विचार

कोरोना आतंक र कालोबजारी

अहिले विश्वभर कोरोना भाइरसको त्रास बढेको छ। यसको उद्गमस्थल छिमेकी मुलुक चीन हुनु तथा विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई यसको उच्च जोखिम भएको देशको सूचीमा राखेपछि हामीकहाँ कोरोनाको त्रास झनै बढेको छ। मानिसमा संक्रमणको स्वाभाविक आशंका मात्र छैन, यसलाई भयावह अर्थात् महामारीका रूपमा प्रस्तुत गर्न थालिएको छ। मौसम परिवर्तनसँगै देखापर्ने सामान्य रुघाखोकी र ज्वरोलाई पनि कोरोना भाइरस संक्रमण बुझ्ने र त्रसित हुने मनोविज्ञान विकास भएको छ।

कोरोना भाइरसबारे अनावश्यक र अतिरञ्जित सूचना प्रवाह भइरहेका छन्। हरेक मानिसले कोरोना शब्द देख्नेबित्तिकै भए/नभएका, प्रामाणिक÷अप्रामाणिक सूचना सामाजिक सञ्जालमा राखिरहेका छन्। यसको सत्यतथ्य खोजीमा कोही लाग्न चाहेको देखिँदैन। कोरोना भाइरसविरुद्ध अहिलेसम्म चिकित्सा विज्ञानले औषधि पत्ता लगाउन नसकिरहेका बेला एकपछि अर्को ‘औषधि–विज्ञ’ देखापरिरहेका छन्। यतिबेला कोरोना संक्रमणविरुद्ध कसैले आयुर्वेदिक त कसैले एलोप्याथिक उपाय अपनाउन सुझाव दिइरहेका छन्। यहाँसम्म कि अचेल आइरहेका सूचनामा रोगका लक्षणबारेमा पनि एकरूपता छैन। सुरुमा यसका लक्षणमा कडा ज्वरो, रुघाखोकी, स्वाशप्रश्वासमा समस्या र शरीर दुख्ने भनियो। पछि रुघा होइन, खोकी मात्रै भनियो। फेरि रुघाखोकी दुवै हो भनियो। हरेक व्यक्ति आफैैं डाक्टर बनेका छन्। रोगका लक्षण पनि आफैं बताउँछन्। औषधि पनि आफैैं सुझाउँछन्।

अहिले केही लाख मानिस २/४ महिनाको उपभोग्य वस्तु जोहो गर्ने हैसियतमा होलान्, भोलि त्यो अवस्था पनि केही हजारमा सीमित हुन पुग्यो भने ?

यसको एउटा सकारात्मक पक्षचाहिँ पक्कै छ– अधिकतर नागरिकलाई कोरोना भाइरस संक्रमणबारे सचेत रहन यसले सघाएको छ। उनीहरूले बताएका लक्षणले कति मानिस आतंकित छन् वा उनीहरूका सिफारिका औषधिले कतिलाई राम्रो गरेको होला ? यसको मापन गर्ने कुनै आधार फेला परेको छैन। सौभाग्यवश, अहिलेसम्म नेपालमा कसैमा यो रोग देखिएको छैन। कुनै बिरामी फेला परेछ भने हल्ला–बजारले कुन रूप लिने हो, नागरिकमा कुन खालको सन्त्रास फैलिने हो, यसको अनुमान मात्र गर्न सकिन्छ। जसरी कोरोना भाइरसको सूचनाले सामाजिक सञ्जाल रंगिएका छन्, त्यसरी त्यसका आधिकारिकता पुष्टि गर्ने सूचना भने कतैबाट प्रवाह भइरहेको छैन। हरेक नागरिकले आफ्ना तहबाट सल्लाह र सुझाव दिनु आफैंमा नकारात्मक होइन, तर यस्ता सुझाव र सल्लाहले अनाहकमा कसैको बजार बनाइदिएको छ भने कसैका पेसा÷व्यवसाय नै धराशायी पारिदिएको छ। सामान्य नागरिक कुनै सूचनाप्रति अविश्वास गर्न सक्ने अवस्थामा छैनन्। केवल संशय छ भने कसको सूचनामा विश्वास गर्ने भन्ने मात्र हो। विश्व स्वास्थ्य संगठनले रोगका लक्षण र यसबाट बच्ने उपायका बारेमा प्रवाह गरेका सूचनाभन्दा स्थानीयतवरमा उत्पादित सूचनाले बजार पाएको छ।

नेपालका विज्ञले दिएका जानकारी केही मिडियामा सीमित छ। राज्यको सूचना संयन्त्रबाट प्रवाहित सूचनाको मार्केटिङ कमजोर छ। सम्भावित संक्रमणको आशंकासँगै मुलुकमा कालोबजारी र कृत्रिम अभाव सिर्जना गरिएको छ। सुरुका दिनमा औषधि किन्न लागेका नागरिकको लाइन, अब नुनदेखि दाल, चामल र ग्याँसको जाहोसम्म पुगेको छ। जब अस्वाभाविक रूपमा सञ्चयको प्रवृत्ति बढ्छ, तब बजारमा व्यापारीले कृत्रिम अभाव सिर्जना गर्न थाल्छन्। यो असर नेपाली बजारमा सुरु भइसकेको छ। औषधि पसलमा औषधिको अभावबाट सुरु भएको यो प्रवृत्ति ग्याँसमा देखापरेको छ। नुन नपाइने हल्लाले महिनामा १ किलो नकिन्ने ग्राहकले समेत वर्षभरका लागि सञ्चय गर्न थालेका छन्। बिस्तारै अरू सामग्री जोगाडमा लाग्ने सम्भावना बढेको छ। बजारमा सुरु भएको कृत्रिम अभावसँगै कालोबजारियाले दसैं मनाउन थालेका छन्। यसले अर्को कुन दुष्चरित्रलाई प्रेरित गर्ने हो ? थाहा छैन।

मुलुकका प्रधानमन्त्री अहिले बिरामी हुनुहुन्छ। यतिबेला उहाँलाई सोधिने कुनै पनि प्रश्न अमानवीय लाग्न सक्छन्। प्रधानमन्त्री जवाफ दिने अवस्थामा हुनु हुँदो हो त उहाँले हाजिरीजवाफ शैलीमा पक्कै प्रतिप्रश्न गर्नुहुन्थ्यो– आकाशै खस्यो भनेजस्ता हावादारी प्रश्न सोध्ने ?

