विचार

जाँच, जाँच र जाँच

सम्पादकीय 
विश्व स्वास्थ्य संगठनका महानिर्देशक थेड्रोस आदानम ग्राब्रियासोसले कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका निम्ति एकमात्र विधि सुझाउँदै भनेका छन्– टेस्टिङ, टेस्टिङ एन्ड टेस्टिङ। अर्थात् यसको एकमात्र उपाय हो– जाँच, जाँच र जाँच। उनले यसो भनेको ३ चैतमा हो। उनले सतर्कता अपनाउन भनेको पनि दुई साता पुग्न लागेको छ। तर, यसबीचको हाम्रो तयारी भने अपुग देखिएको छ। हाम्रा चिकित्सक र संक्रमणबारे जानकार व्यक्तिहरूले समेत अहिले जुनरूपमा हामीकहाँ कोरोना जाँच भइरहेको छ, त्यो आफैँमा अपुग रहेको बताइरहेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ चिकित्सक डा. शेरबहादुर पुनले नागरिकसँग प्रस्ट शब्दमा भनेका छन्– जाँचको दायरा बढाउनुपर्छ। 

कोरोना भाइरस संक्रमणबाट बच्ने एकमात्र उपाय यसलाई फैलन नदिनु हो। जति चाँडो यसको फैलावट रोकिन्छ, त्यति नै यसबाट मुक्ति मिल्छ। यतिबेला हामी बन्दाबन्दीको स्थितिमा छौँ। यसको पाँचौँ दिनमा आइसक्दा यसका चौथा बिरामी फेला परेका छन्। बन्दाबन्दीमा मुलुकलाई राख्नुको उद्देश्य सकेसम्म बिरामीको पहिचान र उपचार गर्ने हो। जसलाई संक्रमण भइसकेको छ, तिनलाई अलग्गै राखी उपचार गर्ने हो। संयोगले अहिलेसम्म हामीकहाँ अन्य मुलुकको तुलनामा धेरै बिरामी देखिएका छैनन्। चार बिरामीमध्ये एकको उपचार भएर घर गइसकेका छन्। बाँकी तीन जनाको उपचार भइरहेको छ। र, तीनै जनाको अवस्था राम्रो छ। 

यो संक्रमणमा हुने मृत्युको प्रतिशत अत्यन्तै झिनो छ। तर संक्रमण फैलिँदै गयो भने त्यसले वृद्ध, कमजोर र अन्य दीर्घ रोग लागेका व्यक्तिको जीवनमा गम्भीर असर पर्छ। त्यसले मर्नेको संख्या बढ्छ। आज इटालीलाई हेर्ने हो भने पनि यो प्रस्ट देखिन्छ। त्यहाँ भइरहेको मृत्युको दारुण दृश्यबाट हामी चेतेनौँ भने ठूलो आपत् आइलाग्छ। दक्षिण कोरियाले सकेसम्म यस्ता व्यक्तिको पहिचान गर्ने र तिनको सम्पर्कमा भएका सबैलाई खोजेर उपचार गरेका कारण चाँडै नियन्त्रणमा आएको हो। यस कारण पनि बिरामीको जाँचमा बढ्ता ध्यान दिनुपर्ने देखिन्छ। चिकित्सकहरूका अनुसार अहिलेसम्म हामीकहाँ कोरोना संक्रमण विदेशमा गएर आएका व्यक्तिमा मात्र देखिएको छ। यसको अर्थ हो– जति पनि यसरी बाहिरबाट आएका व्यक्ति छन्, तिनको बेलैमा पहिचान गरी उपचार गर्ने हो भने यो संक्रमणबाट हामीलाई बाहिर निस्कन समय लाग्दैन।

एक हिसाबले यो संक्रमण हाम्रा निम्ति ‘आयातीत’ जस्तो मात्र छ। तर यो हाम्रो समुदायमा फैलिसकेको छ÷छैन भनेर थाहा पाउन जाँचमै बढ्ता ध्यान दिनुको विकल्प छैन। हाम्रो राजनीतिक नेतृत्वमा भने यसप्रतिको गम्भीरता देखिएन। अन्यत्र यो संक्रमण फैलिन थालेपछि जुन तहको तयारी हुनुपथ्र्यो त्यो भएन। अहिले बन्दाबन्दीमा मुलुकलाई छाडिदिएको छ। थप संक्रमण भएको थाहा पाउने गरी काम गरेको देखिएको छैन। पाँच दिन बितिसकेको छ। अर्को साता थप गर्ने तयारी छ। यो बन्दाबन्दीको स्थितिलाई सकेसम्म सदुपयोग गरी बढीभन्दा बढी जाँच हुनुपथ्र्यो। यस्तो जाँच संक्रमणको लक्षण देखिएकालाई मात्र होइन, अन्यलाई पनि त्यत्तिकै सरिक गर्नुपर्छ। अझ कतिपयलाई आफैँ शंका लागेको छ भने पनि जाँच गराउने व्यवस्था हुनुपर्छ। अहिलेको परिस्थितिबाट चिन्ता गर्नुपर्ने अर्को विषय हामीले हाम्रा स्वास्थ्य संरचनालाई किन भरपर्दो बनाउन सकेनौँ ?

पछिल्ला बिरामीबारे जानकारी शुक्रबार मात्र सार्वजनिक गरेको छ सरकारले। तर, उनी बिरामी भई अस्पतालमा भर्ना भएका र नमुना संकलन गरी जाँचका लागि पठाइएको समय अत्यन्त लामो भएको छ। समयमै नमुना जाँच गर्ने व्यवस्था पनि गर्न सकिएन। एकातिर, हामी मुलुकलाई संघीयतामा लगेको भनेर गौरव गरिरहेका छौँ, अर्कोतिर यस्तो संक्रमणको जाँच गर्नेसम्मको क्षमता हामीले प्रदेशस्तरमा समेत बनाउन सकेका छैनौँ।  हामीले विकास भनेको सडक बनाउने भन्ने मात्र बुझेका छौँ। जनस्वास्थ्यका निम्ति लगानी गर्ने र त्यसलाई आमनागरिकको हितमा प्रयोग गर्ने संयन्त्र बनाउनु कति आवश्यक छ भन्ने यसले देखाएको छ। हाम्रो मुलुकले कोरोना संकटबाट जुध्ने क्रममा लिनुपर्ने गम्भीर पाठ हो– जनस्वास्थ्यलाई भरपर्दो बनाउनु। यसका निम्ति हाम्रो ध्यान पुग्नुपर्छ। र, अहिलेको स्थितिमा कोरोना जाँचलाई व्यापक स्तरमा फैलाउनतिर सरकारको ध्यान पुग्नुपर्छ। आज चिकित्सकहरूले घोक्रो सुकुन्जेल ‘जाँच, जाँच र जाँच’ भनिरहँदा पनि सुतुरमुर्गजस्तो सुतिरहने हो भने स्थिति भयाबह हुनेछ। 

प्रकाशित: १७ चैत्र २०७६ ०६:२४ सोमबार

कोरोना_भाइरस जाँच विश्व स्वास्थ्य_संगठन