विचार

निजगढमा नबनाऊ विमानस्थल

मेरो अल्प अध्ययनले प्रश्न गर्छ– अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनाउन निजगढ नै किन चाहिने ? हवाई अड्डा बनाउन २ लाखभन्दा बढी छिप्पिएका सालका रूख किन ढाल्ने ? यत्रो जंगल स्वाहा पार्नुअघि धेरै सोच्न जरुरी छ ।

एकपल्ट छिमलिएपछि जंगल फेरि पहिलेकै जस्तो त हुँदैन हुदैन, बरु मरुभूमिमा रूपान्तरण भएका उदाहरण धेरै पाइन्छन् । मेरा आँखाले ठम्याएको एउटा ठाउँ हो– काठमाडौंको कलंकी उता, नैकापयता ढुंगेअड्डा, जहाँ हाँस्यव्यंग्य सम्राट भूतका भिनाजु उर्फ वासुदेव लुइँटेलको बासस्थान थियो । त्यहीं मेरा साथी विश्वनाथ लुइँटेलको पनि घर थियो । त्यहाँ भोगटे, निबुवा, ज्यामिर, सुन्तला, दारिम, अम्बा, नासपातीजस्ता फलफूलका बोट थिए । यी फलफूल बर्सेनि लटरम्म फल्थे । एकाध त आँपका बोट पनि थिए ।

जब त्रिभुवन राजपथ बन्यो २०१४ असार १८ मा, फेरि पृथ्वी राजमार्ग निर्माण भो, तब त्यो ठाँउमा सानादेखि ठूलासम्म मोटर, लहरी, ट्रक आदि चल्न थाले । साथै त्यो पुरानो ढुंगेअड्डावरपर डिजेलको धुवाँको मुस्लो फाल्ने, मर्मत गर्ने कारखाना बन्न लागे, तीव्र गतिमा । परिणाम– ती फलफूलका बोट बढ्न छाडे, मुजुरा र पालुवा पनि पलाउन छाडे । त्यसपछि त फूल नफुल्ने, चिचिला नलाग्ने भयो । चार÷पाँच वर्षपछि त ती फलफूलका बोट सुक्दै गए र १० वर्षभित्रमा त सबै मरे । काँक्रा, फर्सी, घिरांैला, लौकाजस्ता वस्तु पनि फल्नै छाडे । यसबारे कुनै अध्ययन/अनुसन्धान भएन । 

यस्तै अवस्था निजगढमा पनि आउनेछ, त्यहाँ अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि । त्यति ठूलो उष्ण प्रदेशीय जंगल मरुभूमिमा परिणत हुने खतरा आउनेछ ।  सालका बिरुवा उम्रनै मुस्किल हुनेछ भने, उम्रिहाले पनि बिरुवा बढ्दैन । यो स्थिति पाल्पाको तानसेनबाट वनैवन झडेवा जाँदा देखेको हुँ । रातो माटोको डाँडोमा सालका केही बोट, तर बिरुवा साह्रै कम उम्रने, उम्रेका पनि नबढ्ने, पटक्कै नहुर्कने । त्यसको वैज्ञानिक खोज र अन्वेषण गरिएको थाहा छैन । 

जंगल निकुञ्जमा सीमित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँच्चै सानो भएको हो भने २०–०२ नम्बरको एउटा नभई १८–३८ नम्बरको पुरानो धावन मार्ग पनि छ रे, जुन डोमेस्टिक विमान पार्किङदेखि बुद्ध एयरको ह्याङ्गरसम्म लम्बिएको छ रे त ! ससाना विमानले यसैलाई रन–वेका रूपमा प्रयोग गर्न सक्छन् कि, अध्ययन गर्दा के फरक पर्छ र ? प्रकृतिको आफ्नै नीति र प्रक्रिया छ । यो फटाफट अघि बढ्दैन । आफैं उमेर पुगेर क्रमशः सुक्दै÷कुहिँदै, हाँगा भाँचिदै ठुटो हुँदै गएपछि त्यो ठुटोमा यति धेरै कीटपतंगको आश्रय हुन्छ, नांगो आँखाले पत्ता लगाउनै सकिन्न । वातावरण, पर्यावरणका यति सूक्ष्म रहस्य सालका ठूला रूख मात्र देख्ने आँखाले देख्न सक्दैनन् । 

