विचार

सुचनामा शंका

मानिसमा अब कोरोना भाइरससम्बन्धी सूचना र समाचारमा अरुचि हुन थालेको छ। तर विकल्प कम छन्। सूचनाको तलतल स्वाभाविक हो। तर सूचना लिने मिडिया हेरेर/सुनेर मानिस आजित छन्। घरमै क्वारेन्टाइनमा बसेका एक जना आफन्तले भने, ‘अब त घरमा पनि समय बिताउन गाह्रो भयो। फोन गर्न लाग्यो, कोरोनाकै सन्देश आउँछ। फेसबुक हे-यो, कोरोनाकै कुरा छन्। मिडिया त कुनै हेर्नै, खोल्नै पर्दैन, कोरोनाबाहेक अरू समाचारै होइनन् जस्तो भइसक्यो।’ हुन पनि मानिसमा कोरोनाकाविषयको चासो यति धेरै बढ्यो कि कोरोनामा गीत/संगीतसमेत बनिसके। टिकटिकको मनोरञ्जनले विश्वलाई नै दुःखका बेला रोमाञ्च बढाएको छ। कोरोनाबाटजोगिनेबारे मात्र होइन, यसका नाममा हुने ठगी/लुटपाटबाट हुने सचेतनाका सन्देशले यतिबेला सामाजिक सञ्जाल भरिएका छन्।

कोरोना भाइरसबाट बच्न गर्नुपर्ने उपायबारे खासगरी खानपान र निरोध सम्बन्धमा आएका कुन सूचनालाई सत्य मान्ने भन्ने अलमल त छँदैछ,सावधानीका विषयमा अझै नागरिक तहमा सजगता बढाउन सकिएको छैन। मानिस अहिले पनि सार्वजनिक यातायातमा निर्बाध यात्रा गरिरहेका छन्। ती साधनमा सावधानीका कुनै उपकरण राखिएका छैनन्। सार्वजनिक हिँडडुल र कामकाज धेरै त रोकिएको छ, तर सम्पूर्ण रूपमा रोक्ने प्रयास भएको छैन। सरकारले भेलालाई सामाजिक कानुन बनाएजस्तो गरी सन्देश दिएको छ। २५ जना भेला हुँदासम्म कोरोना भाइरस निष्कृय हुने र २६ जना भएपछिसक्रिय हुने वा २५ जनासम्म संक्रमण नहुने र २६औं चाहिँ संक्रमित हुने त होइन। कुनै एक जनामा भएको संक्रमणले आज विश्व हल्लिएको छ। एकजना संक्रमितले नै आफ्नो सम्पर्कमा आएका हरेक व्यक्ति र स्थानलाई संक्रमण फैलाउन सक्ने अवस्थामा कति जना सँगै हिँड्ने वा भेला गर्ने भन्ने कुराले अर्थ राख्दैन।

विश्वले नेपालमा संक्रमित फेला नपर्नुलाई सकारात्मक रूपमा लिन सकेको छैन। कतै सूचना लुकाइएको त होइन भन्ने आशंका विदेशमा रहनेले गर्न थालेका छन्।

विश्वले नेपालमा संक्रमित फेला नपर्नुलाई सकारात्मक रूपमा लिन सकेको छैन। कतै सूचना लुकाइएको त होइन भन्ने आशंका विदेशमा रहनेले गर्न थालेका छन्। मेरो एउटा आफन्तले अमेरिकामा मेसेन्जरमार्फत सोध्दै थिए– ‘सबै हिसाबले विकसित युरोप, अमेरिका संक्रमणबाट बच्न सकेनन्। चीन र भारतमा संक्रमण जारी छ। नेपालमा कसरी यसको संक्रमण कसैलाई नभएको हुन सक्छ ?’ उनको प्रश्नमा मेरो जवाफ नआउँदै उनले मेरो पेसाविरुद्धआरोप लगायो– ‘तपाईंहरू सूचना लुकाइराख्नुभएको छ रे !’ मैले उनलाई यति मात्रै भनें, ‘चिकित्सा विज्ञानको कुरा म जान्दिनँ। कसैलाई संक्रमण भएको भनेर अहिलेसम्म कतैबाट आधिकारिक सूचना आएको छैन। मिडियाले त्यसै त लेख्दैन।’ उनले मप्रति अर्को प्रहार गरे– ‘नेपालका कुन मिडियालाई विश्वास गर्ने ? एउटाले हो भन्छ, अर्कोले त्यही कुरा होइन भन्छ।’मैले यसमा पनि धेरै प्रतिवाद आवश्यक ठानिनँ। केवल यति भनें, ‘जुन समाचारमा स्रोत दिएको छ र त्यो स्रोत आधिकारिक छ भने पत्याउने, अरू सबैको त म कसरी ठेक्का लिऊँ?’

