विचार

कोरोनापछिका संभावना

कोरोना भाइरस (कोभिड–१९) को त्रास संसारभर बढेपछि अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलिया पुगेको एक वर्ष नबिताएका विद्यार्थी र तिनका आश्रितलाई आफ्नो देश फर्कन आग्रह गरिसकेका छन्। अस्ट्रेलियाली प्रधानमन्त्री मरिसनको उक्त आग्रह र खाडी राष्ट्रहरूमा रहेका नेपाली कामदारहरूको अवस्थालाई सम्बोधन गर्नुपर्ने टड्कारो अवस्था महसुस गरी प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी प्रमुखको तहबाट समेत पहलकदमी लिइसकेका छन्।  

कोरोनाले विश्वको शिक्षा र श्रम बजारमा ल्याएको र ल्याउन सक्ने परिवर्तनले नेपालबाट विदेश गएका विद्यार्थी, तिनका परिवार र नेपालबाट विदेशमा गएको श्रमशक्ति र तिनको परिवारमा ठूलो परिवर्तन ल्याउन सक्ने संकेत देखिएका छन्। समग्रमा यसले रेमिट्यान्समा आधारित अर्थतन्त्र, युवा रोजगारी, शिक्षालगायतका विभिन्न मामिलामा प्रभाव पार्ने संकेत देखिन थालेका छन्। अस्ट्रेलिया, क्यानडा, अमेरिका र बेलायत जस्ता विकसित राष्ट्रमा पुगेका करिव १ लाख नेपाली, कुवेत बहराइन, सिंगापुर, मलेसिया, कतार, दुवईलगायतका खाडी राष्ट्रसहित भारतमा समेत कुल्ली र श्रमिकका रूपमा कार्यरत करिब ५० लाख युवाको रोजगारी र शिक्षाको भविष्य के हुने भन्ने विषय कोरोना संक्रमणको औपचारिक टुंगो नलागेसम्म यसै होला भन्न सक्ने अवस्था छैन।

यस्तो परिस्थितिमा नेपाल फर्किएका र फर्कन सक्ने युवाहरूको भविष्यसँगै देशको अर्थतन्त्र, सामाजिक जीवन र त्यसले पार्ने आर्थिक सामाजिक प्रभावका विषयमा गम्भीर छलफल सुरु हुन आवश्यक भइसकेको छ। अस्ट्रेलियाले झैँ कुनैपनि मुलुकले अबका दिनमा आफ्नो नागरिकलाई केन्द्रमा राखेर शिक्षा, स्वास्थ्य र रोजगारीका नीतिहरू पुनर्विचार गर्ने दिन आए भने नेपाल पनि त्यस्तो परिवर्तनबाट अछूतो हुन सक्ने अवस्था छैन। रेमिट्यान्स नआएपनि देशको अर्थतन्त्र मजबुत बनाउन सकिन्छ भन्ने सोचका आधारमा स्थानीय पुँजी र शक्तिलाई प्रवद्र्धन गर्ने कार्यक्रम र योजनाहरू ल्याउन आवश्यक भइसकेको छ। युवालाई विदेश धकेल्ने र आफ्नो देशका पाखापखेरा उजाड बनाउने अर्थतन्त्रले देश उभो लाग्दैन भन्ने पाठ यो संक्रमणको घडीमा महसुस गर्न उचित समय बनेको छ।

एक हिसाबले छिन्नभिन्न भइसकेको परिवारलाई पुनः एकत्रित गर्ने काम कोरोना सन्त्रासले ल्याइदिएको छ भने भएका गल्ती तथा कमी/कमजोरी सुधार्ने अवसर पनि दिलाइदिएको छ। 

