विचार

भत्किँदै परिवार

विवाह एउटा सामाजिक बन्धन हो। समाजलाई साक्षी राखेर गरिने फरक परिवारका महिला–पुरुषबीच जीवनभरका लागि गाँसिने आत्मीय सम्बन्ध हो– विवाह। विडम्बना, पश्चिमी संस्कृतिबाट भित्रिएको विकृतिले यतिबेला हाम्रो समाज पारिवारिक विखण्डनतर्फ लम्किँदै छ। सम्बन्ध–विच्छेदले विकराल रूप लिँदै छ। यस्तै क्रम जारी रहने हो भने भोलिका सन्ततिको अवस्था कस्तो होला ?

मोरङको मात्रै तथ्यांक हेर्ने हो भने पनि त्यहाँको जिल्ला अदालतमा २०७६ साउनदेखि पुससम्म ५ सय ११ वटा सम्बन्ध–विच्छेदका मुद्दा दर्ता भएका छन्। तीमध्ये मुद्दा हाल्नेमा ८५ पुरुष छन् भने बाँकी महिला छन्। अझ अगाडि हेर्ने हो भने सन् २०१५ मा त्यहाँ २ हजार १ सय ८ र २०१७ मा २ हजार २ सय ५६ वटा सम्बन्ध–विच्छेदका मुद्दा परेका छन्। यस्तै सन् २०१८–१९ को तथ्यांकअनुसार देशभर ३ हजार ६ सय ६९ वटा यस्ता मुद्दा अदालतमा दर्ता भएका छन्। तीमध्ये ७५ प्रतिशत मुद्दा महिलाले दर्ता गराएका छन्। २०७५ भदौ १ गतेदेखि पुरुषले पनि सम्बन्ध–विच्छेदका लागि सीधै अदालत जान पाउने कानुन लागू भएको छ।

राज्यले महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत हक दिइसकेको छ। तर राज्यले अधिकार दिएको छ भन्दैमा त्यसको दुरुपयोग गर्नु पनि त उचित होइन।

सम्बन्ध–विच्छेद हुने कारण केलाउँदा आपसमा समझदारी नहुनु, वैदेशिक रोजगारीबाट फर्केकाहरूले बहुविवाह गर्नु, परपुरुष वा स्त्रीसँग लाग्नु, जाँडरक्सीको लतमा फस्नु, बालविवाह, लैंगिक आदि देखिन आउँछन्। यसरी सम्बन्ध–विच्छेद गर्दा सन्तानको मानसिकतामा पर्ने असरको लेखाजोखा कसले गर्ने ? भर्खरै सुनसरीमा आमाबाबुको सम्बन्ध–विच्छेद भएकै कारण उनीहरूका १५ वर्षीय छोरा डिप्रेसनमा परेका छन्, जो अहिले कोसी अञ्चल अस्पतालमा उपचार गराइरहेका छन्।

आजभन्दा अगाडिको समाज नियाल्दा १२÷१३ वर्षकै उमेरमा छोरीको विवाह गरी घर पठाइन्थ्यो। कति पीडा सहेर पनि उनीहरूले घरपरिवार सम्हाल्थे। त्यस्तो इतिहास बोकेका कैयौं आमा, हजुरआमा अझै छन्, समाजमा। जसले आफ्नो परिवार विखण्डन हुनबाट जोगाएका छन्। तर आज आधुनिकताको खोक्रो आडम्बरका कारण ससाना कुरामा पनि समझदारी नअपनाई पति–पत्नी सम्बन्ध–विच्छेद गर्न तम्सिहाल्छन्।

समाज शिक्षित र सम्पन्न त हुँदै गयो तर हाम्रो मानसिकता भने दरिद्र भयो। कानुन पनि निकै परिवर्तन गरियो। २० वर्ष नभई विवाह गर्न नपाइने भयो। तर हाम्रो सोचमा भने त्यति धेरै परिवर्तन आउन सकेन। छोराछोरीलाई शिक्षित बनाई विवाह गराइन्छ– उज्ज्वल भविष्यको कामना गर्दै। तर केही समय नहुँदै तिनले सम्बन्ध–विच्छेद गर्दा अभिभावको मनमा कस्तो पीडा होला ? अर्काे कुरा, आमाबाबुले पनि आफ्ना छोरी वा छोराको कमजोरी÷दोष केलाउँदै नकेलाई सम्बन्ध–विच्छेदकै लागि प्रोत्साहन गर्ने गरेको पनि पाइन्छ। सन्तानको सबैभन्दा नजिक भनेका आमा हुन्। त्यसमा पनि छोरीको त उनीहरू साथीकै रूपमा हुन्छन्। तर ती आमाले ज्वाइँ विदेश गएपछि माइत आएकी छोरीलाई सम्झाएर घर पठाउनेतर्फ नलागी आफैसँग राखिरहने गर्नाले पनि सम्बन्ध बिग्रिएका छन्।

विवाह ग¥यो। विदेश गयो। श्रीमती त मैले आमाबाबुका लागि पो ल्याएको भन्ने कुरा पनि समाजमा सुनिने गरेका छन्। यहींबाट हुन्छ– सम्बन्ध–विच्छेदको बीजारोपण। केटा विदेश बस्छ, कमाउँछ भनेर पनि छोरी दिने चलन छ। विवाह गराउनु मात्रै आमाबाबुको कर्तव्य हो त ? यस्तै फेसबुकबाट साथी भएर प्रेम–विवाह गर्छन्। केटा वा केटी कस्तो छ, नबुझी विवाह गर्ने अनि पछि पछुताएर सम्बन्ध–विच्छेद गर्नेहरू पनि समाजमा छन्।

हाम्रो समाज पुरुषप्रधान भएकाले पनि कतिपय महिला त्यसबाट सिर्जित परम्परा, संस्कार सहन नसकेर सम्बन्ध–विच्छेद गर्न बाध्य भएको पनि देखिन्छ। घरलाई संस्कारयुक्त बनाउने पहिलो भूमिका श्रीमतीको हुन्छ। मर्यादित श्रीमान्–श्रीमती भएका खण्डमा घर स्वर्ग बन्छ।

राज्यले महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत हक दिइसकेको छ। आज महिला  पुरुषसँग काँधमा काँध मिलाएर हिँड्न सक्ने भएका छन्। तर राज्यले अधिकार दिएको छ भन्दैमा त्यसको दुरुपयोग गर्नु पनि त उचित होइन। हाम्रा आमा, हजुरआमाहरूले यो अधिकार पाए त ? तर पनि परिवार टुट्न दिएनन्। परेका समस्या मिलेर समाधान गराए। समान अधिकार र शिक्षाले सम्पन्न आजको आधुनिक समाज झन् राम्रो हुनुपर्ने ! तर  पारिवारिक विखण्डनतर्फ लम्किँदै गएको देखिन्छ।

सम्बन्ध–विच्छेद समाज र परिवारका लागि घातक हँुदै गएको छ। यसतर्फ राज्यका सबै निकाय तथा समाजका सबै पक्षको गम्भीर ध्यान जान जरुरी छ र समाजलाई विखण्डन हुनबाट बेलैमा बचाउन आवश्यक छ।

प्रकाशित: १३ फाल्गुन २०७६ ०४:५१ मंगलबार

परिवार सामाजिक_बन्धन विवाह