मुलुकको अर्थतन्त्रलाई निश्चित दिशा दिन अवलम्बन गरिने विभिन्न नीतिमध्ये वित्त नीति र मौद्रिक नीति अत्यन्त महत्वपूर्ण नीति हुन्। सरकारी कर, खर्च, बजेट–घाटा, ऋण र सापटीसँग सम्बन्धित नीति वित्त नीति हो भने मुद्रा, ब्याजदर र कर्जासँग सम्बन्धित नीतिलाई मौद्रिक नीति भनिन्छ।
लोककल्याणकारी सरकारले अर्थ–व्यवस्थामा खर्च गर्नुपर्ने क्षेत्र असीमित हुने र खर्चको तुलनामा साधन र स्रोतको उपलब्धता सीमित हुनाले बजेट–घाटा सामान्य मानिन्छ। बजेट–घाटाको पूर्ति सरकारले आन्तरिक र वैदेशिक ऋणका स्रोतबाट गर्ने गर्छ। आन्तरिक ऋणका पनि विभिन्न स्रोत हुन्छन्। केन्द्रीय बंैकबाट अधिविकर्ष, वाणिज्य बैँक तथा वित्तीय संस्थाहरूबाट कर्जा तथा सर्वसाधारण जनतासँग ऋण लिएर सरकारले आन्तरिक ऋणमार्फत बजेट–घाटा पूर्ति गर्छ।
नेपाल विकासोन्मुख देश भएकाले यहाँ पनि लोककल्याणकारी सरकारको अवधारणाअनुसार घाटाबजेट सामान्य मानिन्छ। नेपाल सरकारले बजेट–घाटा पूर्ति गर्न आन्तरिक ऋण उठाउने क्रममा विभिन्न प्रकारका ऋणपत्र जारी गर्छ। ऋणपत्र भन्नाले सरकारले बैँक, वित्तीय संस्था र सर्वसाधारण जनताबाट ऋण लिएको हो भनी प्रमाणित गरिदिने प्रमाणपत्र हो।
सरकारी ऋणपत्र, तिनको स्वामित्व र संरचनाले मुलुकको समष्टिगत आर्थिक अवस्थामा गहन प्रभाव पर्ने हुनाले सरकारले आन्तरिक ऋण लिँदा धेरै कुरामा विचार पु-याउनुपर्छ। नेपालमा प्रचलित सरकारी ऋणपत्र भनेका ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र हुन्। ट्रेजरी बिल १ वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। ट्रेजरी बिल बोलकबोलका माध्यमबाट बहुमूल्य विधिअनुसार प्रकाशन हुने गर्छ। यसका लक्षित वर्ग भनेका बैँक तथा वित्तीय संस्था हुन्। विकास ऋणपत्र २ वर्षभन्दा बढी अर्थात् मध्यम तथा दीर्घकालीन अवधिका आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो। यसको प्रकाशन बोलकबोल माध्यमबाट बहुब्याजदर विधिबाट गर्ने गरिन्छ। यसका लक्षित वर्ग भनेका बैँक, वित्तीय संस्था, संगठित संस्था र सर्वसाधारण नागरिक हुन्। नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिका आन्तरिक ऋण परिचालन गर्न जारी गरिने सरकारी ऋणपत्र हो। नागरिक बचतपत्र तोकिएको अवधिभित्र ओभर द काउन्टर (ओटिसी) प्रक्रियाबाट निश्चित ब्याजदरमा प्रकाशन गरिन्छ। सर्वसाधारण जनता यसका लक्षित वर्ग हुन्।
वैदेशिक रोजगार बचतपत्र
नेपाल सरकारले आन्तरिक ऋण परिचालनका लागि जारी गर्ने छुट्टै महत्वको ऋणपत्र– वैदेशिक रोजगार बचतपत्र हो। नेपालबाट विदेश गई रोजगारीमा संलग्न नेपाली तथा विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले आर्जन गरेका विदेशी मुद्रा वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त होस् भनी नेपाल सरकारले निश्चित ब्याजदर तोकी नेपाली रुपैयाँमा जारी हुने मध्यमकालीन अवधिको सरकारी ऋणपत्रका रूपमा वैदेशिक रोजगार बचतपत्र निकाल्ने गरिएको छ। यो बचतपत्र ५ वर्षका लागि प्रकाशन गरिन्छ।
