विचार

कोरोना भाइरस नियन्त्रणमा समुदायले कसरी काम गर्न सक्छ ?

नोभल कोरोना भाईरस २०१९ (कोभिड १९) को नियन्त्रणमा संसारका देशहरुले आफ्नो ढंगले कार्यक्रम संचालन गरेका छन्। नेपालले पछिल्लो दशकमा स्वास्थ्यका सूचकांङ्कहरुमा क्रमशः सुधार गरेको भएता पनि पोषणको अवस्था त्यति संन्तोषजनक छैन। नेपालमा ४३ प्रतिशत बालवालिकामा पोषण प्रर्याप्त छैन। त्यसमा पनि विभिन्न उमेर समूह र भौगोलिक क्षेत्रका मानिसको पोषणको अवस्थामा एकरुपता छैन। नेपालले विभिन्न समयका स्वास्थ्य सर्भे अनुसार यहाँ रक्तचाप, मधुमेय, रक्सी सेवन गर्ने, धुम्रपानको समस्या उच्च रहेको देखाएका छन। अर्को तर्फ नेपाल लगायतका अधिकांस विकासोन्मूख देशहरुसंग कोरोना जस्तो अप्रत्यासित विश्वब्यापी महामारीको सामना गर्न सक्ने सक्षम प्रणालीको अभाव छ। यस परिस्थितिमा कोभिड संक्रमणले दोस्रो चरण तर्फ प्रवेश गरेको आभाष भै रहेको हालको अवस्थामा रणनैतिक योजना बनाएर यसको विस्तार र आम मानिसको स्वास्थ्यमा नकारात्मक असरलाई कम गर्न देशले नविन पद्धति अवलम्बन गर्नु पर्दछ।

विश्व स्वास्थ्य संगठनले २०७६ फाल्गुण २८ मा यो रोगलाई विश्वब्यापी महामारी घोषण गरेदेखि आज सम्म आई पुग्दा संसारका २०३ देशमा पौने १४ लाख मानिसमा कोभिडको संक्रमण फैलिसकेको र ७६ हजार भन्दा बढी ब्यक्तिको मृत्यू भै सकेको छ। नेपालमा यो रोगको पहिलो संक्रमित ब्यक्ति  २०७६ पौष २८ (जनवरी १३) मा पत्ता लागेको थियो। जुन बेला यस रोगको पहिलो ईपिसेन्टर मानिएको चीनको उहान शहर बाहेक चीनका अन्य प्रान्त र छिटफुट संक्रमित ब्यक्ति एसिया, युरोपमा देखिएका थिए। नेपालमा पहिलो केशको सफल उपचार भै डिष्चार्ज भए पछि अर्को केश लामो समयको अन्तरालमा २०७६ चैत्र १० मा देखा परेको थियो। यस विचमा संसारका अन्य देशमा यो रोगले विकराल रुप देखाउँदै थियो। उक्त दोस्रो केश पछि थपिएका सातवटा विरामी छोटो छोटो अवधिको अन्तरालमा पहिचान भएका हुन। धनगढीमा पत्ता लागेको पछिल्लो विरामी स्थानीय संक्रमण भएको बताईएको छ। जुन महामारीजन्य रोगको विस्तारको चरणको परिभाषाका आधारमा दोस्रो चरणमा प्रबेश गरेको मानिन्छ।

हरेक बडा स्तरमा जनप्रतिनिधिहरु छन, हरेक टोलमा टोलविकास समिति छन, विभिन्न समूहहरु गाँउगाँउमा गठन भएका छन, यस क्रममा राज्यले त्यस्ता सकृय समूहलाई जिम्मेवारी दिएर चाहिएको लगत मात्र संकलन गरेको भए ता पनि हाम्रा रोकथामका प्रयास बढी प्रभावकारी हुने थिए।