यो आशंका देशभित्र वा बाहिर रहेका नागरिकको मात्र होइन, देशमै रहेर बिरामीको उपचारमा खटिरहेका चिकित्सकको पनि रहेछ। दुई दिनअघि भेट भएका एक जना मेडिकल डाक्टरले मेरो पेसासँगै जोडेर जिज्ञासा राखे– ‘तपाईंहरूलाई त भित्री कुरा थाहा हुन्छ, भन्नुस् न के भइराखेको छ ?’ कोरोना भाइरससँग जोडिएको यो प्रश्नमा मेरो उनलाई नै प्रतिप्रश्न थियो– ‘यो त तपाईंहरूलाई थाहा हुनुपर्ने कुरा हो। तपाईंहरूले बताएपछि न हामीजस्ताले सूचना प्रवाह गर्ने हो !’ उनले मलाई विश्वास गरेनन्। मानौं म उनीसँग समेत सूचना लुकाइरहेको छु। उनले एकाध सरकारी बैठकमा जाँदाको सरकारको तयारीप्रति आफ्ना गुनासा पोखे। उनको भनाइमा– सरकारले जति तयारी गर्नुपर्ने हो, त्यसअनुसार गरेकै छैन। संक्रमित व्यक्तिको उपचारमा संलग्न हुनुपर्ने स्वास्थ्यकर्मी÷डाक्टरकै लागि सुरक्षा उपाय छैन। नर्सको सुरक्षा त अस्पतालको समेत प्राथमिकतामा छैन। उनीहरू सबैभन्दा बढी जोखिममा छन्। सुरक्षाकर्मी, जसले संक्रमित लिएर आउनुपर्ने हुन्छ, उनीहरूको पनि सुरक्षा व्यवस्था छैन। ‘यसरी सीधै संक्रमितको सम्पर्कमा आउनेको सुरक्षा प्रबन्ध नभई कसरी ठीक ढंगमा र इमान्दारीसाथ उपचार सम्भव हुन्छ ?’ उनको यो प्रश्न मेरालागि थिएन।

कोरोनाको त्रास अहिले विश्वव्यापी छ। तर सजगता र सचेतनाले यसलाई नियन्त्रण गर्न सकिन्छ भन्ने उदाहरण संक्रमण सुरु भएको मुलुक चीन आफैं हो।

सरकारले सचेतना अभ्यासको अधिकतम प्रयास गरेको छ। नागरिक तहमा पनि यो चेतना बढेको छ। फोनका घण्टी बज्दै गर्दा आउने सन्देशले प्राथमिक सुरक्षाका विषयमा आम नागरिकमा सचेतनाबढाएको छ। तर जब सार्वजनिक स्थल र उपचारका कुरा आउँछन्, तब प्रश्न र आशंकामात्र उब्जिन्छन्। जिम्मेवार निकायको लापर्बाहीमा आउनुपर्ने जति कमी आइसकेको छैन। विमानस्थलको लापर्बाहीको एउटा उदाहरण– शनिबार अन्तर्राष्ट्रिय उडानबाट आएका नेपाली नागरिकबारे विभिन्न मिडियामा खबर आए। विदेशी एयरलाइन्सले सरकारले रोक्दा रोक्दै उडान भरे र संक्रमण फैलिएका मुलुकबाट नेपाली नागरिक लिएर आए। आफ्ना नागरिक आफ्नो देश आइसकेपछि तिनलाई फर्काउने कि राख्ने ?यो संकट आउनुअघि नै एयरलाइन्सलाई सूचना दिनुपथ्र्यो। सचेत गराउनुपथ्र्यो। आधा आकाशमा उडिसकेका यात्रुबारेविमान कम्पनीले नेपाल सरकारको निर्णय कार्यान्वयन गर्नु कति सम्भव थियो ? हुनु/नुहनु  भयो।

