जान्नेहरू कुनै फरक काम गर्दैनन्। उनीहरू हरेक काम फरक ढंगले गर्नेमात्र हुन्।
– शिव खेरा
सम्पादकीय
चीनको बुहानबाट सुरु भई विश्वभर फैलिएको कोभिड–१९ ले पछिल्लो साता झन् आफ्नो प्रभाव विस्तार गरेको छ। एक सातामै करिब ३४ हजार मानिसको मृत्यु भएको छ भने यो अवधिमा करिब साँढे ५ लाख नयाँ संक्रमित देखिए। शनिबारसम्म १२ लाख १ हजार जतिमा कोरोनाले आफ्नो साम्राज्य जमाएको छ। यसले पनि देखाउँछ कि कोरोनाको भयबाट मुक्ति पाइहाल्ने संकेत नजिक छैन।
एकातिर विश्व परिस्थिति यस्तो छ अर्कोतिर नेपालमा पनि कोरोना भाइरसले दोस्रो सिँढी प्रवेश गरेको छ। अहिलेसम्म विदेशबाट आएका व्यक्तिमा मात्र पाइएको कोरोना संक्रमण शनिबार कतै पनि नगएकी एक स्थानीय महिलामै देखिएको छ। ‘ट्राभल हिस्ट्री’ (कतै भ्रमण नगरेको) नभएकी ३४ वर्षीया महिलामा संक्रमण देखिएपछि यसलाई स्वास्थ्यकर्मीले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको रूपमा अथ्र्याएका छन्। ती महिला दुबईबाट आएका र संक्रमण देखिएका व्यक्तिकी भाउजू भएको खुलेको छ। यसबाट अब एक व्यक्तिबाट अर्को व्यक्तिलाई कोरोना सर्न थालेको पुस्टि भएको छ।
त्यसैले पनि अब कोरोनाको दोस्रो संस्करण हाम्रा लागि थप चुनौती हुने देखिएको छ। विदेशबाट आएका संक्रमितबाट परिवारका आफन्तमा कोरोना सरेको नेपालका सन्दर्भमा थाहा भएको यो पहिलो घटना हो। बढीभन्दा बढी जाँच भएको भए यो भन्दा ठूलो संख्या देखिन पनि सक्थ्यो। नदेखिएको भए त खुसीकै कुरा हो। यो संक्रमण परिवार हुँदै समुदायमा फैलिन नदिन इमानदार प्रयास अहिले आवश्यक छ। जति ढिला गर्यो, त्यति नै जनधनको क्षतिको कारक बन्छ। इटाली, स्पेन र अमेरिकालाई हेरे यो कुरा प्रष्ट हुन्छ। यतिबेला मुलुकभर कोरोना संक्रमित संख्या ९ पुगेको छ जसमध्ये ४ जना सुदूरपश्चिममा मात्र देखिएका छन्।
७ प्रदेशमध्ये एकै प्रदेशमा करिब आधा संक्रमित भेटिनुले कोरोना भाइरसका हिसावले सुदूरपश्चिम बढी जोखिममा रहेको प्रष्ट हुन्छ। अधिकांश घरबाट भारतमा काम गर्न जानु यो प्रदेशका लागि सामान्य हो। उता भारतमा भने दिन दुगुना रात चौगुनाका दरले संक्रमित बढिरहेका छन्। यही कारण ज्यान गुमाउनेको संख्या पनि वढिरहेको छ। त्यसैले पनि यो प्रदेशमा बढी संक्रमित देखिएका हुन् र अझै बढी देखिने सम्भावना जीवितै छ। विश्व नै कोरोना त्रासले सताइएका बेला नेपालमात्र अछूतो रहने कुरै भएन। त्यसमाथि पनि सुदूरपश्चिममा यसको असर बढी देखिएका कारण अब संघीय सरकारले बढी ध्यान पनि त्यहीँ दिनुपर्ने देखिएको छ। र, यसको विस्तार नियन्त्रणका लागि तन, मन, धन र कर्मले एकचित्त भएर लागिपर्नुको विकल्प छैन। यसको मतलव अन्य प्रदेशलाई कम प्राथमिकतामा राख्ने भन्ने बुझियो भने त्यो गल्ती हुनेछ।
एकातिर कोरोना ग्रस्त अमेरिका/युरोप र खाडीका केही राष्ट्रबाट फर्केका सबैको परीक्षण हुन सकेको छैन। अर्कोतिर करिब १८ सय किलोमिटर खुला सीमा भएको घनिष्ट मित्रराष्ट्र भारतबाट लर्कोकै रूपमा फर्केका हजारौँ नेपाली कुन कुन कुनामा पुगिसके भन्ने सबैको पत्तो छैन। संक्रमित भएका व्यक्ति घण्टौँ भिडमा बसेका, धेरै जनासँगै सुतेका, खानपिनमा संलग्न भएका घटना पनि प्रशस्तै भइरहेका छन्। यस्तो अवस्थामा संक्रमितको भाइरसले कतिलाई सतायो भन्ने एकीन हुनै गाह्रो छ। यसबाट पनि बुझ्न सकिन्छ कि कोरोना भाइरसले धेरैलाई आक्रान्त पारेको हुन सक्छ। यस्ता सम्भावित दुर्गतिबाट दुनियाँलाई बचाउने भनेको एकमात्र प्रभावकारी उपाय सम्भावित सबैको परीक्षण हो।
त्यसैले एकातर्फ खासगरी विदेशबाट फर्केकाहरू र उनीहरूसँग घुलमिल भएका तथा सँगै बसोबास भएकाहरू स्वतःस्फूर्तरूपमा परीक्षणका लागि तयार हुनु हो। अर्कोतर्फ अज्ञानतावश वा आनाकानी गरेर अटेर गर्नेहरूलाई परीक्षणमा सामेल हुन प्रेरित गर्नु स्थानीय अगुवा, भद्रभलाद्मी, आफन्त तथा जनप्रतिनिधिको परम दायित्व हुनुपर्छ। त्यसो भएमात्र कोरोना महामारीको रूप धारण गर्नुअघि आफैँ सक्किने छ।सम्भावित जोखिम र क्षतिलाई केन्द्रमा राखेर सुदूर र छिमेकी मध्यपश्चिम क्षेत्रमा पर्याप्त बजेट, स्वास्थ्यकर्मी तथा स्वास्थ्य उपकरण विनियोजन गरिहाल्नु संघीय सरकारले तत्काल गर्नुपर्ने काम हुन्छ। भाइरस परीक्षण गर्ने कीट, पिपिइ तथा अन्य अत्यावश्कीय उपकरण र भौतिक पूर्वाधार यसका लागि जरुरी हुन सक्छ।
प्रदेश र स्थानीय तहहरूले पनि यतिबेला आफ्ना सम्पूर्ण ध्यान कोरोना विस्तार हुन नदिन केन्द्रित गर्नुपर्छ। त्यसैले बरु प्राथमिकतामा पछाडि परेका अन्य बजेट रकमान्तर गरेर भए पनि यी कुरामा कन्जुस्याइँ गर्नुहुन्न। यसमा ढिलाइ ‘मरेपछिको ओखती’ मात्र हुनेछ। जतिखेर हाम्रा सामु पश्चातापबाहेक केही बाँकी रहने छैन।
प्रकाशित: २४ चैत्र २०७६ ०८:२३ सोमबार