नेपालको स्वास्थ्य प्रणाली आफैमा निकै फितलो र अपूर्ण रहेको महशुस सबै जनमानसले गरेका थिए।  २०४८ सालको राजनैतिक प्रणालीको परिबर्तन पछि स्थापना गरिएको प्रणालीले बदलिदो परिप्रेच्छमा राज्यको तल्लो तहसम्म सामान्य उपचार सेवा प्रदान गर्दै आएको थियो। पछिल्लो चरणमा विश्वब्यापी जनस्वास्थ्य संकटको रुपमा देखा परेका SARS (2003), Novel Influenza (H1N1) 2009, / Novel Coronavirus Disease 2019 (COVID-19) सम्म आईपुग्दा हाम्रो स्वास्थ्य प्रणाली लाचार रहदै आएको महशुस भएको छ। जबकी अन्य विकसित, विकासोन्मुख देश लगायत दक्षिणपूर्वि एसिया लगायतका देशका अनुभव र पूर्वतयारी निकै भिन्न रहेको पाईन्छ।

चीनको उहानबाट नजिकका एशियन देशहरुमा यसको असर निकै ढिलो शुरु भएको देखिन्छ। यस सम्बन्धमा फरक फरक अनुमान गरिएको पाईन्छ। यद्यपी यस भूगोलमा जनसंख्यिक निम्न विशेषताको प्रभाव हुन सक्छ। यस क्षेत्रमा विश्व जनसंख्यको ८.५ प्रतिशत जनसंख्या बास गर्दछ। जसको मेडियन उमेर ३०.२ बर्ष, जब की चीनमा संक्रमित जनसंख्याको मेडिएन उमेर ३८.४ वर्ष र युरोपका मेडिएन उमेर ४३.१ बर्ष थियो। आर्थिकरुपमा सम्पन्न राष्टहरुमा यो रोगको उच्च जोखिममा ६० बर्ष माथिका दीर्घरोग लागेका मानिस रहेका छन। दक्षिणपूर्वी एसिया र अफ्रिकाका देशहरुमा यूवा र आर्थिकरुपमा सकृय उमेर समूहका मानिसहरु समेत उच्च जोखिममा रहेको तथ्यले देखाउँछ। यद्यपी युवाहरु विश्वब्यापी महामारीमा कम प्रभावित हुने उमेर समूह मानिने भएता पनि कोभिडको जोखिममा दक्षिणपूर्वी एसियाका युवा बढी संक्रमित भएको तथ्य थप अध्ययनको बिषय हुन सक्छ।

यसको सम्वन्धमा जनस्वास्थ्यको दृष्टिकोणबाट हेर्दा यस क्षेत्रमा रहेको कुपोषण, रक्तअल्पता, कालाजार, एचआईभी, क्षयरोग आदीको उच्च दरको केही भूमिका हुन सक्छ। यस क्षेत्रमा दीर्घ रोग (मुटुरोग, श्वासप्रश्वास, रक्तचाप, मधुमेय, क्यान्सर आदी) का अलावा साधारण मौसमी रोगको (जस्तै गर्मीमा झाडापखाला, जाडोमा श्वासप्रश्वास, निमोनिया) संक्रमण र चोटपटक वा दुर्घटनाका कारण पनि मानिसहरुको स्वास्थ्य प्रभावित भएको पाईन्छ। पछिल्लो समयमा नेपाल लगायतका दक्षिणपूर्वी एसियाका देशमा डेङ्गे फिभर, ईन्फ्लुयन्जा लगायतका नयाँ नयाँ स्वास्थ्य समस्याहरु देखा पर्ने गरेका छन। यस क्षेत्रमा (सुसुप्त रुपमा) ब्याप्त रहेका जनस्वास्थ्य समस्याको भार माथि हालै कोभिड १९ थपिएको छ। यसले यस क्षेत्रमा कुन स्तरमा असर पार्ला त्यो हेर्न बाँकी छ। तर उपलब्ध तथ्यका आधारमा हाम्रो देशले पाको उमेरका साथै उत्पादन उमेर समूहका मानिसहरु गुमाउनु पर्ने हुन सक्छ। किनकी यहाँका मानिसमा रहेको कुपोषण, रक्तअल्पता, कालाजार, एचआईभी, क्षयरोग जस्ता स्वास्थ्य समस्याले कोभिडको महामारीलाई थप जटिल बनाउने छ। यदी समयमै नियन्त्रण हुन सकेन भने। विश्व भरको रोगको तथ्याङ्क विश्लेषण हेर्दा संक्रमित मध्ये अधिकाँशलाई आफै निको हुन्छ।  कुल संक्रमित मध्ये करिब पाँच प्रतिशतलाई मात्र उपचारात्मक सेवाको आबश्यकता पर्दछ। तर नेपाल लगायत दक्षिणपूर्वी एसियाका देशहरुमा फरक खालको परिदृष्य देखिन सक्नेछ। यस अर्थमा कोभिड १९ का कारण नेपालले ठूलो क्षति ब्यर्होनु पर्ने अनुमान गर्न सकिन्छ।

