विचार

गाँजाले गर्ने गम्भीर हानि

डा. राजेश प्रधानांग
वरिष्ठ होमोप्याथिक चिकित्सक

हाम्रो समाजमा राम्रा र वास्तविक कुरा छायामा पर्ने गरेका छन् भने नराम्रा कुरामा फूलबुट्टा भरेर बढी प्रचारप्रसार गर्ने गरेको पाइन्छ । केवल आफ्नो स्वार्थ पूरा गर्न वा व्यक्तिगत फाइदा लिन रोगी मानसिकता भएका व्यक्ति आफ्ना स्वार्थी कुरालाई सत्यजस्तो बनाएर प्रस्तुत गर्छन्। अहिले त्यस्तै व्यक्ति समाजको भविष्य कष्टकर बनाउनतिर लम्किरहेकोे बढी मात्रामा भेटिन थालेका छन्।

यसै क्रममा अहिले गाँजाको बखान गर्दै समाजमा उन्नति र विकासको मूल फुट्ने झुटो खेती सुरु गरिएको छ। गाँजा विकास र समृद्धि ल्याउने चिज नभई समाजलाई अधोगतितिर लाने वस्तु भएको ठहरसहित यसको खुला प्रयोगमा नेपाल सरकारले प्रतिबन्ध लगाएको हामी सबैलाई थाहै छ।

गाँजाले हाम्रो शरीरलाई कसरी हानि गर्छ भन्ने बारेमा चर्चा नगरी केवल राम्रो छ भन्ने भ्रम छर्दा समाजमा नकारात्मक प्रभाव पर्न सक्ने कुरामा हामी सबै चनाखो हुनुपर्छ। गाँजाले हाम्रो शरीरमा अल्पकालीन र दीर्घकालीन असर पु-याउँछ। अल्पकालीन असरअन्तर्गत जब मासिनले गाँजा प्रयोग गर्छ, तब त्यसमा हुने रसायन ‘टेट्राहाइड्रोक्यानाबिनोल’ तुरुन्तै फोक्सोमार्फत रगतमा मिसिन्छ। अनि रगतले यो रसायन तत्व दिमाग र शरीरका विभिन्न भागमा पु-याउँछ। गाँजा खाएको वा पिएको आधा वा एक घण्टापछि शरीरमा यो रसायन तत्वले असर देखाउन थाल्छ।

यो रसायन तŒव दिमागको कोषको रिसेप्टरमा पुग्छ। र, जब त्यसले दिमागको कोषमा अधिक प्रभाव पार्न थाल्छ, तब प्रयोगकर्ताले आफू उडेको वा खुसी भएको अनुभूति गर्न थाल्छ। उसले रङहरू पनि अलि चहकिलो देख्न थाल्छ, साथै समय, सोच परिवर्तन भएको महसुस गर्न थाल्छ। शरीर चलाउन नसकेको, सोच्न र समस्या समाधान गर्न समस्या हुने तथा सम्झना शक्ति बिग्रिएको अवस्थामा ऊ पुग्छ। गाँजाको मात्रा बढी भएमा ऊ दिग्भ्रमित हुन्छ। दैनिक रूपमा गाँजा खाएको खण्डमा साइकोसिस पनि हुन सक्छ।

अहिले केही व्यक्तिले गाँजाले विकास र समृद्धि ल्याउँछ भनेर भ्रम छरिरहेका छन्। तसर्थ त्यस्तो भ्रम चिर्न हामी अत्यन्त चनाखो हुनुपर्ने बेला आएको छ।

