विचार

कोरोनादेखि सावधान !

पछिल्लो समय चीन, अमेरिकाजस्ता देशलाई समेत टाउको दुखाइको विषय बनेको नयाँ भाइरस नोवेल कोरोना नेपालमा पनि भित्रिएको पुष्टि भएको छ। चीनबाट आएका र एक साताअघि उपचारका लागि टेकु अस्पताल पुगेका ३५ वर्षीय एक व्यक्तिमा उक्त भाइरस देखिएको पुष्टि भएको हो। विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त चिनियाँ एक प्रयोगशालाले ती व्यक्तिमा यस्तो भाइरस देखिएको प्रमाणित गरेपछि नेपाल थप सतर्क हुनुपर्ने देखिएको छ। उनी मात्र होइन, चीनबाटै आएका तर टेकु अस्पतालमै उपचार गराइरहेका अर्का एक जनालाई पनि यस्तै भाइरसको संक्रमण भएको आशंकामा निगरानीमा राखिएको छ। साथै बिरामीका सम्पर्कमा पुगेका व्यक्तिबारे समेत अस्पताल चनाखो बनेको छ। यी घटनाले नोवेल कोरोना भाइरस नेपालका लागि पनि टाउको दुखाइ हुन सक्ने सम्भावना बढेको छ। गत डिसेम्बरमा मात्र देखापरेको यो भाइरसले कोरिया, सिंगापुर, थाइल्यान्ड, जापान, अमेरिकाजस्ता देशमा समेत प्रवेश गरेर जनस्वास्थ्यमा चुनौती दिइरहेको छ। ती देशले यसबाट बच्न सतर्कता अपनाउनाका साथै पर्याप्त सुरक्षा व्यवस्था अपनाएका छन्। तर पनि यो भाइरसका कारण ४० जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने १२ सयभन्दा बढी व्यक्ति संक्रमित भएका छन्।

शुक्रबार विश्व स्वास्थ्य संगठनले समेत आकस्मिक बैठक राखेर यसबारे विशेष सतर्कता अपनाउन सुझाव दिइसकेको सन्दर्भमा हामी पनि होसियार हुन जरुरी छ। नत्र सामान्य रुघाखोकी र ज्वरो त हो नि भन्दाभन्दै मिर्गौलासमेत काम नलाग्ने भई ज्यानै जान सक्छ। 

झट्ट हेर्दा ६ अर्बभन्दा बढी जनसंख्या भएको विश्वमा नोवेल कोरोनाबाट पीडितको यो संख्या आत्तिइहाल्नुपर्ने नलाग्न सक्छ। तर यसबाट क्षति कति भयो भन्दा पनि यसको विस्तार हुने क्रम बढ्नुले सबैलाई चिन्तित तुल्याएको हो। अर्थात् ‘बूढी मरीभन्दा पनि काल पल्क्यो’ भन्नेमा चिन्ता बढेको हो। र, यो स्वाभाविक पनि छ। त्यसैले आर्थिक र प्राविधिक रूपले समेत सम्पन्न मुलुकहरूलाई त अत्याइरहेको यो भाइरसविरुद्ध नेपाल पनि सतर्क रहन र त्यसविरुद्ध तयारी थाल्न ढिला गर्नु हुँदैन। यसनिम्ति सरकारका तर्फबाट सावधानी र सामनाका प्रक्रिया अपनाउन आवश्यक छ भने जनस्तरबाट पनि उत्तिकै चनाखो रहनुपर्ने देखिएको छ। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो भाइरस जाँचका लागि हेल्थ डेस्क राखेको जनाएको छ। यो राम्रो कुरा हो। तर यति मात्र पर्याप्त हुँदैन। छिमेकी राष्ट्र चीन नै यो भाइरसको उद्गमस्थल रहेको अवस्था छ। अनि चिनियाँ नागरिक नेपाल आउने क्रम बढ्दो छ। उनीहरू धेरैजसो विमानबाट आउने गरेका भए पनि केही चिनयाँ अन्य विभिन्न नाकाबाट पनि आउने गरेका छन्। त्यसैगरी चीन आवतजावत गर्ने नेपालीले पनि अन्य नाका प्रयोग गर्ने गरेका छन्। त्यसैले यस्ता सबै नाकामा हेल्थ डेस्क राख्न जरुरी छ।

अर्कातर्फ यो भाइरसको संक्रमणबाट जोगिन के गर्नुपर्छ भन्नेबारे सरकारीस्तरबाट चेतनामूलक कार्यक्रम पर्याप्त छैन। नियमित रूपमा साबुन–पानीले हात धुने, फ्लु लक्षण देखिएमा तुरुन्त चिकित्सककहाँ गएर परामर्श लिने, जंगली तथा घरेलु पशुपक्षीदेखि सकभर टाढै रहने, खोक्दा, हाछ्युँ गर्दा नाकमुख छोप्ने, रुघाखोकीको लक्षण देखिएका व्यक्तिनजिक नजाने, माछामासु आदि राम्रोसँग पकाएर मात्र खानेजस्ता सामान्य कुरामा ध्यान दिने हो भने पनि यस भाइरसबाट बच्न सकिन्छ। तर यही जानकारी पनि सर्वसाधारणसम्म पुग्न सकेको छैन। त्यसैले सरकारले यस्ता सन्देश जनसमक्ष पु¥याउन ढिला गर्नु हुँदैन। कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न पाँच प्रक्रियाको उपचार तालिका स्वास्थ्यकर्मीलाई उपलब्ध गराइनु, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र शुक्रराज सरुवा रोग अस्पतालमा एकल वार्ड तयारीमा राखिनु, हवाई यात्रा गर्नेलाई रोगबारे जानकारी दिने प्रक्रिया थालिनु नेपाल सरकारले गरेका राम्रा थालनी हुन्। तर अब यत्तिमा मात्र सीमित नरही थप सतर्कता र उपाय अपनाउन आवश्यक छ। शुक्रबार विश्व स्वास्थ्य संगठनले समेत आकस्मिक बैठक राखेर यसबारे विशेष सतर्कता अपनाउन सुझाव दिइसकेको सन्दर्भमा हामी पनि होसियार हुन जरुरी छ। नत्र सामान्य रुघाखोकी र ज्वरो त हो नि भन्दाभन्दै मिर्गौलासमेत काम नलाग्ने भई ज्यानै जान सक्छ।

प्रकाशित: १२ माघ २०७६ ०३:२९ आइतबार

सम्पादकीय कोरोना