विचार

कोरोना भाइरसमा राजनीति

निरज लवजू

छिमेकी देश चीनका लागि कोरोना भाइरसको संक्रमण अनपेक्षित थियो। वसन्त पर्व धूमधाम मनाउन आ–आफ्ना गृहनगर जान सुरसार गरिरहेका चिनिया जनताका निम्ति मध्य चीनको उहानबाट फैलिएको निमोनिया भयाबह सन्त्रास बन्यो। कोरोना भाइरसबाट हुने निमोनियाले केही मानिसको ज्यान लिएपछि चीन सरकारले तुरुन्तै त्यसको प्रतिरक्षामा सघन बन्दोबस्त ग-यो। संक्रमणको उत्पत्ति थलो उहानलगायत धेरै चिनिया सहर बन्द (लक्ट्ड) वा आंशिक बन्द (सेमी–लक्ट्ड) गरियो। एउटा क्षेत्रलाई धेरै स–साना उपक्षेत्रमा विभाजन गरी त्यहाँको निश्चित मानिसले जिम्मेवारी लिने ग्रिड स्टाइल प्रणालीलाई सघन बनाइयो। नयाँ वर्ष मनाउन गएका स्वास्थ्यकर्मी, मुख छोप्ने मास्क जस्ता संक्रमण रोक्न अत्यावश्यक सामग्री उत्पादन गर्ने कारखानाका मजदूरहरू परिवारसँगको उत्सव छाडेर तत्काल कार्यक्षेत्रमा परिचालन भए। चिनिया जनमुक्ति सेना संक्रमण फैलिएका प्रान्तमा खटिए। कुनै एउटा मिसन ताकेर त्यसका निम्ति अहोरात्र लाग्ने चिनिया राष्ट्रिय स्वभाव यो महामारीको प्रतिरोधमा पनि देखियो।

चीनसामु एकातिर आफ्नै देशमा संक्रमण फैलिनबाट रोक्ने जिम्मेवारी छ अर्कोतिर संक्रमण चीनबाहिर फैलिए यसबापत भोग्नुपर्ने अपजसलाई ध्यानमा राखेर चिनियाहरूले थप सजगता अपनाएका छन्। विश्व स्वास्थ्य संगठनले महामारीको सम्भावित क्षतिलाई आंकलन गरी विश्व स्वास्थ्य आपतकाल घोषणा त ग¥यो तर चीनले देखाएको तदारुकताको प्रशंसा गर्दै सङ्कटकाल घोषणासँग चीनको कुनै सम्बन्ध नभएको बतायो। महामारी नियन्त्रणका लागि ‘ख’ श्रेणीको स्वास्थ्य बन्दोबस्त गर्न विश्व स्वास्थ्य संगठनले माग गरेकामा चीनले ‘क’ श्रेणीको बन्दोबस्त ग¥यो। दस दिनको अन्तरालमा उहानमा दुई विशेष सुविधा सम्पन्न अस्पताल निर्माणले संसारलाई चकित बनायो। चीनको यस्तो सघन तयारी र तदारुकताबीच पनि अहिलेसम्म यो रोग २० देशका २० हजार मानिसलाई संक्रमण भएको छ। मर्नेको सङ्ख्या आठ सय नाघिसकेको छ।

कुनै पनि बेला आफ्नो देशमा फैलन सक्ने रोगले संसारको एउटा कुनामा महामारीको रूप लिँदै गर्दा अमेरिकी उच्च अधिकारीले भने ‘ताली पिट्नु’ अराजनीतिक व्यवहार थियो।

