विचार

विकल्प खोजौं

लालबहादुर शास्त्री भारतका दोस्रो र चर्चित प्रधानमन्त्री थिए।उनी सन् १९६४–१९६६ सम्म भारतका प्रधानमन्त्री रहे। उनलाई काशी विद्यापीठबाट ‘शास्त्री’ उपाधि मिलेका कारण उनको नामसँग शास्त्री जोडिए तापनि उनी श्रीवास्तव अर्थात् नाई जातिका थिए। शास्त्रीजी उत्तर प्रदेशको प्रहरी तथा यातायात मन्त्री हुँदा पहिलोपटक महिलालाई संवाहक (कन्डक्टर) नियुक्ति गरे। भिड नियन्त्रणमा राख्नलाठीको सट्टा पानीको फोहोरा प्रयोग उनैले प्रारम्भ गराएका हुन्, जुन हामीकहाँसमेत प्रयोग गर्ने गरिन्छ।

भारतको लोकसभा निर्वाचन,२०१९ मा भारतीय जनता पार्टी (भाजपा) ले कूल ५४३ सिटमध्ये एक्लै ३०३ सिट जित्यो भने भाजपा नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडिए) ले ३५० सिट हात पा-यो। सन् १९५१ मा डा. श्यामाप्रसाद मुखर्जीद्वारा भाजपा स्थापना गरिएको थियो। जम्मु र कश्मीरको प्रभावी एकीकरणको माग राखेर गरिएको आन्दोलन क्रममा पक्राउ परेका मुखर्जीको कारागारमै सन् १९५३ मा मृत्यु हुन पुग्यो। सन् १९७७ मा पार्टीले प्रथमपटक बहुमत हासिल गरेपछि भाजपाका मोरारजी देसाई भारतको प्रधानमन्त्री बने।छोटो समयमै मोरारजी पदबाट राजीनामा दिन बाध्य भएपछि पार्टी विघटन हुन पुग्यो।त्यसपछि सन् १९८० मा अटल बिहारी वाजपेयीको नेतृत्वमा पुनः भारतीय जनता पार्टीको उदय भयो।

लगत्तै सन् १९८४ मा भएको लोकसभा निर्वाचनमा भाजपा केवल २ सिट मात्रै जित्न सफल भएको थियो। आज दोस्रो कार्यकालको मोदी सरकार नागरिकता विधेयक, जम्मु,कश्मीर र लद्दाखको विशेष राज्यको संवैधानिक व्यवस्था धारा ३७० खारेजी गर्ने,मुस्लिम समुदायविरोधी कानुन र विवादित हिन्दू राष्ट्र,भारत निर्माण अभियानमा लागेका छन्। नरेन्द्र मोदी–अमित शाहको फाँसीवादी,अतिवादी हिन्दू धार्मिक र साम्प्रदायिक राजनीति भारतमा मात्रै नभई विश्वभरै आलोचित बन्न पुगेको छ।तर यी मुद्दा उनीहरूले आज जस्केलाबाट ल्याएका भने होइनन्।हिन्दू राष्ट्र भारत  भाजपा र आरएसएसको स्थापनादेखिका मुद्दा हुन्।त्यस्तै संविधानको धारा ३७० को खारेजी, नागरिकता विधेयकलगायतविवादित मुद्दा भाजपाको चुनावी घोषणापत्रमैभएका कार्यक्रम हुन्। त्यसैले जनताले यस्ता सवाल र मुद्दामा चुनावअघि नै ध्यान दिनैपर्ने गम्भीर विषय हुन्।

हामी रोजगारीका लागि बिदेसिन बाध्य युवा रातो बाकसमा फर्केको दृश्य दैनिक देख्न बाध्य छौं। हाम्रो बाध्यता त्यतिमा मात्रै सीमित छैन, विजातीय प्रेम, विवाह वा जातकैकारण हुने हत्या, हिंसा पनि हेर्न अभिशप्त छौं। यसलाई रोक्न आवश्यक छैन ?

