को हौं हामी ? यो प्रश्न दलित समुदायले सयौं वर्ष अघिदेखि सोधिरहेका छन्। यस प्रश्नको जवाफ जे–जसरी दिइयो, त्यो अब पनि सार्वजनिक रूपमा सगौरव व्यक्त गरिरहन लायक छैन। भाग्य, पुनर्जन्म, पाप कर्मको फल, अछूत योनीबाट जन्म हुनु, भगवान्को श्राप आदि इत्यादि। यस्तो ढाँट, छल र षड्यन्त्रपूर्ण जवाफले चित्त बुझ्ने अवस्था अब रहेन÷रहनु हुन्न।
बागलुङका सर्वजित कामीले २००६ सालमा राणा प्रधानमन्त्री मोहनशमशेर समक्ष खड्काथोकी थर भएका (कामी जाति)ले खड्का थर लेख्न र जनै लगाउन पाउनुपर्ने माग राखेर बिन्तीपत्र चढाए। प्रधानमन्त्री मोहनशमशेरले सर्वजितको माग सदर गरिदिए। तर स्थानीय प्रशासन, कर्मचारी र अन्य तल्ला निकायले त्यो निर्णय रुचाएनन् र कार्यान्वयन हुन दिएनन्। त्यति मात्रै होइन, लगत्तै ००७ सालको क्रान्ति सफल भई राणा शासन अन्त्य (प्रजातन्त्र पुनस्र्थापना) भएका कारण जनै भिर्ने र खड्का थर लेख्ने सर्वजितको सपना तुहियो।
त्यसपश्चात् उनी (नेपालका ब्राह्मणहरूको सुझाव बमोजिम) भौतारिँदै भारतको काशी पुगे। काशीका पण्डितले सर्वजितलाई जनै धारण गर्ने अधिकार त दिएनन्, तापनि कामी जातिको पेसा, कर्मका आधारमा विश्वकर्मा थर लेख्न सल्लाह दिएर फर्काए। हिन्दू धर्मशास्त्रका अनुसार हातहतियार, धातुका उपकरण, सामान, भाँडाकुँडा, औजारका निर्माता विश्वकर्मा थिए। ‘तिमीहरू विश्वकर्माका सन्तान हौ, अबदेखि विश्वकर्मा थर लेख्नू’ भन्ने भारतीय पण्डितहरूको सन्देश बोकेर सर्वजित नेपाल फर्किए। त्यसपश्चात् कामी जातिले विश्वकर्मा थर लेख्न थाले। यसरी विश्वकर्मा लेख्न थालिएको करिब ७ दशक भयो।
मनुस्मृतिलगायत धार्मिक ग्रन्थमा ‘शिल्प गर्ने विश्वकर्मा’ भन्ने उल्लेख गरिएको भए तापनि शास्त्रका ‘विश्वकर्मा’ एक मिथक मात्रै रहेको स्पष्ट छ। किनभने विश्वकर्मा हातहतियार, औजार, निर्माण सामग्री आदिका आविष्कारक भएका भए, उनले बनाएका, आविष्कार गरेका सामाग्री, औजार आदि के–के हुन् ? पश्चिमा वैज्ञानिकहरूद्वारा निर्मित मेसिन, गाडी, औजार, हतियार आदिलाई पनि विश्वकर्माकै नाममा पूजा गरिन्छ। यसको तात्पर्य र औचित्य के हो ?
मेरो नाम ‘मेखराज परियार’.....तर पख्नुस्, म दलितवाला दमाइं होइन, शिल्पी दमाइं हुँ....। यस्तो भन्यो भने मलाई विभेद हुँदैन ?
