विचार

कोरोना र हाम्रा विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस पढ्दाताका हामीसँगै कक्षामा एक जना चिनियाँ छात्रा पढ्थिन्। झन्डै आधा छोप्ने गरी मास्क र अनुहारमा घामको छायाँ नपर्ने गरी ह्याट लगाएर आउने उनी त्रिभुवन विश्वविद्यालयले विदेशी विद्यार्थीका लागि बनाएको छात्रावासमा बस्थिन्। उनी कक्षामा निकै थोरै मात्र विद्यार्थीसँग खुलेर कुरा गर्थिन्। कक्षा सकेपछि जहिल्यै उनलाई कोठा पुग्ने हतार हुन्थ्यो। त्यसकारण कक्षापछिको क्याफ्टेरिया बसाइमा उनी कहिल्यै हामीसँग भइनन्। बिदाको दिन पारेर घुम्न जाने क्रममा उनको मासु खाने सौख देखेर हामी चकित परेका थियौँ। उनले दुई वर्षे कोर्सको पहिलो वर्ष नै पूरा नगरी विश्वविद्यालय छाडिन्। पछि हाम्रो कहिल्यै भेट भएन। त्यसपछि समयको प्रवाहमा हामी आ–आफ्नै लयमा अघि बढ्यौँ।

मध्यचीनको हुपेइ प्रान्तको उहानबाट नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि त्यहाँका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीबारे अनेकथरी समाचारले हामीसँगैको बेन्चमा बस्ने तिनै चिनियाँ छात्राको सम्झना गरायो। कदाचित नेपालमा यस्तै कुनै महामारी फैलिए नेपालको विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीहरूको अवस्था कस्तो होला ? हाम्रा विश्वविद्यालयले त्यस्तो कुनै व्यवस्था गरेको होला र ?

कदाचित नेपालमा कोरोना जस्तै कुनै महामारी फैलिए नेपालका विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीहरूको अवस्था कस्तो होला ? हाम्रा विश्वविद्यालयले त्यस्तो कुनै व्यवस्था गरेको होला र ?

देशकै सबभन्दा जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयमा यसबारे सम्बन्धित अधिकारीसँग सोध्दा उनले विश्वविद्यालयमा हाल विदेशी विद्यार्थीका लागि छात्रावास नै नभएको जानकारी दिए। २०७२ सालको भूकम्पले पुरानो छात्रावास भवन भत्काएपछि विदेशी विद्यार्थीलाई छात्रावासको सेवा नै बन्द गरिएको हो। पुरानो छात्रावास भवनको ठाउँमा हाल चिनियाँ सहयोगमै पर्यावरणसम्बन्धी अध्ययन गर्ने थर्ड पोल इन्भ्यारोमेन्ट (टिपिइ) को काठमाडौँ मुकाम काठमाडौँ सेन्टर फर रिसर्च एन्ड एडुकेसन, कास–टियु (केसिआरइ) ले आफ्नो भवन निर्माण गरेको छ।

जसरी नेपालका विद्यार्थी विभिन्न देशमा गएर अध्ययन/अनुसन्धान र उच्च शिक्षा हासिल गर्छन्, स्वभावतः संसारका विभिन्न देशका अध्येता त्रिवि वा अरु कुनै पनि नेपाली विश्वविद्यालयमा आएर अध्ययन÷अनुसन्धान गर्न सक्छन्। तर त्रिविले भने आफूसँग भएको छात्रावासको सुविधासमेत खारेज गरेको छ। कदाचित विदेशी अध्येता त्रिविसँग सहकार्य गरेर कुनै विषयको अध्ययन गर्न चाहे त्रिविसँग बस्नमात्र पनि दिने ठाउँ छैन।

पदाधिकारीहरू त्रिविलाई संसारको सूचीकृत विश्वविद्यालय बनाउने कुरा बेलामौकामा गरिरहेका हुन्छन्। तर विदेशी विद्यार्थीलाई पनि नेपालमा आएर पढ्ने अवस्था हामीले बनाएका नै छैनौँ भने कसरी हामी सूचीकृत विश्वविद्यालयमा पर्न सक्छौं र ? त्रिविको यस्तो अवस्थाले नेपालप्रति माया लागेर यता पढ्न आएका केही विदेशीलाई समेत निराश र हतास बनाएर फिर्ता पठाउने अवस्था छ।