वैदेशिक रोजगार बचतपत्र प्रकाशनको मुख्य उद्देश्य वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक वा गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको रकम यथोचित प्रतिफलका साथ लगानी गर्न प्रोत्साहन गर्ने, मुलुकमा वैधानिक माध्यमबाट विप्रेषणबापतको विदेशी मुद्रा भित्र्याउने, स्वदेशी अर्थतन्त्रको विकासमा विप्रेषणको रकमलाई वित्तीय साधनका रूपमा जुटाउने हुन्। यो बचतपत्र तोकिएको अवधिभित्र ओटिसी प्रक्रियाबाट प्रकाशन गरिन्छ। वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला, बिक्री बन्द र प्रकाशन नेपाल राष्ट्र बंैकस्थित खुला बजार सञ्चालन समितिले तोकिदिएको मितिमा गर्ने गरिएको छ। सोसम्बन्धी जानकारी नेपालका राष्ट्रियस्तरका पत्रपत्रिका तथा वेभसाइटमा प्रकाशन गरिन्छ।
वैदेशिक रोजगार बचतपत्र मुलुकबाहिर वैदेशिक रोजगारीमा संलग्न नेपाली र विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले आफू वा आफ्ना घरपरिवारका सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी) का नाममा खरिद गर्न सक्छन्।
नेपाल राष्ट्र बैँकले जारी गरेको आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिको बुँदा १३९ मा ‘विप्रेषण आप्रवाहलाई राष्ट्रिय प्राथमिकता क्षेत्रमा परिचालन गर्न तथा औपचारिक माध्यमको प्रयोगलाई बढावा दिन वैदेशिक रोजगार बचतपत्र तथा नागरिक बचतपत्रको बिक्री वर्षैभरि खुला गर्न आवश्यक समन्वय गरिने छ’ उल्लेख भएअनुरूप आगामी समयमा वैदेशिक रोजगारपत्रको बिक्री वर्षैभरि खुला हुने भएको छ।
वैदेशिक रोजगार बचतपत्र मुलुकबाहिर वैदेशिक रोजगारीमा संलग्न नेपाली र विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले आफू वा आफ्ना घरपरिवारका सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी) का नाममा खरिद गर्न सक्छन्। वैदेशिक रोजगारीमा काम गरी विदेशबाट फर्किएकाले पनि फर्केको ४ महिनाभित्र आफू वा आफ्ना परिवारका सदस्यका नाममा यो बचतपत्र खरिद गर्न सक्ने व्यवस्था छ। यो बचतपत्र ५ हजार रुपैयाँ र बढीमा कूल आह्वान रकमको सीमामा नबढाई ५ हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न आवेदन दिन सकिन्छ। यो बचतपत्रको अवधि र यसमा पाउने निश्चित ब्याजदर नेपाल सरकारले तोकिदिएबमोजिम हुने गर्छ। आर्थिक वर्ष २०७६/७७ का लागि नेपाल सरकारले १९५ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा १ अर्ब रुपैयाँ वैदेशिक रोजगार बचतपत्रबाट उठाउने लक्ष्य राखेको छ। यसअनुसार यस आर्थिक वर्षको दोस्रो त्रैमासमा २० करोड, तेस्रो र चौथो त्रैमासमा क्रमशः ४० करोड, ४० करोडको वैदेशिक रोजगार बचतपत्र प्रकाशन प्रकाशन गर्ने लक्ष्य छ। दोस्रो त्रैमासका लागि २०७६ पुस १ देखि २१ गतेसम्म नेपाल राष्ट्र बैँकले वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला गरेको थियो। मौद्रिक नीतिको नयाँ व्यवस्थाअनुरूप अब यो बचतपत्रको बिक्री वर्षैभरि खुला हुनेछ। २०७६ माघदेखि पुनः यो बचतपत्रको बिक्री खुला हुने सम्भावना छ। सो बचतपत्र प्राथमिक प्रकाशनको समयमा बिक्री एजेन्टमार्फत बिक्री गरिन्छ। साथै नेपाल राष्ट्र बैँकको वेभसाइटबाट यसको आवेदन डाउनलोड गर्न सकिन्छ।
बिक्री एजेन्ट भन्नाले वैदेशिक रोजगार बचतपत्रसम्बन्धी कार्यविधि, २०६९ अनुसार वैदेशिक रोजगार बचतपत्रको प्राथमिक कारोबार गर्न नेपाल राष्ट्र बैँकबाट इजाजतपत्र प्राप्त संस्थालाई बुझिन्छ। नेपाल राष्ट्र बैँक, विदेशी विनिमय व्यवस्थापन विभागबाट विप्रेषण कारोबार गर्ने इजाजतपत्र प्राप्त बैँक तथा वित्तीय संस्था, रेमिट्यान्स कम्पनी तथा मनी–ट्रान्सफर कम्पनीले बिक्री एजेन्टका रूपमा काम गर्न सक्छन्।
