विचार

लकडाउन कहिलेसम्म ?

मात्र तीन महिनाअगाडि नोबेल कोरोना भाइरसबारे कसैले केही सुनेका थिएनन्। आज हरेक मुलुकमा कोही न कोही यो रोगबाट संक्रमित बनिसकेका छन्। जतिसुकै सबल र सक्षम मानिएका मुलुकले समेत यो महामारीमा आफ्ना जनतालाई परेका बेला हिजो हामीले सामान्य ठान्ने गरेको एकसरो मुख छोप्ने मास्कसमेत पुर्‍याउन नसकेका टिभी र युट्युबमार्फत प्रसारित दृश्य टुलुटुलु हेर्नुपर्दा नाटक हेरेजस्तो लाग्ने गर्छ। आफ्ना नागरिकलाई यो संक्रमणबाट जोगाउन ज्यानको बाजी राखेर अघि बढेका डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरू मात्र आफूलाई सुरक्षा गर्ने पिपिइ नपाएर आफ्नो पेसागत धर्म निर्वाह गर्दा आफैँ कोभिड–१९ को संक्रमणमा परी कतिपयको ज्यानसमेत गुमेको अवस्था भयाबहभन्दा माथिल्लो ठानिनुपर्छ।

यो महामारी एक सक्षम विकसित मुलुकबाट अर्को सक्षम विकसित मुलुक पुग्ने क्रम पहिला देखा पर्‍यो। तपाईँ हाम्रो सौभाग्य नै होला, यो महामारीले अरूभन्दा पहिले हामीलाई संक्रमण गर्न पाएन। अब क्रमशः हाम्रो मुलुकतिर संक्रमणको लहर भित्रन खोजेको महसुस गराउँछ। नेपाल अल्पविकसित र तुलनात्मकरूपमा अरूको भन्दा कम साधनस्रोत सम्पन्न मुलुक भए तापनि अन्य देशमा महामारी फैलँदा के भयो, यो महामारीको असर उनीहरूले कसरी न्यूनीकरण गर्न सके भनी उनीहरूको अनुभवबाट सिकेर अघि बढ्न पाउने अवसर हामीसँग छ। असर न्यूनीकरण गर्न सकिने तरिकाको ज्ञान साधन र स्रोतको उपलब्धता भन्दा ठूलो मूल्यको रहेकाले हामीले हामीलाई उपलब्ध उक्त अवसर भरपुर सदुपयोग गरेर अघि बढ्नु अत्यन्त बुद्धिमानी कदम हुनेछ। 

विश्व अनुभवले कोभिड–१९ को महामारीलाई कुनै पनि मुलुकले हल्कारूपमा लिन नहुने बताइरहेको छ। सम्पूर्ण राष्ट्रका लागि नै यो अत्यन्त भयाबह चुनौतीका रूपमा खडा भएको छ। कोभिड–१९ नामक आँखाले देख्न नसकिने हाम्रो साझा शत्रुविरुद्धको लडाइँका लागि हामीसँग अन्य मुलुकको तुलनामा राम्रो साधन र स्रोत पक्कै नहोला तर प्रत्येक नेपालीमा विपत्तिको समयमा जागृत हुने डिएनएमा रहेको भाइचारा र सहयोगी मन हाम्रो सबैभन्दा उत्कृष्ट सम्पत्ति हो। तसर्थ, यो समयमा  हामीले यो पक्ष, ऊ पक्ष, यो पार्टी, ऊ पार्टी, यो सरकार, यो जनता केही नभनी हाम्रो साझा शत्रुविरुद्ध जति छिटो एकजुट भएर लड्न तयार हुनेछौँ त्यति चाँडो यो युद्ध जित्नेछौँ। कोरोनाबाट गम्भीररूपमा संक्रमित विभिन्न मुलुकले आफ्नै पाराको जटिलता भोगेका भए तापनि उनीहरू सबैले भोगेका केही अनुभव समान प्रकृतिका छन्।

जबसम्म सरकार आफैँ समुदायमा कोभिड–१९ भाइरस फैलिरहेको अवस्था नरहेको एकिनसम्म पुग्दैन तबसम्म मुलुक लकडाउन गर्नुपर्ने बाध्यता रहन्छ