नेपालको अर्को विशेषता भनेको हाम्रा समाजिक सहअस्तित्ब, सहकार्य र बशुधैव कुटुम्वकम हो। हाम्रा चाड पर्ब, साँस्कृतिक रितिरिवाज,  मेलापात, हाट बजार, सामुहिक खेतिपाती देखि गाँउबस्ति टोलटोलमा बच्चा देखि बृद्धहरुका समूहगत दैनिक गतिविधिले यो कुरालाई प्रस्ट्याउँछन। यो हाम्रो मौलिक संस्कृति हो, हाम्रो सम्पत्ती हो, हाम्रो बल हो। तर कोभिड १९ ले हामीलाई त्यस्ता गतिविधिबाट टाढा बनाउन खोज्दै छ। नेपालका पुराना चाडहरु विश्केट जात्रा, घोडे जात्रा देखि अन्य पर्बहरु विगत बर्ष झै हर्ष उल्लासका साथ मनाउन पाईएन। हाम्रा सामाजिक भेला समारोहहरु कटौती गरिए, धार्मिक स्थलहरु सुनसान छन। सार्बजनिक स्थल, बाटाघाटामा मानिसलाई निषेध गरिएको छ। यसले हामीलाई मानसिक, आर्थिक, सामाजिकरुपमा प्रतिकूल असर पारेको छ। विभिन्न देशमा प्रतिबन्धलाई प्रतिकारमा उत्रिएका नागरिक माथि राज्यको बल प्रयोगदेखि अर्को तर्फ जन भावना अनुसार उदार भएर जनतालाई निर्बाध जीवनयापन गर्न दिने (तान्जानिया) सरकारको कदम माथि विश्व स्वास्थ्य संगठन लगायत अन्य विश्वले दिएको धम्कीयुक्त दवाबलाई के भन्ने ?

नेपालको लागि कोभिडको ब्यवस्थापन गर्न प्रत्यक्ष रुपमा तीन प्रकारका चुनौतिहरु छनः

१. स्वास्थ्य प्रणाली

२. प्राविधिक पक्ष (जनशक्तिको तयारी, आबश्यक पुर्वाधारको बन्दोवस्त अपर्याप्त)

३. नेतृत्व (निर्णय अपारदर्शी, नीति नियमको कार्यान्वयनमा कमजोरी)

हाम्रो स्वास्थ्य प्रणालीको खाका करिव ३० बर्ष अघि तात्कालिन आवश्यकता पूर्ति गर्न खडा गरिएको थियो। अनेक विसंगतिका बावजुत यो प्रणालीले बच्चाको खोप, मातृस्वास्थ, बालस्वास्थ्य जस्ता अत्यान्त संबेदनसिल विषयमा सराहनिय काम गरेको हो। जनताको जीवनस्तर र सरदर आयुमा बृद्धि संगै जोडिएर आएका चुनौति र स्वास्थ्य समस्याको ब्यवस्थापनका लागि देशको स्वास्थ्य नीतिले अंगिकार गरेका कार्यक्रम सम्पादन गर्न स्वास्थ्य प्रणालीमा केही परिमार्जन भयो तर सधै जनताको मन जितेर सेवालाई विबिधिकरण गर्दै गुणस्तरिय सेबा दिने नसक्नुको परिणाम स्वरुप कोभिड जस्ता समस्याको ब्यबस्थापनमा हाम्रो प्रणाली निरिह जस्तै भएको महशुस भएको छ। निजी क्षेत्रका स्वास्थ्य संस्थाले राज्यलाई भर साथ दिनु पर्छ।