सुवासचन्द्र बोसद्वारा दिइएको ‘जय हिन्द’नारा भारतको राष्ट्रिय नारा बन्न पुग्यो। तर डा.भीमराव अम्बेडकरद्वारा निर्मित संविधानमा जानाजान हिन्दुस्तान र दलित शब्द राखिएन। हिन्दूवा आर्य भारतमै आप्रवासी धर्म र समुदाय हो भने अर्कातर्फ आर्य अथवा ब्राह्मणधर्मका कुनै पनि धार्मिक ग्रन्थ जस्तै : वेद, पुराण, श्रीमद् भागवत् गीता, रामायण, महाभारतलगायत कहीं–कतै हिन्दू शब्द छैन। यो फारसी भाषाको सिन्धु शब्दबाट अपभ्रंश भई धेरै (वैदिक कालभन्दा)पछि हिन्दू शब्द बन्न पुगेको बुझिन्छ।नियमित निर्वाचन,७ दशकभन्दा पुरानो लोकतन्त्र, १ अर्बभन्दा धेरै जनसंख्या,दल खोल्ने हक आदि मुलभूत कारणले भारतलाई विश्वको ठूलो लोकतान्त्रिक मुलुक भन्ने गरिन्छ। तर मोदी शासनको दोस्रो कार्यकालमा आइपुग्दा यो पुरानो र विश्वकै ठूलो लोकतान्त्रिक मुलुकको विरासत खतरामा पर्ने हो कि भन्ने आशंका उत्पन्न भएको छ।भारत मात्रै होइन, नेपालको कथित कम्युनिस्ट र राष्ट्रवादी ओली सरकार,संयुक्त राज्य अमेरिका,रसिया,बेलायत,अस्ट्रेलिया आदि देशमा कथित राष्ट्रवादी,नश्लवादी शासकको उदयसँगै ‘अबको नेतृत्व कसको र कस्तो’ बहस विश्वभरि नै घनीभूत बनाउनुपर्ने बाध्यता आइपरेको छ।

संघीयतावादी नेतृत्व
संघीयताको आधुनिक अवधारणा संयुक्त राज्य अमेरिकामा सन् १७७६–१७८९ बीच भएको मानिन्छ।संघीय शासन प्रणाली अपनाउने अमेरिकापछिका दोस्रो मुलुक स्विटजरल्यान्ड हो।हालसम्म विश्वका २८ मुलुकमा संघीय शासन प्रणाली छ। विश्वको कूल जनसंख्याको ४० प्रतिशत मानिस यी (संघीयता भएका) मुलुकमा बसोबास गर्छन्।स्मरण रहोस्, युरोपेली संघ (युरोपियन युनियन–इयु) मा महासंघीय विशेषता पाइन्छ।

संघीय राज्य निर्माणका लागि कम्तीमा दुइटा सिद्धान्त पालना भएको हुनुपर्छ।पहिलो–स्वतन्त्रताको सिद्धान्त नै हो। यस सिद्धान्तअनुसार संघभित्रका राज्यहरू स्वतन्त्र हुनुपर्छ।संघीय (केन्द्रीय) सरकार प्रदेश सरकारको र प्रदेश सरकार संघीय (केन्द्रीय) सरकारको अधीनस्थ हुनु हुँदैन। आआफ्ना क्षेत्रमा दुवै सर्वाेच्च हुन्छन्।दोस्रो–शक्ति विभाजनको सिद्धान्त हो। जसमा राज्यका दुई मुख्य शक्तिमध्ये प्रदेश सरकारलाई अभिव्यक्ति अधिकार र संघीय सरकारलाई अभिशिष्ट अधिकार दिइन्छ। विडम्बनैभन्नुपर्छ– यी सिद्धान्तको पूर्ण पालना भने कहीं पनि भएको पाइँदैन।संघीय सिद्धान्तका विज्ञ के.सी ह्वेयरको धारणाबमोजिम संघीयता हुन तीनवटा सर्त पूरा गरेको हुनुपर्छ। एक–साझा सुरक्षा, व्यापार व्यवधान वा सार्वजनिक सेवाको लागत घटाउनेजस्ता उद्देश्यका लागि कुनै समुदायले साझा सरकार बनाउन तयार हुनुपर्छ। दुई– स्थानीय संस्कृति वा भाषा संरक्षण गर्न वा आर्थिक उद्देश्य हासिल गर्न त्यो समुदाय क्षेत्रीय सरकार बनाउन तयार हुनुपर्छ। तेस्रो–संघीयता सफलतापूर्वक सञ्चालन गर्न त्यो समुदायको क्षमता हुनुपर्छ।