संक्रमण सुरु हुँदै गर्दा प्रायः सबै विकसित देशमा कोभिड–१९ जस्तो फरक प्रकारको महामारी र त्यसले निम्त्याएको सामाजिक फरक प्रकारको व्यवस्थापनको चुनौतीसँग भिडेर समाधान गरेको अनुभव थिएन। जतिसुकै विकसित भए पनि कोभेड–१९ को चरित्रबारे उनीहरू पूर्ण जानकार थिएनन्। कोभेड–१९ मा रामवाण बन्न सक्ने अचुक औषधि थिएन। नपत्याउँदो तरिकाले संक्रमणले अस्पतालहरूमा थेग्नै नसक्ने गरी बिरामीहरू थुपारिरहेको थियो। यसो गरे होला कि उसो गरे होला कि भन्दै जाने र सम्भव भए जति सबै उपाय प्रयोग गरिँदै गर्दा महामारी उग्र बनिदिएको थियो। फलतः उनीहरूको राज्य संयन्त्र तहसनहस मात्र बनेन, हताससमेत बनेको देखिन्थ्यो। समस्या सबैलाई थाहा थियो। समस्याको मूल कारण र त्यसको अचुक उपचार पहिचान भइसकेको थिएन। हालसम्म पनि छैन। समस्याको जरो के भन्ने मेसो नपाइसकेको अवस्थामा रोगको निदानका लागि मूल कारकको उपचार गर्ने विकल्प उपलब्ध हुन सम्भव थिएन। भएन।

रोगका कारण पैदा भएका लक्षणहरूको उपचारमा अस्पतालहरू लागेका थिए। आज पनि लागिरहेका छन्। विकसित देशका सुविधा सम्पन्न अस्पतालहरूसमेत रोगको लक्षण नियन्त्रण गर्ने औषधिहरू चलाएर बिरामीको शरीरलाई सन्तुलित पार्दै शरीरको प्रतिरक्षा प्रणालीलाई रोगसँग जुध्न सक्षम बनाएर कोभेड–१९ विरुद्धको युद्ध लडिरहे। कतिपय लडिरहेका छन्। कतिपय संक्रमण केही नियन्त्रणमा लिन सफल बनिरहेका छन्। संसारका हरेक राष्ट्रका सरकारको कोरोना युद्ध प्रभावकारी बनाउन आफ्ना मुलुकबासीले पूर्ण सहयोग गर्दै सामूहिक उत्तरदायित्वकोअनिवार्य निर्वाह नगर्दासम्म सम्भव हुने स्थिति पैदा भएन। जब आमनागरिकले सरकारको अनुरोधअनुरूपको आफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने नागरिक जिम्मेवारी र मानवीय कार्य सम्पन्न गरिदिए, उनीहरूको कोभिड–१९ विरुद्धको युद्ध सुरुमा झन् जटिल बन्नबाट रोक्न र अन्ततः नियन्त्रणमा राख्न सम्भव बनेको देखियो। 

संक्रमणविरुद्ध विभिन्न देशले विभिन्न उपायबाट आफ्नो युद्ध जारी राखे। युद्ध जसरीसुकै लडिएको किन नहोस्, उनीहरूले अहङ्कार गरेकामध्ये मात्र सीमित उपायहरूको उच्च प्रभावकारिता देखियो। जस्तै– संक्रमित हुने सम्भावना रहेका विदेशी नागरिकलाई मुलुकमा प्रवेश निषेध गरी भाइरसको आगमन रोक्ने। विदेशबाट स्वदेश आएका आफ्ना नागरिकलाई राम्रो हेरचाहका साथ आफैँ कम्तीमा १४ दिन आइसोलेसनमा राखी कोभिड–१९ मुक्त रहेको एकिनपछि मात्र परिवार र समाजसँग घुलमिल हुन दिने। कोभिड–१९ लागेको शङ्का भएका तर एकिन नभएकाहरूलाई समेत तुरुन्त कोभिड–१९ लागे/नलागेको एकिन गर्न परीक्षण गर्ने। जरुरी हुँदा कम्तीमा १४ दिन आइसोलेसनमा रहने व्यवस्था गर्ने। कोभिड–१९ लागेको अवस्थामा तुरुन्तै आइसोलेसनमा राखी उपचार सुरु गर्ने।