हाम्रो स्वास्थ्य प्रणालीमा प्राविधिक जनशक्ति र पूर्वाधार फितलो भएको यथार्थ हो। फलत उपलब्ध स्वास्थ्य सेवाको वितरणमा केही कमजोरी भएको देखिन्छ। उपलब्ध सेवालाई राज्यले सबै क्षेत्रमा समानुपातिक वितरण गर्न चुके कै हो। त्यसमा पनि आपतकालिन सेवा र सघन उपचारको सम्वन्धमा नेपालको तयार प्रर्याप्त भएन फलस्वरुप कोभिड १९ को गंभिर अवस्थामा श्वासप्रश्वास प्रणालीले निस्कृय हुदाँ भ्यान्टिलेटर र अक्सिजन सहितको सघन उपचार कक्ष आवश्यकता पर्दछ। तर नेपालमा यस्तो सुविधा अत्यान्त न्यून छ, जहाँ छ, त्यो पनि पूर्ण क्षमतामा काम गर्न सक्षम छैन।

नेपालमा यस रोगको जाँच क्षमता बढाउन र उपचारको सुबिधाका लागि अत्याबश्यक सामाग्री खरिदको सम्बन्धमा हाम्रो तयारी परिपक्क र पारदर्शी नभएको महशुस भयो। कोरोना १९ को सम्वन्धमा इटाली, स्पेन, चीन लगायतका देशले अवलम्बन गरेको सघन उपचारको विधि नेपाल जस्ता देशहरुले अनुसरण गर्न कठिनाई छ। यसको लागि उच्च प्रबिधि र दक्ष चिकित्सा जनशक्तिको उचित समायोजन आबश्यक हुन्छ।

 सरकारले समय मै देशलाई बन्दाबन्दि को घोषणा गरेर बुद्धिमता निर्णय गर्यो। शुरुमा एक हप्ताको लागि जारी लकडाउन हाल तेस्रो हप्तासम्म जारी रहेको छ। यो अबधिसम्म आई पुग्दा हामीले कोभिडको फैलाबट रोक्न निश्चित दुरी कायम गर्ने, ब्यक्तिगत सर्तकता अपनाउने, हात धुने जस्ता अत्यान्त उपयोगी उपायलाई शहर र गाँउमा थप प्रभावकारी ढंगले लागु गराउने उपायको खोजी गर्न थप कौशलता देखाउनु पर्दछ। केही अपबाद छोडेर जनताले आफनो स्थानबाट सचेत हुने र आफै सुरक्षित रहने तर्फ अधिकतम प्रयास गरि रहेकै छन। क्रमश जनताको धैर्यको बाँध फुट्ने अवस्था अव आउन सक्छ। संचित गरेको खाद्यान्न र पैसा सकिदै गए पछि खानाको खोजीमा भौतारिने अवस्थाका छिटफुट घटना देखिन थालेका छन। यसको सुलभ ब्यवस्थापन गर्न सरकारले नविन विधि प्रकृया अपनाउनु जरुरी हुन्छ। स्थानिय निकायहरु कसलाई राहत चाहिन्छ भन्ने यकिन गर्न सक्षम हुनु पर्छ। उपलब्ध स्रोत साधनको न्यायिक वितरण हुनु पर्छ। अन्यथा सिनेगल लगायतका देशमा फैलिएको लुटपाटका घटना यँहा पनि नदेखिएला भन्न सकिन्न।