गाउँ फर्क अभियान
कोरोनाको संक्रमण बढेसँगै कामदार र विद्यार्थी गाउँ फर्किन बाध्य भइसकेका छन् भने यो रोगको सन्त्रास औपचारिकरूपमा समाप्त नहुन्जेल मौका मिलेसम्म हरेक देशले आफ्ना नागरिक आ–आफ्नो देशमा र उनीहरूको बासस्थानमा पुर्‍याउने नीति अवलम्बन गर्नेछन्। सो कार्यको सुरुवात पहिल्यै भइसकेको छ भने हाम्रै देशका नागरिकसमेत सोही घडीको प्रतीक्षाका लागि लडिरहेका छन्। यसै मेसोमा सहरमा रहेका युवा गाउँ र विदेशमा गएका युवा स्वदेश फर्किन सक्ने संभावना बढ्दै गएका छन्। यसरी विदेशबाट स्वदेश र आफ्नो घर फर्किएपछि स्वाभाविकरूपमा केही समयका लागि पुरानै अवस्था र मनस्थितिमा फर्कन समय लाग्ने भएकाले पनि कोरोनाले सबै क्षेत्रमा असर गर्ने स्पष्ट भइसकेको छ।

गाउँ फर्कने युवाहरूका लागि अबका दिनमा सरकारले स्वरोजगारका कार्यक्रमहरू, उनीहरूलाई आवश्यक पर्ने किसानी र साना उद्यम गर्नका लागि प्रोत्साहनमूलक कार्यक्रमहरू ल्याउन आवश्यक छ। युवाहरू स्वयम् पनि विदेशमा जानभन्दा  किसानी र साना उद्यमका लागि आकर्षित हुनु आवश्यक छ। त्यसका लागि सरकारले सरल तरिकाले ऋण उपलब्ध गराउने र त्यस्ता कार्यक्रममा सहमागी गराउने उद्देश्यले कार्यक्रमहरू ल्याउनुपर्छ। सहरमा काम गर्ने युवाहरूले भने सानातिनाखालका पसल, उद्योगमा काम गर्न प्रेरित हुन आवश्यक छ। कपाल काट्ने सैलुन, फलफूल बिक्री तथा घर–घरसम्म तरकारी पुर्‍याउने जस्ता साना लगानीका कामबाट परिवार चलाउने रोजगारी गर्न सकिन्छ। विदेशमा भाँडा माझ्न तयार हुने जनशक्ति नेपालमै सजिला काम गरेर परिवारसँग बस्न सकिन्छ भन्ने मनस्थिति विकास गर्ने हो भने सबै कामले एकदिन राम्रो मर्यादा पाउने कुरामा द्विविधा छैन।

जसरी भूकम्पको दुःखदायी घटनाले समेत आजका दिनमा गाउँगाउँमा नयाँ डिजाइनका घर बनेका छन् र विकास गाउँमा पुगेको छ त्यसैगरी कोरोनाको असरले ‘आफ्नो गाउँ आफैँ बनाउँ’ भन्ने अवस्थामा युवा शक्तिलाई पुर्‍याउँदैन भन्न सकिँदैन। निम्न र मध्यम वर्गीय युवाहरू विदेशमा गएर परिवार छिन्नभिन्न भएको, परिवारमा द्वेष र कलहका समाचार एवं घटनाहरू सार्वजनिक नभएका होइनन्। आफू एकातिर र परिवार एकातिर हुँदाको परिणति कतिपय अनपेक्षित मुद्दा मामिला नबढेका पनि होइनन्। एक हिसाबले छिन्नभिन्न भइसकेको परिवारलाई पुनः एकत्रित गर्ने काम कोरोना सन्त्रासले ल्याइदिएको छ भने भएका गल्ती तथा कमी/कमजोरी सुधार्ने अवसर पनि दिलाइदिएको छ। सानातिना काममै पनि प्रशस्त आम्दानी गर्न सकिने अवसर छाडेरविदेश पलायन हुन तयार युवालाई कोरोनाले अब दुईपटक सोच्न बाध्य बनाउनेछ।पैसाका लागि अर्काको देशमा हण्डर र ठक्कर खाएर काम गर्न तयार देशैभरका युवाले चाहेमा नेपाललाई जुरुक्कैै उचाल्नेछन्। 