कोभिड–१९ को संक्रमणको स्रोत पत्ता नलागेका संक्रमितहरू भेटिएसम्म समुदायमा कोभिड–१९ भाइरस फैलिइरहेको अवस्था आफ्नो दैनिकीमा एक आपसमा कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्ने, नियमित साबुन पानीले हात धुने र जरुरतअनुरूप स्यानिटाइजर र डिसइनफेकटेन्टको प्रयोग गर्ने। नेपाल जस्तो महामारीविरुद्ध लड्न पूर्ण तयारी नभएको मुलुकका लागि महामारी व्यापक फैलने सम्भावना देखिएको हप्ताबाटै तत्काल सम्पूर्णरूपमा आर्थिक, सांस्कृतिक र सामाजिक गतिविधि प्रतिबन्ध गरी लकडाउन अथवा बन्द गर्नुको अर्को विकल्प थिएन। त्यसै गरियो। किनकि उक्त अवस्थामा जनस्वास्थ्यको जरुरी भर्पाइ कुनै पनि आर्थिक गतिविधिमा हुने फाइदाले परिपूर्ति गर्न सक्ने अवस्था थिएन। अझै पनि छैन। त्यसैले अझै पनि लकडाउन जारी छ। कोरोना जस्तो भाइरस संक्रमणका बेला कति दिनसम्म मुलुक बन्द गरेर संक्रमणको जोखिमबाट मुलुकलाई मुक्ति दिलाउन सकिन्छ भन्ने निधो सजिलै नहुने परिस्थिति पैदा भइदिने गरेको छ। 

उद्योग/व्यवसायमा पैसा कमाउनु धर्म नै होला तर त्यस्तो नहोस् कि मुनाफाका लागि आफैँले बेचेको गोली लाग्नु आफ्नो अकाल मृत्युवरणको कारक बनोस्। 

मानिस सामाजिक प्राणी भएका कारण संक्रमितबाट अर्कोमा रोग सर्न नदिन र रोग लागेकोलाई  उपचार गरी निश्चित समयभित्र अरूलाई रोग सार्ने अवस्थामुक्त बनाएपछि मात्र समाजमा हेलमेल हुने अनुमति दिन लकडाउनको सहारा लिइन्छ। लकडाउनको अवस्थामा पनि मानिसले आफ्नो दैनिक नित्य कर्म, खानपिन र औषधोपचार नियमित राख्न अनिवार्य हुन्छ। लामो समयसम्मको लकडाउनले मानिसको दैनिकीको आधारभूत आवश्यकता पूर्ति गर्ने सामग्रीहरूको आपूर्तिलाई अनिश्चित गरिदिने हुँदा उक्त समयमा लकडाउनले दिने सर्वसाधारणको स्वास्थ्यमा हुने फाइदाभन्दा सर्वसाधारणलाई बच्नकै लागि चाहिने सामग्रीले दिने अभाव भयाबह बनिदिन्छ। कुनै पनि मुलुक आफू लकडाउनमा उत्रिसकेपछि कतिबेला लकडाउन फिर्ता लिने भन्ने निश्चय गर्न लकडाउनका कारण जनस्वास्थ्यमा पुग्ने लाभ र त्यसले जन्माउने आर्थिक क्षतिको लेखाजोखा गरिनुपर्छ। लकडाउनको समय जति लम्बँदै जान्छ त्यति धेरै समाजमा आर्थिक भार थुप्रँदै जान्छ।

व्यवसायहरू धराशायी हुने, मानिस बेरोजगार हुँदै जाने, आर्थिक अवस्था खस्कँदै जाने, बजारमा अत्यावश्यक वस्तुको मूल्य चरम सीमामा पुग्ने, अन्ततः पूर्ण अभाव हुने अवस्था सिर्जना गरिदिन्छ। संक्रमणको जोखिम उच्च होस् वा न्यून,बजारको अस्तव्यस्तताले जन्माउने भयाबह छल्न मुलुकले सुरुका व्यापक बनाएको बन्दको घोषणालाई बिस्तारै खोल्दै जाने नीति अपनाउन अनिवार्य हुन पुग्छ। यसका लागि मुलुकले संक्रमण हुने सम्भावना भएका मानिसमा संक्रमण भए/नभएको पुष्टि गर्न अनिवार्य चेक जाँचको व्यवस्था गर्ने गर्नुपर्छ। चेक जाँचमा संक्रमित भएको देखिएमा उसलाई तुरुन्तै आइसोलेट गर्ने, संक्रमण भएको स्रोत र उसले अरूलाई संक्रमण पुर्‍याउन सक्ने जोखिम रहेकाहरूको पहिचान गरी तिनीहरूलाई समेत परीक्षणको दायरामा ल्याउनु जरुरी हुन्छ। शङ्काको दायरामा पर्दा आफूले आफैँलाई आइसोलेसनमा राख्ने, कामविशेषले घरबाहिर निस्कनुपर्दा सामाजिक दूरी कायम गर्ने र संक्रमित व्यक्तिको सामाजिक हेलमेलबाट अर्कालाई संक्रमण भए/नभएको एकिन गर्न सरकारलाई सहयोग गर्नु सबै नागरिकको सामाजिक उत्तरदायित्व हुनेछ।