देश महामारीको दोस्रो चरणमा प्रबेश गर्यो त भन्यौ तर थप नयाँ संकमित ब्यक्ति पत्ता लागेका छैनन। यसका दुई कारण हुन सक्छन, पहिलो हाम्रो संयन्त्रले संभाब्य संक्रमित ब्यक्तिलाई यकिन गर्न सकेको छैन। यतिसम्म की एक मात्र अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गरेका ब्यक्तिले स्वयं भरेको ईमिग्रेसनको फारममा उल्लेखित विवरणको आधारमा त्यस्ता ब्यक्तिसम्म पुग्न र संभावित संक्रमितको संम्पर्कमा आएका ब्यक्तिको पहिचान गर्न सकिएन। अर्को तर्फ संभावित संक्रमित ब्यक्तिहरु सामाजिक भेदभाव र हेलामा परिने डरले घर समाजमा लुकेर बसेका हुन सक्छन। उनीहरुले एक जनाले कम्तिमा ४ देखि ५ जनालाई संक्रमित बनाएको अवस्थामा यसको महामारी थप जटिल हुनेछ। बाहिरबाट आएका ब्यक्तिमा संक्रमण पाईने संभावना क्रमश कम हुदै जाने र उनीहरुबाट स्थानियमा संक्रमण फैलिने उच्च संभावना भएको कारण यो अवस्थामा धेरै भन्दा धेरै मानिसलाई जाँच गर्नु पर्ने हुन्छ।

नेपालले दैनिक ३००० जनाको कोरोनाको जाँच ल्वाव परीक्षण गर्न सक्ने प्रविधिको त जोहो गयौं तर परीक्षण गरिने नमूना संकलन अहिले ठूलो भारी भएको छ। एक प्रदेश सरकारका सामाजिक विकास मन्त्रीले भन्नु हुन्थ्यो, महंगो मेसिन विदेशबाट खरिद गरि हाम्रो स्थानमा आयो हामी खुशी भयौ तर यहाँ त मेसिनमा परीक्षण गर्न नमूना संकलन हुन सकेको छैन। यो काम सरकारको स्थायी संयन्त्रले गर्नु पर्ने हो। सायद स्वास्थ्यको स्थायी संयन्त्रबाट काम नहुने देखेरै हुन सक्छ, पछिल्लो समयमा नियमित जस्ता नमूना संकलन जस्ता काममा पनि प्रहरी र सैनिकलाई परिचालन गरेका देखिन्छ। पछिल्ला पटक चैत्रको २१ गते नेपाल प्रहरीको टोलीले धनगढी र कंचनपुरबाट संकलन गरेका नमूना परीक्षणबाट तीन जनामा संक्रमण पत्ता लागेको आज हप्तादिन भै सक्दा थप नयाँ संक्रमित देखिएको छैन।

;सरकारले बाहिर कतै परीक्षण नगरिएको Rapid test kit को प्रयोग गर्ने निर्णय गरि तीन जिल्लामा टोली परिचालन गरेको सुनिएको छ। यसले नतिजा सही दिएन भने त्यसको परिणाम के होला? अरु देशको अनुभवमा उच्च प्रविधि युक्त्त ल्यावमा लगातार दुई वा तीन पटकको परीक्षणमा नेगेटिभ नतिजा आएका विरामीको पछि पोजेटिभ रिजल्ट आएको केश क्यानाडा, इटलीमा आएका थिए। Rapid test kit ले नेगेटिभ नतिजा देखाएका ब्यक्ति सेल्फ क्वारेन्टाईनबाट खुला भै जाने र उनीहरुबाट थप संक्रमण फैलिन गएमा राज्यको यो निर्णयलाई कसरी सही मान्ने होला। कम्तिमा आम प्रयोगमा लैजानु अधि राष्टिय जनस्वास्थ्य प्रयोगशाला मार्फत त्यस्ता किटको गुणस्तर प्रमाणित गरेर लैजानु उपयुक्त हुन्थ्यो।