गाँजा प्रयोगले शरीरमा दीर्घकालीन असर पनि देखिन थाल्छ। हाम्रो समाजमा विशेषगरी युवा÷किशोर अवस्थामा गाँजाको धेरै प्रयोग गर्ने गरेको पाइन्छ। युवावस्थादेखि गाँजा प्रयोग गर्ने मानिसमा सोच्ने शक्ति ह्रास हुने र सिक्ने प्रक्रिया तथा अन्य क्रियाकलापमा पनि असर पुग्नेजस्ता समस्या देखिन्छन्। युवावस्थामा गाँजा प्रयोग गरेका व्यक्तिले पछि यो बानी छाडे पनि उसको मानसिक क्षमता पहिलेजस्तै अवस्था फर्किन सक्दैन। यसको उदाहरण हाम्रा सहर वा गाउँमा पाइन्छ। ती युवा, जसले पहिले गाँजा प्रयोग गरे र पछि छाडे, उनीहरूले पछि चाहेर पनि पढ्न नकसेको र सामान्य जीवनयापन गर्न बाध्य भएको देखिन्छ। आमाबुबाले जतिसुकै राम्रा शिक्षककहाँ वा विद्यालयमा पठाए पनि त्यस्ता युवाले अध्ययन गर्न नसकेको थुप्रै उदाहरण भेटिन्छन्।

गाँजाले हाम्रो शरीरको विशेष गरेर केन्द्रीय स्नायु प्रणालीमा असर गर्छ। माथि उल्लेख गरिएझैं गाँजाले दिमागको कोषको रिसेप्टरलाई अधिक सक्रिय गराउने हुँदा क्षणिक रूपमा शारीरिक कष्ट हटाई सुखको अनुभूति गराए पनि यसले केन्द्रीय स्नायु प्रणालीमा हानि पु¥याउँछ। गाँजामा हुने टेट्राहाइड्रोक्यानाबोनिल रसायनले दिमागमा धेरै डोपामाइन भन्ने रसायन तŒव निकालेर व्यक्तिलाई क्षणिक आनन्दको महसुस गराउँछ। तर दिमागको हिमोक्याम्पस भन्ने भागमा गाँजामा हुने रसायन तŒवले असर गरेर व्यक्तिको विवेक गुम्न जान्छ। हिमोक्याम्पसले विशेषगरी सम्झने काम गर्छ, तर गाँजाको रसायनको असरले व्यक्तिले नयाँ सूचना वा नयाँ सम्झना गर्न कठिन भएको अनुभूति गराउँछ।

दिमागमा हुने सेरेबेलम र बेसल ग्याङग्लियाले शरीर सञ्चालन गर्न र सन्तुलनमा राख्न मद्दत गर्छन्। तर गाँजामा भएको रसायनका कारण व्यक्ति चल्न र आफूलाई सन्तुलनमा राख्न असमर्थ हुने हुँदा गाडी चलाउनेहरू यसको प्रयोगले असुरक्षित हुन्छन्। गाँजाको बढी मात्रा प्रयोगले मानिस मतिभ्रष्ट हुनाका साथै उसमा नैराश्य, तनाव, चिन्ता र प्यानिक डिसअर्डरजस्ता लक्षण देखापर्छन्। गाँजाले विशेष गरेर केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्ने भए पनि यसले शारीरिक प्रणालीमा पनि असर पु¥याउँछ। गाँजा तान्नेहरूमा गाँजाको धुँवामा रहेका विषाक्त रसायन अमोनिया र हाइड्रोजन साइनाइडले श्वास नली र फोक्सोमा अवरोध गर्न थाल्छन्। लगातार गाँजा पिउनेहरूको फोक्सोबाट खराब आवाज आउने, खोकी लाग्ने र बढी खकार आउने गर्छ, जसका कारण उसको  फोक्सोमा ब्रोङकाइटिस र अरू संक्रमण हुन सक्छन्।

यसमा भएको रसायन तत्वले फोक्सोबाट रक्तसञ्चार माध्यम हुँदै मुटुमा पुगेर असर देखाउँछ। साधारण मुटुको चाल प्रतिमिनेट २० देखि ५० पटकसम्म ढुकढुक हुन्छ भने गाँजाको असरले त्यति चालका लागि ३ घण्टासम्म लाग्ने बनाउँछ। विशेष गरेर मुटुका रोगीले गाँजाको प्रयोग गरेका खण्डमा हृदयाघात हुने ठूलो सम्भावना हुन्छ। गाँजा प्रयोगकर्ताका आँखामा रक्तनली फैलिएर आँखा रातो पनि हुने गर्छ।