वैदेशिक रोजगार बचतपत्र झट्ट हेर्दा नेपाल सरकारको आन्तरिक ऋण उठाउने माध्यमका रूपमा रहेको एक प्रकारको ऋणपत्र भए तापनि यसको मुख्य ध्येय– विदेशमा काम गर्न गएका नेपाली नागरिकको देश–विकासमा योगदान पुगोस्, उनीहरूले कमाएको रकमले नेपालको अर्थतन्त्र उकालो लागोस्, उनीहरूको पैसा वैधानिक रूपमा नेपाल भित्रियोस्, त्यस्तो पैसा दुरुपयोग र अनुत्पादक क्षेत्रमा खर्च नहोस्, ससानो बचत परिचालन प्रभावकारी रूपमा होस्, लगानीकर्ताले यसमा राम्रो प्रतिफल र सुरक्षा प्राप्त गर्न सकुन् भन्ने नै हो।
यो बचतपत्र प्रकाशनसम्बन्धी सूचना नेपाल राष्ट्र बैँकको वेभसाइट, राष्ट्रिय दैनिक पत्रिकालगायत अनलाइन र वैदेशिक रोजगारको गन्तव्य मुलुकहरूबाट प्रकाशन हुने नेपाली पत्रिकामार्फत दिइन्छ। यो बचतपत्र खरिद आवेदन फारम बिक्री एजेन्टका विदेश वा स्वदेशस्थित कार्यालयमा पेस गर्नुपर्छ। आवेदनका साथमा आवेदनकर्ताको राहदानी, भिसा (भारतबाहेक) को प्रतिलिपि, कार्यरत कम्पनीको म्याद ननाघेको आधिकारिक परिचयपत्रको प्रतिलिपि, पासपोर्ट साइजका दुईप्रति फोटो, नेपालबाट खरिद गर्ने अवस्थामा सो प्रयोजनका लागि प्रयोग भएको नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा वैधानिक माध्यमबाट नेपाल भित्रिएको हो भन्ने प्रमाण (विदेशी मुद्रा सटही रसिद), विदेशी मुद्रामा खाता रहेको भए बचतपत्र खरिदमा प्रयोग भएको उक्त रकम, जम्मा/खर्च भएको बंैक स्टेटमेन्ट, परिवारका सदस्यका नाममा भए, तिनको नागरिकता, नाबालिगको नाममा भए, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्छ।
बिक्री खुला रहेको अवधिभित्र यो ऋणपत्र खरिद गर्न आवेदन बुझाएको मितिदेखि प्रकाशन हुने मितिभन्दा अघिल्लो दिनसम्मको बचतपत्रका लागि तोकिएको ब्याजदरमा खण्डित अवधिको ब्याज प्राप्त हुन्छ। यो बचतपत्र खरिदकर्तालाई तोकिएको ढाँचामा प्रमिसरी नोट वा स्टकका रूपमा बिक्री एजेन्टमार्फत नेपाल राष्ट्र बैँकले प्रमाणपत्र उपलब्ध गराउँछ। यसको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिन्छ भने तोकिएको मितिमा साँवा भुक्तानी गरिन्छ। साँवा तथा ब्याजको भुक्तानी नेपाली रुपैयाँमा हुन्छ। यसबाट आर्जित आयमा आयकर लाग्छ। यो बचतपत्र धितो राखेर अंकित मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिन्छ। यस बचतपत्रलाई भुक्तानी अवधि नपुग्दै बिक्री गर्नुपरेका खण्डमा नेपाल राष्ट्र बैँकका उपत्यकाबाहिरका कार्यालय वा बजार–निर्माताका कार्यालयमार्फत बिक्री गर्न सकिन्छ।
अन्त्यमा, वैदेशिक रोजगार बचतपत्र झट्ट हेर्दा नेपाल सरकारको आन्तरिक ऋण उठाउने माध्यमका रूपमा रहेको एक प्रकारको ऋणपत्र भए तापनि यसको मुख्य ध्येय– विदेशमा काम गर्न गएका नेपाली नागरिकको देश–विकासमा योगदान पुगोस्, उनीहरूले कमाएको रकमले नेपालको अर्थतन्त्र उकालो लागोस्, उनीहरूको पैसा वैधानिक रूपमा नेपाल भित्रियोस्, त्यस्तो पैसा दुरुपयोग र अनुत्पादक क्षेत्रमा खर्च नहोस्, ससानो बचत परिचालन प्रभावकारी रूपमा होस्, लगानीकर्ताले यसमा राम्रो प्रतिफल र सुरक्षा प्राप्त गर्न सकुन् भन्ने नै हो। रोजगार बचतपत्रको प्रचारप्रसार तीव्र रूपमा हुन सकेको छैन। यसो हुन सक्ने हो र वैदेशिक रोजगारीमा जाने सम्पूर्ण नेपाली र तिनका परिवारले यो बचतपत्र र यसको महत्व जान्ने हो भने उल्लिखित उद्देश्य प्राप्त गर्न धेरै समय लाग्दैन।
कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैँक
प्रकाशित: १६ माघ २०७६ ०४:५३ बिहीबार