विचार

यस्तो हुनेछ नयाँ उपत्यका

झनकदत्त (जेडी) खनाल
 काठमाडौं उपत्यकाभित्र नागरिकले भोगिरहेका मूलतः यातायात, खानेपानी र खुलाचौर अभावलगायत समस्या केही हदसम्म समाधान गर्न र विश्वस्तरीय सुविधा हुने गरी उपत्यकाका चारै कुनामा चार नयाँ सहर स्थापना गरिने प्रस्ताव आफैंमा उत्साहवद्र्धक छ। काठमाडौं उपत्यकाको ईशानकोणमा रहेको हाल काठमाडौंका कागेश्वरी र शंकरापुर नगरपालिकाका केही वडाका जग्गा तथा भक्तपुरका चाँगुनारायण, भक्तपुर र मध्यपुर ठिमी नगरपालिकाका केही वडाका जग्गासमेत गरी १ लाख रोपनीभन्दा बढी क्षेत्रफलमा ल्यान्ड पुलिङ सिस्टमबाट निर्माण हुने काठमाडौं नयाँ सहर गुरुयोजनाको विस्तृत अध्ययन तयार भइसकेको छ। फिनल्यान्डका हेलिन एन्ड को.आर्किटेन्ट्स र जे.के. एसोसियट्सले संयुक्त रूपमा गरेका अध्ययनले मुलुककै एउटा नमुना सहरको डिपिआर तयार भएको हो।

प्रस्तावित नयाँ सहर निर्माणपश्चात् भूकम्पप्रतिरोधी र अत्याधुनिक सुविधायुक्त भवनले सजिएको नेपालकै एउटा नमुना सहर बन्न सक्ने देखिएको छ। पर्यावरणीय सुरक्षासहित विकास परिकल्पनाको मोनो रेल, वायु ऊर्जा र सौर्य ऊर्जाले यो सहर सबैभन्दा अलग बन्ने सम्भावना छ। यो सहरमा आधुनिक बस्तीलाई आवश्यक स्कुल, कलेज, अस्पताल, रंगशाला, खेलमैदान, बालउद्यान, पौडी पोखरी, हरियाली पार्क, चौडा सडक, पैदलयात्रीका लागि सडकपेटी, साइकलमार्ग, अपांगमैत्री मार्ग आदि रहने योजना छ। प्रत्येक घरमा  वृक्षरोपण गर्ने अनिवार्य योजना पनि यो अभियानमा राखिएको छ।

प्रस्तावित नयाँ सहर निर्माणपश्चात् भूकम्पप्रतिरोधी र अत्याधुनिक सुविधायुक्त भवनले सजिएको नेपालकै एउटा नमुना सहर बन्न सक्ने देखिएको छ। पर्यावरणीय सुरक्षासहित विकास परिकल्पनाको मोनो रेल, वायु ऊर्जा र सौर्य ऊर्जाले यो सहर सबैभन्दा अलग बन्ने सम्भावना छ।

बिजुली र टेलिफोनका खम्बामा जेलिएका तारको अव्यवस्थालाई ध्यानमा राखी यो काठमाडौं नयाँ सहरमा प्रयोग हुने विद्युतीय टेलिफोन र अन्य नेटवर्किङका तारलाई जमिनमुनिबाट लैजान सर्भिस कोरिडर निर्माण गरिने प्रयास आफैंमा विशिष्ट छ। यसभित्र रहने ड्राइ जोनबाट विद्युतीयलगायत तार लगिने र वेट जोनबाट पानीका पाइप लागिने भए पनि नयाँ सहरमा तारको नचाहिँदो जन्जाल देखिने छैन।

प्रस्तावित नयाँ सहरको बीचबाट वहने मनहरा खोलाका विभिन्न भागमा जलाशय निर्माण गरी पर्यटकलाई आकर्षण गर्नाका साथै खोलाका दुवैतर्फ तटबन्ध बनाइने भएको छ। हाल काठमाडौं उपत्यकाको भूतलीय÷ भौगर्भिक जलस्तर २० वर्षयता तल–तल झरिरहको अध्ययनले देखाएको छ। बस्ती विस्तार हुँदा जमीनजत्ति ‘सिमेन्टेड’ भएर र टाइल छापेर टालिँदै गई आकाशबाट परेको पानी सोझै खोलामा जाने तथा जमिनले सोस्न नपाउने समस्या एकातर्फ छ भने अर्कातर्फ व्यक्तिगत प्रयोग, होटल, मिल फ्याक्ट्री, अस्पताल, स्कुल, कलेज, अपार्टमेन्ट, अफिसले दैनिक अनगन्ती लिटर– जमिनमुनिको पानी दोहन गरीरहेका हुँदा यो समस्या बढेर गएको हो। यसको समाधानमा नयाँ सहरमा आकाशबाट परेको पानी जमिनमा भिज्ने व्यवस्था गरिएको छ भने सहरका विभिन्न भागमा कृत्रिम ८ वटा तलाउ निर्माण गरिनेछ।

सहरमा बाहिरी चक्रपथ तथा भविष्यमा निर्माण हुने मेट्रो रेलको संगमस्थलमा सिटी सेन्टर बनाइँदै छ। समयको बचत तथा ट्राफिक व्यवस्था चुस्त–दुरुस्त राख्न चाँगुनारायणपूर्वतर्फ निर्माण हुने टनेलले थप मद्दत पु¥याउने आसा राखिएको छ। ट्राफिक जामको समस्या हटाउन वन–वे ट्राफिक र वैकल्पिक मार्गसमेतको व्यवस्था गरिएको छ। फ्लाइओभर र अन्डरपास यातायातको समेत व्यवस्था गरिने हुँदा मौजुदा सहरमा जस्तो ट्राफिक जाम नयाँ सहरमा भोग्नुपर्ने छैन।

सहरभित्र आवास, व्यापारिक, शैक्षिक र अस्पतालका लागि छुट्टाछुट्टै क्षेत्र व्यवस्था हुने हुँदा कहीं कतै अस्तव्यस्तता नरहने देखिन्छ। केही खेतीयोग्य जमिनमा कृषि उत्पादन व्यवस्थाका साथै भित्ते र कौसी खेतीबाट सहरलाई तरकारी तथा फलफूलमा केही हदसम्म आत्मनिर्भर बनाउने परिकल्पना छ। सहरको निर्माण योजनामा ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा, पाटीपौवा, मठमन्दिर, गुम्बा, घाट आदिको  संरक्षण प्राथमिकतामा राखिएको छ।

काठमाडौं उपत्यकाभित्र रहेका अहिलेका सहर जस्तो ः साँखु, कीर्तिपुर, ललितपुर, भक्तपुर, काठमाडौंका विभिन्न भागसमेत यस्ता आधुनिक सुविधा नभएकाले १ लाख रोपनीभन्दा बढी क्षेत्रफलको यो सहर निर्माण योजनालाई नेपाल सरकारले राष्ट्रिय गौरवको योजनामा राखेको हो। यसरी राख्नुको अर्थ नै यो योजना र सपना चाँडै साकार होस् भन्ने हो। काठमाडौं उपत्यका विकास प्राधिकरणको महत्वाकांक्षी र दीर्घकालीन रणनीतिको सहरी विकासको परिकल्पनामा हामी सबैको साथ–सहयोग आवश्यक छ।

प्रकाशित: ३ पुस २०७६ ०३:२४ बिहीबार

उपत्य भूकम्पप्रतिरोधी