गाँजा पिउनेले पिएको समयमा मुख पोलेको अनुभूति गर्छ, साथै उसलाई वाकवाकी लाग्ने तथा कलेजो खराब हुने समस्या पनि देखापर्छन्। मुख्यतया गाँजामा हुने टेट्राहाड्रोक्यानाबिनोल साइको सक्रिय पदार्थ हो, जसले प्रयोगकर्तामा नैराश्य, आत्महत्या गर्ने सोच ल्याउने, सम्झना शक्ति र सिक्ने क्षमतामा ह्रास, गर्भवती महिलाबाट जन्मेका बच्चाको दिमाग सानो हुने वा राम्रोसँग दिमाग विकास नहुने तथा प्रयोगकर्तालाई गाँजा छाड्न नसक्ने अवस्थामा पु-याउँछ।

अहिले केही व्यक्तिले गाँजाले विकास र समृद्धि ल्याउँछ भनेर भ्रम छरिरहेका छन्। तसर्थ त्यस्तो भ्रम चिर्न हामी अत्यन्त चनाखो हुनुपर्ने बेला आएको छ। र, गाँजा प्रयोगबाट हुने गम्भीर शारीरिक तथा मानसिक हानिलाई जनसमक्षम प्रस्तुत गर्नुपर्ने अवस्था आएको छ। गाँजा प्रयोगले विवेक नै गुम्ने, यौन असर्मथता हुने, शरीरको रोग प्रतिरोधात्मक शक्ति नै घटाउने, क्यान्सर र विभिन्न संक्रमण हुने, युवामा साइकोसिसको समस्या आउने, गिजामा रोग लाग्ने, शिशुको दिमागको विकास नहुने, मानव कोषको डिएनए परिवर्तन गराएर क्यान्सर गराउन सक्ने र पुरुषको अण्डकोषमा क्यान्सर गराउन सक्ने अवस्था सिर्जना हुन सक्छन्।

स्वस्थ हुनु भनेको शारीरिक, मानसिक तथा भावनात्मक कष्टबाट मुक्ति पाउनु हो र सन्तुलनमा रहनु हो। चुरोटले बढी मात्रामा शारीरिक स्वास्थ्यमा हानि पु-याउँछ भने रक्सीले शारीरिक साथै भावनात्मक अवस्थामा पनि असर गर्छ। तर गाँजाले शारीरिक खराबीका साथै भावनात्मक तथा मानसिक स्वास्थ्यमा पनि गम्भीर र कडा क्षति गराउँछ।

तसर्थ अहिले हाम्रो समाजको शान्त र सुन्दर वातावरण खलबल्याउने गरी भविष्यमा हुन सक्ने विषम परिस्थितिको विवेचना नगरी केही सांसदले गाँजालाई वैधता प्रदान गर्न भन्दै संसद्मा विधेयक प्रस्तुत गर्नु विडम्बना हो। यस विषयमा  सरकारले फरेन्सिकसम्बन्धी ज्ञान वा तालिमप्राप्त विज्ञसहित प्रहरी, वकिल र मनोचिकित्सक सम्मिलित समिति बनाई विचार विमर्श गर्न÷गराउन जरुरी छ। किनभने गाँजाबाट हुने वास्तविक हानि र त्यसले निम्त्याउने भयावह अवस्थाबारे विज्ञले मात्र बताउन सक्छन्। र, गाँजाले फाइदा गर्छ भन्ने भ्रमलाई राम्रोसँग चिरफार गर्न सक्छन्।

प्रकाशित: ६ चैत्र २०७६ ०२:३८ बिहीबार

गाँजा स्वास्थ्य