विश्वको इतिहास हेर्दा संघीय राज्य दुई किसिमले बनेका छन् : १) दुई वा यसभन्दा बढी सार्वभौम राज्य मिलेर/जुटेर एउटा सिंगो संघीय राज्य बन्न पुग्यो। उदाहरणका लागि अमेरिका–१७८७, स्विट्जरल्यान्ड– १८४८, अस्ट्रेलिया– १९००,जर्मनी–१९१९ आदि राज्य जुटेर बनेका संघीय मुलुक हुन्। २) एउटा सिंगो राष्ट्र वा एकात्मक राज्य टुक्रिएर संघीय राज्य बन्छ।एकात्मक राज्य टुक्रिएर विभिन्न प्रान्त वा प्रदेश बन्छन् र केन्द्र प्रदेशबीच अधिकारबाँडफाँट हुन्छ।जस्तैः क्यानाडा– १८६७, ब्राजिल– १८९१,नाइजेरिया–१९६० इत्यादि टुक्रिनबाट जोगाउन संघीयता अपनाएका मुलुक हुन्।केही देश भने उपनिवेशबाट स्वतन्त्र भएपछि संघीयता अंगाल्न पुगे। जस्तै : भारत–१९५०, पाकिस्तान, मलेसिया, अर्जेनटिना आदि। नेपालजस्तै दक्षिण अफ्रिका, इराक, सुडान, बोस्निया र कंगो द्वन्द्वपश्चात् संघीयतामा गएका मुलुक हुन्। ज्ञातव्य छ,संघीयताका लागि लोकतान्त्रिक शासन प्रणाली अनिवार्य सर्त हो। गैरलोकतान्त्रिक शासन व्यवस्था भएका मुलुकमा संघीयता फस्टाउँदैन।

संघीय शासन प्रणलीका विभिन्न प्रकार छन्, जस्तैः एक–द्वैध संघवाद हो। यो दोहोरो शासन व्यवस्था भएको शासन प्रणाली हो। यसको अर्थ– जसरी केन्द्रमा विधायिका,न्यायपालिका र कार्यपालिका रहन्छन्, त्यसैगरी प्रदेशमा पनि राज्यका ३ अंग रहन्छन्। दुवैका लिखित संविधान हुन्छन् र दुईबीच अधिकार/साधन बाँडफाँट संविधानमै हुन्छ। सामान्यतया संघीय शासन प्रणाली भनेर यसैलाई चिनिन्छ। दुई–प्रतिस्पर्धात्मक संघीयता हो।यस प्रकारको संघीयतामा प्रदेशले समान खालका अधिकार प्रयोग गर्छन्; केन्द्र र प्रदेशबीच कम नियन्त्रण हुन्छ। यसमा दुई तहबीच प्रतिस्पर्धाको चरित्र रहन्छ। तीन–नियन्त्रित संघीयता हो।यो कमजोर संघीयता हो र यसमा केन्द्र प्रदेशभन्दा शक्तिशाली हुन्छ। भारतको संघीयता यही खालको हो।

चौथो–आदेशात्मक संघीयता हो।यस प्रकारको संघीयतामा केन्द्र कमजोर र प्रदेश शक्तिशाली रहन्छ। पाँचौ–सहकारितात्मक संघीयता हो।यो सहकारिताका आधारमा चल्ने संघीयता हो।छैटौं–असमान संघ हो। यो विभिन्न प्रदेशबीच बराबर अधिकार नहुने संघीयता हो।क्षेत्रफल, भौगोलिक अवस्थिति, जनसंख्या, भाषा, धर्म, जात, जाति आदिका आधारमा अधिकार पनि फरक–फरक दिइएको हुन्छ। अब प्रश्न उठ्छ– हाम्रो मुलुकमा लागू गरिएको संघीयता कस्तो प्रकारको हो ? नियन्त्रित संघीयता भन्न मिल्ने, तर त्यही पनि पूर्ण रूपमा लागू गर्न नखोजिएको संघीयता हाम्रो मुलुकमा देखापरेको छ। जेसुकै कारणले किन नहोस्,हामीले संघीयतालाई स्वीकार गरेका छौं,त्यसैका लागि सयौंको बलिदानी भएको छ।संविधानमा लेखिएर मात्रै संघीयता नफस्टाउने बरु संघीयतावादी शक्ति बलियो बन्नैपर्ने बाध्यताको महसुस जनतामा हुँदै जानु सकारात्मक छ।