प्रसंगवस, कदाचित नेपालले पनि आज चीनले भोगिरहेको जस्तो सङ्कटपूर्ण अवस्था सामना गर्नुपरे के हामीले नेपालका कुनै विश्वविद्यालयमा अध्ययनरत कुनै पनि देशको विद्यार्थीलाई महिनौँसम्म व्यवस्थापन गर्ने सामथ्र्य राख्छौँ ? त्रिविले हाल अवरुद्ध गरेको छात्रावासको सुविधा पनि खासमा बस्ने सुविधामा मात्र सीमित थियो। बाँकी सबै कुराको चाँजोपाँजो विद्यार्थी स्वयंले गर्नुपथ्र्यो। त्यही छात्रावास पनि अहिले बन्द गरिएको छ।

नेपालबाट लाखौँको सङ्ख्यामा विद्यार्थी विदेशमा पढ्न जान्छन्। कोही आफ्नै खर्चमा जान्छन् त कोही सम्बन्धित देशको सरकार वा विश्वविद्यालयको छात्रवृत्तिमा जाने गर्छन्। आफूले छात्रवृत्ति दिएका विद्यार्थीको व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित विश्वविद्यालयको हुने गर्छ। कुनै आपत्विपत् आइलागे विद्यार्थीलाई त्यस्ता विपत्बाट जोगाउने दायित्व पनि विश्वविद्यालय र सरकारको हुने गर्छ। डिसेम्बरको अन्तिम सातातिर चीनमा देखिएको कोरोना भाइरसको संक्रमणले महामारीको रूप लिएपछि हुपेइ प्रान्तका विश्वविद्यालयहरूले विदेशी विद्यार्थीप्रति आफ्नो दायित्व प्रभावकारी तरिकाबाट निर्वाह गरेका देखिन्छ।

महामारी फैलिएपछि चीनबाट फर्केका नेपालीहरू आजभोलि नेपालमा आफ्नै घरमा बसेर नियमित कक्षा लिइरहेका छन्। चीनबाट विश्वविद्यालयले अनलाइन अध्यापनको सुविधा दिएपछि विश्वविद्यालयका विद्यार्थी आफ्नो नियमित अध्ययनबाट वञ्चित छैनन्।

स्वभावतः महामारी र सङ्कटको समयमा सामान्य अवस्थाको जीवनभन्दा केही अप्ठ्यारा हुन्छ नै। तथापि आफ्नो देशमा शिक्षा हासिल गर्न आएका पाहुना विद्यार्थीलाई सकेसम्म उचित व्यवस्थापन गर्न चीन सरकार र विश्वविद्यालयले सक्दो मेहनत गरेको देखिन्छ। महामारीले सोचेभन्दा विकराल रूप लिएपछि १७५ जना नेपाली (जसमध्ये अधिकांश विद्यार्थी थिए) नेपाल सरकारको सहयोगमा स्वदेश फर्के। तथापि त्यहाँ रहुञ्जेल उनीहरूको दैनिकी सहज बनाउन विश्वविद्यालय प्रशासनले भरमग्दुर प्रयास गरेको नेपाल फर्केका विद्यार्थी सुनाउँछन्।

संक्रमणको सम्भावनाको कारण विश्वविद्यालय परिसर बाहिर जान नदिइनु स्वाभाविक हो। त्यो कसैका लागि भन्दा आफ्नै सुरक्षाको लागि गरिएको व्यवस्था हो। सम्पूर्ण अर्थतन्त्र नै झण्डै ठप्प भएको अवस्थामा पनि विदेशी विद्यार्थीलाई चीनका विश्वविद्यालयहरूले भोकै बस्नुपर्ने अवस्थामा पु-याएन। मास्क जस्तो अत्यावश्यक वस्तुको अभावबीच पनि विदेशी विद्यार्थीलाई अभाव महसुस गराएन।

अझै पनि हुपेइ प्रान्तमा कम्तीमा बीस जना नेपाली छन्। बेइजिङस्थित नेपाली राजदूतावासले स्वदेश फर्किन चाहने विद्यार्थीको निवेदन आह्वान गर्दा फारम नभर्ने र चीनमै बस्न संकल्प गरेका नेपाली विद्यार्थी आज पनि त्यहीँ छन्। उहानकै एउटा भारतीय रेस्टुरा इन्डिन मार्कामा कार्यरत दस जना नेपाली कामदारमध्ये नौ जना त्यहीँ छन्। उहानमा रहेका बाँकी विद्यार्थीले आफूलाई दैनिक तीन छाक खाना र अन्य अत्यावश्यक सामग्री उपलब्ध गराएको जानकारी दिएका छन्। कोभिड–१९ को संक्रमणको चापाचाप क्रमशः खुकुलो बन्दै गइरहेको छ। आकस्मिक सेवाका लागि बनाइएका अस्पतालका शैय्याहरू क्रमशः खाली हुन थालेका छन्। पूर्ण निर्मूलनका लागि अझै केही समय लाग्नेछ। तर चिनियाँहरू जस्तै त्यहाँ रहेका नेपालीले पनि हलुका महसुस गर्न थालेका हुनुपर्छ।