अतः शास्त्रमा वर्णित कथित बाबा विश्वकर्मा नै काल्पनिक, मिथक, अस्पष्ट र भ्रमित पात्रका रूपमा रहेको अवस्थामा एक जातिले त्यसैलाई जात (थर) को वंश वा उत्तराधिकारी मान्नु किमार्थ उचित हुन सक्दैन। अर्काे कुरा, विश्वकर्मालाई सत्य मान्ने हो भने मनुलाई आदि मानव अर्थात् विश्वको प्रथम मान्छे (पुरुष÷महिला दुवै) मान्न करै लाग्छ। मनु र मनुले रचना गरेका तत्कालीन धार्मिक कानुन मनुस्मृतिलाई आजको युगमा पनि सत्य, यथार्थ र वैज्ञानिक मानी लागू गर्ने हो भने हामी फेरि कुन युगमा पुग्छौं, हेक्का राख्न जरुरी छ।
वर्ण–व्यवस्था र हामी
इसापूर्व १५००–१००० लाई रचनाकाल मानिएको, आर्यहरूद्वारा रचित ऋग्वेदमा ४ वर्णको व्याख्या छ। संसारकै प्राचीन ग्रन्थ मानिएको ऋग्वेदमा मुखबाट ब्राह्मण, पाखुराबाट क्षत्रीय, पेटबाट वैश्य र पाइतालाबाट शूद्रको जन्म(उत्पत्ति) भएको उल्लेख छ। जुन घोर आपत्तिजनक, असम्भव र कपोलकल्पित मान्यता हो। पछि जन्म इ.पू. २०० मानिएको प्रथम ब्राह्मण राजा मनुले मनुस्मृति रचना गरी वर्ण–व्यवस्थालाई अझ कठोरतापूर्वक लागू गरे। हिन्दूको पवित्रत ग्रन्थ मानिने भागवत गीतामा समेत ४ वर्णको व्याख्या र सार विस्तृत रूपमा उल्लेख गरेको पाइन्छ। हालको जात–व्यवस्थाको मूल स्रोत वर्ण–व्यवस्था नै हो।
विश्वका अन्य मुलुक र धर्म (हिन्दूबाहेक)मा पनि अपवित्रता, अछुतपना र विभेद रहेका प्रशस्त उदाहरण पाइन्छन्। हिन्दूभित्रका पनि ब्राह्मण, क्षत्री आदिमा अस्थायी अशुद्धता र अछुतपना हुन्छन्, जस्तै ः मृत्यु–क्रियामा बसेको पुरुष, महिनावारी वा प्रसूति भएकी महिला आदि। तर ती अछुतपनाबाट छूत बनाउने र शुद्ध हुने अवधि, विधि र प्रक्रियाको व्यवस्था छन्। अन्य धर्म, संस्कारमा पनि अपवित्रताबाट पवित्र बन्ने, अशुद्धताबाट शुद्ध बन्ने, अछूत (अस्थायी)बाट छूत बन्ने अवधि, विधि र प्रक्रिया व्यवस्था गरिएका हुन्छन्। तर ब्राह्मण धर्म याने हिन्दूमा अछूत जन्मका आधारमा जीवनभर रहने व्यवस्था हो, जसको शुद्ध वा छूत हुने कुनै अवधि, विधि र प्रक्रिया नै छैन। शूद्र (अछूत) जन्मका आधारमा जीवनभरि मात्रै होइन, उसका सन्तान, दरसन्तान शूद्र नै रहिरहन्छन्। यस्तो कठोर व्यवस्था संसारका अन्य धर्ममा कहीं छैन।
नेपालसँग वर्ण–व्यवस्थाको के–कस्तो सम्बन्ध छ ? कतिपयको तर्क त हिन्दू धर्म र जातीय विभेद÷छुवाछूतबीच सम्बन्धै नरहेको भन्ने पनि छ। जो धर्मले कहाँ विभेद गरेको छ र भनी उल्टै प्रश्न गर्छन्। ज्ञातव्य छ, नेपाल राष्ट्र, कम्तीमा ४ बेग्ला–बेग्लै देश र त्यस्तै प्रकारका संस्कार, धर्म, मूल्य–मान्यता, परम्परा वा सभ्यता मिलेर बनेको हो। यहाँका पहाडे ब्राह्मण आफूलाई आर्य वा सबैभन्दा उच्चकोटिको हिन्दू अथवा ब्राह्मण भएको दाबी गर्छन्। तर त्यो कुरा सत्य नरहेको शास्त्रले नै प्रमाणित गरेका छन्। किनभने कुनै पनि हिन्दू धर्मग्रन्थ नेपाली (खस–आर्य) भाषामा छापिएका छैनन्।
काठमाडौं उपत्यकामा राजा जयस्थिति मल्ल (सन् १३६०–१३९५) द्वारा ब्राह्मण कीर्तिनाथ उपाध्याय र मैथिल ब्राह्मणहरू रघुनाथ झा, रामनाथ झा, दक्षिण भारतका श्रीनाथ भट्ट र महिनाथ भट्टलाई बोलाएर वर्ण–व्यवस्थाबमोजिम ४ वर्ण ६४ जातमा मानिसलाई विभक्त गराएका थिए। उनले वर्ण विभाजन मात्रै गरेनन्, छुवाछूत र विभेदको व्यवस्था पनि लागू गरे, तर त्यो उपत्यकाका नेवार समुदायमा मात्रै लागू गरिएको कतिपयको बुझाइ रहेको पाइन्छ।
