विचार

विषसमान सेतो चिनी !

शरीरलाई चौबिसै घण्टा सक्रिय रहन उच्च गुणस्तरको रगत पहिलो आवश्यकता हो। जसले हाम्रा सबै अंग, हड्डी, मांसपेशी र छालालाई पौष्टिकता दिन्छ। तर रगत आफैंले पर्याप्त पोषण प्राप्त गर्न सकेन वा प्राप्त हुने वातावरण बनेन भने रगतले पौष्टिकता जोगाड गर्न थाल्छ।

रगतले आफैंमा पोषण तत्व खिचेर राख्ने र शरीरका सबै भागमा चाहिनेभन्दा कम पोषण तत्व पुर्‍याउने प्रक्रिया सुरु गर्छ। जब रगतले कुनै चिजबाट पोषण बचाउने कोसिस गर्छ, तब रगतमा रहेको अधिक पोषण तवका कारण रगतमा घुलेको अक्सिजनको मात्रा कम हुन गई रगत फोहोर बन्छ। र, रगतमा रहेको पोषण शरीरमा सञ्चय हुन थाल्छ। यो यस्तो अवस्था हो, जुन बेला धेरै खाना नखाँदा पनि शरीरको तौल भने बढिरहेको अनुभव हुन्छ।

शरीर जतिसुकै मोटो होस् वा पातलो, स्वस्थ रहन कम्तीमा प्रतिदिन १२ सय क्यालोरी शक्ति खानाबाट पूर्ति गर्न आवश्यक हुन्छ। शारीरिक वजन करिब प्रतिकिलो बराबर एक किलै क्यालोरी प्रतिघण्टा शक्ति आपूर्ति नहुँदा मानिसमा पोषण पुग्दैन। अपर्याप्त पोषणले शरीर कमजोर बनाउँछ, अनुहार र तन्तु झोलिने, समयअगावै बुढ्यौली लागेको देखिने र मिर्गौला आदि अंगको सञ्चालन प्रक्रिया ढिलो हुने हुँदा पेट गडबड हुने, पातलो दिसा लाग्ने तथा स्वास्थ्यसम्बन्धी अन्य समस्यासमेत देखिन्छन्।

खाना मात्र होइन, शरीरले नियमित रूपमा पर्याप्त तरल पदार्थ (पानी वा हर्बल चिया) प्राप्त गर्न सकेन भने रगत आफंैले आफूमा पानी सञ्चय गरी राख्न थाल्छ र शरीरका सबै भागमा आवश्यकभन्दा थोरै पानी दिन सुरु गर्छ। बाहिरबाट पानी पाएको अवस्थामा मात्र रगतले चाहिनेजति पानी शरीरका अंगहरूमा आपूर्ति गर्न सक्छ।

त्यसैले मानिसले आफ्नो शरीरको तौल नियन्त्रण गर्ने क्रममा आफूले तोकेको दैनिक कूल क्यालोरीको मात्रा ननाघ्ने गरी थोरै–थोरै, तर छिटो–छिटो धेरैपटक खानुपर्ने सल्लाह दिइन्छ। जसले गर्दा रगतमा पोषण प्राप्त भई पोषण जोगाड हुने प्रक्रिया रोकियोस्। त्यस्तै तातो पानी तथा हर्बलयुक्त पेय पदार्थ दिनभरजस्तै पिउन सक्दा पानी अभावका कारण देखिने विकृति रोक्न सकिन्छ।

मांसपेशी, अंग र दिमाग राम्रोसँग सञ्चालन गर्न शरीरलाई ग्लुकोज आवश्यक पर्छ। ग्लुकोज त्यति बेला मात्र शरीरको प्राथमिक इन्धन हुन सक्छ जतिबेला यो कोषिकाहरूमा पुग्छ। रक्त प्रवाहमा ग्लुकोज जाँदैमा यो कोषिकामा पुग्ने होइन। अग्न्याशय (प्यान्क्रियाज)मा उत्पादित हर्मोन इन्सुलिनले रगतमा पुगेको ग्लुकोजलाई बलियोसँग समातेर कोषिकाहरूमा पुर्‍याउने काम गर्छ।

रगतमा इन्सुलिन रहेन भने ग्लुकोज रगतमा तैरेर बस्छ, कोषिकासम्म पुग्न सक्दैन। जसले गर्दा रगतमा ग्लुकोजको मात्रा बढ्छ। जसले मधुमेह निम्त्याउँछ। लामो अवधिसम्मको मधुमेहले शरीरका अंग, स्नायु र रक्तनलीलाई क्षति पुर्‍याउँछ।

शरीरको प्रतिरक्षा प्रणाली कमजोर बन्ने र विभिन्न पदार्थको एलर्जी हुनुमा अधिक चिनी खानु प्रमुख कारण रहेको पुष्टि भएको छ।

भात, आलु, फल र दूधजस्ता खानेकुरामा पाइने प्राकृतिक चिनीबाहेक पुरुषले दैनिक ९ चिया चम्चा र महिलाले ६ चिया चम्चाभन्दा बढी चिनी नखान सिफारिस गरिएको भए तापनि मानिसले दैनिक औसत २० चिया चम्चासम्म चिनी खाने गरेको तथ्यांक छ।