म किशोर छँदा खेतबारीमा काम गर्नुपथ्र्यो । खेतका गह्रामा कतै न कतै माटाको एउटा ढिस्को हुन्थ्यो । म बासँग भन्थें– ‘यो सानो ढिस्को खेतमा किन राख्नु, भत्काइदिऊँ । त्यो ठाउँमा १ पाथी १२ माना भए पनि धान फल्छ ।’ बा भन्नुहुन्थ्यो– ‘हुँदैन हँुदैन, त्यो ढिस्को भत्काउन हँुदैन । यहाँ सर्प बस्छन् । तिनले धान नोक्सान गर्ने मुसा खान्छन् । सर्प नभए मुसाले धेरै धान नोक्सान गर्छन् ।’ कति गहिरो विज्ञान ? निजगढमा विमानस्थल बनाउने सिलसिलामा वातावरणीय मूल्यांकन कुन स्तरको गरियो ? परियोजनाको स्वरूप, त्यसमा हुने लगानी र प्रभावका दृष्टिले जुन स्तरको प्रतिवेदन हुनुपथ्र्यो, त्यस्तो त छैन, छैन । भन्दा विरोध गरेजस्तो, तर वस्तु तथ्य त राख्नैप¥यो र भन्नुप¥यो– त्यसको न्यूनतम स्तर पनि छैन रे प्रतिवेदनमा । 
एसियाको दक्षिण पाटोको सुदूर विगत पल्टाउने हो भने सिन्धु सभ्यता तथा वैदिक कालतिर पुग्नुपर्छ । जतिबेला यो विशाल भूखण्ड घना जंगल थियो । सिद्धार्थ गौतम बुद्धको युगसम्म आइपुग्दा राजमार्ग बने, गाउँ र सहर स्थापना भए । ती सहर जोड्ने बाटा बने । तैपनि घना जंगल थियो । जनसंख्या बढ्दै गयो । गंगाको पठारको घना जंगल उजाडिँदै गयो । आदिवासी मान्छे, हात्ती, गैंडा, बाघ, सिंह, अजिंगर र गोहीको अनौठो सहअस्तित्व बढ्दै गयो । हुँदाहुँदा त्यो विशाल जंगल चारकोसे झाडीमा खुम्चियो । पूर्व–पश्चिम राजमार्ग बनेपछि र औलो उन्मूलन भएपछि वनजंगल निकुञ्जमा मात्र सीमित हुने युग आयो । 

पेट्रोल खानी सार्न मिल्दैन 

विश्व ब्रह्माण्डको सुरक्षित एवं निरापद अस्तित्व र अवस्थितिका लागि प्रकृतिले वातावरण संरक्षण, अक्सिजन र कार्बन उत्सर्जन तथा एउटाले अर्को ग्यासको शोषण र ग्रहणको आफ्नै नियम बनाएको छ । जसरी हाम्रो उत्तरी सीमा उत्तुङ्ग हिमशृंखलाले रक्षा गरे, त्यसैगरी औलो, घना जंगलले नेपालको दक्षिणी सिमाना प्रतिरक्षा गरिरहेका थिए । तर जब औलो उखेलियो, पूर्व–पश्चिम छिचोल्ने सडक बन्यो, तब बहादुर मान्छेहरू तल झर्न लागे भने मुग्लानबाट पनि यता आउनेको लर्को नै लाग्यो । यी दुवैथरी मानिसका कारण जंगल सखाप भो । अब जंगल बच्न निकुञ्ज मात्र उपाय भए ।  
अपवादमा रह्यो– बाराको उत्तरी क्षेत्र । अब सरकार यही जंगल सोत्तर पारेर अर्को अन्तर्राष्ट्रिय विमानस्थल बनाउन घुँडा धसेर लागेको छ । यो जंगलसहितको भूभाग जंगली हात्ती, बाघलगायत जनावको मूल बाटोमा पर्नेरहेछ । वन्यजन्तुहरूको यो स्वतन्त्र, स्वच्छन्द आउजाउ गर्ने अधिकार सरकारी नियम, कानुन र नयाँ बस्ती बसालेका मान्छेबाट रोकिँदो रहेनछ । अब सरकारले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाई छाड्यो भने केही वर्ष यी रैथाने जनावर र मान्छेबीच द्वन्द्व हुनेछ । त्यसपछि जनावर मासिन्छन्, जसका कारण वातावरण अरू प्रदूषित एवं विषाक्त हुन पुग्छ । यसरी विकासका नाममा विनास हुने निश्चित छ । 