स्वावलम्बनप्रति आकर्षण
स्वदेशी रोजगारी छँदाछँदै तथा सरकारी सेवासमेत छाडीसुख÷सुविधाको लोभलालचमा परी कतिपय व्यक्तिहरू विदेश पलायन भएका कतिपय उदाहरण हाम्रा सामुन्ने छन्। यसबाट बुझ्न सकिन्थ्योकि युवाहरूमा पहिलो आकर्षण नेपालमा सरकारी सेवा नभएर युरोप र अमेरिकाको भिसा बन्दै आएको थियो। अबका दिनमा युवामा रहेको त्यस्तो सोचमा समेत परिवर्तन ल्याइ स्वदेश र स्वरोजगारका कार्यक्रमहरू सरकारले अघि सार्न आवश्यक छ। रोजगारका अवसरहरू उपलब्ध गराउँदासमेत स्थानीय युवाहरूलाई पहिलो प्राथमिकता दिने गरी प्रतिस्पर्धा र निष्पक्षता सुनिश्चित गरिनुपर्छ। राजनीतिक पहुँच र शक्तिका आधारमा साधन र स्रोतको बाँडफाँट गरिने र युवालाई आफ्नै प्रणाली र नेतृत्वमाथि अविश्वास पैदा गराउने सोच, शैली र प्रणाली अब परिवर्तन हुन आवश्यक छ।

सानातिना काममै पनि प्रशस्त आम्दानी गर्न सकिने अवसर छाडेर विदेश पलायन हुन तयार युवालाई कोरोनाले अब दुईपटक सोच्न बाध्य बनाउनेछ।पैसाका लागि अर्काको देशमा हण्डर र ठक्कर खाएर काम गर्न तयार देशैभरका युवाले चाहेमा नेपाललाई जुरुक्कैै उचाल्नेछन्।

कर छूटको व्यवस्था

रेमिट्यान्स ल्याइरहेका युवाहरू नेपालमा खाली हात फर्किनुपर्ने अवस्था आएपछि उनीहरूलाई व्यवस्थापन गर्नका लागि सरकारले पनि लचिलो नीति र कार्यक्रम अघि सार्न आवश्यक छ। कोरोनाले खल्बल्याएको अर्थतन्त्र तथा सामाजिक नीतिलाई सम्बोधन गर्नेगरी विशेष कार्यक्रम समेटी उनीहरूलाई नेपालमै टिकाउने, उद्यममा लगाउने नीति अवलम्बन गर्नुपर्छ। विद्युतीय माध्यमबाट काम गर्न सकिने, नयाँ ढंगले काम गर्न मिल्नेखालका कतिपय विचारलाई मूर्तरूप दिन युवालाई प्रोत्साहित गर्ने, उनीहरूलाई सहज तुल्याउनेखालको कर तथा नियमनको वातावरण बनाएर उनीहरूलाई स्वरोजगारका कार्यक्रमहरूमा आकर्षित गर्न नसकिने होइन। सरकार समग्रमा लोककल्याणकारी राज्यको प्रतिनिधित्व गर्ने एउटा अभिभावक हो भन्ने सोच राखेर काम गर्ने हो भने संविधानको धारा ४९, ५० र ५१ मा व्यवस्थित राज्यका नीति निर्देशक सिद्धान्त र नीतिहरूले समेत मूर्तरूप पाउन सक्नेछन्। आधुनिक राज्यहरू कर उठाउने राज्यका रूपमा विकसित बन्दैगएको पृष्ठभूमिमा अप्ठ्यारो पर्दा लोककल्याणकारी आचरण पछ्याउन सक्छ भन्ने विश्वास दिलाउन पनि पछि पर्नुहुँदैन।