चीनले रोक्न खोज्दाखोज्दै पनि २० देशमा कोरोना भाइरसको संक्रमण देखिनुले अब यो संक्रमण चीनको मात्र चासो र चिन्ताको मामिला नभएको प्रस्ट हुन्छ। चीनले आज जस्तो क्षति भोगिरहेको छ, त्यस्तो क्षति अरू देशले पनि भोग्नुपर्ने हुनसक्छ। त्यसकारण विश्व स्वास्थ्य संगठनले संक्रमणको प्रतिरोधमा सबै देशको सहकार्यको आह्वान गरेको हो। आर्थिक समृद्धिको म्याराथनमा दौडिरहेको चीन र चिनिया जनताका निम्ति आजको अवस्था निःसन्देह एउटा वज्रपात हो। तर चीन यति गम्भीर संकटमा मुछिएको अवस्थामा अमेरिकाका केही नेताले सार्वजनिक गरेका अभिव्यक्तिले चीनलाई विस्मित बनाएको देखिन्छ। कोरोना भाइरसले चिनिया जीवन अस्तव्यस्त बनेका बेला बेलायत पुगेका अमेरिकी विदेश सचिव माइक पम्पेओले माघ १५ गते ‘चीन हाम्रो समयको संसारका लागि सबभन्दा खतरा भएको’ बताए। बेलायतलगत्तै उनी कजाकिस्तान पुगे। त्यहाँ पनि उनले चीन विरोधी अभिव्यक्ति दिए। चीनसँग सिमाना जोडिएकाले कजाकिस्तानमा सुरक्षाको चुनौती भएको उनले भने। सुरक्षा चुनौतीको कुरा गर्दा उनले उदाहरण भने कोरोना भाइरसको दिएका थिए। कजाकिस्तान चिनिया राष्ट्रपति सि चिनफिङले सन् २०१३ को अक्टोबरमा पहिलो पटक बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआइ) घोषणा गरेको देश हो।

अमेरिकाले माघ १९ गतेदेखि लागु हुने गरी पछिल्ला चौध दिनमा चीनको भ्रमण गरेको कोही पनि विदेशी नागरिकलाई आफ्नो देशमा नभित्र्याउने सूचना जारी ग-यो। साथै उहानमा रहेको अमेरिकी महावाणिज्य दूतावासका सबै कूटनीतिक प्रतिनिधि र नागरिकलाई स्वदेश फर्काउने घोषणा ग-यो। चीनसँगका सबै विमान सेवा र उडान रद्द ग-यो। कोरोना भाइरसको महामारीलाई कारण देखाएर अमेरिकाले चीनसँगको व्यापार सम्बन्ध पनि स्थगित ग-यो। चीनले वासिङ्टनको त्यस्तो कदमलाई डब्ल्युएचओको भनाइ उद्धृत गर्दै आपत्ति जनायो। डब्ल्युएचओले कोरोना भाइरसको महामारीको कारण कुनै पनि देशले चीन अथवा अर्को कुनै देशका नागरिकको भ्रमण र व्यापार रोक्नुपर्ने अवस्था नरहेको बतायो। उसको भनाइ लत्याउँदै अमेरिकाले गरेको निर्णयलाई भने चीनले आफूविरुद्धको पूर्वाग्रह र सङ्कीर्णताका रूपमा लियो। चीनको विदेश मन्त्रालयका प्रवक्ताले कोरोना भाइरसको संक्रमणलाई अमेरिकाले ‘अतिरञ्जनापूर्ण बनाएको’ र अरू देशका लागि ‘खराब उदाहरण’ बनेको बताइन्। अमेरिकाले चीनसँग वायु सेवा रद्द गरेलगत्तै केही अरू देशले पनि त्यसको अनुकरण गर्दै सेवा रद्द गरेका थिए।

अमेरिकी वाणिज्य सचिव विलबुर रोजले १७ माघ (३१ जनवरी) मा फक्स बिजिनेस न्युजलाई दिएको अन्तर्वार्तामा ‘चीनमा कोरोना भाइरसको संक्रमण हुनुले उत्तर अमेरिकामा रोजगारीको अवसर बढ्ने’ भनी निकै गैरजिम्मेवार अभिव्यक्ति दिए। कुनै पनि बेला आफ्नो देशमा फैलन सक्ने रोगले संसारको एउटा कुनामा महामारीको रूप लिँदै गर्दा अमेरिकी उच्च अधिकारीले यसप्रकार ‘ताली पिट्नु’ अराजनीतिक व्यवहार थियो।

महामारी नियन्त्रणका लागि ‘ख’ श्रेणीको स्वास्थ्य बन्दोबस्त गर्न विश्व स्वास्थ्य संगठनले माग गरेकामा चीनले ‘क’ श्रेणीको बन्दोबस्त ग-यो।