दिल्लीलाई ‘ट्रान्जिट’ बनाएर शुक्रबार विभिन्न मुलुकबाट नेपाल आउने तयारीमा रहेका नेपालीलाई भारतीय विमान कम्पनीले बोक्न चाहेनन्। तर उनीहरूसँग भारतीय विमानको बोर्डिङ पाससमेत थियो। उनीहरू एक दिन÷रात भारतीय विमानस्थलमा खानु नपिनु रोकिए। भोलिपल्ट सम्पूर्ण जाँच गरेर उनीहरूलाई फेरि नेपालमा परीक्षण  गर्ने सर्तमा छुट्टै विमानबाट नेपाल ल्याइयो। यसरी रोकिएका नेपाली यात्रु आउँदैछन् भन्ने थाहा हुँदाहुँदै विमानस्थलले उनीहरूलाई निर्बाध आआफ्ना घरजान दियो। घर पुग्दै गर्दा वा घरमा पुगेर सामान्य आराम गर्दै गर्दा उनीहरूको सम्पर्क नम्बरका घण्टीबज्न थाले। उनीहरूलाई विमानस्थल र सम्बद्ध जिल्लाका प्रहरी प्रमुखबाट फोन आएका थिए। कतिलाई आग्रहपूर्ण त कतिलाई धम्कीका भाषामा फेरि एयरपोर्ट फर्काइयो। उनीहरूले कतिले सामान घर पु¥याएर छाडे, कतिले होटल/लजमै। त्यसपछि उनीहरूलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनलगियो। घरमा पुगेपछि सम्पर्कमा आएका परिवारका सदस्य र उनीहरूले ल्याएका लगेजमा कोरोना भाइरस रहन सक्छ भन्ने आदि कुनै सजगता अपनाइएन। केवल उनीहरूलाई क्वारेन्टाइनपठाइको सन्देश दिएर कर्मचारीले जोगिने प्रयास गरे। बैंककबाट आएकाहरूलाई भने सुरुमा होटलमा राखियो र पछि खरिपाटी पठाइयो।

लापर्बाहीको यो घटना मिडियामा नआएको एउटा उदाहरण हो। कोरोनाको त्रास अहिले विश्वव्यापी छ। तर सजगता र सचेतनाले यसलाई नियन्त्रण गर्न सकिन्छ भन्ने उदाहरण संक्रमण सुरु भएको मुलुक चीन आफैं हो। सुनिन्छ– नेपाललाई पर्ने जोखिममा सहयोग गर्न चीन तयार छ। तर ती सहयोग आउँदै छन् वा यी बजारहल्ला मात्र हुन् ? थाहा छैन। बजारमा उपभोग्य वस्तुमा सरकारको केही नियन्त्रण देखिएको छ। सुरुमा देखिएको अभाव बिस्तारै हट्दै गएको छ। तर स्यानिटाइजर दलेर वा मास्क लगाएर सुरक्षित हुने सन्देश प्रवाह गरिरहँदा सरकारले सहज र सुलभ मूल्यमा यी वस्तुको आपूर्ति गर्न सकेको छैन। एउटा सामान्य परिवारलाई १०० एमएलको स्यानिटाइजरका लागि २०० देखि ५०० रुपैयाँसम्म खर्च गर्न आग्रह गर्न जति सजिलो छ, त्यो प्राप्त गर्न त्यति सजिलो छैन। सबैको पहुँचमा यी सामान मूल्यका हिसाबले पनि सहज छैनन्।

प्रधानमन्त्री बिरामी भएर देश चलाइरहँदा मानवीय हिसाबले पनि धेरै प्रश्न उठेका/उठाइएका छैनन्। आज विश्व बिरामी भएका बेला अलि बढी सचेतना र सजगताका लागि देशलाई दुई/चार दिन वा एक/दुई हप्ता बन्द गर्दा आकाश झर्ने पनि होइन, सके धर्तीमा रहेका मानव जातिको सुरक्षा हुने हो। गर्नैपर्ने काम नगरेर बदनाम हुनुभन्दा सर्वजन हितायका दृष्टिले आम नागरिकलाई सुरक्षित गर्न अपिल गर्नु चाहिँ देशवासीका नाममा सन्देशको अर्थ रहला कि ?

प्रकाशित: १० चैत्र २०७६ ०४:१२ सोमबार

सुचना कोरोना_भाइरस मिडिया