शासनमा शुद्धीकरण
युवा शक्ति एक हुने र गलत कार्य र प्रणालीको विरोध गर्ने हो भने मुलुकमा भ्रष्टाचार र अनियमितता सधैँका लागि समाप्त हुनेछन्। एक्काइसौँ शताब्दीको शासन प्रणालीसमेत किन अविश्वसनीय, किने अपारदर्शी र किन अप्रतिस्प्रर्धी छ भन्ने प्रश्न सबै युवाशक्तिले एकस्वरमा उठाउने हो भने कुनैपनि गलत काम सधैँका लागि टिक्न सक्ने अवस्था छैन। हालैका दिनमा भएका केही उल्लेखनीय घटनाबाट समेत यो अवस्था परीक्षण भइसकेकाले परिष्करण जहिलेसुकै सम्भव छ भन्ने प्रमाणित भइसकेको छ। धेरैजसो युवा कार्यकर्ता, मतदाता वा पार्टीको दासका रूपमा विभाजित हुँदा गलत नेतृत्वले त्यसबाट फाइदा लिने गरेको पाइएको छ। एकपटक कार्यकर्ता, मतदाता र पार्टीको दास हो भन्ने छनक पाइसकेपछि नेतृत्वले दपेट्ने, छलछाम गर्ने र सत्य कुरा उठाउनसमेत रोकिरहेको देखिन्छ। त्यसैले नेताहरूको आशीर्वादमा बाँच्ने, उनीहरूको छत्रछायाँको जुनदिनदेखि आशा नगर्ने सोच र शैली विकास हुन्छ, त्यही दिनदेखि युवाहरूमा आशा र हिम्मत सुरु हुनेछ। आफ्नो सिप र ज्ञानका आधारमा मात्रै जब अवसरहरूको अपेक्षा गर्ने परिपाटी युवाहरूले बोक्नेछन् त्यसैदिनदेखि सम्पूर्ण प्रणालीमा सुधार ल्याउन राज्यसंयन्त्र तयार हुनेछ। यति गर्न सकेमा मात्रै मुलुकले विकासको गति पक्डिने कुरामा द्विविधा छैन।

नेतृत्वको परिष्करण
राजनीतिको पुस्ता बुढ्यौलीका कारण मात्रै भ्रष्ट भइरहेको छैन। बरु बुढ्यौलीका कारण पुरानै ढर्रा र संस्कारमा समेत लिप्त छ र युवा पुस्तालाई ढिम्किनसमेत दिइरहेको छैन। यस्तो अवस्थामा विदेशबाट फर्कने युवाले स्वरोजगारीमा लाग्ने, स्वरोजगारीका अवसरहरूअंगालेमा र सकभर नेता र नेताका आसेपासेहरूको दयादान एवं छत्रछायाँको आशा मारेको भोलिपल्टै राजनीतिसमेत शुद्धीकरणको बाटोमा जानेछ। सानातिना जागिरका लागि पनि नेता/कार्यकर्ताको फेरो समाउनुपर्ने, विदेश जानका लागि समेत नेता/कार्यकर्ताले व्यवस्था मिलाइदिनुपर्ने, गाउँटोलका विवादसमेत उनीहरूकै मुख ताकेर मिलाउनुपर्ने कार्यले अनियमितता र घूसखोरी बढेको छ। त्यसैले जुनदिन युवाहरू आफ्नो खुट्टामा उभिएर बाँच्छु भनेर सानातिना इलममा विश्वास गर्न थाल्नेछन् र एकैचोटि ठूलो हाकिम वा मेनेजरको सपना देख्न छाड्नेछन् त्यसैदिनदेखि राज्यका सम्पूर्ण प्रणालीमा शुद्धीकरण बाटो सुरु हुनेछ।  

अन्त्यमा,
अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले जस्तै अरु मुलुकले समेत अन्यत्रबाट गएका व्यक्तिलाई आ–आफ्नो देश फर्कन आह्वान नगर्लान् भन्ने छैन। राजधानी काठमाडौँमै घर भएका तर खान नपाएका व्यक्तिलाई मात्रै खानपानको व्यवस्था गरिने हो डेरावाललाई होइन भन्ने लवजका कुरा नेतृत्वमा रहेका व्यक्तिले बोल्न थालेबाटै संकटका बेला सबैले आफन्तलाई नै सम्झने रहेछन् भन्ने प्रमाणित भइसकेको छ। ‘जननी जन्मभूमिश्च स्वर्गादापी गरियसी’ अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्गझैँ हुन्छन् भन्ने उक्ति त्यसै चलेको होइन।  

प्रकाशित: २४ चैत्र २०७६ ०८:३३ सोमबार

कोरोना_भाइरस संभावना त्रास