जबसम्म सरकार आफैँ समुदायमा कोभिड–१९ भाइरस फैलिरहेको अवस्था नरहेको एकिनसम्म पुग्दैन तबसम्म मुलुक लकडाउन गर्नुपर्ने बाध्यता रहन्छ।  मुलुकमा जति जति संक्रमणले दिने क्षति नियन्त्रण हुने अवस्था पैदा हुन्छ त्यतित्यति मुलुकभित्रै जरुरी हुने अत्यावश्यक सामग्रीहरू पूर्ति गर्ने व्यवसायहरू खुला गर्ने, अत्यन्त संवेदनशील वस्तुहरू मुलुकभित्रै तयार गर्न औद्योगिक संरचना विकास गर्ने र महामारीको फैलावट नियन्त्रण गर्दै सम्पूर्ण आर्थिक गतिविधि पुनः सञ्चालनमा फर्काउनेतर्फ अघि बढ्नुको विकल्प रहँदैन। त्यसो गर्नका लागि खुला गरिएका गतिविधिले मानव स्वास्थ्यमा जोखिम थप्दै गर्दा आधारभूत आवश्यकता पूर्ति गरी नागरिकको जीवनलाई सहज बनाइदिन्छ। यतिबेला सरकारमा आफूले लगाएको लकडाउन विद्यमान महामारीको समाधानको उपाय हैन बरु महामारी फैलने सम्भावना न्यूनीकृत गर्दै स्थानीय स्तरको जटिलता सुहाउँदो महामारी समाधानको उचित उपाय पहिल्याएर लागु गर्ने उच्च मूल्य तिरेर कृत्रिमरूपमा विकास गरिएको सन्नाटा रहेको गम्भीर महसुस रहनु जरुरी छ। 

यो समयमा सरकारले कोरोना संक्रमित भएका र नभएका शतप्रतिशत खुट्टाएर संक्रमित भएकालाई आइसोलेसनमा लिएर बाँकी जनजीवनलाई सामान्य जनजीवनमा पुर्‍याउन जरुरी बनेको छ। अन्यथा यो भयाबहलाई नेपालका दुईतिहाइ जनसंख्यासम्म पुग्नबाट कसैले रोक्न सक्ने छैन। सरकारको यसमा गम्भीर ध्यान जान जरुरी छ। मुलुकका सत्तापक्षलगायत सबै दल र विप्लव माओवादीलगायत भिन्न भिन्न झुण्डमा संगठित समुदाय र आमसमुदायले यो युद्ध लड्ने मोर्चामा सामूहिक ऐक्यबद्धता देखाउन र प्रत्यक्ष सक्रिय सहभागिता जनाउन जरुरी छ।विश्वको कोभिड–१९ को महामारीको ट्रेन्डलाई अर्को आँखाले हेर्नुहुन्छ भने जहाँ जहाँ राजनीतिक सत्तापक्ष र प्रतिपक्षले यो महामारीलाई आफू सरकारमा जाने र शक्ति आर्जन गर्ने उपायका रूपमा लिन खोजे, जहाँ जहाँ कर्मचारीतन्त्र यो महामारीलाई कमाउन सक्ने अवसरमा तल्लीन भएको भेटियो, जहाँ जहाँ पहिलो घेराको सिपाहीका रूपमा रहेका स्वास्थ्यकर्मीको सुरक्षा राज्यको पहिलो धर्म भन्ने सोच्न सकिएन, ती मुलुकमा मात्र यसले  गम्भीर क्षति पुर्‍याएको देखिन्छ।

उद्योग/व्यवसायमा पैसा कमाउनु धर्म नै होला तर त्यस्तो नहोस् कि मुनाफाका लागि आफैँले बेचेको गोली लाग्नु आफ्नो अकाल मृत्युवरणको कारक बनोस्। त्यसैले सरकार लकडाउन गर्दा कहिलेसम्म भन्ने प्रश्न एकिन गर्न सकिने गरी गर।
(खाद्य तथा औषधिविज्ञ, क्यानाडा)

प्रकाशित: २६ चैत्र २०७६ ०६:४९ बुधबार

कोरोना_भाइरस लकडाउन संक्रमित