कोरोना भाइरस संक्रमण मंगलबारसम्ममा ४१ पुगेको छ । योसँगै कोरोना संक्रमण ‘तेस्रो चरण’मा प्रवेश गरेको टिप्पणी विशेषज्ञहरूको छ । पहिलो चरणमा विदेशबाट आएका व्यक्तिमा मात्र संक्रमण थियो । दोस्रो चरणमा त्यो सरेर स्थानीय व्यक्तिमा पुगेको हो । अब यो समुदायकै तहमा ओर्लिएको छ । उदयपुरमा मात्रै यो संख्या २४ पुगेको छ । संक्रमितमध्ये पाँचजनाको उपचारपछि निको भइसकेको छ । अहिलेसम्म देशभित्र कसैको पनि यसले मृत्यु हुन पाएको छैन । एकातिर, यो सुखद खबर छ भने अर्कोतिर दैनिक बढ्दै गएको संक्रमित संख्याले चिन्तित तुल्याउनु स्वाभाविक हो । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बस्दै आएका ११ भारतीयसहित १३ जना कोरोना भाइरस संक्रमित देखिनु आफैँमा चिन्ताजनक हो ।
परीक्षणको दायरा बढाउँदै गएका कारण यो संख्या फेला परेको हो । खासगरी संक्रमित व्यक्तिसँगको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्दै परीक्षण गरेपछि मात्र वास्तविक संक्रमित संख्या थाहा पाउन सकिन्छ । उदयपुरमा यो संख्या अझै बढ्ने हो वा यतिमै सीमित हुन्छ अझै भन्न सक्ने अवस्था छैन । संक्रमित व्यक्तिहरूको कतिसँग सम्पर्क भएको थियो भन्ने जति चाँडो पत्ता लाग्छ, त्यति नै यसलाई नियन्त्रण गर्न सजिलो हुन्छ । अन्यथा, यो बढ्दै जाँदा लकडाउनमा रहनुपर्ने हाम्रो बाध्यता पनि लम्बिँदै जाने अवस्था आउन सक्छ । लकडाउन लम्बिने जानकारी प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले यसअघि दिइसकेका छन् ।
एकातिरकोरोना भाइरसको संक्रमण बढ्दैछ अर्कोतिर सरकारले ल्याएका राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी दुई अध्यादेशका कारण अस्थिर राजनीतिको संक्रमण पनि फैलिँदैछ । यो स्थितिमा कोरोनाको निहुँ बनाएर लकडाउनलाई अरु लम्ब्याउने उद्देश्य सरकारको हुन सक्छ । अन्यथा, कोरोना संक्रमणलाई ध्यानमा राखेर भौतिक दूरी कायम गर्दै आर्थिक क्षेत्र खुला गर्न नसकिने होइन । वास्तवमा कोरोनासँग लड्नका निम्ति लकडाउन व्यक्ति–व्यक्तिबीचको भौतिक दूरीका निम्ति हुनुपर्ने हो । अभ्यासका क्रममा लकडाउन आर्थिक गतिविधिमा मात्र देखिन थालेको छ ।
लकडाउनकै बेलामा दलका कार्यकर्ताले राजधानी काठमाडौँबाट गाउँतिर सर्वसाधारणलाई लैजान थालिसकेका छन् । यसअघि वास्तविक मजदूर वर्गलाई समस्या परेर राजमार्ग हुँदै पैदलै देशका विभिन्न भागमा गएको देखिएको हो । पछिल्ला दिनमा भने विभिन्न स्थानीय सरकारले राजधानी उपत्यकाबाट आफ्नो क्षेत्रका बासिन्दा लिएर गएको देखिन्छ । राजधानीबाट सोमबार र मंगलबार यसरी लैजाँदा खासै भौतिक दूरीको ख्याल गरेको पाइएन । यसले लकडाउन त आर्थिक गतिविधिलाई मात्र रहेछ भन्ने भान पर्न थालेको छ ।
