रविधि, विज्ञान, कला, साहित्य, संगीत, खेलकुद, भौतिक विकास, धर्म–संस्कृति र राष्ट्रिय सुरक्षाका क्षेत्रमा लामो अनुभव भएका हजारौँ नागरिक छन् तर उनीहरू कुनै दलमा छैनन् । दलमा पसेर मादल बजाउनेहरू पनि भान्सेले नरुचाएकै कारण भोकै छन् । अर्थात सत्य लुकाएर सरकार मिथ्याको बर्को ओढिबसेको छ ।  

ससाना विषयमा पनि नेपाललाई सताइरहने छिमेकीले तत्कालीन युवराज दीपेन्द्रलाई पाकिस्तानले उपहार दिएका बाइसवटा घोडा नेपाल ल्याउन दिएन । पाकिस्तान भ्रमणका बेला दीपेन्द्रलाई प्रदान गरिएका घोडा कराँची बन्दरगाहबाट बम्बई (मुम्बई) सम्म पानीजहाजमा ल्याउने र त्यहाँबाट ट्रकमा राखेर काठमाडौँ पु¥याउने विषयमा नेपालले भारतसँग आग्रह गर्दा ‘मिल्दैन’ भन्ने जवाफ आयो ।

दीपेन्द्रको मृत्यु भएको उन्नाइस वर्षपछि पनि ती घोडा पाकिस्तानी सेनाको ब्यारेकमै छन् । पंक्तिकार सोह्र वर्षअघि पाकिस्तान भ्रमणमा गएका बेला त्यहाँका कूटनीतिज्ञ अक्रम जाकीले ‘त्यो कुरा मैले पनि सुनेको हुँ’ भनेका थिए । पंक्तिकारको सम्पादनमा प्रकाशित सारथि साप्ताहिकमा झन्डै बीस वर्षपहिले ‘दीपेन्द्रका घोडा’ शीर्षकको समाचार छापियो । प्राचीनकालमा घोडचढी सेनाले हमला गर्ने गर्थे तर दीपेन्द्रका घोडासँग भारत शंकित हुनुपर्ने कुनै कारण थिएन ।

बिपी कोइरालाका बहिनी ज्वाइँ अक्रम जाकीले धेरै टिप्पणी गरेनन् । तर नेपालप्रति सदभावना राखेर ती घोडा काठमाडौँ पु-याउन दिएको भए के बिग्रन्थ्यो र भन्ने धारणा व्यक्त गरे । पुष्कर राजभण्डारी ऊ बेला राजदूत हुनुहुन्थ्यो, पाकिस्तानमा । नेपालबाट गएका पत्रकारलाई बोलाएर रात्रिभोजमा उहाँले कूटनीतिज्ञ, सैनिक अधिकृत, लेखक, सम्पादक आदिसँग परिचय गराउनुभएको थियो ।

सत्य र असत्यको लडाइँमा सत्यको घाँटी दबाउने प्रयास सदैव हुन्छ । मिथ्याको प्रचार गरिन्छ । राष्ट्रको जहाज डुब्न लाग्दा पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्दै ठट्टा गरिरहेका छन् । सयौँ किलोमिटर पैदल यात्रा गरेर आफ्नै झुप्रामा फर्किन चाहनेका सचित्र समाचारमा ‘गम्भीर रहस्य’ देख्ने प्रधानमन्त्री केपी ओलीले सत्य स्वीकार गर्ने साहस देखाएनन् । पहिले पहिले दरवारका सचिव र राजाका प्रियपात्रहरूले ‘डग’ भनेको गड (ईश्वर) र ‘गड’ भनेको ‘डग’ (कुकुर) भनेर राजालाई पनि झुक्याउन खोज्थे भन्दै मानिस चिया दोकानमा गफ गर्थे । दयनीय आर्थिक अवस्था भएको परिवारमा जन्मेका कृत्रिम राजाहरूले पनि सत्य बुझ्न नसकेपछि वा नचाहेपछि जनतामा आक्रोस बढ्दैछ ।

नेपालीमा उखान छ– ‘एक माघले जाडो जाँदैन ।’ अर्को संसदीय चुनाव आएछ भने चेतनशील जनताले ठगहरूलाई ढुंगामुढा गरेर लेखेट्ने निश्चित छ । त्यस्ता बेलामा ‘आठ लाख सदस्य भएको’ नेपाल कमाउनिस्ट पार्टी होस् वा नालायक प्रतिपक्षीहरू, सबैलाई गाह्रो पर्न सक्छ । आग्रह–पूर्वाग्रह राखेको नठानियोस्, दिल्ल्लीमा भएको ‘बाह्रबुँदे’ षडयन्त्रपछि नेपाली राजनीति र कूटनीति विदेशीको हातमा पुग्यो । जनता नेपालीले मात्र राष्ट्रका बारेमा निर्णय गर्न पाउनुपर्छ भनिरहेका छन् । अर्थात् दलहरू असत्यपथमै छन् । जनताले सत्य बुझ्न थालेका छन् । त्यसैले अँध्यारा दिनहरूबाट बिस्तारै बिस्तारै राष्ट्रले घामको किरण देख्नेछ ।

प्रकाशित: १२ वैशाख २०७७ ०२:४६ शुक्रबार

स्वतन्त्रता राष्ट्रिय_सुरक्षा जन्मभूमि