संविधानवादी र समावेशी नेतृत्व
नेपाल कम्युनिस्ट पार्टी माक्र्सवाद र मनुवादको ‘फ्युजन’बाट बनेको छ। यो सत्यको पहिलो आधार थाहा पाउन उसको राजनीतिक,सैद्धान्तिक दृष्टिकोण र कार्यदिशा हेरे पुग्छ। पूर्ण लोकतन्त्र वा समाजवादी लोकतन्त्र वा लोकतान्त्रिक समाजवादलाई सरकारी नेकपाले सैद्धान्तिक रूपमा अझै स्वीकारेको छैन।उसको अन्तिम लक्ष्य (पूरा नहुने नै भए पनि)माक्र्सीय समाजवाद वा साम्यवादसम्म पुग्ने नै रहेको देखिन्छ। तर व्यवहारमा नेकपा विगतदेखि नै बाहुनको एकछत्र,एकल नेतृत्वमा छ।पार्टी, उसको नेतृत्वको संसद्, सरकार, नीति र व्यवहार बोलीमा समाजवाद भन्दिने, तर व्यवहारमा बाहुनवाद लाद्ने नै रह्यो।यहींनेर प्रश्न उठ्छ– आर्य,खसको नेतृत्व जारी रहे पनि सबै बाहुन,क्षत्री शासक हुन् ?सबै बाहुन,क्षत्री सुखी,सम्पन्न,शासक,समस्यारहित भए/छन् त ? यस्तो त हुन सकेको छैन ! त्यसैले अबको नेतृत्व कस्तो हुने भन्नेबारे उनीहरूको समेत चासो रहनैपर्ने देखिन्छ।

समाजवादप्रायः सबै दलको साझा राजनीतिक लक्ष्य बन्न पुगेको छ।तर कस्तो समाजवाद ?प्रश्न जीवितै छ।समाजवादमा कथित उपल्लो जातकी केटीसँग प्रेम गरेकै कारण मारिएका काभ्रेका अजित मिजारको लास बौरिन्छ ?ज्ञातव्य रहोस्, उनको लास अझै काठमाडाैंस्थित त्रिवि शिक्षण अस्पतालको बाकसभित्र न्यायकोप्रतीक्षामा छ। हामी खाडी वा अन्य मुलुकमा रोजगारीका लागि बिदेसिनबाध्य युवा रातो बाकसमा फर्केको दृश्य दैनिक देख्न बाध्य छौं।हाम्रो बाध्यता त्यतिमा मात्रै सीमित छैन,विजातीय प्रेम,विवाह वा जातकै कारण हुने हत्या, हिंसा पनि हेर्न हामी अभिशप्त छौं।यसलाई रोक्न आवश्यक छैन ?

हाम्रा पुर्खाका कैयौं पुस्ता गरिबी,अभाव र विभेद पिएरै बिते। उनीहरूलाई लाग्थ्यो कि त्यो सबै आफ्नै भाग्य, पूर्वजन्मको फल वा भगवान्को श्रापका कारण त्यस्तो जीवन जिउनुप-यो।आज जात, धर्म, लिंग, समुदाय, भाषा र क्षेत्रकै कारण मानिसलाई मर्नतथा विभेद सहन बाध्य पारिँदै छ। यी सबै उनीहरूको भाग्यकै कारण भएका हुन् त ?होइन भनेराजनीतिक नेतृत्वको विकल्प खोजौं र रोजौं।

प्रकाशित: २ माघ २०७६ ०४:१५ बिहीबार

नेतृत्व विकल्प