पश्चिम नेपालमा पर्ने जुम्लाको सिञ्जामा खस राज्यको राजधानी थियो। त्यस भूमिमा खसले राज्य कब्जा गर्नुअघि त्यो हालका दलित समुदायको शासन रहेको अध्येता डिबी नेपाली आदिको अध्ययनबाट प्रमाणित भइसकेको छ। दमाईं जातिको प्राचीन बाजा भेरीको नामबाट भेरी नदी र कर्नालको नामबाट कर्णाली नदीको नाम राखिनु आदि कारणले पनि दलित समुदाय त्यस क्षेत्रका मूलवासी र शासक जाति रहेको प्रमाणित हुन्छ। सिञ्जामा १२औं शताब्दीआसपास खस शासकले वर्ण–व्यवस्था भिœयाएको र छुवाछूत, विभेद लादेको खुल्न आएका छन्।
गोर्खाली राजा पृथ्वीनारायण शाहले वर्ण–व्यवस्था चरम रूपमा लागू गरी कठोर एवं व्यापक बनाएको भनी प्रचार गरिने भए तापनि उनका पुर्खा राजा राम शाह (सन् १६०५–१६३६ )ले नै वर्ण–व्यवस्था लागू गरेका थिए। उनले नै गोरखा राज्यमा ४ वर्ण ३६ जात कायम गरी जातीय छुवाछूत र विभेद कडाइसाथ लागू गराएका थिए। सन् १७६१ मा पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गर्ने क्रममा मकवानपुरका राजा दिग्बन्धन सेनलाई जिउदै जलाउँदै छाला काढेर निर्मम हत्या गरेका थिए। त्यति मात्रै कहाँ हो र ! आफ्नै जेठान दिग्बन्धन सेन मारेर पृथ्वी नारायणले सेनका सन्तानलाई जात पतीत गरी सार्कीमा झारिदिएका थिए।
राजनीतिक ‘क्लस्टर’ र हामी
धेरैको बुझाइ छ– दलित आर्य–खसकै एक अंश हो। अहिले नयाँ शब्दको पनि चर्चा छ– दलित होइन, शिल्पी। यथार्थचाहिँ के हो भने दलित समुदायको मूल अनार्य, अहिन्दू र मूलवासी समुदाय नै हो। त्यसो हुनाको कारणले नै उनीहरूलाई शूद्र घोषणा गरी अछूत बनाइएको र विभेद गरिएको हो। किनभने वर्ण–व्यवस्था आर्य (सवर्ण) र अनार्य (अवर्ण) बीचको राजनीतिक र सत्ता लडाइँ तथा हार–जितको उपज हो। दलितभित्र पनि जात, नश्ल, वंश र रगतमा भिन्नता छन्। जस्तै ः मधेसका दलित द्रविड हुन्। पहाडका सार्की मंगोलका नजिक छन्। दमाईं, कामी, गाइने आदिमा एकरूपता छैन, रगत र वंशको पृथकता भेटिन्छ। उदाहरणका लागि मेरा दाजुभाइ (खाती) खलकमा खसको जस्तै मस्टो पूजा, कुल देउता पूजा गर्ने र पुजारीले बलिदिएका बोकाको आलो रगत पिउने प्रचलन छ। मेरा जातका अन्यको प्रचलन फेरि फरक छन्। त्यसैले दलित समुदायको एक नश्ल वा वंश खुट्याउन असम्भव छ।
थरको सट्टा कामी, दमाइं नै लेख्ने कतिपय व्यक्तिले दलित शब्दको विरोध गरी शिल्पी प्रयोग गर्ने गरेको विडम्बना देखिन्छ। विभेद दलित शब्दका कारण भएको होइन। जस्तै ः मेरो नाम ‘मेखराज परियार’.....तर पख्नुस्, म दलितवाला दमाइं होइन, शिल्पी दमार्इं हुँ....। यस्तो भन्यो भने मलाई विभेद हुँदैन ? दलित शब्दको भन्दा दलित पहिचान बुझिने जात (थर) प्रयोगमा परिवर्तन जरुरी छ। जस्तै ः म मेखराज उदय। जात वा थर के हो ? म मेरा पाठकसँग आफ्नो थर परिवर्तन गर्ने अनुमति चाहन्छु। दलित अन्य कुनै समुदायको पूरक समुदाय होइन, बरु आर्य–खस, आदिवासी जनजाति, मधेसीजस्तै दलित एउटा बेग्लै राजनीतिक ‘क्लस्टर’ हो। त्यही हाम्रो पहिचान र उपस्थिति हो।
प्रकाशित: २ चैत्र २०७६ ०२:३४ आइतबार