विचार

‘महिनावारी’ मनोविज्ञान

४८ वर्षअघि एक बालिका दसैंका बेला महिनावारी भइन्। आमालाई भनूँ भने त्यो बेलाको संस्कृतिअनुुसार आमाले १२ दिनसम्म कोठामा बन्द गरिदिइन् भने दसैं नै धरापमा पर्ने, नयाँ लुुगा र दक्षिणाबाट वञ्चित हुनुपर्ने ! त्यसकारण ती बालिकाले महिनावारी भएको कुुरा आमालाई भनिनन् र यो अवस्थाको आफैं व्यवस्थापन गरिन्। त्यसपछिका महिनावारीबारे उनले झन्डै ३ वर्षसम्म कसैलाई भनिनन्। दसैं, तिहार, श्राद्धमा पनि भनिनन्। महिनावारी भएका बेला मन्दिर पनि गइन्। ती बालिकाले कसरी त्यो उमेरदेखि कसैले थाहा नपाउने गरी महिनावारी व्यवस्थापन गरिन्, कसरी उनलाई ‘पाप’ को डर लागेन ? सायद यी कुरा ती बालिका स्वयंले बताउन सक्दिनन्। किनकि ती बालिका अरू कोही नभएर म आफैँ थिएँ।

सुरुका केही महिना महिनावारी भएको कुुरा कसैलाई नभन्दा पाप लाग्ने हो कि भनेर मलाई डर त लागेको थियो। तर केही पनि नराम्रो  नभएपछि मलाई डर र अपराध दुुवै अनुभूति भएन। केही ठूूलो भएपछि र विज्ञान पढेपछि त झन् महिनावारी पाप होइन, बार्नुु पर्दैन भन्ने लाग्दै गयो। मेरा बाजे सुुदूूरपश्चिमबाट आएका हुुनाले म आफूूलाई त्यहींकी  चेली भन्ठान्छु र २३ वर्षअघि डोटी, अछाम गएका बेला र त्यहाँ छाउपडी (कु)प्रथा र त्यससँग गाँसिएका खराब संस्कृतिबारे थाहा पाएपछि त्यो संस्कृति, त्योसँग गाँसिएको ‘धोका प्रवृत्ति’विरुद्ध पत्रिकामा लेखें। ‘हाम्रो सुुदूूरपश्चिमको बेइज्जत गर्ने’ भनेर केही पत्रकारले मलाई झपारे पनि। तर मैले वास्ता नगरी त्यस विषयमा लेखिरहें।

अहिले ‘छाउपडी’ कुुसंस्कार हो भन्ने कुरा प्रायः सुुदूूरपश्चिमवासीले स्वीकार गरिसकेका छन्। तर अझै बूढापाकाको मनबाट ‘छाउपडी ठीकै हो’ भन्ने मान्यता हटाउन निकै गाह्रो छ। अझ कतिपय महिला अधिकारकर्मीले समेत ‘महिनावारीको रगत दूूषित नै हो, त्यसकारण...’ भन्नेजस्ता धारणा व्यक्त गर्दाचाहिँ लाग्छ– हाम्रो पढाइ÷विचार अझै १८औं शताब्दीमै अल्झिरहेको छ। महिनावारी भनेको प्रजननको एउटा प्राकृतिक प्रक्रिया हो भन्ने बुुझ्ने महिलाले पनि यसो भन्छन्।

धार्मिक ‘गुुरु’हरू पनि अहिले मोबाइल/फेसबुुक चलाउँछन्। तर उनीहरू उहिले मोबाइल थिएन त्यसकारण अहिले त्यो चलाउन हुँदैन किन भन्न सक्दैनन् ?


यसैबीच यतिबेला भारतको केरलास्थित सबरीमाला मन्दिरमा प्रजनन उमेरका किशोरी र महिलालाई मन्दिरभित्र प्रवेशमा रोक र अदालतले चाहिँ ‘प्रवेश गर्न पाउने’ भनेर दिएको आदेशले त्यहाँको राजनीति तताएको छ। भारतीय जनता पार्टीका मानिसचाहिँ ‘हजारौं वर्षदेखि चलिआएको धार्मिक चलनको आदर गर्दै महिलालाई मन्दिरभित्र जान दिन हुुँदैन’ भन्दै अदालतको आदेशविरुद्ध उभिएका छन्। त्यस मन्दिरका पुुजारी पनि ‘महिनावारी हुुने महिला मन्दिरमा पसे मन्दिरभित्रका देवता स्त्री–शरीर देखेर लोभिन्छन्’ त्यसकारण प्रवेश गर्न दिन हुुँदैन भन्ने तर्क गरिरहेका छन्। अर्थात् मन्दिरभित्र पस्ने कुुरा पनि महिलाको यौनिकतासँग जोडिएको छ। तर हजारौं वर्ष पहिलेको ‘ज्ञान’ अहिले अज्ञानता हो भन्ने कुरा सिद्ध भइसकेको छ तर पुुजारीहरू ‘हजारौं वर्षअघिकै कुुरा’ ठीक भन्छन्।