चिनी खाँदा सजिलै पच्ने हुँदा त्यो ग्लुकोजका रूपमा तुरुन्तै रगतमा  पुग्छ। प्यान्क्रियाजले इन्सुलिन उत्पादन गरी त्यो चिनीलाई रगतबाट कोषिकामा पु¥याउँछ। जब धेरै चिनी खाइन्छ, तब त्यसले शरीरमा अत्यधिक इन्सुलिन उत्पादन माग गर्छ। त्यो माग पूर्ति गर्न प्यान्क्रियाजले इन्सुलिन उत्पादन यसरी गर्न थाल्छ कि उच्च दरमा चिनी शरीरमा भित्रिने क्रम केही घण्टासम्म जारी रहन्छ। जब चिनीको अधिकता केही मिनेटमा समाप्त हुन्छ, तब रगतमा अतिरिक्त इन्सुलिन जम्मा हुन पुग्छ। रगतमा बढेको इन्सुलिन तत्काल बन्द गर्ने प्रक्रियामा प्यान्क्रियाज उत्तेजित हुन पुग्छ।

खाद्य विज्ञानका अनुसार अधिक मात्रामा आमाशयमा पुगेको प्रशोधित सेतो चिनीले प्यान्क्रियाजलाई उत्तेजित पारिदिन्छ। उत्तेजित प्यान्क्रियाजले एड्रेनल ग्रन्थीलाई तीव्र तनाव दिन्छ। मेटाबोलिजम तथा तनाव नियन्त्रणमा मद्दत गर्ने कोर्टिसोल र रक्तचाप नियन्त्रण गर्न मद्दत पु¥याउने एल्डोस्टेरोनजस्ता स्वस्थ जीवनका लागि अत्यावश्यक हर्मोनहरू एड्रेनल ग्रन्थीले उत्पादन गर्छ।

प्यान्क्रियाजले दिने तीव्र तनावले एड्रेनल ग्रन्थीले पाचन प्रक्रियाका लागि आवश्यक हर्मोन उत्पादन प्रक्रिया नै अवरुद्ध हुन पुग्छ। हर्मोन अभावले प्रोटिन र कार्बोहाइड्रेटको सन्तुलन बिग्रिने र पाचन प्रक्रिया नै गडबड हुन्छ। फस्फोरस र क्याल्सियमको सन्तुलन बिग्रिँदा शरीरले क्याल्सियम पचाउन र अवशोषण गर्न सक्दैन।

शरीरको प्रतिरक्षा प्रणाली कमजोर बन्ने र विभिन्न पदार्थको एलर्जी हुनुमा अधिक चिनी खानु प्रमुख कारण रहेको पुष्टि भएको छ। त्यसैले जापानीहरू प्रशोधित सेतो चिनीलाई ‘श्वेत विष’ भन्ने गर्छन् भने चिनियाँहरू ‘अजङको सेतो काल’।

शरीरमा हुने फियो (स्प्लिन)ले थाइरोइड र लिम्फ ग्रन्थीसँग मिलेर रोग निम्त्याउने जीवाणु र हानि गर्ने विषालु पदार्थबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ। लिम्फेटिक– शरीरको प्रतिरक्षा प्रणालीको अभिन्न अंग भएकाले एन्टिबडी निर्माणमा स्प्लिनको केन्द्रीय भूमिका हुन्छ।

स्प्लिनको रातो तरल पदार्थले रगतबाट काम नलाग्ने अवस्थामा पुगेका रक्तकोषिका नष्ट गर्ने, फलाम, सेतो रक्तकोषिका, प्रतिरक्षा प्रोटिन, प्लेटिलेट्स र कीटाणु खाइदिने फाइगोसइट्स आदिसँग संयोजन गरी रक्तकोषिका सफा र तन्दुरुस्त बनाउने काम गर्छ। स्प्लिनको सेतो तरल पदार्थमा रहने लिम्फोसाइट, मनोसाइट र प्लाज्मा सेलले शरीरमा विभिन्न जीवाणुको संक्रमण हुँदा आवश्यक पर्ने १०० ट्रिलियन प्रकारका एन्टिजिन बनाउँछन्।

मानव फिजियोलोजीका प्रमुख क्षेत्रमा फियोको प्रभावशाली भूमिका रहन्छ। दिमागी रूपमा चिन्तित र दुःखी रहनु फियोमा विकृति निम्तिनाको प्रमुख कारण मानिन्छ। खानालाई मुखमा राख्नुभन्दा धेरै पहिले नै पाचन प्रक्रिया सुरु हुन्छ। जब तपाईं थालमा खाना देख्नुहुन्छ र त्यसको बास्ना महसुस गर्नुहुन्छ, तब पाचन एनजाइम उत्पादन हुन थाल्छ। तनावयुक्त अवस्थामा खाना खानाले शरीरमा हानि गर्छ। तसर्थ खानाबारे सकारात्मक धारणा बनाएर वा खानाको तारिफ र कदर  गरेर खानु स्वस्थकर अभ्यास मानिन्छ।

अधिक मात्रामा खाइने चिनी, धेरै चिनी हालिएका मिठाई तथा ज्यादै गुलिया फलले फियोलाई राम्रो गर्दैन। धेरै तेल वा चिल्लो प्रयोग भएका मिठाईले स्प्लिनलाई उच्च तनाव दिने गर्छन्। बियर, वाइन र कडा रक्सी, उत्तेजना दिने कफी, हरियो र कालो चिया, माचा, कोका, धेरै पिरो कालो मरिच आदि पनि स्वस्थ फियो (स्प्लिन)का लागि बाधक मानिन्छन्।

खाद्य तथा औषधिविज्ञ

प्रकाशित: ९ पुस २०७६ ०६:१७ बुधबार

चिनी गुलियो