झण्डै एक महिना भइसकेको हुनाले अब क्रमशः लकडाउन खोल्नतिर लाग्नु उचित हुन्छ । त्यसका लागि कोरोना भाइरस देखिएका खतराजन्य स्थानलाई पूर्ण लकडाउनको स्थितिमा राख्नुपर्छ । उदयपुरलाई अहिले पूर्णरूपमा सिल गरेर राख्ने निर्णय भएको छ । यस्तो निर्णयको कडाइसाथ पालना गराई त्यहाँ संक्रमितको पहिचान र उपचार हुनुपर्छ । बाँकी ठाउँलाई क्रमशः खोल्नुपर्छ । भौतिक दूरी भने सामान्य अवस्थामा पनि कायम राख्ने अभ्यासलाई निरन्तरता दिनुपर्छ । लकडाउन केबल सर्वसाधारणलाई कुनै गतिविधि गर्न नदिने उद्देश्यले मात्र गर्नुहुँदैन ।
अहिले समस्या देखिएको भारततर्फको सीमामा हो । उताबाट नेपाल प्रवेश गर्ने व्यक्तिबाटै कोरोना आइरहेको छ । त्यसको जिउँदोजाग्दो उदाहरण उदयपुर हो । बेलैमा उताबाट आउने व्यक्तिमा ध्यान पुग्न सकेको भए अहिले यो संकटको अवस्थामा हामी पुग्ने थिएनौँ । त्यसकारण भारतसँगका जति पनि सीमा छन्, तिनलाई पूर्णरूपमा बन्द गर्नैपर्छ । बरु हाम्रा नागरिक जो उता छन्, तिनको हेरचाह राम्ररी गरिदिन भारत सरकारसँग आग्रह गर्नुपर्छ । यता रहेका भारतीय नागरिकलाई हामीले हेरचाह गरिदिने र संक्रमित भारतीयको उपचारको प्रबन्धमा कुनै कसर नराखिने आश्वासन दिनुपर्छ । यति गर्न नसक्ने हो भने हामी न कोरोना भाइरस मुक्त हुन्छौँ न अहिले धराशायी हुँदै गएको अर्थतन्त्र उठाउन सक्छौँ । अहिलेको संकटबाट मुक्त हुने एक मात्र उपाय भनेको बाहिरबाट थप संक्रमित आउन नदिनु हो । भएका बिरामीलाई आमसमुदायबाट अलग्याएर उपचार गराउनु हो ।
अहिले पनि भारतसँग सीमा जोडिएका २, ५ र सुदूर पश्चिम प्रदेशमा पारिबाट व्यक्तिहरूको प्रवेश क्रम रोकिएको छैन । भारततिरबाट त्यहाँका सुरक्षाकर्मीले सर्वसाधारणलाई नेपालतिर ल्याएर छाड्ने गरेका छन् । भर्खरै सर्लाहीमा यस्तै प्रकृतिको घटना भयो । भारतसँग जोडिएका सीमा क्षेत्रमा भइरहेका यी गतिविधिबाट नेपाली सुरक्षाकर्मी आजित हुन थालेका छन् । यता ल्याइदिएका व्यक्तिलाई फेरि फर्काएर लैजानुपर्ने अवस्था निरन्तर दोहोरिन थालेको छ । यस्तो स्थिति समाधानका निम्ति २४ घन्टा सुरक्षाकर्मीलाई उच्च तैनाथीमा लैजानुपर्ने देखिन्छ । बरु देशभित्रका ठाउँमा लकडाउन कार्यान्वयन गर्न स्वयंसेवी प्रयोग गर्न सकिन्छ । स्वयंसेवी प्रयोग गर्ने विधि नेपाली सेनाले प्रस्तुत गरिसकेको पनि छ ।
हामीकहाँ कोरोना भाइरस बाहिरबाटै उपहारका रूपमा आएको हो । र, यो अहिले समुदायको तहमा पुगिसकेको छ । यो फैलिँदै गएमा हाम्रो स्वास्थ्य संरचनाले उपचार गराउन सम्भव छैन । त्यसैले सावधानीकै उपाय अपनाउने हो । सावधानीसँगै संक्रमणको प्रभाव कम देखिएका ठाउँ खोल्दै जाने रणनीति पनि हुनुपर्छ । यस क्रममा विभिन्न संगठित उद्योग÷प्रतिष्ठान र कार्यालय पनि खुल्न थाल्नुपर्छ । यी सबैले भौतिक दूरी कायम गर्दै काम गर्नुपर्छ । अझै ठूला भीडभाड, जात्रा आदि हुन् भने रोक लगाइरहनुपर्छ । कोरोनाका नाममा आर्थिक मरणको अवस्था भने सिर्जना गर्नुहुँदैन । अहिले आवश्यक नभएको अध्यादेशका निम्ति जुन तत्परता प्रधानमन्त्री ओलीमा देखियो, त्यस्तो तत्परता आर्थिक क्षेत्र उठाउनका निम्ति हुनुपर्छ ।
प्रकाशित: ११ वैशाख २०७७ ०३:२४ बिहीबार