चीनको दुःखका दिनमा अर्को महाशक्ति देशबाट आएका यस्ता अभिव्यक्ति धेरैको आश्चर्यको विषय थियो किनभने अमेरिका स्वंयले पनि गत शताब्दीमा धेरै पटक अनेकथरी महामारी सामना गरेको थियो। सन् २००९ मा फैलिएको एच एन रोगको महामारी त्यसको एउटा उदाहरण हो। महामारी फैलिरहेको समयमा नै प्रकाशित तथ्यांकअनुसार सो रोगबाट १८ हजार ४४९ जना मानिसको निधन भएको थियो। एच एनको संक्रमण सुरु भएको तीन महिनापछि मात्र अमेरिकाले जनस्वास्थ्य आपतकाल घोषणा गर्न सकेको थियो। तथापि त्यतिबेला संसारको कुनै पनि देशले ऊप्रति कुनै दुर्भावना राखेका थिएनन्। आज चीनको जसरी केही पश्चिमा सञ्चारमाध्यमबाट खेदो खन्ने काम भइरहेको छ, त्यस्तो काम त्यतिबेला कुनै पनि देशको सञ्चारमाध्यम र सरकारले गरेको थिएन। बरु अमेरिकालाई खान सक्ने बाघले आफूलाई पनि खान सक्ने भयले सबैले सद्भाव र सहकार्यको प्रयास गरेका थिए। इबोला, जिका, सार्स, मेर्स आदि घातक रोग फैलिँदा संसारले आपसमा सहकार्य गर्नुको अर्को विकल्प नै थिएन। तर कोरोना भाइरसको संक्रमणले चीन र सारा संसारलाई भयातुर बनाइरहेको समयमा संसारको एक नं. महाशक्ति देशले जिम्मेवारीका साथ प्रस्तुत हुनुपर्नेमा उल्टो विभाजनकारी भूमिका खेल्नु विस्मयकारी छ।

पश्चिमा सञ्चारमाध्यमले कोरोना भाइरसलाई ‘चाइना भाइरस’ नामकरण गरी चीनलाई होच्याए। यो भाइरसले कुनै पनि देशमा कुनै पनि बखत महामारीको रूप लिन सक्थ्यो। यसलाई ‘चाइना भाइरस’ भन्नुमा राजनीतिक निहितार्थबाहेक अरू कुनै प्रयोजन छैन। जर्मनीको अन्तर्राष्ट्रिय स्चिलर इन्स्टिच्युटका सभापति हेल्गा जेप–लारोचले लेखेकी छिन्– ‘कुनै पनि भाइरसलाई ‘चाइनिज’ भाइरस भन्नु मूर्खतापूर्ण हो, मानौँ कि रुघा लाग्नु वा बिरामी हुनु भनेको निश्चित समुदायका मानिसको गल्ती हो। यो संसारको कुनै पनि ठाउँमा हुन सक्छ। पृथ्वीको कोही पनि मानिसलाई यो रोग लाग्न सक्छ।’ जर्मनीबाट प्रकाशित हुने ‘द मिमर’ पत्रिकामा कोरोना भाइरसबारे गरिएको टिप्पणीको उनले प्रतिटिप्पणी गरेकी थिइन्।

कोरोना भाइरसको महामारीलाई पश्चिमका धेरै सहरमा चिनियाहरूप्रति दुव्र्यवहार वा हेय व्यवहार गर्ने हतियारको रूपमा प्रयोग गरियो। केही सामाजिक सञ्जालमा ‘चिनियाहरू फोहोरी भएकाले यस्ता रोग लाग्ने गरेको’ भन्दै चिनियालाई हेपियो। कोरोना भाइरस चीनको उहानमा फैलिएको छ तर युरोप र अमेरिकाका चिनिया चमेनागृह र स्टोरहरूमा समेत मानिस ‘कोरोना भाइरस संक्रमण हुने’ भन्दै जानै छाडे। अल–जजिरामा चिनिया–क्यानडेली एडुआर्ड होन–सिङ वङले २६ माघ (९ फेब्रुअरी) मा क्यानडामा कोरोना भाइरसको बहानामा ब्युँताइएको चिनियाहरूप्रतिको हेय भावनाबारे घतलाग्दो लेख लेखेका छन्। उनले उन्नाइसौँ शताब्दीदेखि पश्चिममा खुल्न थालेका चाइना टाउनहरूप्रतिको विभेदबारे यतिबेला स्मरण गरेका छन्।

