डा. शेरबहादुर पुन
अनुभवले धेरै कुरा सिकाउँछ । हाल देखिएको नोवेल कोरोना भाइरस बिलकुल नयाँ भाइरस भएकाले यतिबेला विश्व नै आतंकित छ । अनि यस भाइरसविरुद्ध संघर्ष गर्दैगर्दा विश्व समुदायले धेरै कुरा पनि सिकिरहेको छ । चीनमा सार्सजस्तो भाइरसका कारण ४४ चिनियाँ अस्पताल भर्ना हुँदा नेपाललाई आइपर्नसक्ने समस्याको विश्लेषण गर्दै पहिलोपटक यो पंक्तिकारले त्यसबेलाको त्यो अज्ञात रोगबारे लेख प्रकाशन गराएको थियो । त्यसमा नेपाल सार्स भाइरसको कति जोखिममा छ र त्यसबाट बच्न कस्तो तयारी गर्न सकिएला भनेर सुझाव दिइएको थियो । जुन सुझावअनुसारको सुरक्षा उपाय अहिले पनि अवलम्बन भइरहेको देखिन्छ ।
अहिले देखापरेको नोवेल कोरोना भाइरसबाट आजका मितिसम्म चीनमा मात्रै झन्डै ३ सय जनाको मृत्यु तथा चीनलगायत यो भाइरस फैलिएका मुलुकमा गरी १० हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । तर पनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आफ्नो पहिलो बैठकमा ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेन । जसमा यो पंक्तिकारलगायत विश्वका धेरै वैज्ञानिकले असन्तुष्टि जनायौं । तर डब्लुएचओको दोस्रो बैठकले भयावह स्थिति विश्लेषण गरी विश्वव्यापी स्वास्थ्य आपतकाल् घोषणा गरेको छ । यसले यो नयाँ भाइरसविरुद्ध विश्व नै एक भई सशक्त रूपमा लड्ने वातावरण बनेको छ ।
अचेलका मानिसलाई डराउनु पर्दैन भनेर मात्र विश्वास दिलाउन सकिने अवस्था छैन । जबसम्म किन डराउनु पर्दैन भन्ने प्रश्नको सटिक उत्तर आउँदैन तबसम्म उनीहरू अन्योलमा रहन्छन् र फोबियाबाट मुक्त हुन सक्दैनन् । यही उत्तर सरकारी प्रचार सामग्री (पोस्टर) मा समावेश नगरिएका कारण कोरोना भाइरसको भ्रम फैलिरहेको छ । शरीरमा लागेको रोग भए, औषधि दिएर निको पार्न सकिन्छ तर मानिसको मनभित्रको रोग ‘फोबिया’ निकाल्न भने निकै गाह्रो हुँदोरहेछ ।
पंक्तिकारले स्वाइन–फ्लु फोबिया, सिरिन्ज फोबिया र त्यसपछि केही समयअगाडि देखिएको डेंगु फोबियासँग भिडेको अनुभव अहिले पनि मानसपटलमा ताजै छन् । यी अनुभव विशेष गरेर नेपाली नागरिकले ती रोग वा समस्यालाई कसरी लिँदारहेछन् र समाधानका उपाय कसरी निकाल्न सकिन्छ भन्ने सन्दर्भमा उपयोगी हुनेरहेछन् । यस्ता फोबियाले हाम्रो समाजमा राम्रा कुराभन्दा नराम्रा कुरा कति छिटो फैलिन्छ र त्यसलाई नेपाली समाजले कति छिटो विश्वास गर्दोरहेछ भन्ने शिक्षा पनि दिएका छन् । यस्ता अनुभव र ज्ञान बिरामीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरेपछि मात्र पाउन सकिन्छ । यस्ता फोबिया देश–देशबीच र अझ कहिलेकाहीं समाज–समाजबीच नै फरक हुने गरेको पाइन्छ । कुनै पनि नयाँ कुरा÷विषयमा सबैको जिज्ञासा तथा चासो तीव्र हुन्छ नै । यो मानवको स्वभावै हो । त्यसैले अहिले देखिएको भाइरस पनि बिलकुल नयाँ भएकाले यसमा विश्वकै ध्यान तानिएको छ । माथि उल्लेख गरेजस्तै मानिसमा सकारात्मकभन्दा नकारात्मक सोच तथा भ्रमले बढी प्रभाव पार्छन् । नेपाल पनि यसबाट अछुतो छैन ।