देवतालाई महिला देख्दा लोभ लाग्छ भने किन कुनै पुरुषलाई चाहिँ देवी भएका मन्दिरमा प्रवेश निषेध गरिन्न ? देवीहरूलाई पुरुष देख्दा लोभ लाग्दैन ? पुुरुष देवतालाई मात्र महिलाको शरीर देखेर लोभ लाग्ने हो ? यसबाट महिनावारी हुुने महिलालाई सबरीमाला मन्दिरमा पस्न नदिने धार्मिक गुुरु र राजनीतिक दलका नेताहरूलाई अहिलेको विज्ञान, आधुुनिक शरीर–विज्ञानबारे ज्ञान छैन भन्ने स्पष्ट हुन्छ। पहिले–पहिले उमेर १३/१४ वर्ष पुुगेपछि रजस्वला (महिनावारी) हुुन्थ्यो। प्रायः महिलाको ४४/४५ देखि ४९ वर्षसम्ममा महिनावारी सुुकिसक्थ्यो। तर अहिले त ८/९ वर्षकी बालिका पनि रजस्वला हुुन्छिन् भने ५० वर्ष तथा कोही–कोही महिलाको त ५५ वर्षसम्म पनि महिनावरी हुन्छ। तर यो ज्ञान नभएकै कारण ५० वर्ष कटेका महिलालाई चाँहि सबरीमाला मन्दिरमा पस्न दिने गरिएको छ। यसरी रजस्वला हुने उमेरकालाई मन्दिरमा पस्न नदिने कारण महिलाको यौनिकतालाई ध्यानमा राखेर गरिएको होइन त ? नत्र ५२ वर्षकी महिलाको महिनावारी सुुकेको छैन भने सबरीमाला मन्दिरका देवाताले थाहा पाउनुपर्ने ? ९ वर्षकी बालिकाको महिनावारी सुुरु भइसकेको भए त्यस मन्दिरका पुुजारीले कसरी चिन्लान् ?

महिला मन्दिरमा प्रवेश गर्दा उनको शरीर देखेर त्यहाँका देवताको ध्यान भंग हुन्छ भन्ने तर्क पचाउन सकिने कुुरा हो ? हाम्रा धार्मिक शास्त्रले भन्छन्– भगवान् त हरेक ठाउँमा छन्, अनि हरेक मानिसको आत्मामा छन्। सबरीमाला मन्दिरमा रहेका भगवान्चाँहि बेग्लै हुन् ? उनलाई रजस्वला हुुने महिलाको शरीरबारे ज्ञान छैन ? रजस्वला हुने नियम पनि उनैले बनाएका होइनन् र ? पहिले–पहिले हनुुमान ब्रह्मचारी भएकाले उनलाई महिलाले पूूजा गर्न तथा छुुन हुुँदैन भनिन्थ्यो। गायत्री–मन्त्र पनि महिलाले सुुन्नसम्म हुँदैन त्यो बिटुुलो हुुन्छ भन्ने धारणा थियो। तर समयको परिवर्तनसँगै महिलाले गायत्री–मन्त्र सुुन्न र पढ्न थाले। कति महिलाको  मोबाइलमै छ अहिले यो मन्त्र। ठाउँठाउँमा बजिरहन्छ।

भारतीय जनता पार्टीका मान्छेले महिलाको यौनिकतालाई आफ्नो ‘दल’को हतियार बनाए, भोट बटुल्न। ‘मानिसको विश्वासलाई अदालतको आदेशले हटाउन सक्दैन’ भन्ने तिनको तर्क छ। उसो भए अदालतका मानिसचाहिँ अबुझ हुन् ? यस्तो लाग्छ– त्यस्ता मानिसले ‘सतीप्रथा फेरि लागू गर्नुपर्छ किनभने एकल महिला देखेर पुुरुषको मन विचलित हुन सक्छ। त्यसकारण तिनलाई पतिको चितासँगै जिउँदै जलाएको बेस। कानुुन प्रयोग गरेर सतीप्रथा हटाउनु बेठीक थियो’ भन्न पनि बेर लगाउँदैनन्। नेपालमा पनि महिलाको ‘महिनावारी’ एउटा मुुद्दा बनेको छ। छाउपडी हटाउने र छाउगोठ भत्काउने अर्को राजनीतिक मुुद्दा बनेको छ। युद्धकालमा माओवादीले सञ्चालन गरेको छाउगोठ भत्काउने अभियान असफल भएको कुरा पनि यतिबेला भइरहरेको छ। तिनै माओवादी अहिले सत्तामा छन् र अहिले पुुनः उनीहरू छाउगोठ भत्काउने अभियानमा लागेका छन् र त्यसमा प्रहरी र कानुुनको पनि साथ पाइरहेका छन्।

