विचार

ऋणको पासोमा प्राण

काठमाडौँस्थित थानकोटका विनय लामिछाने पत्नी र दुई छोरासहित त्रिशूली नदीमा हामफाले। मर्न भनेर हेलिएका उनीहरूमध्ये विनयलाई स्थानीयले उद्धार गरे भने श्रीमतीको मृत्यु भयो। दुई छोराको अवस्था अहिलेसम्म अज्ञात छ। दुई वर्ष र ६ महिनाका छोरासहित परिवारै मर्नुपर्ने बाध्यता के आइलाग्यो त ? प्रहरीको प्रारम्भिक अनुसन्धानले यसको मुख्य कारण ‘ऋण’ देखाएको छ। कारण यही हो वा अरू पनि केही छ भन्नेचाहिँ पूरा अनुसन्धानपछि खुल्ला नै। ‘मिटर ब्याज’ पछिल्लो समय निकै चर्चामा आएको शब्द हो। खासगरी सञ्चारमाध्यमले पनि यसलाई निकै महत्वसाथ उठाइरहेका छन्। र, प्रहरीले पनि यस्तो अवैध कार्यमा संलग्नलाई समातेर कारबाही प्रक्रिया अघि बढाइरहेको छ। परिवारैसहित आत्महत्या गर्न तम्सिएका विनय पनि मिटर ब्याजमा लिएको ऋण तिर्न नसक्दा यस्तो आत्मघाती निर्णयमा पुगेको प्रहरीको भनाइ छ। पक्कै पनि मिटर ब्याजमा ऋण लिएका कारण धेरैको उठीबास भएको छ। कतिपय व्यक्ति आँसुमा डुबेका छन्। कतिपयको बिचल्ली भएको छ। यो विषय एउटा व्यक्ति वा परिवारसँग मात्र सम्बन्धित छैन। मिटर ब्याजमा ऋण लिनेका आफन्त र नाता÷कुटुम्बसमेत पीडित भएका छन्। यसले देखाउँछ– यो समस्याले निकै तलसम्म जरा गाडेर बसेको छ। यसको गहिराइ र यसले सिर्जना गरेको विकृति थाहा पाउन विनय परिवारको आत्महत्यासम्मको निर्णय नै काफी छ।

सर्वसाधारणले पनि आफ्नो खुबी र हैसियतअनुसार मिहिनेत गर्ने हो भने न कसैले थापेको ऋणको पासोमा पर्नुपर्छ न त मृत्युसँग आत्मसमर्पण नै गर्नुपर्छ। 

अब प्रश्न उठ्छ– मानिस किन यसरी चर्को ब्याजमा ऋण लिन बाध्य छन् ? थोरै लिएर धेरै लेखाउनेहरू किन कत्ति डराउँदैनन् यस्तो अपराध गर्न ? धेरै लेख्दा पनि किन चुपचाप सहन बाध्य छन्, पीडितहरू ?, के गर्छन्, गाउँमा खुलेका सहकारी र वित्तीय संस्था ? किन पछिल्लोपटक प्रत्येक स्थानीय तह पुगेका बैँक गाउँलेका दुःखका साथी बन्न सकेनन् ? किन २१औँ शताब्दीमा पनि पहिलेकै तमसुकवाला ऋणको परिपाटी कायम छ, मुलुकमा ? यी यस्ता यावत् प्रश्न हुन्, जसले मुलुकमा गरिबी बढाउने कारण खोतल्न पर्दैन भने अर्कातर्फ सामन्तवादी सोच र व्यवहार अहिले पनि कायमै छ भन्ने ज्वलन्त प्रमाणसमेत हुन्।  मिटर ब्याज त्यस्तो प्रथाका रूपमा झाँगिँएको छ, जसमा भनेका बेला पैसा तिर्न सकेन भने त्यो दोब्बर हुन्छ। अनि जति तिर्न सकेन उति–उति दोब्बर हुँदै जान्छ। त्यसैले केही समयका लागि लिइएको ऋण कारणवश वा परिबन्धमा परेर तिर्न सकिएन भने छोटै समयमा लाखौँले वृद्धि हुन्छ। यस्तो अवस्थामा ऋणीले तिर्नै नसक्ने अवस्था खडा हुन्छ। अनि कोही भएको घरसमेत बेचेर सुकुमवासी हुन्छन् भने घर नहुनेहरू यसैगरी आत्महत्याको बाटो रोज्न बाध्य हुन्छन्। एक्काइसौँ शताब्दीलाई चुनौती दिने यस्तो मिटर ब्याज प्रचलन अहिले पनि कायम हुनु भनेको मुलुकमा सरकारविहीनताकै अवस्था हो भन्न हिचकिचाउनु पर्दैन।

पछिल्लो समय मानिसमा उत्पन्न आफ्नो हैसियतभन्दा बढी महत्वाकांक्षा पनि यसमा जिम्मेवार छ। आफ्नो खुबी र रुचिअनुसारका पेसा पन्छाएर अरूले कमाएको देखासिकीमा लाग्ने र चाँडै करोडपति हुने आकांक्षा पनि यसमा जिम्मेवार छ। लामो समयदेखि कलेज पढाइरहेको एउटा अध्यापकले ट्युसन पढाएर पनि परिवार पाल्ने हैसियत राख्छ। २७ वर्षीया युवतीले ठेलामा पानीपुरी बेचेर पनि राम्रै आम्दानी गरेका उदाहरण थानकोटवरपरै भेटिन्छन्। तर आफ्नो औकातभन्दा बढीको प्रगति हात पार्न लालायित हुँदा विनयको यो हालत भयो। त्यसैले अवैधतवरले मानिसलाई ऋणको पासोमा पार्ने र त्यसबाट अधिक फाइदा लिने अपराधीलाई त कारबाही गर्नैपर्छ। साथै यो प्रथा पनि फँडानी गर्नैपर्छ। अनि सर्वसाधारणले पनि आफ्नो खुबी र हैसियतअनुसार मिहिनेत गर्ने हो भने न कसैले थापेको ऋणको पासोमा पर्नुपर्छ न त मृत्युसँग आत्मसमर्पण नै गर्नुपर्छ। 
 

प्रकाशित: ५ माघ २०७६ ०५:१० आइतबार

सम्पादकीय ऋण आत्महत्या