त्यस्तो भ्रम चिर्न यो पंक्तिकारले सुरुदेखि नै सचेतना प्रदान गर्ने हरप्रयास गर्दैगर्दा सम्बन्धित निकायबाट त्यस्तो सन्देशसमेत दिन नपाउने भनेर अप्रत्यक्ष रूपमा बन्देज नै लगाइयो । तर सामाजिक सञ्जालहरूमा पोस्ट भइरहेका डरलाग्दा र भ्रम छर्ने तस्बिर र खबरको बाढीलाई रोक्ने कोसिस गरेको देखिएन । फलस्वरूप, हाल कोरोना भाइरसको फोबिया व्यापक बनेको देखिन्छ । जसका लागि यो पंक्तिकारले फेरि एकपटक ठूलो कसरत गर्नुपर्ने देखिएको छ र सुरु पनि गरिसकेको छ । स्थिति कस्तो छ भने नपढेका मानिसलाई भन्दा उच्च शिक्षितलाई सम्झाउन र विश्वास दिलाउन अझ बढी मेहनत र समय लाग्ने गरेको छ ।
नेपाली, चीनमा विशेष गरेर अध्ययनका लागि जाने गरेको पाइन्छ । यसबाहके विभिन्न गोष्ठी, सेमिनार, व्यापार वा भ्रमणका सिलसिलामा पनि नेपाली नागरिक चीन जाने क्रम बर्सेनि बढ्दो छ । नेपाल भ्रमण गर्न आउने चिनियाँको संख्या पनि वृद्धि भइरहेको छ । अझ गत वर्षको तथ्यांकले नेपाल भ्रमण गर्न आउने पर्यटकका हिसाबले चीन दोस्रो ठूलो देश भएको देखाएको छ । यसले पनि नेपालमा नोवेल कोरोना भाइरसको जोखिम उच्च रहेको देखाउँछ । अहिले जति पनि चीनभित्र वा बाहिर नोवेल कोरोना भाइरस फैलिरहेको छ त्यसको मुख्य कारण मानिसको आवतजावत नै भएको देखिन्छ । यसैलाई विचार गरेर विभिन्न देशले आफ्ना नाकाहरूमा विदेशी नागरिकप्रति विशेष निगरानी गर्न थालिसकेका छन् । हाल यो भाइरसका कारण चिनियाँ पर्यटक नेपाल आउने क्रम ह्वात्तै घटेको भए तापनि चीनमा रहेका नेपाली विद्यार्थी नेपाल आउने क्रम भने सुरु भएको छ ।
स्वदेश फर्किंदा आफूमात्र नभई नोवेल कोरोना भाइरस पनि आफूसँगै आइरहेका छन् कि भन्ने चिन्ताले तिनलाई सताएको देखिन्छ । यो स्वाभाविक पनि हो । त्यसैले होला, कतिपय त विमानस्थलबाट केही दिन साथीहरूकोमा बस्ने वा आफ्नो घर सीधै नगई चिकित्सकको परामर्श लिएर मात्र घर जाने गरेको पाइन्छ । कोही भने घरै गए पनि अलग्गै बस्ने गरेको पाइएको छ । यसले नेपालीमा कस्तो खालको त्रास सिर्जना गरिरहेको छ भन्न प्रस्ट पार्छ । साथै यसरी कति दिन घरबाहिर वा अलग बस्ने वा भाइरस नसरोस् भन्नाका लागि कस्ता उपाय अवलम्बन गर्ने भन्ने सही जानकारी नभएको पनि स्पष्ट हुन्छ । संक्रमणका लक्षण देखापर्नु पहिले नै भाइरस भए/नभएको पत्ता लगाउन पाए अरूलाई सर्नबाट बचाउन सकिन्थ्यो भन्ने आशाले उनीहरू अस्पताल आइरहेको देखिन्छ । किनभने संक्रमण नदेखिए पनि यो भाइरस संक्रमण भइसकेको हुन्न सक्छ भनिएकाले यस्तो चिन्ता उत्पन्न हुनु स्वाभाविकै हो ।
हाल नेपालमा फ्लु र कमन–कोल्ड देखिन सुरु भइसकेको छ । दुर्भाग्यवश, नोवेल कोरोना भाइरस संक्रमणका लक्षण पनि यी समस्यासँगै मिल्दाजुल्दा हुन्छन् । यसैले पंक्तिकारले केही हप्ताअगाडि नै आफ्ना समकक्षीलाई बारम्बार भन्ने गरेको एउटा कुरा अहिले याद आइरहन्छ । त्यो के भने अबको केही दिनपछि रुघाखोकी लाग्नेबित्तिकै मानिसहरू कतै यो नोवेल कोरोना भाइरस त होइन भनेर आउनेछन् भनेर भनेको थिएँ । नभन्दै अहिले यो सत्य साबित भइरहेको छ ।