तर ‘पहिले त छाउपडी ठीकै हो। किनकि गरिबका घरमा छुट्टै कोठा हुन्थेनन्, त्यसैले महिनावारी भएका महिलालाई ४ दिन आराम गर्न छाउगोठ पठाउँथे’ भन्ने पनि छन्। तर छाउगोठमा पठाइने महिलालाई १० भारी घाँस काट्न लगाएर कसरी आराम हुुन्छ ? सर्पले टोकेर, आगोले जलेर कसरी महिलाको सुुरक्षा हुन्छ ? यस्ता विषयमा भने छलफल हुुँदैनन्। उसो त महिनावारी हुँदा महिला ‘अपवित्र’ हुन्छिन् भन्ने सोच सदूरपश्चिममा मात्रै सीमित कहाँ हो र ! यो त ‘शिक्षित र सभ्य’ बसोबास गर्ने काठमाडौंमा सहरमा समेत व्याप्त छ। रजस्वला हुँदा उता महिलालाई छाउगोठमा राखिन्छ भने यता भिन्दै कोठामा कैद गरिन्छ। अचम्मको कुरा– महिनावारी भएकी महिला ‘अशुद्ध’ हुन्छिन् भने एकान्तको छाउगोठमा बसेको मौका पारेर बलात्कार गर्ने पुरुषचाहिँ किन ती महिला छुन डराउँदैनन् ?

महिलाको महिनावारीलाई ‘अपवित्र’ ठान्नेहरूले ‘कामक्षा’ देवीको रजस्वलालाई चाहिँ ‘पवित्र’ मान्छन्। हरेक वर्ष असारमा ४ दिनका  लागि कामक्षा मन्दिरको ढोका बन्द गरिन्छ किनभने त्यतिबेला उनी रजस्वला भएकी हुुन्छिन् भन्ने मान्यता छ। अनि चार दिनपछि ढोका खोलेर देवीले ‘महिनावारी व्यवस्थापन गर्न प्रयोग गरेका कपडा’चाहिँ प्रसादका रूपमा सबैलाई बाँड्ने चलन छ। यस आधारमा कामक्षा देवी सबरीमाला मन्दिर पस्न चाहिन् भने पुुजारीले प्रवेश दिन्छन् कि दिँदैनन् होला ? किनकि अन्य महिला त्यस मन्दिरमा पस्दा देवता लोभिएर उनको ध्यान भंग हुन्छ भने कामक्षा देवी पनि महिला हुन्। यी प्रश्न काल्पनि लाग्न  सक्छन् तर उत्तर अपेक्षित छ। नेपालमा अहिले स्यानिटरी प्याड स्कुलमा बाँड्न लगाएर सरकारले सिद्ध गरिसकेको छ कि नेपालको नियम (कानुन) ले महिनावारीलाई कुनै ‘पाप’ मान्दैन।

तर तिनै महिलाबाट पैदा भएका कतिपय पुरुष तथा पुजारी महिनावारी भनेको ‘अपवित्र’ नै हुनु हो भन्ने गीत गाइरहेका छन्। हजारौं वर्षअघिको त्यही (कु)संस्कृति सुुन्दर थियो भनेर दाबी गरिरहेका छन्। जो यत्रो समयसम्ममा समाजमा कति कुरा परिवर्तन भइक्यो भन्ने आत्मसात् गर्नै चाहँदैनन्। धार्मिक ‘गुुरु’हरू पनि अहिले मोबाइल÷फेसबुुक चलाउँछन्। तर उनीहरू उहिले मोबाइल थिएन त्यसकारण अहिले त्यो चलाउन हुँदैन किन भन्न सक्दैनन् ? आफूलाई सहज हुनेजति सबै नयाँ कुरा स्वीकार गर्ने अनि महिलालाई हेप्ने संस्कृति हटाउने, समाज परिवर्तन गर्ने कुराचाहिँ अस्वीकार गर्ने ? अन्त्यमा, यदि महिनावारी हुनु ‘पाप’ हो र त्यो हुने महिला ‘फोहोरी’ हुन् तिनकै शरीरबाट पैदा हुने हामी सबै पापी र फोहोरी हौं।

प्रकाशित: २९ माघ २०७६ ०३:२३ बुधबार

महिनावारी दसैं संस्कृति