अहिलेको परिस्थितिमा शहर भन्दा गाउँहरु बढी जोखिममा रहेको हुन सक्छन। वैदेशिक यात्राबाट  आएका वा अन्य ब्यक्तिहरु अहिले गाउँमा पारिवारिक, सामाजिक तथा मनोरंजनात्मक क्रियाकलापमा सहभागि भै रहेका छन। गाँउमा रक्सीको उपभोग घटेको छैन, पसल बजार मेलापात पधेरा सबै तिर मानिसहरु जमघट हुने भएबाट ढिलो चाडो कोभिडको विस्फोट गाउँबाट हुन सक्ने छ। सरकार स्थानीय तहलाई जिम्मेबार बन्न अर्ति दिन्छ तर आफ्ना रबैया त्यस तर्फ लक्षित छैनन। देशका ७५३ पालिकामा च्बउष्म Rapid Response Team परिचालन गर्ने, कोभिडमा उक्त टिमको भूमिकाको सम्बन्धमा गरेका निर्णय स्थानीय तहलाई जानकारी गराईएको छैन। हालै आएर महिला स्वास्थ्य स्वयंसेविकालाई सेल्फ क्वारेन्टाईनको निगरानी गर्न खटाउने निर्णय भएको भन्ने सुनियो। बिना सावधानी र विना अभिमुखिकरण त्यो निर्णय कसरी कार्यान्वयन हुने होला ? हरेक बडा स्तरमा जनप्रतिनिधिहरु छन, हरेक टोलमा टोलविकास समिति छन, विभिन्न समूहहरु गाँउगाँउमा गठन भएका छन, यस क्रममा राज्यले त्यस्ता सकृय समूहलाई जिम्मेवारी दिएर चाहिएको लगत मात्र संकलन गरेको भए ता पनि हाम्रा रोकथामका प्रयास बढी प्रभावकारी हुने थिए।

अर्को महत्वपूर्ण पक्ष भनेको धार्मिक क्षेत्र हो। विभिन्न धर्म सम्प्रदायका अगुवाहरुले आफ्ना मातहतका ब्यक्तिहरुलाई कोभिडको ब्यवस्थापनमा जिम्मेवार बन्न बनाउन धेरै योगदान दिन सक्थे तर त्यसमा उनीहरु चुके। कहि कतै त भ्रामक पर्चाबाजी गरेको सुनियो जुन अपराध नै हो। राजनैतिक दल केबल रोक र हेरको अवस्थामा स्थिर बसेका छन। यो बेला मुकदर्शक भएर बस्ने बेला होईन। लकडाउनलाई थप बलियो बनाउदै अन्य संचारका माध्यमबाट ब्यक्तिका लगत संकलन गर्ने, बढी भन्दा बढी नमूना संकलन र परीक्षण गराउन सघाउनु पर्थ्यो। संकास्पद संक्रमितहरुलाई अरुबाट छुट्यार राख्ने गतिविधि र निगरानी गर्ने कार्यको जिम्मेवारी स्थानिय निकायले संहाल्नु पर्ने थियो।

राज्यले आफ्ना जनताको सुख सुविधाको लागि अधिकतम लचकता अपनाउनु पर्दछ। आज सरकारी संयन्त्रहरु (केन्द्र देखि स्थानीय तह) का बिचमा आपसी समन्वय थप सबल बनाउनु आवश्यक छ। नेपाल आधुनिक प्रबिधिको प्रयोग अत्यावश्यक अवस्थामा मात्र सिमित राखि अधिकतम रुपमा समुदाय परिचालनको माध्यमबाट रोगको फैलाबट रोक्न सकेमा, विगतदेखि जनस्वास्थका समस्याका रुपमा रहेका समस्यालाई कम गर्ने तर्फ पनि उत्तिकै सजग भएर कार्य संचालन गर्न सकियो भने आगामी दिनमा समेत यस्ता प्रलयकारी विपत्ती आई परेका खण्डमा पनि सहजरुपमा लड्न सकिने छ।

(लेखक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनस्वास्थ्य संकायमा कार्यरत छन्)

प्रकाशित: २८ चैत्र २०७६ ०५:१० शुक्रबार

कोरोना_भाइरस कोभिड_१९ समुदाय