केही समयअगाडि एकजना बिरामी एक कार्यक्रममा भाग लिन चीन गएका रहेछन् र फर्केर आउनेबित्तिकै उनलाई ज्वरो आउने, खोकी लाग्ने, छाती दुख्ने, छाती कस्सिएजस्तो महसुस हुने भएछ । त्यसपछि उनमा कतै यी लक्षण नावेल कोरोना भाइरसका त होइनन् भन्ने त्रास उत्पन्न भयो र दगुर्दै अस्पताल आइपुगे । तर परीक्षण गर्दा फ्लु प्रमाणित भएपछि उनी कोरोना भाइरसको भ्रमबाट मुक्त भए । त्यस्तै हालै एक गुम्बामा निकै संख्यामा बालबालिका एकैपटक रुघाखोकीजस्तो लक्षणसहित बिरामी भए । अनि ती पनि नोवेल कोरोना भाइरसको संक्रमण भयो कि भन्ने ठूलो सन्त्रास बोकेर अस्पताल आए । उनीहरूलाई यस्तो शंका किन भएछ भने गुम्बामा बेला–बेला चिनियाँ चिकित्सक आउजाउ गर्दारहेछन् । तर जाँचपछि ‘एचवान एनवान पिडिएम ०९’ फ्लु भाइरस प्रमाणित भएपछि उनीहरूले मेरै अगाडि सन्तोषको सास फेरे, अनुहार उज्यालो बनाए । यो घटनाले के देखाउँछ भने कुनै चिनियाँ नागरिक भेट्नेबित्तिकै रुघाखोकी लाग्यो भने कोरोना भाइरस भयो कि भनेर शंका लागिहाल्दोरहेछ ।
त्यस्तै एकजना नेपाली चिनियाँ पर्यटकका पथप्रदर्शक रहेछन् । उनले पनि पंक्तिकारसँग जिज्ञासा राखे– ‘कतै मलाई पनि नोवेल कोरोना भाइरसले भेटेको छैन ?’ जसलाई कोरोना फोबियाको एउटा रुप मान्न सकिन्छ । यति मात्र होइन, अहिले रुघाखोकी लाग्नेबित्तिकै कोरोना भाइरस जँचाउन आउनेको संख्या बढ्दो देखिन्छ । आगामी दिनमा यो संख्या अरू बढ्ने निश्चितप्रायः छ । अहिले केही विद्यालयले त विद्यार्थीलाई मास्क अनिवार्य गरेको समाचार पनि आइरहेका छन् । अझ चाखलाग्दो कुरा त के छ भने विदेशबाट आएकी एक महिला एक निजी अस्पतालमा प्रशिक्षणका लागि जाँदा पहिले नोवेल कोरोना भाइरस भए/नभएको पुष्टि गरिएको प्रमाणपत्र लिएर आएपछि मात्र काम गर्न दिने भनेकाले यो अस्पतालमा परीक्षणका लागि आएका भनिन् । यी र यस्ता उदाहरणले हाम्रो समाजमा कोरोना फोबियाले कति जरा गाडिसकेको रहेछ भन्ने प्रस्ट पार्छ ।
यसो हुनुमा केही हदसम्म नेपाल सरकारले कोरोना भाइरससम्बन्धी गरिररहेको प्रचारप्रसार सामग्रीमा भनिएको कुरा पनि जिम्मेवार देखिन्छन् । जस्तै: रुघाखोकी लाग्नु भनेको नोवेल कोरोना भाइरसको मुख्य लक्षण हो र देखिहालेमा तुरुन्त चिकित्सककामा जानु । यसकारण पनि रुघाखोकीको लक्षण देखिनेबित्तिकै मानिस अत्तालिएर अस्पताल आउने गरेको देखिएको छ । यो पंक्तिकारको विचारमा यही कुरालाई उच्च ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिए मात्र नोवेल कोरोना भाइरसको शंका गर्न सकिन्छ भनेर भनिभएको भए मानिस नाकबाट पानी बग्ने तथा हाच्छिउँ आउनेबित्तिकै हतारहतार अस्पताल दगुर्थेनन् होला ।
शरीरमा लागेको रोग भए, औषधि दिएर निको पार्न सकिन्छ तर मानिसको मनभित्रको रोग ‘फोबिया’ निकाल्न भने निकै गाह्रो हुँदोरहेछ । सामाजिक सञ्जालमा रोक्नै नसकिने भ्रम छिटै भाइरल हुने र सर्वसाधारणले पनि तुरुन्तै विश्वास गर्ने गरेका विगतका अनुभव छन्, मसँग । जसले के देखाउँछन् भने आम मानिसमा सजिलै फोबिया फैलाउन सकिन्छ । यसर्थ यस्ता भ्रम चिर्न जिज्ञासुहरूसँग बसेरै अन्तरक्रिया र छलफल गर्न अति जरुरी हुन्छ ।
जनमानसमा रहेको भ्रम हटाउन निकै कसरत र मेहनतको आवश्यकता पर्छ । किनभने अचेलका मानिसलाई डराउनु पर्दैन भनेर मात्र विश्वास दिलाउन सकिने अवस्था छैन । जबसम्म किन डराउनु पर्दैन भन्ने प्रश्नको सटिक उत्तर आउँदैन तबसम्म उनीहरू अन्योलमा रहन्छन् र फोबियाबाट मुक्त हुन सक्दैनन् । यही उत्तर सरकारी प्रचार सामग्री (पोस्टर) मा समावेश नगरिएका कारण कोरोना भाइरसको भ्रम फैलिरहेको छ ।
(रिसर्च युनिट, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल)
प्रकाशित: १९ माघ २०७६ ०३:४३ आइतबार