‘मानौँ तपाईँ मायामीमा हुनुहुन्छ र तपाईँले मध्य इटालीको मिलान सहरमा कुनै भाइरसको संक्रमण फैलिएको खबर सुन्नुभयो। त्यस्तो बेला के तपाईँ साउथ विचको एउटा इटालियन रेस्टुरामा रात्रिभोज खाने कार्यक्रम स्थगित गर्नुहुन्छ ?अहं गर्नुहुन्न’, पश्चिमा देशमा चिनियाहरूले भोगिरहेका विभेदप्रति संकेत गर्दै इटालियन मूलका लेखक मारिओ काभोलोले बेइजिङ टाइम्समा लेखे।

चीनका केही सञ्चारमाध्यमले निकै कठिन समय सामना गरिरहेको बेला चीनप्रति अमेरिकाको गलत व्यवहारप्रति विस्मातपूर्ण प्रतिक्रिया दिए। उनीहरूले अमेरिकामा यसअघि फैलिएका विभिन्न रोगको संक्रमणका उदाहरण प्रस्तुत गर्दै आपत पर्दा विश्व शक्तिले सहकार्य गर्नुको सट्टा असहिष्णु व्यवहार गरेकामा आक्रोश पोखे। चीनको अङ्ग्रेजी सञ्चारमाध्यम ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा ‘पाकिस्तान जस्तो सानो अल्पविकसित देशले समेत संकटमा चीनलाई सहयोग गरेको तर यतिबेला केही देशले गरेको दुव्यर्वहारलाई चीनले सम्झिरहने छ’ भनी लेख्यो।

आजको संसारका हरेक कुना एकापसमा गाँसिएका छन्। जसरी शरीरको एउटा अंगमा चोट लाग्दा अर्को अंगलाई पनि पीडा हुन्छ, संसारको कुनै पनि भूभागमा कुनै संकट आइपरे त्यसको कुनै न कुनै, प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव अर्को भूभागमा पर्ने गर्छ। अस्ट्रेलियामा महिनौँ लागेको डँढेलोले मारिएका हरेक कंगारु र कोयलाका जलेका शरीरले नेपालीको मनलाई पनि चिमोटेको थियो। डँढेलोले वायुमण्डलमा पारेको प्रभावले नेपालको आकाशलाई पनि कुनै पनि कुनै प्रभाव पारेको हुनुपर्छ किनभने हामी सबै एउटै आकाशमुनि छौँ।

त्यसै पनि संसार आपसमा गाँसिएको छ। त्यसमाथि चीन आज संसारकै एउटा उदीयमान शक्ति बनेको छ। संसारका सबै देशमा र देशबाट चीनको आवतजावत हुने गर्छ। त्यस्तो देश आज महामारीमा प्रताडित बन्दा त्यसले संसारको अर्को कुनामा प्रभाव नपार्न सम्भव छैन। त्यस परिस्थितिमा यो संकटको समाधान कुनै एउटा देशको जिम्मेवारी भन्दा पनि सबै देश र मानिसको कर्तव्य हो। राजनीतिक, आर्थिक र सामरिक प्रतिस्पर्धालाई यस्तो संकटको समयमा हलो अड्काउन खोज्नु मूर्खताबाहेक के हुन सक्छ र ? मानिस रहे न राजनीतिक, आर्थिक र सामरिक प्रतिस्पर्धा सम्भव हुन्छ। कुनै एउटा देश पछाडि पर्नु र आफू अघि बढ्नुलाई आधुनिक युगमा अब्बलता मानिंँदैन। त्यसलाई सङ्कीर्णता भनिन्छ। युरोकेन्द्रताको सिद्धान्त म्याद नाघिसकेको औषधि हो। कोरोना भाइरसको महासङ्कटले स्मरण गराएका धेरै पाठमध्ये शायद यो पनि एउटा हुन सक्छ।

प्रकाशित: १ फाल्गुन २०७६ ०४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App