विमानस्थल अरू उचित ठाउँ हेरी निर्माण गर्ने, निजगढ जंगललाई सुरक्षित रहन दिने प्रसंगमा काठमाडौंमा एउटा अनुष्ठान भएको थियो । जहाँ मैले भनेको थिएँ– ‘हामीलाई अर्को अन्तर्राष्ट्रिय विमानस्थल पनि चाहिन्छ र निजगढ क्षेत्रको प्रागऐतिहासिक सालको घना जंगल पनि चाहिन्छ । जहाँ लोपोन्मुख २३ प्रजातिका वनस्पति छन् रे ।’ एउटा प्रश्न उठ्न थालेको छ– दु्रतमार्गका लागि निजगढ विमानस्थल कि  विमानस्थलका लागि दु्रतमार्ग ? बहस पनि भूमिगत शैलीमा चलिरहेको छ । त्यो कार्यक्रममा तर्क गर्दै भनेको थिएँ– ‘पेट्रोल खानी भएको भए अन्यत्र सार्न मिल्दैनथ्यो । दैलेखमा अनुसन्धान भइरहेको पेट्रोल भण्डारको खोजी सुर्खेत र कालीकोटमा हुँदैनथ्यो । विमानस्थल सार्न नसकिने हो र ? परिपक्व २ लाख सालका रूख ढुटो पार्नु भनेको खेलाँची पक्कै होइन । पहिलेको एउटा रिपोर्टअनुसार २ लाखभन्दा बढी सालका र २२ लाख अरू रूख काटिन्छन् रे । ती रूखले दिने अक्सिजन अब केले दिन्छ ? कसले दिने यसको चित्तबुझ्दो जवाफ ?’
६ करोड बिरुवा रोप्ने ! 

यो वन संरक्षणको बदला ६ करोड बिरुवा रोप्ने भन्ने सटिक उत्तर पनि आएको छ, रूख काट्नुपर्छ भन्ने पक्षधरबाट । तर ६ करोड बिरुवाका लागि कहाँ–कहाँ, कत्रा–कत्रा ब्याड राखेर उमार्ने, कुन–कुन जातका बिरुवा उमार्ने र कहाँ–कहाँ रोप्ने ? सोचिएको जस्तो लागेन । ६÷६ करोड बिरुवा उमार्न, हुर्काउन र रोप्न अनि बचाएर हुर्काउनु गफ गरेजस्तो सजिलो कुरा होइन । यो उत्तर जवाफका लागि जवाफ दिन खोजेजस्तो लाग्छ । हाँसो पनि उठ्छ । यी ६ करोड बिरुवा रोप्ने काम वैज्ञानिक पनि छ त ? चुरे दोहनले तराई–मधेसलाई संकटमा पारिसक्यो । भुइँमुनिको पानी सुक्दै गयो । पुराना इनारमा पानी आउँदैन । नयाँ इनार पनि डेढ÷ दुई सय मिटर गहिरो खन्नुपर्छ । त्यति गहिरा इनार पनि एकाध वर्षमा सुक्छन् । अब यो प्रस्तावित निजगढ विमानस्थलले के के बिगार्छ, के के सुकाउँछ, त्यसको उत्तर प्रस्तावक र निर्णयकर्ताहरूलाई थाहा होला/नहोला ?

पूर्वराष्ट्रपति डा. रामवरण यादवको टाउको दुखाएको छ, चुरेले । निजगढ विमानस्थलले अहिलेका कति मान्छे र अब जन्मने मान्छेको टाउको दुखाउने होला ! संयुक्त राज्य अमेरिकातिर जंगल मासेर उद्योग वा अन्य व्यवसाय गर्नुपरेमा त्यसभन्दा बढी वन हुर्काउनुपर्छ । निजगढ विमानस्थल निर्माण पक्षले बुझेर हो वा नबुझेर हो, ६ करोड बिरुवा रोप्ने ठट्टा पो गरेछ । यस्तो अमूर्त कुराले दुई पक्षबीच अनावश्यक जुहारी मात्र बढाउँछ । 

सिङ्गो निजगढलाई गहिरोसँग बुझ्न बाह्य निजगढमात्र बुझेर पर्याप्त हँुदैन । यसका लागि त मलंगवादेखि सम्पूर्ण चितवनसमेत एकीकृतरूपमा अनुसन्धान हुनुपर्छ । बारा, पर्सा, रौतहट, सर्लाही र चितवनसम्मको ट्रपिकल जंगलको समग्र अध्ययन र अनुसन्धान जरुरी छ । निजगढ विमानस्थल पक्षकाहरू यसलाई दोहा र दुबई जत्रा अन्तर्राष्ट्रिय एभिएसन हबको सपना देख्छन् । तर यसको पत्यारिलो आधार फेला पर्दैन । यसका परिकल्पनाकारहरू को को थिए २५ वर्षअगाडिको कुरा भो । यसमा पुनर्विचार गर्नु बुद्धिमानी होला । 