चीनकै अन्य प्रान्तका विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले पनि विशेषतः विदेशी विद्यार्थीको हेरचाहमा चीन सरकारले विशेष ध्यान दिएको अनुभव सुनाएका छन्। चीनको अवस्थाले भन्दा विभिन्न सञ्चार माध्यमका अतिरञ्जनापूर्ण र नकारात्मक समाचारले नेपालमा रहेका परिवार र आफन्तका कुराले बढी मानसिक तनाव झेल्नुपरेको नेपाली विद्यार्थीको अनुभव छ।

नेपालका विश्वविद्यालयलाई कम्तीमा यस्तो ‘झमेला’ छैन किनभने एक त विदेशी विद्यार्थी नै छैनन्। भएका केहीलाई पनि राख्नका लागि बनाइएका छात्रावास पनि विदेशी संस्थालाई सुुम्पेर ढुक्कसँग बसेका छन्। विभिन्न देशका विद्यार्थी, अध्येता र प्राध्यापक नेपालका विश्वविद्यालयमा आएर काम गर्ने अवस्थाले हाम्रो उच्च शिक्षालाई अझ उचाइमा पु-याउने थियो। विदेशी विद्यार्थीको उपस्थितिले नेपाली विद्यार्थीले पनि अझ व्यापक परिधिको ज्ञान हासिल गर्न मद्दत पुग्छ। त्यसको निम्ति त्रिविजस्तो सबभन्दा ठूलो र विश्वव्यापी परिचय बोकेको विश्वविद्यालयसँग कुनै योजना र सोच छैन भने अरुबाट धेरै अपेक्षा गर्न सकिने अवस्था छैन। हामीले भएका पूर्वाधारलाई समेत भाडामा दिइरहेका छौँ।

आज चीनले भोगेको विपत् कुनै न कुनैरूपमा भोलि नेपालले पनि भोग्नुपर्ने हुन सक्छ। त्यतिबेला एउटा विश्वविद्यालय प्रशासनले गर्नुपर्ने धेरै जिम्मेवारीमध्ये विदेशी विद्यार्थीको व्यवस्थापन पनि हो। तर त्रिविले यो विषयमा धेरै सोच्न आवश्यक छैन किनभने ऊसँग विदेशी विद्यार्थीका लागि छात्रावास नै छैन। अर्को महत्वपूर्ण पक्ष भनेको यस्तो विपत्को समयमा पनि विद्यार्थीको अध्ययन प्रभावित नबनाउन उपलब्ध प्रविधिको प्रयोग हो।

महामारी फैलिएपछि चीनबाट फर्केका नेपालीहरू आजभोलि नेपालमा आफ्नै घरमा बसेर नियमित कक्षा लिइरहेका छन्। चीनबाट विश्वविद्यालयले अनलाइन अध्यापनको सुविधा दिएपछि विश्वविद्यालयका विद्यार्थी आफ्नो नियमित अध्ययनबाट वञ्चित छैनन्। कोभिड–१९ को महामारीको समयमा चीनका जनताले सबभन्दा प्रभावकारी उपयोग अनलाइन सेवाको लिए र अनलाइन सेवाले उनीहरूको जीवन तुलनात्मकरूपमा सहज बनायो। अनलाइन प्रविधिलाई विश्वविद्यालयहरूले अध्यापनमा पनि उपयोग गरे। फलतः आज चीनका विद्यार्थी आ–आफ्ना कोठामा क्वारेन्टाइनमा बसेर पनि उनीहरूको अध्ययन भने रोकेका छैनन्। विद्यालय तहका विद्यार्थीहरूले समेत अनलाइन कक्षामार्फत आफ्नो अध्ययन जारी राखेका छन्। नेपालका विश्वविद्यालय, क्याम्पस र विद्यालयहरूले पनि विपत्को तयारीअन्तर्गत यस्ता तयारी गर्नु उचित हुन्छ। पिता पुर्खाले निकै कष्ट झेलेर सिकेका कुरा जसरी आज हाम्रा लागि अमूल्य ज्ञान बनेको छ, चीनका जनताले विपत्को समयमा निकालेका जुक्ति हामीले हाम्रो सन्दर्भमा उपयोग गर्न सक्छौँ। उनीहरूले विपत् सामना गर्दा सिकेका कुरा नै हामीले भने विपत् झेलेपछि मात्र सिक्न खोज्नु हाम्रो अल्पज्ञान हुनेछ।

प्रकाशित: २८ फाल्गुन २०७६ ०५:२८ बुधबार

कोरोना विश्वविद्यालय