यो संक्रमणका विषयमा राज्य बोलिरहेको छ। स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयबाट एकपछि अर्का सूचना आइरहेका छन्। गीत–संगीतका माध्यमबाट नागरिक चेतना फैलाउने काममा नागरिक तहको सक्रियता पनि बढेको छ। तर राज्यप्रति नागरिकको अविश्वास कायम छ। त्यही कारण नागरिक औषधि पसलमा चक्कर लगाइरहेका छन्। ग्यास लुकाउने व्यापारीसँग खुसामद गरिरहेका छन्। नागरिकलाई रोग लाग्न नदिन सरकारले गरेका प्रयत्न पर्याप्त छन् भन्ने लागिरहेकै छैन। रोग लागिहालेछ भने पनि राज्यले बचाउँछ भन्ने विश्वास नागिरकलाई छैन। उनीहरूको चासो स्वास्थ्यमा मात्र सीमित छैन, जीवन धान्ने कसरी भन्ने चिन्तासमेत छ।

नत्र उनीहरू ६ महिना/वर्ष दिनसम्मका लागि उपभोग्य वस्तु जोहो गर्ने सोचमा पुग्ने थिएनन्। अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ भनेझैं भइरहेको छ, अहिले। संयोगवश केपी ओली सरकारकै पालामा भएको अघोषित भारतीय नाकाबन्दी फेरि कोरोनाका बहानामा दोहोरिएला कि भन्ने त्रास नेपाली नागरिकलाई भइरहेको छ। यतिबेलाको दुईतिहाइ बहुमतको सरकारले आफ्ना समस्या समाधान गर्न कुनै कसर बाँकी राख्दैन भन्ने विश्वास नागरिकले गर्न सकेका छैनन्।

सरकार आम नागरिकका लागि हो र मैले खान वा बाँच्न नपाउँदा अरूले पनि पाउँदैनन्, त्यो अवस्थामा राज्यले नागरिकलाई नहेरी सुख पाउने छैन भन्ने वातावरण बनाउन सरकारले सकेको छैन। यसका केही सामान्य कारण छन्। जतिबेला यो संक्रमणको हल्ला सुरु भएको थियो, नागरिकलाई मास्क लगाएर सुरक्षित बस्न भनियो। नागरिकले त्यो आग्रह माने। ५ रुपैयाँको मास्क ३० रुपैयाँ तिरेर लगाउन थाले। यो जानकारी सरकारलाई नभएको होइन। तर खुलेआम चलेको यो कालोबजारी रोक्नुको सट्टा सरकार अर्थशास्त्रको माग र आपूर्तिको सिद्धान्त कण्ठ गरेर बस्यो। अहिले पनि मास्कको अभाव र कालोबजारी रोकिएको छैन। सरकार निरीह बनेको छ। एउटा सामान्य ५ रुपैयाँको वस्तु उत्पादन गर्ने क्षमता राज्यमा छैन भने नागरिकले अरू वस्तुको आपूर्तिमा सरकारप्रति कसरी भरोसा गर्ने ? समस्या यहींनेर छ। अरू ठूला कारणका व्याख्या÷विश्लेषण जरुरी छैन। यो प्रवृत्तिले मुलुक कहाँ पुग्ने हो ? थाहा छैन। कतिन्जेल यही कुसंस्कार र कुसंस्कृतिको सिकार नेपाली नागरिकले भइरहनुपर्ने हो, त्यो पनि थाहा छैन।

अहिले केही लाख मानिस २/४ महिनाको उपभोग्य वस्तु जोहो गर्ने हैसियतमा होलान्, भोलि त्यो अवस्था पनि केही हजारमा सीमित हुन पुग्यो भने ? मुलुकका प्रधानमन्त्री अहिले बिरामी हुनुहुन्छ। यतिबेला उहाँलाई सोधिने कुनै पनि प्रश्न अमानवीय लाग्न सक्छन्। प्रधानमन्त्री जवाफ दिने अवस्थामा हुनु हुँदो हो त उहाँले हाजिरीजवाफ शैलीमा पक्कै प्रतिप्रश्न गर्नुहुन्थ्यो– आकाशै खस्यो भनेजस्ता हावादारी प्रश्न सोध्ने ? यो सत्य हो, कुनै पनि भाइरल संक्रमण सदाका लागि रहँदैन। र, त्यो विकराल अवस्था पनि नआउला, तर राज्य भनेको प्रधानमन्त्री मात्र होइन, पद्धति पनि हो। मुलुकले कुनै पनि समस्या पद्धतिका आधारमा समाधान हुने अवस्था सिर्जना ग¥यो भने नागरिक विश्वस्त पनि हुन्छन् र सरकारलाई साथ÷सहयोग पनि दिन्छन्। आशा गरौं, नेपाल कुनै दिन यो अवस्थामा पक्कै पनि पुग्ने छ।

प्रकाशित: २७ फाल्गुन २०७६ ०६:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App