निजगढ जोगाउँ

सर्वोच्च अदालतले प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय निजगढ विमानस्थल निर्माण क्रममा परेका रिटमा सुनुवाइ गर्दै रूख कटानमा अन्तरिम आदेशमार्फत रोक लगाएको छ । रूख कटानबाहेक निर्माणका अन्य काम भने गर्न पाइने भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले गत पुस ६ गते यस्तो अन्तरिम आदेश दिएको हो । साथै हेर्दाहेर्दैको तहमा मुद्दा राखिएको छ । निजगढमा विमानस्थल बनाइँदा ४÷५ सय वर्ष पुराना सालका रूख काटिने र वन क्षेत्रलाई कंक्रिटमा परिणत गर्ने गरी भएको सरकारी निर्णय बदर गर्ने माग गर्दै ९ जना वातावरणवादीले हालेको रिटमा यो आदेश आएको हो ।  

साथै विमानस्थल निर्माणका लागि रूख कटान गर्न लागिएकाविरुद्ध वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मालगायतको एउटा रिट र मञ्जु हजुर पाण्डे क्षत्रीलगायत ९ जनाको अर्को रिटको सुनुवाइ पनि अब एउटै इजलासबाट हुने भएको छ । प्रायः सबै रिटमा वन तथा जैविक विविधका दृष्टिले अति महत्वपूर्ण राष्ट्रिय वन विनाश गर्न लागिएको दाबी गरिएको छ । तराईको जंगल सिध्याएर काठ तथा टिम्बर व्यापार गर्ने र बारापूर्व मरुभूमि बनाउने षड्यन्त्रपूर्ण खेल भएको रिटमा उल्लेख छ । जलस्रोतको पुनर्भरणको मर्मस्थल, चराचुरुंगी÷वन्यजन्तुको बासस्थान र बाटो, मानवका लागि अक्सिजन र जीविकोपार्जनको माध्यम मासिन नहुने तर्क पनि रिटमा गरिएको छ ।  

यस्ता अनेक यथार्थपरक तर्क गर्दै परेका रिटमा एकै इजलासबाट सुनुवाइ हुने भएको हो । ती रिटमा संकटापन्न तथा दुर्लभ वनस्पति र वन्यजन्तु रहेका ठाउँ, प्राकृतिक रूपमा अत्यन्त सम्पन्न र वातावरणीय दृष्टिमा अत्यन्त संवेदनशील निजगढ वन क्षेत्रलाई संरक्षित वन क्षेत्र घोषणा गर्न पनि माग गरिएको छ । प्रस्तावित विमानस्थलले ओगटेका क्षेत्रमा २४ लाख ६० हजार ८ सय २१ रूख भएको तथ्य पनि सार्वजनिक भइसकेको छ । विमानस्थल निर्माण पक्षका भनाइअनुसार १ लाख ३५ हजार रूख मात्र काटिन्छन् । जसले जे भने पनि समग्रमा प्रस्तावित विमानस्थल अन्तै बनाउनु बुद्धिमानी हुनेछ । 

कसका लागि ?

कार्यदलले निजगढलाई नै उपयुक्त स्थान ठानेछ, विमानस्थल निर्माणका लागि । वातावरण, जैविक विविधता, वन्यजन्तुको अनुकूल बासस्थान तथा पुस्तौंपुस्तादेखिको विचरण मार्ग, परिपक्व सालका रूखको अद्वितीय योगदान आदिमा ध्यान नपुगेर त त्यो ठाउँ सिफारिस गरिएको होइन ? कार्यदलले थलोमै नपुगीकन त सिफारिस गरेन ? स्थलगत भ्रमणमै गएको भए पनि झारा टार्ने काम त गरेको थिएन ? कार्यदलमा यी वातावरणीय मुद्दालाई हलुका रूपमा लिनेहरू त थिएनन् ? कि त्यसमा मानवशास्त्री, समाजशास्त्री थिएनन् ? अन्यथा, कुनै हालतमा निजगढ सिफारिस नहुने पर्ने ! 

इतिहास, संस्कृति, पुरातत्व, मानवशास्त्र र समाजशास्त्रका मर्मज्ञले त यस्तो महत्वपूर्ण स्थानको मर्म नै भत्काउने सिफारिस पक्कै गर्दैनथे । अन्तर्राष्ट्रिय विमानस्थलका निम्ति प्रस्तावित निजगढ उपयुक्त ठाउँ होइन भन्नेहरूको अन्तरक्रियामा वनस्पतिशास्त्री तथा वाङ्मयका मर्मज्ञ डा. तीर्थबहादुर श्रेष्ठले तलको गीत गाएर सबैलाई गम्भीर बनाएका थिए ः 
मेरो बिटुलो विश्वास
तिमीलाई चोखै ठान्छ
तिमी ढाँटिदेऊ खालि 
पवित्र छु भनेर ।

प्रकाशित: २० पुस २०७६ ०६:२८ आइतबार

अन्तर्राष्ट्रिय_विमानस्थल